Category Archives: यायोक्खा हङकङ

साकेला उभौली २०१९

१९ मे २०१९, हङकङ – किरातहरुको महान चाड साकेला उभौलीको अवसरमा किरात राई यायोक्खा हङकङले चुला पूजा र प्रकृती पूजा गर्दै धुमधामका साथ शिली नाँचेर साकेला उभौली मनायो ।

१८ मेका दिन यायोक्खाको सुप्तुलुङखिममा चुला पूजा गरी शुरु भएको साकेला उभौली १९ मे आइतबारका ताईमोशन डाँडाँमा विशाल जनसहभागिताका साथ औपचारिक कार्यक्रम तथा साकेला शिली नृत्य प्रदर्शन गर्दै सम्पन्न भयो ।

यायोक्खाका अध्यक्ष हरिचन्द्र राईको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रमको प्रमुख अतिथि आदिवासी जनजाती महासंघका महासचिव कृष्णराज लावती रहेका थिए । त्यस्तै गरी अन्य अतिथिहरुमा हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, एन.आर.एन.ए. हङकङकी अध्यक्ष टिका गुरुङ, याक्खा छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवान लगायत यायोक्खाका सल्लाहकार एवं भाषिक संस्थाका अध्यक्षहरु रहेका थिए ।

यायोक्खाका उपाध्यक्ष चन्द्रका राई (माया थुलुङ) को स्वगत मन्तब्य संगै शुरु भएको औपचारिक कार्यक्रमलाई यायोक्खाका सहायक कुबिमीद्धय नारायण प्रसाद राई र मैत्र कुमार राईद्धारा साकेला थानमा प्रकृतीको पूजा गरेर उद्धघाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कृष्णराज लावती, यायोक्खाका अध्यक्ष हरिचन्द्र राई लगायत अन्य अतिथिहरुद्धारा साकेला उभौलीको अवसरमा शुभकामना मन्तब्य राखिएको थियो ।

कार्यक्रममा यायोक्खाको मुखपत्र “यलम्बर” अंक २० समेत सार्वजनिक गरिएको थियो । मुखपत्रको बारेमा प्रकाशन मुल संयोजक तथा किरात राई प्रज्ञा प्रतिष्ठानका कुलपती श्री शशि मदन राईज्युले प्रकाश पार्नु भएको थियो ।

यायोक्खाका सचिव गजेन्द्र राईद्धारा संचालन गरिएको औपचारिक कार्यक्रम समापन भए संगै शुरु भएको साकेला शिली नृत्य प्रदर्शनले उपस्थित सबै दर्शक दिर्घहरुको मन खिचेको थियो । शिली मपा रविचन्द्र राई र शिली ममा रेनुका राईको नेतृत्वमा किराती भेषभूषामा सजिएका युवायुवती देखि बुढापाकाहरु समेत ढोल, झ्याम्टा बजाउँदै विभिन्न शिली टिपेर नाचिरहँदा उपस्थित अन्य जातजातिका नेपाली तथा स्थानिय चाइनिजहरु समेत बीचबीचमा घुसेर नाच्नुका साथै फोटो तथा भिडियो लिनमा व्यस्त देखिन्थे ।

प्रकृती तथा पित्री पूजक किरातहरुको महान चाड उधौली र उभौलीको अवसरमा स्थापनाकाल देखि नै यायोक्खा हङकङले चुला पूजा तथा साकेला सिली नाँचेर वर्षको दुई पटक मनाउँदै आएको छ ।

सांस्कृतिक मेला सम्पन्न


२० जनवरी २०१९, हङकङ ।
किरात राई यायोक्खाको सुप्तुलुङखीम (चुलाघर) मा किरात राई सांस्कृतिक मेला २०१९ सम्पन्न भएको छ । मूलसंस्था किरात राई यायोक्खाको आयोजना तथा तत्सम्वद्ध ८ ओटा भाषिक संस्था (चाम्लिङ खाम्बातिम, वान्तवा खीम, पुमा तुप्खाबाङ्खाला, साम्पाङ जुम्लेखा, दुमी फन्सिखीम, थुलुङ सामा, सोदेल कोयीकीम, बाहिङ मुलीखीम) को संयोजनमा उक्त सांस्कृतिक मेला भएको हो ।
येलेदुङ ५०७९, संस्था (किराया)को २०औं स्थापना दिवशसाथै माघे सङ्क्रान्तिको संयुक्त अवशरमा आयोजना गरिएको सो मेलाको औपचारिक कार्यक्रममा किरायाका कार्यवाहक उपाध्यक्ष चन्द्रका (माया)राईको अध्यक्षता, आदिवासी जनजाति महासंघका महासचिव कृष्णराज लावतीको प्रमुख आतिथ्यता साथै किराया केन्द्रिय सदस्य तथा नेपाल सरकारका उपसचिव महेन्द्र कुमार राईको विशिष्ट आतिथ्यता रहेको थियो । यसैगरी यहाँस्थित आदिवासी जनजाति महासंघ आवद्ध संस्थाहरुका प्रमुख/प्रतिनिधिहरुको विशेष आतिथ्यता रहेको थियो भने आयोजक संस्थाका प्रमुख सल्लाहकार रजीन राई, सल्लाहकार हेजेन राई, किसन राई, वसन्ति कुमारी राई, पीताम्बर राई, आयोजक सम्बद्ध भाषिक संस्थाका प्रमुख/प्रतिनिधि, किराया प्रज्ञा प्रतिष्ठानका कुलपति शशी मदन राई, किरात राई प्रमुख रहेका विभिन्न संस्थाका प्रमुख/प्रतिनिधि तथा गोर्खा ट्रेल ब्लेजरमा आफ्नो उमेर समुह (१८-२९बर्ष)तर्फ प्रथम हुन सफल धाविका सृजना राई अतिथि रहनु भएको थियो ।
सो मेलाको औपचारिक कार्यक्रमको मंचमा आशिन अतिथिगणले शुभकामना मन्तव्य दिनु भएको थियो । यस अवशरमा किराया युवा खेलकुद,साहित्य तथा संचार विभागले सम्बन्धित क्षेत्रका व्यक्तित्वहरुलाई कदर-पत्र प्रदान गरेको थियो। तदानुसार
१.संचारतर्फ- राजभक्त(मज्जाको) राई, हेमराज राई, मातृद्वीप राई
२.साहित्यतर्फ- नरजीत राई, डिल्लीराम राई, मालिकराम राई
३.खेलकुदतर्फ- रजीन राई, हेमराज राई, मगेन्द्र राई, चित्र थुलुङ राई, लोकराज राई, तिर्ना राई
किराया अन्तरभाषिक ब्याडमिन्टन प्रतियोगिताका विजेताहरु-
मिलन राई, शुभराज राई, गणेश पुमा राई, विनोद पुमा राई, किरण राई, मनीषा राई, शान्तवीर राई, दिपेन राई, संचिव राई, कृष्णा राईलाई कदर-पत्र प्रदान गरिएको थियो।
यसैगरी बालाबालिका,महिला,प्रौढ तथा स्वागत विभागद्वारा ७० बर्षभन्दामाथिका आप्पा-आमाहरुलाई सम्मान गरिएको थियो भने किराया पुस्तकालय अभियानलाई पुस्तक प्रदान गर्ने महानुभावहरुलाई स-धन्यवाद प्रमाण-पत्र दिइएको थियो। कार्यक्रममा किराया संस्थापक सचिव राम ली राई,कोषाध्यक्ष नरजीत राई र सदस्य हरि बुङ्लावा राईलाई सम्मान गरिएको थियो।
पहिलो चरणको कार्यक्रम आयोजक संस्थाका सचिव गजेन्द्र राईले संचालन गरी दोस्रो चरणको कार्यक्रमकालागि सुप्तुलुङ मर्मत तथा निर्माण विभागका कार्यकारी सचिव अधिराज राई (प्रकाश)लाई मंच हस्तान्तरण गरिएको थियो। दोस्रो चरणको कार्यक्रममा उक्त विभागका मूलसंयोजक धिराज कुमार साम्पाङ राईले सुप्तुलुङखीम खरीदका सहयोगदाताहरुलाई प्रमाण-पत्र प्रदान गर्दै सोही दिन हङकङ डलर १ लाखभन्दामाथि सहयोग रकम उठेको विवरण प्रस्तुत गर्नु भएको थियो।यसकासाथै सहयोग रकम थप बोलकबोल गर्नेहरुको नामावली पनि प्रस्तुत गर्नु भएको थियो।सहयोगी सबैप्रति किराया तथा सम्बन्धित विभागले कृतज्ञता व्यक्त गरेको थियो।
औपचारिक कार्यक्रम पश्चात केन्द्रिय सदस्य महेन्द्र कुमार राई र धाविका सृजना राईलाई चुला दर्शन गराइएको थियो ।
उक्त सास्कृतिक मेलामा विभिन्न भाषिक संस्थाहरुले मौलिक खानपानको स्टल राखेका थिए । किराया सांस्कृतिक विभागले किरात राईजन्य मौलिक भेषभूषा तथा गरगहना, सरसजावट विभागले मौलिक हातहतियार र किराया प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनीको स्टल राखेका थिए।नेपालमा चर्चित रहेको चिण्डो फेशनले पनि किरातजन्य भेषभुषा तथा गरगहनाको स्टल राखेको थियो। किरायाको आफ्नै सुप्तुलुङखीम(चुलाघर)को प्राङगणमा प्रथम पटक आयोजना गरिएको सो सांस्कृतिक मेलामा जनमानसको निक्कै बाक्लो उपस्थित थियो ।
-बज्रकुमार राईबाट।




स्व. प्रकाश राईको अन्तेष्टि

३० डिसेम्बर २०१८ हङकङ ।

खोटांग जिल्ला, बाक्सिला गा. बि. स., वडा नं. ९, सिम्पानी (हाल केपिलासगढी गा. पा. वडा नं. ४) बस्ने श्री सक्कल बहादुर राईको नाति, श्री पर्शु राम राई र श्रीमती अगम लक्ष्मी राईको छोरा वर्ष ३९ को प्रकाश राई ई.सं. १९९७ मा हंग कंग आएर स्थायीरुपले यहीँ बसोबास गरिरहेकोमा हाल ड्रागेज कम्पनीमा कार्यरत रहेको अवस्थामा यही ६ डिसेम्बर, २०१८ को दिन फ्यान लिंगस्थित कार्यक्षेत्रमै दुर्घटनामा परी दिवंगत हुनुभएकोमा ३० डिसेम्बर २०१८ मा किराया हङकङले किरात राई परम्परा अनुसार अन्तेष्टि कार्यक्रम गरिदियो । परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस भनि सुम्निमा पारुहाङसंग प्रर्थना गर्दछौं ।

भाषिक व्याडमिन्टनको दोस्रो संस्करण

भाषिक व्याडमिन्टनको दोस्रो संस्करण

२६ डिसेम्बर २०१८, हङकङमा अन्तर–भाषिक व्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण सफल रुपमा सम्पन्न भएको छ । किरात राई यायोक्खा हङकङको युवा खेलकुद, संगीत तथा संचार विभागको अयोजनामा दोस्रो अन्तर–भाषिक व्याडमिन्टन प्रतियोगितामा सम्पन्न भएको हो ।

युनकोङ डिस्ट्रीक स्पोर्ट्स सेन्टर हलमा बुधबार सबै प्रतियोगिता आयोजना भएका थिए । प्रतियोगितामा ‘मेन्स डबल्स’ डिभिजन ए–बी तथा ‘मिक्सड डबल्स’ बिधाहरु समेटिएका थिए। बेस्ट अफ थ्रीको नक आउट फम्र्याटमा प्रतियोगिता खेलाइएको थियो।

मेन्स डबल्स एमा बान्तावा खिम समूहलाई उपाधि

मेन्स डबल्स डिभिजन ए को फाईनल खेलमा बान्तावा खिमको प्रतिनिधित्व गर्दै मिलन राई र शुभराज राई उपाधि जित्न सफल भए । उनीहरुको जोडीले चाम्लिङ खाम्बातिमका समूहका जोडी हेमराज राई र किरण राईलाई २१–११ र २१–१५ को सोझो सेटमा पराजित गरे।

मेन्स डबल्स बीमा पुमा तुप्खाबांखालाका समूहलाई उपाधि

प्रतियोगिता अन्तर्गत डिभिजन बीतर्फ पुमा तुप्खा बांखालाका गणेश राई र बिनोदले वान्तवाखीमका शान्तवीर राई र दिपेन राईलाई १८–२१, २१–१२, २१–९ को सेटमा पराजित गरे । सुरुवाती सेट पराजित भएपनि उपाधिका लागि पुमा तुप्खाबांखालाका समूह कमब्याक गर्न सफल भएको हो ।

मिक्सड डबल्समा चाम्लिङ खाम्बातिम समूह विजयी

प्रतियोगितामा अर्को विधा मिक्सड डबल्स तर्फ चाम्लिङ खाम्बातिम उपाधि चुम्न सफल भयो । चाम्लिङ खाम्बातिमका हेमराज राई र मनिषा राईको जोडीले सोदेल कोयीकीमका संजिव राई र कृष्णा राईलाई २१–१४ र २१–१५ को सोझो सेटमा पराजितगर्दै उपाधि आफ्नो पोल्टामा पारेका थिए।

पुरस्कार

उपाधिसँगै सबै बिधाका विजेता र उपविजेताले हङकङ डलर क्रमशः दुई हजार र बाह्रसय, ट्रफी तथा प्रमाणपत्र हात पारे ।उक्त प्रतियोगितामा किरात राई यायोख्खा हङकङमा आबद्द ६ भाषिक संस्थाहरुको सहभागीता थियो ।

यायोक्खाका ८ भाषिक संस्थाहरु मध्ये बान्तावा, चाम्लिङ, कोयि, पुमा, थुलुङ्ग ,साम्पाङ्ग गरि जम्मा २१ जोडीले प्रतियोगितामा सहभागीता जनाएका थिए ।

खेल सफल रुपमा समापन गरेसँगै प्रतियोगिताका संयोजक बज्र कुमार थुलुङ राईले भने,‘हङकङमा रहेका सबै उमेरका किरात राईहरुलाई खेलकुद मार्फत एक जुट गराई स्वास्थ्यप्रति सचेत गराउन र व्याडमिन्टन खेलाडीहरु उत्पादन गर्नु खेल आयोजनाको अभिप्राय रहेको छ । प्रतियोगिताको प्रमुख प्रायोजक नेपाल फाइनान्स रहेको थियो। हङकङमा व्याडमिन्टन खेल नेपालीहरुबीच लोकप्रिय हुँदै गएको छ ।

मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्

साकेला उधौली सम्पन्न

२३ डिसेम्बर २०१८ हङकङ ।
आदिवासी जनजाति महासंघका अध्यक्ष किसन राईको प्रमुख आतिथ्यतामा साकेला उधौली २०१८ ताइमोशान पार्कमा सम्पन्न भएको छ । नेपाल चेम्बर्श अफ कमर्श, गैर आवासीय नेपाली संघ, नेपाली महासंघ र व्रिटिश गोरखा भूतपूर्व सैनिक संघ बिशेष अतिथि रहेको कार्यक्रममा बिभिन्न संघ/संस्थाहरुको आतिथ्यता रहेको थियो । वेलायतबाट नेपाल हुँदै साकेलामा आउनु भएका अधिवक्ता, नेता तथा लेखक चण्डिका राई पनि अतिथि रहनु भएको थियो ।

मौसम प्रतिकूलताका वावजुद पनि सयौंको संख्यामा उपस्थिति रहेको साकेला उधौलीमा बेलायतबाट आएका युवा डाक्टरद्वय युगेश राई र सुमन राईलाई सम्मान गरिएको थियो । डाक्टर राईद्वय किराया उपाध्यक्ष हित बहादुर कोयी राईका २ सुपुत्र हुनुहुन्छ । उहाँ दुई डाक्टरले किराया सुप्तुलुङखीम(चुलाघर) मर्मत-संभारकालागि १० हजार हङकङ डलर प्रदान गर्नु भयो । यसै गरी सोहि उद्धेश्यकालागि वेलायत निवासी सोलिसिटर उत्तरमान लिम्बुले पनि ३ हजार डलर सहयोग प्रदान गर्नु भएको थियो । कार्यक्रममा किराया अध्यक्ष हरिचन्द्र राईले प्रतिकुल मौसमलाई पनि वास्ता नगरी उपस्थित भई साकेला उधौली सफल बनाई दिनु हुने तमाम महानुभावहरुप्रति कृतज्ञतापूर्वक धन्यवाद दिनु भएको थियो ।

बज्र कुमार राई

ब्याडमिन्टन च्याम्पियनशीपको घोषणा ।

२५ नोभेम्बर २०१८, हङकङ ।

किरात राई यायोक्खाको युवा खेलकुद, संगीत तथा संचार विभाग अन्तर्गतको  खेलकुद संयोजक समितिले आगामी २६ डिसेम्बरको दिन यायोक्खा अन्तरभाषिक ब्याडमिन्टन च्याम्पियनशीप-२ गर्ने जनाएको छ ।

सो विभागका प्रमुख बज्र कुमार राईको अध्यक्षता, किराया अध्यक्ष हरिचन्द्र राईको प्रमुख आतिथ्यता, किराया प्रज्ञा प्रतिष्ठानका कुलपति शशीमदन र भाषिक संस्थाका अध्यक्ष/प्रतिनिधिहरुको आतिथ्यतामा सचिव गजेन्द्र राईले सञ्चालन गरेको संयोजक नियुक्ति तथा तयारीसभामा मूलसंयोजक रजीन राईले उक्त कुराको जानकारी गराएका थिए।

प्राप्त जानकारी अनुसार मेन्स्  डबल डिभिजन ए र बी, मिक्स् डबल गरी ३ क्याटगोरीमा प्रतियोगीतात्मक खेल खेलाइने छ ।

कार्यक्रममा उक्त विभागले किरण राई (चाम्लिङ), शुभराज राई (बान्तावा), रबिचन्द्र राई (साम्पाङ), संजिब राई (कोयी) लोखराज राई (बाहिङ), गणेश राई (पुमा), रमेश राई (थुलुङ), कमल दुमी (दुमी), मगेन्द्र राई, हेमराज राई र दिपक केशर राई संयोजक नियुक्त गर्यो ।

नवनियुक्त संयोजकहरुलाई मूलसंयोजक रजीन राईले प्रमाण-पत्र प्रदान गरेका थिए । यसैगरी प्रमुख अतिथि हरिचन्द्र राई र अतिथिहरुले खादा लगाई दिएर बधाई ज्ञापन गरेका थिए ।

नवनियुक्त संयोजक मध्येका हेमराज राई विगत महिनामा हङकङ नेपाली ब्याडमिन्टन संघको अध्यक्षमा चयन भएकोप्रति खुशी व्यक्त गर्दै विभागले स-सम्मान बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।

उक्त कार्यक्रममा अतिथि धिराज कुमार राई, पीताम्बर राई, दुर्गाकान्त राई आदिले शुभकामना मन्तव्य राखेका थिए ।