चूला शरण

प्रस्तावकः हरिचन्द्र राई

हङकङमा किरात राईहरुको संख्या करिब ४००० सम्म रहेको अनुमान गरिएकोछ। सबै भन्दा ज्यादा गुरुङ जाती करिब ७५०० र मगर जातीहरु ५००० सम्म रहेको अनुमान रहेको छ। यस तथ्याङकले भोलीको आँउदो पुस्तामा हाम्रो छोराछोरीले अन्य जातीसंग बिहाबारी गर्ने निश्चित रहेको छ। किरात राईहरुले किरात बाहेक अन्य जातीसंग बिहाबारी गर्दा चुलामा चल्दैन। चुलामा नचलेपछि उनिहरु हाम्रो संस्कार प्रति बैरागिन थाल्दछ र अर्कै धर्ममा प्रवेश गर्ने सम्भावना रहनेछ। यसलाई रोक्न जुनै जातीको विहे गरेपनि चुलामा शरण गराउन यो प्रस्ताव ल्याईएकोछ।

हङकङमा कुनैपनि किरात राईहरुको छोरा वा छोरीले किराती बाहेक अन्य जातिसंग बिहे गरेमा बुहारी वा जुँवाईलाई सामुहिक चुलामा शरण पर्न स्वतन्त्रता दिईने छ। सामुहिक चुलामा शरण गराउने भए विधी अनुसारको रीत राखी ७ थरिका (भाषिक) किरात राई दाजुभाईहरुलाई भेला गराई चुलामा शरण गराउन सकिनेछ।

चुला शरणको उदेश्य :

अन्य जातिसंग विवाह गरेको छोराछोरीहरुलाई आफ्नै धर्म संस्कारमा राखि राख्न।

आवश्यक सामाग्रीहरु :

  1. चोख्याउनको लागि – दुबो, तीतेपाती र चोखो पानी
  2. आगो बाल्नको लागि – कोईला, स्टार्टर र लाईटर
  3. पूजाको लागि – काँसेथालमा अलिकति चामल र दियोबत्ति
  4. अक्षता, टिका, जाँड, रक्सि
  5. खानपान

विधी

चुलामा आगो बाल्नु पर्दछ । चुलामा शरण लिनजान अगावै दुबो, तीतेपाती र चोखो पानीले छर्केर चोखोनितो भई चुलामा जान पर्दछ ।

चुला शरणको पार्थना

हे पिता पुर्खाहरु हो।
हे नागनगेनी सिमे भुमेहरु हो।

मानव सृष्टी हकूङबूङमा गरिदिनु भो,
अग्नीको सृष्टी रीब्दँपोपीमा गरिदिनु भो,
अन्नको सृष्टी मधेशामा गरिदिनु भो,
ज्ञानको सृष्टी समाजमा गरिदिनु भो,
कूबीमीको सृष्टी सखेवामा गरिदिनु भो,
अदुवाको सृष्टी बँदेल बस्ने ठाँउमा गरिदिनु भो,
रक्सीको सृष्टी दीबूरसूङ लोदूरमा गरिदिनु भो।

बाघ फैलाई दिनुभो रोसूङला रहँलामा,
थार फैलाई दिनुभो दीबूखा रहँलामा,
भालु फैलाई दिनुभो भिरपाहारामा,
मानव फैलाई दिनुभो एकअर्काको साहारामा।

हे कुलपित्रमा रहनु भएको पितापुर्खाहरु हो,
आज चुलामा नया मान्छे देखाउदै छौं,
आज (फलना)को श्रीमती/श्रीमान (फलना) लाई,
तपाँईहरु माझ देखाउदै छौं।

उहाँहरुले पुर्खाहरुलाई करकोशेली,
जाँडपानी, अन्न पैसा ल्याईदिनु भएको छ,
आज तपाँईहरु समक्ष चढाउदै हुनुहुन्छ,
तपाँईहरुले यसलाई हेरिदिनुहोस है, सुनिदिनुहोस है।

हे पितापुर्खाहरु हो, हे नागनगेनी सिमे भुमेहरु हो,
भोली देखि, हाम्रो छोराबुहारी/छोरीजुँवाई यस घरमा बस्ने खेल्ने छन,
यस घरमा काम गर्ने छन, चुला चौका छुनेछन,
तेतीबेला तपाँईहरु मन नदुखाई दिनुहोस है, नरिसाई दिनुहोस है,
बरु हाम्रो छोराबुहारी/छोरीजुँवाईलाई  शरण लिई,
दिर्घायु तथा सफल जिवन प्राप्तीको आशिर्बाद दिनुहोस है।

जय पितापुर्खाहरु हो।
जय नागनगेनी सिमे भुमेहरु हो।

सगुन वितरण

सबैलाई जाँड, रक्सि, खानपन वितरण गरि बुहारी वा जुवाँइलाई चुलामा शरण गराईएको घोषणा गर्नु पर्दछ।

(समाप्त)