चूलापूजा कार्यक्रम

अनुसूची १

चूलापूजा

किरात राईहरुको सवभन्दा ठूलो देव भनेको नै तीन चुलो हो । मुलघर परिवारबाट अलग भएपछि थपना गर्ने पहिलो वस्तु नै चूला हो । हरेक किरात राईहरुको धार्मिक आस्थाको प्रतिक नै तीन चूला हो । हरेक किरात राईहरुको साझा विशेषता नै तीन चुलो हो । चूलामा ३ वटा ढुङगा गाढेको हुन्छ । यसले बंश, दाजुभाई र कुटुम्ब गरी मानव समाजलाई ईङ्गित गरेको हुन्छ । उत्तर तर्फको ढुङगाले बंशलाई, दाहिने तिरको ढुङगाले दाजुभाईलाई र देब्रे तर्फको ढुङगाले कुटुम्बलाई बुझाउदछ । चूलामा सामान्य भात भान्सादेखि कर्म धर्म, रितीथितीका सम्पूर्ण कुराहरु गरिन्छ । किरात राईहरुको चूलामा जन्म दिने पुर्वजहरुले बास गरेको हुन्छ भनि विस्वास गरिन्छ । किरात राईहरुले प्रार्थना गर्न टाढा जाँदैनन् । यही यहि चुलालाई मन्दिर मान्दछन । चुलालाई  पितृथलो मान्दछन । यही चूलामा प्रार्थना गर्दछन । चूलामा दैनिक पुजा गरे पित्रीहरु खुसी भई चिताएको मनोआकाङक्षा पुरा गरिदिने, धन दौलत र ऐश्वर्य दिने, दुख बिमार हटाउने, शिर ठाडो बनाई दिने बिस्वास गरिन्छ ।

चूलापूजा बिशेष  उधौली र उभौलीमा गरिन्छ । त्यस्तै अरुबेला नुवांगी, तिधाम, छिदाम र छमदम, दिवुमी वा सुरुमी शिकारी पुजा तथा अन्य विविध पूजाहरु जस्तै  पितृहरुलाई खुसी पार्न तथा दुःख विमार भएको बखत बलदेउ कुनै दुःखकष्ट नदेउ आशिक देउ भन्ने कामना गर्न चूलापूजा गरिन्छ यसबाहेक अन्य चिन्ताचार गरेको बेला उकारमा बल माग्न धामीद्वारा चोखो रक्सी र मर्चाले पूजा गर्ने प्रचलन रहेको छ ।

उभौली चूलापूजा

उभौली भनेको बैशाखे पुर्णे देखि ऋतु परिवर्तन भै तराई तिर अत्यधिक गर्मी बढ्ने, तातो हावा चल्ने, बर्षात हुने हुंदा पशुपंक्षी, चराचुरूङ्गी, माछाहरू गर्मी/तातो हावापानी छल्नलाई चिसो स्थान खोज्दै, उभो हिमाल तर्फ जाने हुनाले “उभौली” भनिएको हो । उभौलीमा खेतीबाली लगाउने समय भएको हुंदा, समयमा नै वर्षा होस। माटो मलिलो होस । छरेको रोपेको बिउहरू सबै उम्रियोस । लगाएको बाली सप्रियोस । अन्न, फलफुल, बोट बिरूवाहरूको बीउ नमासियोस । बाढी पहिरो, हुरि बतासले लगाएको बाली नबिगारि देउस । कुवा, पंधेरो, खोला नालामा पानिको मुल  फुटोस । भिर पहरा, बन जंगलको सबै बोट बिरूवाहरू हुर्कियोस, फैलियोस भनि साकेला (भुमी) पुजा गर्न जानु पुर्व तिन चूलाबाट बल माग्ने कार्य गरिन्छ ।

उधौली चूलापूजा

उधौली भनेको मंसिरे पुर्णे देखि ऋतु परिवर्तन भै हिमाल तिर अत्यधिक जाडो बढ्ने, चिसो हावा चल्ने, हिउँ पर्ने हुंदा पशुपंक्षी, चराचुरूङ्गी, माछाहरू जाडो/चिसो हावापानी छल्नलाई तातो स्थान खोज्दै, उधो तराई तर्फ जाने हुनाले “उधौली” भनिएको हो । किराँत समुदायले आफुले लगाएको अन्नबाली पाकेपछी प्रकृति र पूर्खालाई चढाएपछि मात्र खाने चलन छ । उधौलीमा खेतीबाली पाकेर थन्क्याउने समय भएको हुंदा पहिला पितापुर्खाहरुलाई चढाएर अन्नको सह माग्दै,रुपैया पैसाका सह माग्दै, पशु पंक्षीहरू फैलियोस, सबै जिवजन्तु, बोटबिरूवा, खोलानाला, हिमाल पहाड, बन जंगल, आकाश पाताल, जुन घाम, तारा सबै नै सन्तुलित रहि रहोस भनि किरात राईहरुको आदिम पितृदेव पारुहाङ सुम्निमा तथा तोयामा खियामा हेच्चाकुप्पा नागेलुम तथा प्रकृतिको संझना गर्दै साकेला नाच्न जानु पुर्व तिन चूलाबाट बल माग्ने कार्य गरिन्छ ।

लक्षित समुह

  1. कूबीमीहरु
  2. शिलिमोपा, शिलिमोमा
  3. ढोले, झ्याम्टे, कलाकारहरु
  4. संरक्षक तथा सल्लाहकारहरु –
  5. भाषिक संस्था/भात्री संस्था
  6. दाजुभाईहरु –
  7. किरात राईहरुको मौलिक धर्म, संस्कार, संस्किृतिमा आस्था राख्ने जोकोही ब्याक्तिहरु लक्षित समुह हुनेछ ।

सुचना

किराया हङकङले सदाबर्ष झैं यसबर्ष पनि साकेला पुर्णेको दिन चूलापूजा गरि पुर्खाहरुबाट बल माग्ने कार्यक्रम रहेकोले ईच्छुक दाजुभाई दिदिबहिनिहरु निम्न मिति, स्थान र समयमा उपस्थित भैदिनहुन हार्दिक अनुरोध गर्दछौं   ।

कार्यक्रम मिति, समय र स्थान

मिति : २२ डिसेम्वर २०१८
समय : बेलुकि ६ बजे
स्थान : सुप्तुलुङ खिम
यातायात :

अनुसूची २

चूलापूजा बिधि

थान थपना बनाउदा दुइपत्र केराको पात ओछ्याएर अलिकति चामल राखि त्यसमाथि दियो बाल्नु पर्दछ । चामलको दायाँबायाँ कलश राख्नु पर्दछ । एक दुई वटा हतियार पनि त्याहानिर ठडाएर राख्नु पर्दछ । थान थपनाको तलतिर कूबी बस्ने बाल्याम्खँ राखिदिनु पर्दछ । थान थपना बनि सके पछि कूबी बाल्याम्खँमा बसि चूला पुर्काद छ । कूबीको दायाँबायाँ दुवैतिर मसूमे, कङकदे ढोले र जानिफकार बुढापाकाहरु बस्नु पर्दछ । ढोलेहरुले ढोल र मसूमेहरुले झ्याम्टा बजाउँदछन । कूबी र जानिफकार ब्याक्तिले जाँड भएको चिन्डो प्रयोग गर्दछन । तूम्साबूले चाहिँ रक्सि भएको चिन्डो प्रयोग गर्दछन । यस दिन कूबीले पुरानो अदुवाको प्रयोग गर्दछन । सबै जना तयारी भएर आ–आफ्नो स्थानमा बसिसकेपछि कुखुराको भालेको खुट्टा र टाउको चोख्याई (धोएर) कूबीलाई दिनु पर्दछ । कूबीले एक हातमा भाले र अर्को हातमा चिन्डो समातेर चूलापूजा मून्धूम बाचन गर्दछन ।

चूलापूजा प्रार्थना

हे पितापुर्खाहरुहो,
हे सुम्निमा पारुहाङ ।
हे नागनगेनी, सिमेभुमेहरु हो ।

तपाँईहरुले हामीलाई जन्म दिई,
मानव संसार बसाउनु भयो ।
धर्तीलाई अन्न योग्य बनाई,
हामीलाई बचाउनु भयो ।

हामिले बंश, दाजुभाई, र कुटुम्ब स्वरुप,
तिनचुला स्थापना गरेका छौं ।
समस्त मानव समुदाय र प्रकृति संरक्षणको लागि,
भक्ति भाव गर्दछौं ।

मानव दुख, बिमार, कष्ट सारी दिनु होला,
सुख, सम्बृद्धि र लामो आयु दिनु होला ।
झैझगडा, आपत बिपतबाट जोगाई दिनु होला,
आजको भन्दा अझ अघि बढ्ने, बाटो देखाई दिनु होला ।

कुनै कामको थालनी, कर्मधर्म गर्न अगावै,
सदैव तिन चूला पुजने छु ।
चिताएको काम, मनोआकांक्षा पुरा होस भनि,
चूला प्राथना गर्दछु ।

सदैव किरात धर्म, संस्कार, संस्कृती मान्नेछु ।
सदैव तिन चुलाको रक्षा गर्नेछु ।
कथंकदाचित बाटो बिराएको भए माफी माग्दै ।
सदा तिनचुला मान्ने प्रण गर्दछु ।

जय पितापुर्खाहरुहो,
जय सुम्निमा पारुहाङ ।
जय नागनगेनी, सिमेभुमेहरु हो ।

चूलापूजा मुन्धुम

(साम्पाङ भाषामा उल्लेखित)

प्रथम,

हमो..... बूक्छामीहँचेऊ, नागा ह्यालापा छोरुमी कँसूमीहँचेऊ, छीदाम्पूरी धीदाम्पूहँचेऊ, कँङा कूबीमहपा, सीलीमहँपा, चारीमहँपा मूक्तीमहँपा, दूखीसूँपा मान्ङीसूपा, बबँसूपा सूयापमो । सेममान्दुङ् स्याचीमान्दूङ् कङा बूक्छामी आम्नु चाचायोछा, छीलाम् धीलाम् सेम स्याची प्यावँखँनूम्वो ।

हमो..... साखेल्खूना सूबीखूना साप्ताला बूकूमा वलीखापी अँ बीछूरी बाछूरीलो, सूनाठोला सुनाहरलो, साम्लालोतो मसूमे मेदुमेलो, तायामी ताङ्खीमीलो कङ्कदे, केरेरेलो, अँ रुमीपमीलो, वतूपलावा वरीलावा लावाभ्याम्तो, कूबीलावा, तायालावा, लावाभ्याम्तो, चासूम्साया, बूलूसाया सायाभ्याम्तो, सखेल्खू सूबीखूहँचेउ, छूङ्छानी पतानूम्वो । वलँनी कतँनी अतनी के ।

कूबीले यति मून्धूम बाचन गरि सकेपछि भालेको शिरमा अक्षता र अदुवा चढाएर चिन्डोको जाँडले खन्याई एक पटक पर्छाउँछन । कुखुराले पर्छिएपछि चूलामा पनि चिन्डोको जाँडले खन्याउँछन । यतिवेला नै अन्य जानिफकार ब्यक्ति र कङकदेहरुले पनि चिन्डोको रक्सिले चूलामा खन्याउँदछन ।

दोस्रो,

हमो..... बूक्छामीहँचेऊ, नागा ह्यालापा छोरुमी कँसूमीहँचेऊ । साप्सामी, दीबूमी, कूबीमी, लसमी तायामीहँचेऊ, चासूम् पेकानूम्, बूलू पेकानूम्, रुँरी पेकानूम्, साखा पेकानूम्, सखेल्खू सूबीखूमी मून्छूङ् पेकानुम्वो । छीलाम धीलाम पेकानूम् न सँरीवापा धीरीवापा, सलवाधी वलवधीवा यँ लोमा लोकीहनीकपी छूङ्छानी खाङानुम्वो ।

अघिजस्तै गरेर भालेलाई पर्छाई सबैजनाले चिन्डोको जाँडरक्सिले चूलामा खन्याउँदछन ।

अन्तिम,

हमो..... बूक्छामीहँचेऊ, नागा ह्यालापा छोरुमी कँसूमीहँचेऊ, चासूमी,बूलूमीहँचेऊ, कूबीमी तायामीहँचेऊ छीलाम् धीलाम् लीतानूम्, साखेवा सूवीवामी मून्छूङ् पेकानूम् । सँरीवापालो सलवाधी अलवाधी, खामवा खाप्चीवा, सूबीदाम, चासूम, बूलूवासँ लोकीहनी, छँरीसा वादाम्सालो, हूपेर् वासा, लँपेर् वासा, ङाछीलीसा, धीलूङ्सालो धीरीवापा सँरीवापालो लोकीहनीके सेममून्छूङ् लेमाछी । साखेवा फल्सी खातेकाकपी साखेवा पेकानूम, सूबीवा पेकानूम्, चासूमरुँरी पेकानूम, बूलूरुँरी पेकानूम, कूबीरुँरी, तायारुँरी पेकानूम्, खचूचूप्पा नारीता मूचीलो नागीलूङ् नारीथापी लोकीहँनीके ।

अघिजस्तै गरेर भालेलाई पर्छाई सबैजनाले चिन्डोको जाँडरक्सिले चूलामा खन्याउँदछन ।

त्यसपछि अध्यक्षले भाले काटि तिन चूलामा चढाउनु पर्दछ । यतिबेला कूबी र मसूमेहरुले रीसीया गाउदै, सिली टिप्दै नाच्नु पर्दछ । त्याहाँ बस्नेहरुपनि उनीहरुसंगै नाच्नु पर्दछ । सबैजनाले नाच्दै चूलालाई तिन पटक परिक्रमा गर्नु पर्दछ ।

यसरी सिलीमा नाचिसकेपछि थानथपनामा राखिएको सामाग्रीहरु सबै देवदेवताको नाममा सार्नु पर्दछ । भालेको खुट्टा, पखेटा र कलेजो पोलेर सार्नु पर्दछ । मासु सार्दा सूवाँभारमा र चूलालाई चहिँ सफा पातमा सार्नु पर्दछ । अन्य घरपरिवारको देवदेवतालाई चाहिँ उनीहरुको आ–आफ्नो नाम्मा मन्साई दिनु पर्दछ ।

सिलि नाच्दा गाउने रीसीया

सिलि नाच्दै गर्दा कूबीमीले निम्न रिसिया गाँउदछ,

चासूम्खूरुलो, बूलूखूरुलो दोलोकूम्मा दो
रुबीखूरुलो, सीखीखूरुलो दोलोकूम्मा दो
साप्साखूरुलो, दीबूखूरुलो दोलोकूम्मा दो
चासूमरुँरी, बूलूरुँरी, सीखीरुँरी पतूम्सूम्नेवो दोलोकूम्मा दो
नचुरी नहँरीसँ ताया तोलूम्सूम्ने दोलोकूम्मा दो
थनँवा रुबूसूङ्सँ ताया तोलूम्सूम्ने दोलोकूम्मा दो
सीकूमरी माकूमरीसँ ताया तोलूम्सूम्ने दोलोकूम्मा दो
दङखनी दलँनीसँ ताया तोलूम्सूम्ने दोलोकूम्मा दो
बूक्छामीचेऊ, रीयाहँचेऊ दोलोकूम्मा दो
साखेल्खू सूबीखूपी हँसँहँलँ लायेसेनेवो दोलोकूम्मा दो
कूबीमहपा, सीलीमहपा, मूक्तिमहपा, दोलोकूम्मा दो
मन्ङीसूँपा, मन्दैसूँपा, बबँसूपा सूयामापो दोलोकूम्मा दो
छीलाम्ङतो धीलाम्ङतो लायेसेमो दोलोकूम्मा दो ।
अनुसूची ३

आवश्यक सामाग्रीहरु

  1. एउटा भाले र एक अण्डा
  2. थान थपनाको लागि सेउली, केराको पात र फुलपातीहरु ।
  3. पौराणिक हात हतियारहरु, धनुकाँड, भाला, खुकुरी, हसियाँ, खुर्पा आदि ।
  4. थुम्से, डालो, नाङलो, माना, पाथि, बासको ढुङग्रो, भाँडा कुँडाहरु ।
  5. कासको थाल, चामल, चोखो अदुवा, धुप, दियो बत्ति, लाईटर, कलश ।
  6. अन्नहरु धान, कोदो, कागुनी आदि ।
  7. रक्सि भरेको चिण्डो (रक्सि पाएन भने कोदो र मर्चा मिसाएको) ।
  8. बल्याम्खा (कुबि बस्ने कुर्सी)

खानपान

उपस्थित दाजुभाई दिदि बहिनीहरुलाई खानपान गराउनु पर्दछ ।

शिर उठाउनी

खानपान गरिसके पश्चात कूबीमीहरुलाई शिर उठ्याउने चलन रहेको छ ।

अनुमानित खर्च

खानपान अनुमानित ३० जनालाई HK$150 30 HK$4500

अनुमानित आम्दानी

कार्यक्रमको आम्दानी निम्न तरिकाले रकम संकलन गरिने छ ।

हरेक भाषिक संस्थालाई भालेस्वरुप HK$300 8 HK$2400
अन्य ईच्छुक ब्याक्तिलाई भालेस्वरुप HK$200 15 HK$3000
HK$5400
अनुसूची ४

कार्य बाँडफाँड

  1. समन्वय (कार्यक्रम) – समन्वय बिभाग
  2. यातायात (बस ब्यावस्थापन) – यातायात बिभाग
  3. सुरक्षा (प्राथमिक उपचार) – सुरक्षा बिभाग
  4. निर्माण (खानपान स्थल) – निर्माण बिभाग
  5. संस्कार (थान थपना) – संस्कार बिभाग
  6. सरसजावट (सुप्तुलुङ) – सरसजावट बिभाग
  7. संचार (फोटो/भिडियोग्राफी ) – संचार बिभाग
  8. छपाई (ब्यानर/प्रचारप्रचार) – छपाई बिभाग
  9. स्वागत (ब्याज फुल बितरण) – स्वागत बिभाग
  10. संस्कृति (सिलि नाच) – संस्कृति बिभाग
  11. कोष (सामाग्री खरिद) – कोष अभिबृद्धि बिभाग
  12. खानपान (ब्यावस्थापन) – खानपान बिभाग
  13. सत्कार (खानपान हेरबिचार) – सत्कार बिभाग
  14. सरसफाई (कार्यक्रम स्थल) – सरसफाई बिभाग
  15. ओसारपसार (सामाग्रीहरु) – ओसारपसार बिभाग

कार्यक्रमको रुपरेखा

  1. आशन ग्रहण – अध्यक्ष तथा आमन्त्रित ब्यक्तिहरु
  2. चूलापूजा बारेमा  – उपाध्यक्ष
  3. चूलापूजा प्रार्थना बाचन–
  4. मुन्धुम बाचन – कूबीमी
  5. कुखुरा चढाउने – अध्यक्षबाट
  6. सिलि नृत्य – शिलिमोपा, शिलिमोमा, ढोले, भ्याम्टे, कलाकारहरु
  7. सगुन बितरण –
  8. कजेरी र धामीको शिर उठाउनी – अध्यक्ष
  9. समापन – अध्यक्ष
अनुसूची ५

डाउनलोड :

कार्यक्रम रुपरेखा एमएसवर्ड पिडिएफ