किरात राई यायोक्खाबारे नयाँ बहस

bhim-rai

विश्वभरि छरिएर रहेको किरात राई समुदायको साझा र सबैको छाता संगठनको रूपमा रहेको किरात राई यायोक्खाको नवौँ महाधिवेशनले अख्तियार गरेको बाटो र नेतृत्वले गर्नुपर्ने कार्यशैलीका कारण यायोक्खामा नयाँ बहसको आवश्यकता देखापरेको छ । किरात राई समुदायको प्रतिनिधि संस्थाको रूपमा रहेको भनिएको यस संस्था स्थापना नेपालको ऐन नियममा आधारित रहेर लोकतान्त्रिक विधि र प्रक्रिया अंगिकार गरेको विशुद्व गैरसरकारी, गैरराजनीतिक एक सामाजिक संस्थाको रूपमा भएको हो । र, यसको सञ्चालन पनि सोहीअनुरूप हुनुपर्दछ । संस्था दर्ता ऐन २०३४ अन्र्तगत राज्यको सम्बन्धित निकायमा दर्ता भई सञ्चालनमा आएको यस संस्थाले अंगिकार गरेको विधानअनुसार यसले सामाजिक कार्यहरू मात्रै गर्नुपर्दथ्यो । तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै सामुदायिक हितका पक्षमा वकालत गर्नेक्रममा केही राजनीतिक नाराहरूसमेत संस्थाले बोकेर अहिले अगाडि बढिरहेको छ । संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएको सामाजिक संस्थाले राजनीति गर्न पाउने वा नपाउने भन्ने कुरा अलग छ ।

किरात राई यायोक्खाले संस्था दर्ताको समयमा निर्माण गरेको र सम्बन्धित निकायले स्वीकृत गरेको विधानमा उल्लेख भएका उद्देश्यहरूको पक्षमा यायोक्खाले कसरी कदम अगाडि बढाइरहेको छ भन्ने विषय नै आज बहसको विषय हो । संस्था दर्ता गर्दाको बखत उल्लेख गरिएको र हालसम्म अविछिन्न रहेको संस्थाको उद्देश्यहरू भनेको सम्पूर्ण किरात राई समुदायको भाषा, धर्म, संस्कृतिको संरक्षण, सम्वद्र्वन, उत्थान तथा प्रवद्र्वन हो । यसका पक्षमा वकालत गर्ने अभिमुखीकरण गर्ने यायोक्खाको मुख्य जिम्मेवारी हो । भाषा, धर्म, संस्कार संस्कृतिको प्रवद्र्वन गर्नमा राज्यले विभेद गरेको छ । भन्ने ठम्याइको आधारमा हाल यायोक्खाले केही राजनीतिक मुद्दाहरूमा समेत आफ्नो स्पष्ट विचार अगाडि सारेको छ । यो समयको माग हो । यसका लागि विभिन्न भाषिक समुदायको नेतृत्व यायोक्खाले गर्दै आएको छ । अहिलेसम्म यायोक्खाले खेल्दै आएको यो भूमिकामा केही सुधार र प्रयासहरू अपुग छन् । र, नेतृत्वले गम्भीरतापूर्वक नसोचेका विषयहरू पनि प्रशस्तै छन् ।

संस्थाको उद्देश्यअनुरूप खोजिएको किरात राईहरूको बृहत् एकता हो । जसलाई एक सूत्रमा बाँध्ने किरात राईहरूको संस्कार, संस्कृति, परम्परा, रहनसहन, धार्मिक आस्थाले मात्रै सम्भव छ । छुट्टाछट्टै भाषाहरू बोलिने भए पनि मिथकीय हिसाबमा होस् या सांस्कृति हिसाब सबै किरात राईहरू एक ठाउँमा रहेका छन् । यसका कुनै द्विविधा छैन । यस्तो बेला किरात राई समुदायमा नयाँ बहसको आवश्यकता नै किन भन्ने लाग्न सक्छ । तर, समय क्रमसँगै विकास भएका अनेकन सामाजिक समस्याका कारण आज समुदायका अगुवा वा नेतृत्वले खेल्ने भूमिकाबारे भ्रम र वास्तविकताहरू सार्वजनिक गर्नकै लागि पनि बहस जरुरी छ ।

किरात राई समुदायमा भाषा फरक भए पनि संस्कृतिमा कुनै फरक छैन । यसमा कुनै भाषिक समुदाय विशेष भनेर द्विविधा सिर्जना गराउने प्रयत्न हुनु हुँदैन । जस्तो जन्मदेखि मृत्युसम्मको संस्कारलाई हेर्ने हो भने किरात राईहरू सबैको मान्यता एकै प्रकारको रहेको छ । सबैले मान्दै आएको ‘थुतुरीवेद’ (मुन्दुमी मान्यता) सबै किरात राईहरूले उपयोग गर्दै आइरहेको अवस्था हो । हाल यो समुदायमा प्रत्यक्ष रूपमा संस्कृति हस्तक्षेप बढेको छ । आफ्नो सांस्कृति परम्परा तथा संस्कारलाई प्रवद्र्वन गर्न नसक्दा विस्तारै संस्कृतिको लोप हुने अवस्थामा पुगेको बेला बाह्य हस्तक्षेप तीव्र बनेको छ । किरात राई हुनुको अर्थ औचित्यतालाई बिस्तारै बिर्साउनका लागि कथित धर्म तथा संस्कारको रूपमा यो समुदाय प्रहारको केन्द्रबिन्दु बनेको छ । अधिकांश किरात समुदायमा क्रिस्चियन र आत्मनन्द, ओमनन्द, साधु, जोसमनीजस्ता धार्मिक हस्तक्षेप बढिरहेको छ । यसलाई रोक्न यायोक्खाको पहिलो कदम आवश्यक छैन र ? यो बहसको पहिलो विषय हो ।

घटना ताजै छ, किरात राई समुदायमा भ्रमको खेती भएकैले धेरै जसो किरात राई समुदायमा धर्म परिर्वतनजस्तो कार्यहरू तीव्ररूपमा बढेका छन् । यो सामाजिक भ्रमलाई एकजना राई पत्रकारले उजागर गर्ने प्रयत्न गर्दा प्रहरीको हिरासतमा लामो समय गुजार्नुप¥यो, कानुनी रूपमा मुद्दा लड्नुप¥यो । त्यो मोडिएको विषयमा यसबारे यायोक्खाले कडा प्रतिवाद गर्न आवश्यक थियो । यसमा झारा टार्नेकाम मात्र भयो । उता, यायोक्खाकै केन्द्रीय नेताले उनै भ्रमको खेती गर्नेहरूको कार्यक्रममा गएर सार्वजनिक रूपमा भाषण गरेर यायोक्खाको मुख्य उद्देश्यलाई धुमिल बनाएको पाइयो । यसले आम किरात राई यायोक्खामा आवद्व आफ्नो भाषा, संस्कार, धर्म, संस्कृति र परम्पराको संरक्षण र संवद्र्वनमा लाग्ने कार्यकर्ताहरूलाई के लाग्छ ? किरात राई यायोक्खामा आवद्व भाषिक समुदायहरू आठभन्दा बढी छन् । ती भाषिक समुदायको संस्थाहरूले आफ्नो भाषाको अध्ययन, संस्कृतिको अध्ययन परम्परा, रीति, संस्कार खोज गर्दै त्यसलाई स्थापित गर्ने प्रयासमा लागिरहेको बेला अब यायोक्खालाई छाता संगठन मानेर जाने अवस्था होला कि नहोला अहिलेको बहसको यो मुख्य पाटो बनेको छ ।

एउटा मान्छेलाई मार्नका लागि पहिले उसको भाषालाई मार्ने, बिस्तारै संस्कार र संस्कृतिलाई मार्दै लगेपछि त्यो आफैँ मरिसकेको हुन्छ भन्ने तर्कसम्मत हिसाबले लागेका अन्य हस्तक्षेपकारी सम्प्रदायको कार्यक्रममा छाता संस्थाको प्रतिनिधिले गएर शुभकामना दिँदै उसको प्रोत्साहन गर्नाले यायोक्खाको उद्देश्य प्राप्तिका लागि रातोदिन लागेकाहरूले कसरी बुझ्लान् । यो प्रश्नको जवाफ अब खोज्नुपर्ने भएको छ । वर्तमान नेतृत्वले यसको जवाफ दिनुपर्दछ ।

यायोक्खा आफैँ सबैको किरात राई समुदायको प्रतिनिधि संस्था हो । नाममा किरात राई लेखिएकाहरू सबैको प्रतिनिधित्व गर्ने कुरा एउटा भ्रम मात्र हो । किरात राई हुनुलाई के–के आवश्यक छ भन्ने विषयमा यायोक्खाले अध्ययन गर्ने कि नगर्ने ? जो आफ्नो कुलपितृदेखि आफूले मान्दै आएको सम्पूर्ण संस्कार संस्कृति सबै तिलाञ्जली दिएर अरू नै कुरापछि राख्छ । जसले हामीले मन्दै आएका हाम्रो पुर्खा तथा पितृलाई शैतानी आँखाले हेर्छ । उसको प्रतिनिधित्व यायोक्खाले गर्न मिल्छ र ?

हामीले मानिएको आगो, पानी, जल, जंगल, र जमिनको पूजालाई आँगनमा पोलेर खरानी बनाउने कुरामा कसरी सहमत हुन सकिन्छ । हामीले गाउँदै आएको रिसिया, मुन्धुमी मन्त्र तथा कर्मकाण्डमा बोलिने रितिसंस्कारको कुरालाई पुस्तकमा वर्जित गरेर नबुझिने मन्त्रमा कसरी किराती समुदायको हित हुन सक्छ । यो यायोक्खाका लागि आएको चुनौति हो कि होइन ?

अब राजनीतिको कुरामा पनि बहस जरुरी छ । अहिले मुलुक संघीयतमा गइसकेको छ । भलै हामीले मागेजस्तो प्रदेश प्राप्त भएन । नामांकनविनाको प्रदेश संविधानले दिएको छ । पहिचानविनाको संविधान प्राप्त भएकाले राजनीतिक रूपमा हामी आन्दोलनमा छौँ । आन्दोलनमा जाने विषयमा समेत यायोक्खाको अवधारणा स्पष्ट देखिन्न । किरात राज्य आवश्यक छ । प्रदेश नम्बर १ लाई किरात प्रदेश भनियोस् । यायोक्खाको माग योभन्दा माथि जाने की नजाने । यायोक्खा हाल पनि आन्दोलनको अग्रभागमा पुग्न सकेको छैन । आफूले पूर्वको १६ जिल्लालाई किरात राज्य भनिरहेको बेला पूर्वमा उठेको नौ वटा जिल्लाको छुट्टै लिम्बुवान राज्यको मागकाबारेमा बहस गर्ने कि नगर्ने ? भोलि हामीले किरात राज्य प्राप्ति ग¥यौँ लिम्बुवानले किरात राज्य स्वीकार्ने सम्भावना छ कि छैन ? यतातिर छलफल र बहस किन नगर्ने ? निकै अगाडि बहसको रूपमा उठेको लिम्बुवानजस्तै अहिले उठिरहेको खम्बुवान राज्यकै बारेमा पनि छलफल गर्दै गरे हुन्न र ? यो पनि अहिले खड्किरहेको विषय हो । यसबारेमा वर्तमान यायोक्खाको नेतृत्वको अवधारणा आउनुपर्छ । यसका लागि छलफल र बहसहरू हुन आवश्यक छ ।

अर्कोतर्फ, यायोक्खाले समेट्नुपर्ने विषयहरू अरू पनि धेरै छन् । किरात राई यायोक्खासँग असहमत किरात राई भाषिक समुदाय पनि अस्थित्वमा रहेका छन् । कुलुङ, बाहिङ, नाछिरिङजस्ता भाषिक समुदायले पनि समान उद्देश्य भावना बोकेर आफ्नो संस्कार, संस्कृति, भाषा, धर्मबारे अहोरात्र काम गरिहेका छन् । उनीहरूलाई यायोक्खामा किन समावेश नगर्ने ? समावेश हुन नसक्ने विषय के–के हुन् भन्ने कुरालाई बहसमा किन नलैजाने ?

प्राज्ञिक क्षेत्रमासमेत यस्ता बहसहरू उब्जेका छन् । किरात इतिहासको सवालमा खोजकर्ताले के–के पत्ता लगाए । अर्थात के भन्ने विषयमा छलफल खोई ? अहिले चलाउँदै आएको येले संवत्बारेसमेत विवाद देखिएका छन् । यसका बारेमा खोज तथा अनुसन्धानकर्ताहरूसँग बहस र छलफल गरेर किन निक्र्यौल नगर्ने प्रश्नहरू काफी भइसकेका छन् । वर्तमान यायोक्खाले अबको दिनमा यतातर्फ नयाँ किसिमको बहस सुरु गर्नुपर्दछ । अन्यथा यायोक्खा सीमित व्यक्तिको सानो सिन्डिकेटमा मात्र रहनेछ । किरात राई यायोक्खा इतिहासमै मात्र सीमित बन्ने निश्चित छ । सबै किरात राई समुदायले यसतर्फ आजै सोचौँ ।

भीम दुमी
२०७३ जेठ १७ गते ईसमता मा प्रकाशित