मगनी/पिँढिबास

बिबाह संस्कारको फारम |

बिबाह संस्कार

मौलिक किरात धर्म संस्कार अनुसार केटाको उमेर १८ बर्ष पुगेपछि बिबाह गरिदिने संस्कार छ। किरात राईहरुको घरमा बुहारी भित्र्याउदा र छोरीचेली ज्वाँइलाई दिँदा आफ्नै किसिमको रीति गरिन्छ। बिवाह गर्ने रीति बिभिन्न खोला, पाछा, थर अनुसार फरक फरक पाईन्छ। घरमा बुहारी ल्याउनु पर्ने भएमा केटी कस्को छोरी हो ? उनिहरुसंग के साईनो पर्दछ ? उनीहरुको पाछा/उपथर, सामे के हो? राम्ररी बुझ्नु पर्दछ। केटाको पाछा भित्र बिवाहबारी चल्दैन। त्यस्तै मामा, छेमा, देमा र फुपुको साखा सन्तानभित्र पनि किरात राईहरुले बिवाह गर्न हुँदैन। कसैले साईनो लाग्ने भित्रको बिवाह गरेमा अशुभ मानिन्छ। यस्तो बिवाह गर्नेलाई गाँउघर, समाज बाटै निकाला गरिन्छ।

मगनी/पिँढिबास (Engagement)

बिवाह गर्न अगावै केटी मगनी गर्नु पर्दछ। मगनी गर्न पनि त्यातिकै जान हुन्न। एकजनालाई सारथी बनाई केटीको माईतीघरमा कुरा सोधनी गर्न पठाउनु पर्दछ। केटीको माईतीघरबाट सारथिले कुरा मिलेको खबर ल्याएपछि मात्र केटाको घरबाट रीतसहित केटी मगनी गर्न पठाईन्छ। आजभोली केटाकेटी आफै मन परापर भएर प्रेमबिवाह गरेको पनि पाईन्छ। तर सवैकुरा नसोधि प्रेम बिवाह गर्दा, साईनो लाग्नेभित्र पनि बिवाह हुनसक्ने भएकोले किरात राईहरुले मागी बिवाहलाई नै प्रथमिकता दिन्छन। केटी मगनी गरी घरभित्र्याई सकेपछि मात्र समय अनुकुल हेरेर बिबाह कार्य सम्पन्न गरिन्छ। मगनीलाई पिँढिबास दिन पनि भनिन्छ। पिँढिबास दिईसकेपछि बेहुलाबेहुली सासुससुरालीमा आवत जावत गर्न मिल्दछ।

केटी मगनी गर्न जाँदा पहिला केटीको बडाबाबुको घरमा, नभए काकाको घरमा जानु पर्दछ। यसलाई “धिवत्तँ खीम” भनिन्छ। त्यहाँबाट धिवत्तँलाई साथै लिएर केटीको घरमा कुरा राख्न जानु पर्दछ। केटीको घरलाई “गाछी खीम” भनिन्छ। अझकल सोझै “गाछि खिम” मा जाने समेत चलन आएको छ। त्यहाँ पुगेर मगनीको रित राख्नु पर्दछ।

कार्यक्रम १

कलिया बाँध्ने

केटी मगनी गर्नेदेखी बिवाहको छिनोफानो गरिन्जेलसम्मको सम्पुर्ण रीतिबिधि गर्नको लागि दुईजना जानिफकार ब्यक्तिहरुलाई कलिया बनाउनु पर्दछ। केटी पक्षतिर पनि दुईजना नै कलिया राखेको हुन्छन। केटाकेटी दुवैतिरको कलिया बान्ने रीति एउटै किसिमको हुन्छ। कलियाहरुले दुवैतिरको विवाह सम्बन्धि खबर आदानप्रदान गर्ने कार्य गर्दछन। कलिया बनाउदा उनिहरुको सम्मानको लागी जोडी कठुवामा रक्सी राखीदिएर निम्न कुरा भन्नु पर्दछ ।

“यहाँ हाम्रो छोरा/भाई …(बेहुलाको नाम)… को केटी मगनी गर्नको लागी तपाँईहरुलाई आजदेखी कलिया बाँधेका छौं। आजदेखी बिवाह सकिन्जेलसम्म तपाँईहरुले दु:ख गरिदिनु पऱ्यो। यस शुभकार्यलाई सफलता पुर्वक सम्पन्न गरिदिनुहोस है।”

मगनीको रीत

केटापक्षले मगनी गर्न जाँदा १४ कठुवा रक्सि र अन्य निम्न सामाग्रीहरु लिएर जानु पर्दछ।

  1. पित्रीहरुलाई – जोडी कठुवामा रक्सी
  2. धिवत्तँलाई – जोडी कठुवामा रक्सी
  3. सारथीलाई – जोडी कठुवामा रक्सी
  4. केटीपक्षको कलियालाई – जोडी कठुवामा रक्सी
  5. आमाको आँसु पुछाउनी – एक कठुवा रक्सी र १ रुपैयाँ
  6. बाबुको शिर उठाउनी – एक कठुवा रक्सी र ५ रुपैयाँ
  7. बाजे बोजु हुनुहुन्छ भने – एक कठुवा रक्सी र १० रुपैया
  8. बेहुलीलाई सयमुन्द्री – थैलिभित्र सिन्दुर, पोते, सुपारी, १०० रुपैयाँ र १ तामाको सिक्का
  9. साईनो माग्नको लागि – जोडी कठुवामा रक्सी
  10. ढोगभेटको लागि – एक कठुवा रक्सी र आठआना पैसा

कार्यक्रम २

पित्री पुकारने

मगनी गर्न जाँदा पहिला बेहुलाको घरमा पितृहरुलाई पुकारी जानु पर्दछ। नत्र भनेको ईच्छा पुरा नहुने विश्वास गरिन्छ।

तयमी –
हे कुलपित्रमा रहनु भएका सम्पुर्ण पितापुर्खाहरु हो
आज हामी जाँड पानी, रुपैया पैसा, अन्न लिई
कुटुम्बको घरमा बेहुली माग्न जाँदैछौ।
हाम्रो ईच्छा पुरा गरि दिनुहोस।

बाझोजुझो, आँखीडाही सवैकुरा पन्छाई दिनुहोस।
आज नरनाताहरु र जानिफकार ब्याक्तीहरुलाई साथमा लिई
हामी बुहारीलाई कुटुम्बको कुलबाट,
हाम्रो कुलमा माग्न जाँदैछौ।

हामीलाई कहि कतै अप्ठ्यारो नपरोस
कुटुम्बहरुको सामुन्ने कुनै कमि कमजोरी नरहोस।
हे पितापुर्खाहरु हो । हामीलाई यो शुभकार्य
सफलता पुर्वक सम्पन्न गरि आउँनु भनी
ज्ञान दिनुहोस, आर्शिबाद दिनुहोस है।
जय पितापुर्खाहरु हो।

कार्यक्रम ३

मगनी कार्यक्रम

*केटा पक्षको कलिया–
माननिय उपस्थित मान्यजनहरु, भाईभतिजहरु, कुटुम्बहरुहो, आज हामी यहाँ, हिजो पारुहाङ, सुम्निमा, तयमा, खियामा, खोक्चिलिप्पा/रैछाकुले  हाम्रो पुर्खाहरुले चलाईल्याउनु भएको चलनलाई अगाडि बढाउदै, वहाँहरुले चलाएको सवै रितहरु बोकेर साँक्षी प्रमाणका साथ (बेहुलाको बाजेबोजुको नाम) को नाति (बेहुलाको बाबुआमाको नाम) को (कुनभाई) छोरा (बेहुलाको नाम र पाछा) ले (बेहुलीको बाजेबोजुको नाम) को नातिनि (बेहुलीको बाबुआमाको नाम) को (कुनबहिनि) छोरी (बेहुलीकोनाम र पाछा) लाई मगनी गर्न यहाँ  उपस्थित भएका छौ।

मान्यजनहरु, मानव माया अपरम्पार छ। हाम्रो पुर्खा सुम्निमा पारुहाङले यस संसारको सृष्टि गर्नु भयो। खोला, नाला, कोसी, समुन्द्रको सृष्टि गर्नु भयो। पाखा, पर्वत, हिमाल, बनजंगलको सृष्टि गर्नु भयो। यस संसारलाई सुन्दर बनाउन जिव, जन्तु, चराचुरुङगी, मानवको सृष्टि गर्नुभयो। आफ्नो वंशलाई अगाडि बढाउन माया प्रिति लगाउन सिकाउनु भयो। प्रकृतिलाई निरन्तर अगाडी बढाउन माया प्रेमको बन्धन बाँध्न सिकाउनु भयो।

मान्यजनहरु, आज हामी यहाँ यहि मायाको बन्धन बाँधन, सृष्टिको नियमलाई निरन्तर अगाडी बढाउन उपस्थित भएका छौं। यहाँहरुले मिठो बचन, गुलियो बचन गरिदिनु हुनेछ भन्ने ठुलो आशा राखेका छौं।

मगनी रित राख्ने

*केटा पक्षको कलिया–
मान्यजनहरु। हामि मगनीको रित राख्न लागि रहेका छौं। हाम्रो बाजे पुर्खा खुशि होउन, आजको यस मगनी कार्यक्रममा कसैको रिस राग नहोस भनि पुर्खा, धीवँत्त, गाछी सबै मान्यजनहरुको सम्मानार्थ सगुन ल्याएका छौं।  कार्यक्रम भरि यहाँहरुले मिठो बोली गुलियो बचन बोलिदिनु हुनेछ भनेर हामीले आशा गरेका छौं। अब मेरो साथी कलियालाई बेहुलाको पक्षबाट मगनीको रित राखिदिनहुन हार्दिक अनुरोध गर्दछु। म रितको नामाकरण गर्दै जानेछु। यहाँहरुले रीत राख्दै जानहुन समेत अनुरोध गर्दछु।

  1. “पुर्खाहरुलाई सम्मान स्वरुप” –  (जोडि कठुवामा रक्सी)
  2. “बाजेबोजुको सम्मान स्वरुप” –  (एक कठुवा रक्सी र १ रुपैयाँ पैसा)
  3. “धीवत्तँको सम्मान स्वरुप” –  (जोडि कठुवामा रक्सी)
  4. “सारथिको सम्मान स्वरुप”  –  (जोडि कठुवामा रक्सी)
  5. “कलियाको सम्मान स्वरुप” –  (जोडि कठुवामा रक्सी)
  6. “आमाको आँसु पुछाउनी, मन बुझाउनी” –  (एक कठुवा रक्सी र १ रुपैयाँ पैसा)
  7. “बाबुको शिर उठाउनी मन बुझाउनी” –  (एक कठुवा रक्सी र ५ रुपैयाँ पैसा)
  8. “सयमुन्द्री”  –  (सिन्दुरपोते, सुपारी, १०० रुपैयाँ र १ तामाको सिक्का भएको थैली)
  9. “मान्यजनहरुको सम्मान स्वरुप” –  (जोडि कठुवामा रक्सी)

केटा पक्षको कलिया–
मान्यजनहरु। यो सवै रितहरु बेहुला पक्षले राख्नु भएको छ। यो रित हिजो पारुहाङ, रुमाहाङ, रेछाकुपा, नायुमा, सुम्निमाहरुले नै गरिल्याउनु भएको हो। तपाँई हाम्रो बाजे पुर्खाहरुले नै गरिल्याउनु भएको हो। यो सवैकुरा हिजैबाट भई आएको हो। हजुर आज हामीले मनोखुशि गरिल्याएका होइनौं। यसमा तलमाथि केहि छैन। केहि कमि कम्जोरि भए माफि माग्दछौं।

यो रितलाई बेहुली पक्षको मान्यजनहरुले स्वीकारी दिन पऱ्यो हजुर भनि बिन्ति गर्नु पर्दछ।

रित स्विकार्ने

बेहुलीपक्षले रित स्विकारी सके पछि बेहुलापक्षको नरनताहरुलाई सगुन बितरण गर्नु पर्दछ ।

कार्यक्रम ३

आर्शिबाद तथा साईनो चिनाउने

आर्शिबाद तथा साईनो चिनाउने कार्य गर्दा दही चामलको टिका र आठाना पैसा राखि दिन पर्दछ। यति बेला साईनो चिनाउने काम बेहुली पट्टिको आफन्तले गर्नुपर्दछ। सर्वप्रथम बेहुलीको आमाबाबाबाट टिका तथा आर्शिबाद सुरु गरि आर्शिबाद दिनेलाई आठआना पैसा दिदैं ढोग गराउनु पर्दछ। ढोग गराउदा बेहुली अधि र बेहुला पछि हुनु पर्दछ। ढोग गरि सके पछि आठाना पैसा फिर्ता मागि एवं रितले साईनो अनुसार क्रमश: आर्शिबाद तथा ढोग गराउदै आठाना पैसा दिदै, लिदै ढोगभेट सकाउनु पर्दछ।

अन्तमा बेहुला पट्टिको साईनो चिनाउने काम बेहुलाको कलियाले गर्नु पर्दछ। माथि जस्तै बेहुला पट्टिबाट साईनो अनुसार आर्शिबाद तथा ढोगभेट सुरु गरि सकाउदै लानु पर्दछ।

कार्यक्रम ४

सम्धी सम्धिनी ढोगभेट

आर्शिबाद तथा साईनो चिनाउने कार्यक्रम सकिसकेपछि दुवैतिरको सम्धी सम्धीना पर्नेहरुलाई ढोगभेट गराउनु पर्दछ। यो कार्य गर्नको लागि बेहुलीपक्षबाट एक कठुवा रक्सी र बेहुलापक्षबाट आठाना पैसा सबैको अगाडि राखिदिन पर्दछ र साईनोले दुवैतिरको सम्धी सम्धीनी पर्नेहरु जति सबैलाई अगाडी बोलाउनु पर्दछ ।

*केटापक्षको कलिया–
तपाईहरु सवैजना सम्धि सम्धिनी पर्नेहरु उपस्थित हुनु भएको छ।  सम्धी ढोगभेट गरेको बेला कलियाहरुले त्यहाँ राखिएको कठुवाको रक्सी र आठाना पैसालाई यताको उता, उताको यता गरेर ढोगै पिच्छे सारिदिनु पर्दछ।

१. आजदेखी तपाँईहरु पछि–पछि सम्मको लागि सम्धी सम्धी हुनु भएको छ ।
तर्सथ तपाँईहरु “एक सम्धी, दुई सम्धी, तिन सम्धी” ।

सबैले भन्ने – सेवा हजुर।

२. आजदेखी तपाँईहरु आघौँ– पराघौँ सम्मको लागि सम्धीनी सम्धीनी हुनुभएको छ । तर्सथ तपाँईहरु “एक सम्धीनी, दुई सम्धिनी, तिन सम्धिनी” ।

सबैले भन्ने – सेवा हजुर।

३. आजदेखी तपाँईहरु युगौँ–युगौँ सम्मको लागि सम्धी सम्धीनी हुनुभएको छ ।
तर्सथ तपाँईहरु “एक सम्धी सम्धिनी, दुई सम्धी सम्धिनी, तिन सम्धी सम्धिनी” ।

सबैले भन्ने – सेवा हजुर।

धन्यबाद, सम्धि सम्धिनी ढोगभेट कार्यक्रम सकिएको छ।

कार्यक्रम ५

बिदाई

बेहुलाबेहुलीलाई बिदाई गर्दा बेहुलीलाई माईतीहरुले बोकी घर बाहिर निकाल्न पर्दछ। बेहुलाको घर पुऱ्याउन केटिपक्षकाहरुले केही मानिसहरु पठाँउनु पर्दछ। बेहुलाको घर लाँदा बेहुलीलाई बेहुलाको अगाडि हिडाएर लानु पर्दछ अथवा बेहुलाको घर पुग्ने बेला बेहुलीलाई बेहुलाको अगाडि हिडाउनु पर्दछ।

पिढिबास

यस रीतिलाई पिढिबास दिएको भनिन्छ। यो रीति सकेपछि बेहुला बेहुली ससुराली आउजाउ गर्न हुन्छ। केटाकेटी आफै मिलेर प्रेम बिवाह गरेको भएमा पिढिबास दिने रीति नगरिन्जेल बेहुला ससुराली जान हुँदैन।

कार्यक्रम ६

बुहारी भित्र्याउने:

बुहारी भित्र्याउने बेला सासुले घरभित्र ढोकानेर केराको पात राखी भित्र उभिनु पर्दछ। बेहुलीले केराको पातलाई दाहिने खुट्टाले टेकेर भित्र पस्नु पर्दछ। सासुले बुहारीलाई हातमा तानेर भित्र हुलाउनु पर्दछ।  बेहुला पनि बेहुलीलाई पच्छयाँउदै भित्र पस्नु पर्दछ।

शिन्दुरपोते:

बेहुलाले बेहुलीलाई शिन्दुरपोते लाईदिनु पर्दछ। सिन्दुर पोते कार्य सकेपछि बेहुलीले बेहुलालाई ढोग्नु पर्दछ।

(मौलिक किरात संस्कार अनुसार सिन्दुरपोते गरिन्दैन र खुट्टामा ढोग गरिन्दैन । तर अहिले आएर आम किरातीहरुले यस हिन्दु संस्कारलाई स्विकारी सकेका हुनाले यसमा राखिएकोछ। )

आर्शिबाद तथा साईनो चिनाउने:

सर्वप्रथम बेहुलाको आमाबाबाबाट दही चामलको टिका तथा आर्शिबाद सुरु गरि आर्शिबाद दिनेलाई आठआना पैसा दिदैं ढोग गराउनु पर्दछ। ढोग गराउदा बेहुली अधि र बेहुला पछि हुनु पर्दछ। ढोग गरि सके पछि आठाना पैसा फिर्ता मागि एवं रितले साईनो अनुसार क्रमश: आर्शिबाद तथा ढोग गराउदै आठाना पैसा दिदै, लिदै ढोगभेट सकाउनु पर्दछ। साईनो चिनाउने काम कलियाले गर्दछ।कलिया छैन भने मामाले गरिदिनु पर्दछ।

जुठो मिसाई दिल मिलाई:

ढोग सकेपछि बेहुलाको आमाले एउटै काँसे बोटुकबाट बेहुला र बेहुलीलाई दुई–दुईपटक रक्सी पियाई सगुन गर्ने रीति छ । यसलाई जुठो मिसाई दिल मिलाई” भनिन्छ।

(समाप्त)