देवीदेउता पुजा

चुला बाहिर गरिने पुजाहरु

किरात राईहरु चुला बाहिर पनि पुजा गर्दछन। घरायसी देवताहरुको पूजा, वन शिकारीको पूजा, संसारी पूजा, थानी पूजा आदि चुला बाहिर गरिने पुजाहरु हुन। त्यस्तै किरात राईहरुले भिरपहरा, खोलानाला, देवीदेउराली, नागनगेनी, गोठपूजा, भीमसेन पूजा, आदि पनि गर्दछन।

१. देवताहरुको पूजा

नयाँ अन्नवाली पाकेपछि वर्षमा एक पटक प्राय चैत्रमा धरको तलामा स्थापित देउताहरुलाई चोखो जाँड सुगुरको पाठा र कुखुराहरु काटेर पूजा गरिन्छ। यस्ता देउताहरु रिमुछी तपुछी हुत्पा पूर्वे आदि हुन्छन। यसलाई जिमीदेउता पनि भनिन्छ। यिनीहरुमा रिमुछी तपुछी श्रीमान र श्रीमती हुन जसलाई सापदेउ पनि भनिन्छ। जिमीदेवलाई बाख्राको मासुखाने जोसुकैले पनि छुन हुदैन कुजे लंगडो बनाउँछ। केही किरात राईहरुको विजुवा धामीको गूरुदेव नै यी देवताहरु हुने हुँदा यो देवताहरुलाई आदरकासाथ घरको तालामा पालिन्छ। जुन धामीको सापदेउ गुरु हुन्छ चिन्ताको बेला सर्पको काँडाको माला पनि बाङ्गोटिङ्गो भई बटारिएको हुन्छ। यी देवताहरुलाई अन्नको सानो सानो कोठा बनाई त्यसमा नयाँ अन्न भरेपछि वर्षमा एक पटक चैत्रमा पूजा गरिन्छ। पूजा गरेपछि उक्त कोठाको अन्न खान हुन्छ। घरमा खाद्यको साचय समेत हुनै यस्तो देवताहरुको पूजाबाट किरात राईहरुलाई फाइदै भएको पाइन्छ। वर्षमा एक-एकदिन आलोपालो सवै छिमेकीहरु जुटेर एकसाथ खानपिनमा सहभागिता हुनमा खुसी पनि त्यत्तिकै प्राप्त हुन्छ।

२. वन शिकारी पुजा:

किरात राईहरुको पुर्वजहरु जो बिछट्ट धनुबीर र शिकार मार्न खप्पिस शिकारीहरु थिए। उनिहरुलाई शिकारी देवताको रुपमा चिनिन्छ। साम्पाङ खोला तिर शिकारी पुजा फागु पुर्णे देखि बैसाखे पुर्णे सम्ममा गर्दछन। साम्पाङहरुले सोरुमी साप्सामी, नाम्रुङ र चुलवाखेलुवा शिकारीहरुको पुजा गर्दै आएकोछ। शिकारी देवतालाई बिभन्नि थरिका राईहरुले बिभन्नि नामले पुकार्दछ। शिकारी देवता रिसायो भने गाई बस्तुहरु, पशु पंछीहरु ठाँउका ठाँउ मर्दछ भन्ने बिस्वास गरिन्छ।

आवश्यक सामाग्रीहरुः

  1. दई वटा दुनामा छँरिसा (सबै प्रकारमो मासुको मिसावट)
  2. एकमाना चामल, एउटा काँसेथाल, दियो, कलश, अदुवा, र सिन्दुर
  3. धुप (सालधुप, नौनीघिउ, भैरुङपाती धुप आदी), कोईला, तितेपाति, गोबर
  4. दुईवटा ढुङगा, काँचो धागो, दुईवटा सिक्का पैसा, एउटा सानो चेयाको चित्रा
  5. दुईवटा चिण्डोमा कोदो र मर्चा घोलेको पानी एउटा र कोदोको रोटी
  6. एउटा धनुकाँड र बाँसको दुईवटा थर्कना (काँइयो)
  7. एउटा बासेको भाले र एउटा अण्डा

वन शिकारी पुजा विधिः

  1. आवश्यक सामाग्रीहरुलाई पहिले चुलाको तलतिर राखेर शरण पर्नु पर्दछ ।
  2. त्यसपछि घरको अलिपर रुखको फेदमा शिकारीको थान बनाउनु जानु पर्दछ ।
  3. थान बनाउदा दुईवटा ढुङगा खोजेर सफा ठाउँमा गाढ्नु पर्दछ ।
  4. ढुङगालाई काँचो धागोले तिनफन्को बेरेर त्यस माथि एक–एकवटा सिक्का पैसा चढाईदिन पर्दछ ।
  5. सिक्का माथि सिन्दुरले छर्किदिनु पर्दछ ।
  6. एउटा सानो चेयाको चित्रा पनि बुनेर ढुङगाको छेउमा राख्नु पर्दछ ।
  7. चित्रामाथि केराको पात ओछ्याएर अक्षता राख्नु पर्दछ ।
  8. अक्षतामाथि कुखुराका अण्डालाई पनि राख्नु पर्दछ ।
  9. अक्षताको दाँया बाँया दुईवटा दुनामा छँरिसा राख्नु पर्दछ ।
  10. अदुवा र कोदोको रोटीलाई पनि अक्षता माथिनै राखिन्छ ।
  11. धनुकाँड र बाँसको थर्कनालाई चित्रामा झुण्डाउनु पर्दछ ।
  12. गाडिएको ढुङगाको दाँयाबाँया जाँड सहितको चिण्डो राख्नु पर्दछ ।
  13. थानथपना भई सकेपछि कुबिमि वा जानिफकार ब्यक्तिले गोबर माथि कोईला राखेर धुप हाल्दै मुन्धुम बाचन गर्दै भालेको शिरमाथि अक्षता, तितेपाति, अदुवा र कलशको पानि चढाई तिन चोटि पर्छाउन लाउदछ ।
  14. पर्छाइसके पछि भालेलाई भोग दिईन्छ । रगत चित्राको भारबाट भुँईतिर खसाली दिन पर्दछ र भालेलाई छाडि दिन पर्दछ ।
  15. भाले घरतिर फर्कि उत्तानो परेर मर्यो भने घरपरिवारमा अशुभ हुन्छ । भाले कोल्टो परेर मर्यो भने शुभ संकेत मानिन्छ ।
  16. तेस्तै अण्डा फुटाएर तेस्मा पनि संकेत हेरिन्छ । अण्डा फुटाएर हेर्दा रगतको छिर्का देखिएमा चोटपटकमा परिन्छ । धागो जस्तो वस्तु तन्किरहेको देखिएमा अशुभ हुन्छ । केहिपनि देखिएन भने शुभ संकेत मानिन्छ ।
  17. चिँगा हेरिसकेपछि भालेको प्वाँख उखालेर थानमा गाड्नु पर्दछ ।
  18. भालेको खुट्टा, पखेट, कलेजो र अण्डा पोलेर शिकारी र अन्य देवदेवताहरुको नाममा सार्नु पर्दछ ।यसरि शिकारी पुजा समाप्त हुन्छ ।

संसारी पूजा :

देसान मसान वायु नलागुन परपर हटुन पानी परेर सवै वगाएर लैजाउन आँधी बेहरी केही नआउन बोट विरुवा सलत्र हुकिर्उन भन्नाको लागि वर्षमा एक पटक बैशाखमा सवै गाउँ मिलेर दामासाही पैसा चामल कुखुरा परेवा उठाई खोलापुर्याएर पूजा गर्ने चलन छ जसलाई संसारी पूजा भनिन्छ । यसरी पूजा गरेको दिन पानी परेको कैयौं घट्नाहरु पनि छन ।

थानी पूजा :

किरात राईहरुमा अर्को अनौठो देव थानी रहेको छ । कसैले अन्तरजात विवाह गरी ल्याएको महिलाको मृत्युपछि कुनै समयमा थानीदेवभई उत्रिने गरेको पाइन्छ । यसलाई वर्षमा एकपटक सवै गाउँघर र टाढाटाढाबाट छोरीचेलीहरुले समेत कुखुरा चामल रक्सी ल्याई पूजा गरेर मानमनितो गर्दछन ।

चूलापुजा