अन्तराष्ट्रिय स्तरमा किरात राई यायोक्खा (हङकङ) र भाषिक संस्थाहरु

नरजित राई

हामि किरात राईहरुको आफ्नै भाषा ,धर्म, कला, संस्कार, संस्कृति, रहेको सर्ब बिदितै छ। बि.सं. २०४७ साल श्रावन २२ मा  सालमा बिधिवत रुपमा किरात राई यायोक्खा नेपालको स्थापना भएको थियो। यो संस्थाको स्थापना हुनुको मुख्य उदेश्य भनेको नै किरात राइ जातिहरुका भाषा, लिपि, धर्म, संस्कार, संस्कृति र इतिहासको अध्ययन, खोज अनुसन्धान तथा संरक्षण सम्वरदन गर्नु र किरात राईहरु बसोबास गरिरहेका क्षेत्रहरुमा जातिय एकता र पहिचानका लागि झकझकाउदै, ब्यूझाउदै संस्थाको मुल उदेश्यहरुलाई किरात राईहरु बसोवास गरिरहेका क्षेत्रका जिल्लाहरुमा शहरहरुमा गाउहरुमा, वस्तिहरुमा पुर्याउनु थियो जुन आज सफलता तिर लगातार लम्किरहेको छ। आज किरात राईहरु आफ्नो पहिचान प्रति स्व–गौरव एवम जागारुक हुदै आफ्नो जातिय अस्तित्वका लागि  राष्ट्रिय तथा प्रवासको जुनसुकै कुनामा छरिएर बसेता पनि एकताको सुत्रमा बाधिईरहेका छन जुन जातिय एकताको गर्व किरात राई यायोख्खा नेपालको संस्थापक सदश्य भएको नाताले मलाइ पनि लागेकोछ।

संसार किरात राई यायोक्खामय  :

हामि किरात राईहरु नेपालका आदिम धति र्पुत्र भएता पनि कर्मको खोजिमा बिदेशिन बाध्य भएका छौ।यसै सन्दर्भमा सब भन्दा पहिले किरात राइहरु बसाइ सराई गर्दै नेपालबाट दाजिलिर्ङ, सिक्किम, देहरादुन तिर गई स्थाई बसोबास गर्न थाले तर बेलायत संग १८१६ को सुगौलि सन्धि पछि ति क्षेत्रहरु नेपालले गुमाउनु परेकाले नेपालका किरात राइहरु संग दुरि बड्न पुगेको थियो भने किरात राइहरुको प्रवासिने अर्को इतिहास भनेको नै बेलायति सेनामा प्रवेस भई बिभिन्न देशहरुमा गई कार्यरत हुनु र त्यतै अडकि बसोबास गर्नु हो। यस बाहेक प्रवासिने अन्य कारणहरुमा बैदेशिक रोजगारका लागि बिभिन्न देशहरुमा गई रोजगार गर्दै अस्थाई वा स्थाई रुपमा नै उतै आफ्ना स–परिवारहरुलाई लगि बसोबास गर्दै प्रवास तिरै पलायन हुनुले पनि नेपालका किरात राईहरु बिस्तारै संसार भरि छरिन पुगेका हुन तर आफ्नो जात, भाषा, धर्म, कला, संस्कार संस्कृति प्रति गर्व एवम माया गर्ने किरात राइहरु प्रवासमा रहेता पनि जातिय अस्तित्वलाई भुल्न नचाहनु नै बिदेशमा संगठित भई किरात राई यायोक्खाको स्थापना हुनुको मुख्य कारण हो। हामि किरात राइहरु संसारका जुनसुकै स्थानमा रहेता पनि हाम्रो जातिय उदेश्य र भावनाहरु एउटै भएकाले किरात राईहरुका पहिचान तथा अस्तित्वहरुलाइ बचाउन, किरात राई यायोक्खाको नामकरण गरि, किरात राईहरु बसोबास गरि रहेका मुलुलहरुमा, त्यस देशका नियन कानूनको मर्यादा भित्र रहि संस्था स्थापना भएका छन। बिश्वमा जति किरात राई यायोक्खाको स्थापना हुन्छन त्यति नै  किरात राईहरुमा दह्रो एकता हुन्छ। आज बिश्वभर किरात राईहरुको संस्था किरात राई यायोक्खामय हुनु सम्पुर्ण राईहरुले गर्व गर्ने बिषय हो तर हाम्रो मुल घर नेपाल नै हो भन्ने कुरा बिश्वका किरात राई यायोक्खाहरुले बिर्षनु भने हुदैन किनकि हाम्रो इतिहासका पानाहरु, पुर्खाका पाईतलाका डोबहरु साथै उनिहरुले उत्पादन एवम श्रृष्टि गरेका एउटै राइका बिभिन्न थरिका मौलिक भाषाहरु, धर्म संस्कार र संस्कृतिहरुका उदगमस्थल तथा आपनो हराएको इतिहासहरुलाइ धुईपतला खोज अनुसंधान गर्ने ठाउ पनि नेपाल नै हो। आज बिदेशि मुलुक भारतमा किरात खम्बु राई सांस्कृतिक संस्थान दाजिलिर्ङ, अखिल किरात राई संघ सिक्किम, किरात राई यायोक्खा हङकङ, किरात राई यायोक्खा बेलायत, किरात राई यायोक्खा दक्षिण कोरिया, युनाइटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका,  किरात राई यायोक्खा अष्ट्रेलिया, किरात राई यायोक्खा मलेशिया, किरात राई यायोक्खा ईजरायल तथा खाडि राष्ट्रहरुमा किरात राई यायोक्खा कतार, किरात राई यायोक्खा दुबई, मा समेत बिधिवतरुपमा किरात राई यायोक्खाको स्थापना भएका छन ।

हङकङमा किरात राई यायोक्खा :

हाम्रा पिता पुर्खाहरु बेलायति सेना कार्यरत भई हङकङमा रहेका नाताले हङकङमा उनिहरुका सन्तानहरु पनि जन्मिए जस्को कारण हङकङको आधारभूत कानुनमा लेखिएको जन्मसिध्द अधिकारको आधारमा हामि नेपालिहरु (गोर्खालिका छोरा छोरिहरु) बैधानिक रुपले हङकङमा प्रवेश गरि स्थाई रुपमा बसोबास गर्न आईपुगेका हौ। यो हङकङमा प्रवेश हुने  नेपालका बिभिन्न समुदायहरु मध्ये हामिहरु किरात राई जाति पनि एक थियौ। हामिहरु पनि हङकङमा किरात राइ जातिका पहिचान तथा अस्तित्वलाइ जिवित राख्नका लागि, हङकङमा बसोबास गरिरहेका किरात राइहरु बिच आपसि सदभाव, मर्दा पर्दाका अप्ठयारा परिस्थितिहरुमा आपसि सहयोग आदन–प्रदान गर्नुका साथै हङकङमा समेत किरात राइहरुको, भाषा, धर्म, कला, संस्कार संस्कृतिको प्रवध्दन गर्नका लागि हङकङगेलि किरात राईहरुको जमघट तथा आपसि छलफलबाट २८ जनवरि १९९८का दिन हङकङ स्थित काउलून पार्कमा किराया हङकङ भनि संस्थाको स्थापना गरिएको थियो। यो नै किरात राई यायोक्खाको नाममा अन्तराष्ट्रिय तहमा स्थापना भएको राइहरुको पहिलो संस्था हो। किरात राइ यायोक्खा  हङकङको स्थापना भएको छोटो समयमा कानूनि रुपमा संस्थालाइ दर्ता गराई (२ अप्रिल १९९८) हङकङको ताईमोसान कन्ट्रि पार्कमा किरात राईहरुको संस्कृति साकेला शिलि उभौलिको आयोजना गरि प्रवासमा पहिलो पटक धुमधामका साथ हङकङका किरात राईहरुले ढोल, झ्याम्टा को तालमा, शिलिमि पोमि र सेउलिहरु हल्लाउदै, बिभिन्न प्रकारका शिलिहरुमा नाच्दै रमाउदै सम्पन्न गर्न सफल भएको थियो जुन आज तक सम्म यो परम्परा रहि आएकोछ र हङकङमा किरात राईहरु रहुन्जेल यो परम्परा रहिरहनेछ। आज हङकङमा यो संस्था स्थापना भएको पनि डेड दशक भन्दा बढि भईसकेको अवस्थामा किरात राइहरुको संस्कृतिहरुलाइ बचाउनका लागि किरात राई यायोक्खा  हङकङले निकै राम्रा कामहरु गरिसकेको र गरिरहेको छन जसको उदाहरण स्वरुप साकेला शिलि( उभौलि–उधौलि )लाई प्रत्येक मनाउनु, हङकङको आधारभूत कानूनको नेपालिमा रुपान्तर गरि हङकङको कानून बारे हङकङगेलि समाजमा जानकारि गराउनु, सामुहिक चुल्हाको स्थापना र चुल्हा पुजा गर्नु, साकेला शिलि प्रशिक्षण अभियनको स्रब्य दृश्यको निर्माण गर्नु, भाषिक संस्थाहरु संग समन्वय गर्दै येले सम्बत मनाउनु, हङकङमा स्थापना भएका भाषिक संस्थाहरुलाई संरक्षकत्व प्रदान गर्नु र यलम्बर मुखपत्रको प्रकाशन भईरहनु आदिलाइ लिन सकिन्छ।

भाषिक संस्थाहरुको स्थापना :

हामि एक जाति र बहुभाषि किरात राईहरुको एकतामा बिबिधता नै राई जाति भित्रको भाषिक पहिचान हो अर्थात किरात राइ जाति आफैमा बहुभाषिक समुदाय भएको हुदा सांस्कृतिक, धामिर्क रुपमा हामिमा एक रुपता भए पनि भाषिक रपमा बिबिधता हुनु नै किरात राइहरुको मौलिक चिनारि हुन जुन हाम्रा अमुल्य संम्पतिहरु पनि हुन। किरात राई यायोक्खा  नेपालको स्थापना भए पछि संस्थालाइ बिभिन्न थरिका राईहरुले प्रतिनिधित्व गर्न थाले तर हामि बहुभाषिक किरात राईहरु भएका कारणले सबैका भाषिक मागहरुलाइ सिंगो यायोक्खाले सांस्कृतिक, धामिर्क र संस्कारलाइ बाहेक मुख्य भाषालाइ एक रुपता बनाउन संम्भव नभएकाले त्यो मागलाइ भाषिक संस्थाहरुले मात्र आफ्नो मात्रिभाषालाई संरक्षणं गर्नसक्छ भन्ने उदेश्यले नै भाषिक संस्थाहरुको स्थापना हुन पुगेको हो । किरात राई यायोक्खाले भाषिक संस्थाहरुलाई मातृभाषाको खोज, अनुसन्धान, अध्ययन तथा संरक्षण सम्वरदन गर्नका लागि प्रोत्साहन गर्दै सो कार्यमा बिबिध सर–सहयोग जस्तो कि भौतिक, आथिर्क, प्राबिधिक, नैतिक जस्ता कुराहरुमा भने पुर्ण रुपमा योजना नै बनाएर भाषिक संस्थाहरुको साथमा साथ दिनु पर्दछ। किरात राइहरुको भाषिक संस्थाहरुको स्थापना भए पछि किरात राई यायोक्खा  एउटा सुन्दर मुल घर र भाषिक संस्थाहरु सफा कोठा हुन पुगेकोछ अर्को शब्दमा भन्नु पर्दा किरात राई यायोक्खा सुन्दर फुलबारि र भाषिक संस्थाहरु सुन्दर फुलबारिमा फूलेका रंगि बिरङगि फूलहरु हुन। आज स्थापना भएका प्रत्येक थरिका भाषिक संस्थाहरुको मुख्य र महत्वपुर्ण काम गर्ने भनेको नै–

  1. आफ्नो मातृभाषाको शब्द संकलन तथा खोज अनुसन्धान, अध्ययन गरि शब्दकोष तथा ब्याकरणको निर्माण गर्दै पाठ्य पुस्तकहरुको लेखन गर्दे स्कूलहरुमा मातृभाषामा पठन पाठन गराउन सक्ने वातावारणको सृजना गर्नु गराउनु।
  2. प्रत्येक थरिका भाषिक संस्थाहरुले आ–आफ्नो संस्कार जन्म देखि मृत्यू सम्म को (मुन्धुम) पनि खोज अनुसन्धान, अध्ययन गर्दै अभिलेखिकरण गरि ग्रन्थको रुपमा प्रकाशन गर्नु र त्यसलाई ब्यबहारमा लागु गर्नु गराउनु।
  3. प्रत्येक मातृभाषिहरुको साकेलाका मौलिक शिलिहरु मानव जगत र गैर मानव जगत संग सम्बन्धित भए पनि किरात राइहरु बसोबास गर्ने क्षेत्र, थुम, खोला र पाछाहरुका नाचिने शिलिका चालहरु र सो शिलि नाच्दा गाईने मौलिक लोक भाकाका गितहरुमा फरकपना हुने हुदा भाषिक संस्थाहरुले अझ गहिरिएर खोज अनुसंधान गर्दै लिखत र श्रब्य दृश्यमा उतारि किरात राइहरुलाइ सिकाउनका लागि प्रोत्साहन एवम प्रयात्न गर्ने।
  4. भाषिक संस्थाहरुका संरक्षक एवम मुल घर किरात राई यायोक्खा  भएकाले यायोक्खा प्रति सधै उत्तरदायि हुनु भाषिक संस्थाहरुको मुल कर्तब्य हो ।

हङकङमा भाषिक संस्थाहरुको स्थापना :

हङकङमा पनि बिभिन्न थरिका किरात राइहरुले किराया हङकङको संरक्षकत्वमा भाषिक संस्थाहरुको स्थापना गरेका छन।ति स्थापना भएका भाषिक संस्थाहरुको मुल उदेश्य भनेको नै आ–आफ्नो मातृभाषा धर्म, कला, साहित्य, संस्कार र संस्कृतिको संरक्षण तथा अभिलेखिकरण गर्नका लागि मुल थलो नेपालमा स्थापना भएका भाषिक संस्था संग भाईचारा सम्बन्ध कायम गरि खोज अनुसन्धान र अध्ययनमा सहयोग गर्नु हो। यस बाहेक हङकङमा भाषिक संस्थाहरुको स्थापना हुनु को अर्को कारण भनेको एउटै थरिका राइहरु बिच आपसि चिनजान र भेटघाट, आपत बिपत एवम मर्दा पर्दा आवश्यक सहयोगको आदन–प्रदान गर्नु र अन्य भाषिक संस्थाहरु संग भाईचाराको सम्बन्ध कायम गर्दै  एकताको सुत्रमा आबद्ध हुनु हो।

निष्कर्ष :

हामिहरु संसारमा छरिएका किरात राइहरुले किरात राइ यायोक्खा र भाषिक संस्थाहरुको स्थापना गर्नुको मुख्य मुख्य उदेश्य नै किरात राइहरुको भाषा, लिपि, धर्म, कला, साहित्य, संस्कार र संस्कृतिको संरक्षण गर्नु हो। बिश्वमा स्थापना भएका यायोक्खा र भाषिक संस्थाहरु एक हुन सकेमा हाम्रो हराईरहेका, बिलाईरहेका, हराउन र बिलाउन आटेका ईतिहासहरुलाइ केहि हद सम्म चाडै नै पुन : जिवित गर्न सकिनेमा दुई मत नहोला।यसका लागि किराया अन्तराष्ट्रिय समन्वय समिति अति क्रियालशिल हुनु पर्दछ।

अस्तु
अप्रिल– १४ –२०१३
तु क्वा वान, कोलन हङकङ