बिबाह संस्कारको फारम |

बिबाह संस्कार

मौलिक किरात धर्म संस्कार अनुसार केटाको उमेर १८ बर्ष पुगेपछि र केटिको उमेर २० बर्ष पुगेपछि बिबाह गरिदिने संस्कार छ । किरात राईहरुको घरमा बुहारी भित्र्याउदा र छोरीचेली ज्वाँइलाई दिँदा आफ्नै किसिमको रीति गरिन्छ । बिवाह गर्ने रीति बिभिन्न खोला, पाछा, थर अनुसार फरक फरक पाईन्छ । घरमा बुहारी ल्याउनु पर्ने भएमा केटी कस्को छोरी हो ? उनिहरुसंग के साईनो पर्दछ ? उनीहरुको पाछा/उपथर, सामे के हो ? राम्ररी बुझ्नु पर्दछ । केटाको पाछा भित्र बिवाहबारी चल्दैन । त्यस्तै मामा, छेमा, देमा र फुपुको साखा सन्तानभित्र पनि किरात राईहरुले बिवाह गर्न हुँदैन । कसैले साईनो लाग्ने भित्रको बिवाह गरेमा अशुभ मानिन्छ । यस्तो बिवाह गर्नेलाई गाँउघर, समाज बाटै निकाला गरिन्छ ।

marriage

मगनी/पिँढिबास (Engagement)

बिवाह गर्न अगावै केटी मगनी गर्नु पर्दछ । मगनी गर्न पनि त्यातिकै जान हुन्न । एकजनालाई सारथि बनाई केटीको माईतीघरमा कुरा सोधनी गर्न पठाउनु पर्दछ । केटीको माईतीघरबाट सारथिले कुरा मिलेको खबर ल्याएपछि मात्र केटाको घरबाट रीतसहित केटी मगनी गर्न पठाईन्छ । आजभोली केटाकेटी आफै मन परापर भएर प्रेमबिवाह गरेको पनि पाईन्छ । तर सवैकुरा नसोधि प्रेम बिवाह गर्दा, साईनो लाग्नेभित्र पनि बिवाह हुनसक्ने भएकोले किरात राईहरुले मागी बिवाहलाई नै प्रथमिकता दिन्छन । केटी मगनी गरी घरभित्र्याई सकेपछि मात्र समय अनुकुल हेरेर बिबाह कार्य गरिन्छ । मगनीलाई पिढिबास दिन पनि भनिन्छ । पिढिबास दिईसकेपछि बेहुलाबेहुली सासुससुरालीमा आवत जावत गर्न मिल्दछ ।

केटी मगनी गर्न जाँदा पहिला केटीको बडाबाबुको घरमा, नभए काकाको घरमा जानु पर्दछ । यसलाई “धिवत्तँ खीम” भनिन्छ । त्यहाँबाट धिवत्तँलाई साथै लिएर केटीको घरमा कुरा राख्न जानु पर्दछ । केटीको घरलाई “गाछी खीम” भनिन्छ । अझकल सोझै “गाछि खिम” मा जाने समेत चलन आएको छ । त्यहाँ पुगेर मगनीको रित राख्नु पर्दछ ।

हङकङमा मगनी कार्यक्रम गर्ने भए :

१. बिबाह संस्कारको फारमभरी किराया हङकङको कार्यलयमा बुझाउनु पर्नेछ ।
२. फारम सहित तोकिएको शुल्क धर्म–संस्कार संरक्षण कोषमा जम्मा गर्नुपर्नेछ ।
३. किराया हङकङले फारम हेरी उपयुक्त समय मिलाई कार्यक्रम संचालन गरिदिनेछ ।
४. आवश्यक सामाग्रीहरु ब्यावस्था गरिदिन पर्ने भए थप रकम जम्मा गर्नुपर्नेछ ।

कलिया बाँध्ने

केटाको घरमा,

  1. आशन  – केटाको बाबा, नभए बडा/काका, बेहुला, लोकन्ता, जानिफकार बुढापाकाहरु,  छोरीचेलीहरु र सारथी
  2. मगनी संस्कारबारे जानकारी –
  3. कलिया बाँध्ने –
  4. कलियालाई बचन –
  5. सगुन बितरण –

कलिया बाँध्ने

केटी मगनी गर्नेदेखी बिवाहको छिनोफानो गरिन्जेलसम्मको सम्पुर्ण रीतिबिधि गर्नको लागि दुईजना जानिफकार ब्यक्तिहरुलाई कलिया बनाउनु पर्दछ । केटी पक्षतिर पनि दुईजना नै कलिया राखेको हुन्छन । केटाकेटी दुवैतिरको कलिया बान्ने रीति एउटै किसिमको हुन्छ । कलियाहरुले दुवैतिरको विवाह सम्बन्धि खबर आदानप्रदान गर्ने कार्य गर्दछन । कलिया बनाउदा उनिहरुको सम्मानको लागी जोडी कठुवामा रक्सी राखीदिएर निम्न कुरा भन्नु पर्दछ –

कलियालाई बचन

“यहाँ हाम्रो छोरा/भाई …(बेहुलाको नाम)… को केटी मगनी गर्नको लागी तपाँईहरुलाई आजदेखी कलिया बाँधेका छौं । आजदेखी बिवाह सकिन्जेलसम्म तपाँईहरुले दु:ख गरिदिनु पऱ्यो । यस शुभकार्यलाई सफलता पुर्वक समापन गरिदिनुहोस है ।”

पहिलो कार्यक्रम :
केटी मगनी कार्यक्रम

मगनीको रित

केटापक्षले मगनी गर्न जाँदा १४ कठुवा रक्सि र अन्य निम्न सामाग्रीहरु लिएर जानु पर्दछ ।

  1. पित्रीहरुलाई – जोडी कठुवामा रक्सी
  2. धिवत्तँलाई – जोडी कठुवामा रक्सी
  3. सारथीलाई – जोडी कठुवामा रक्सी
  4. केटीपक्षको कलियालाई – जोडी कठुवामा रक्सी
  5. आमाको आँसु पुछाउनी – एक कठुवा रक्सी र १ रुपैयाँ
  6. बाबुको शिर उठाउनी – एक कठुवा रक्सी र ५ रुपैयाँ
  7. बाजे बोजु हुनुहुन्छ भने – एक कठुवा रक्सी र १० रुपैया
  8. बेहुलीलाई सयमुन्द्री – थैलिभित्र सिन्दुर, पोते, सुपारी, १०० रुपैयाँ र १ तामाको सिक्का
  9. साईनो माग्नको लागि – जोडी कठुवामा रक्सी
  10. ढोगभेटको लागि – एक कठुवा रक्सी र आठआना पैसा

केटी मगनी कार्यक्रम

केटीको घरमा,

  1. मगनी संबोधन –
  2. मगनीको रित राख्ने –
  3. रित स्विकार्ने –
  4. टिका तथा आर्शिबाद प्रदान –
  5. सगुन प्रदान –
  6. बेहुलाबेहुलीलाई साईनो चिनाउने –
  7. सम्धी सम्धिनी ढोगभेट
  8. बिदाई –

मगनी संबोधन

माननिय उपस्थित मान्यजनहरु, भाईभतिजहरु, कुटुम्बहरुहो, आज हामी यहाँ, हिजो पारुहाङ, सुम्निमा, तयमा, खियामा, खोक्चिलिप्पा/रैछाकुले  हाम्रो पुर्खाहरुले चलाईल्याउनु भएको चलनलाई अगाडि बढाउदै, वहाँहरुले चलाएको सवै रितहरु बोकेर साँक्षी प्रमाणका साथ … (बेहुलाको बाजेबोजुको नाम) … को नाति … (बेहुलाको बाबुआमाको नाम) … को … (कुनभाई) … छोरा … (बेहुलाको नाम र पाछा) …  ले … (बेहुलीको बाजेबोजुको नाम) … को नातिनि… (बेहुलीको बाबुआमाको नाम) … को … (कुनबहिनि) … छोरी… (बेहुलीकोनाम र पाछा) … लाई मगनी गर्न यहाँ  उपस्थित भएका छौ ।

मान्यजनहरु, मानव माया अपरम्पार छ । हाम्रो पुर्खा सुम्निमा पारुहाङले यस संसारको सृष्टि गर्नु भयो । खोला, नाला,कोसी, समुन्द्रको सृष्टि गर्नु भयो । पाखा, पर्वत, हिमाल, बनजंगलको सृष्टि गर्नु भयो । यस संसारलाई सुन्दर बनाउन जिव, जन्तु, चराचुरुङगी, मानवको सृष्टि गर्नुभयो । आफ्नो वंशलाई अगाडि बढाउन माया प्रिति लगाउन सिकाउनु भयो । प्रकृतिलाई निरन्तर अगाडी बढाउन माया प्रेमको बन्धन बाँध्न सिकाउनु भयो ।

मान्यजनहरु, आज हामी यहाँ यहि मायाको बन्धन बाँधन, सृष्टिको नियमलाई निरन्तर अगाडी बढाउन उपस्थित भएका छौं । भनेर भन्नु पर्दछ ।

मगनी रित राख्ने

मान्यजनहरु । हामि मगनीको रित राख्न लागि रहेका छौं । हाम्रो बाजे पुर्खा खुशि होउन, आजको यस मगनी कार्यक्रममा कसैको रिस राग नहोस भनि पुर्खा, धीवँत्त, गाछी सबै मान्यजनहरुको सम्मानार्थ सगुन ल्याएका छौं ।  कार्यक्रम भरि यहाँहरुले मिठो बोली गुलियो बचन बोलिदिनु हुनेछ भनेर हामीले आशा गरेका छौं  । अब म बेहुलापक्षको मान्यजनहरुलाई मगनीको रित राखिदिनहुन हार्दिक अनुरोध गर्दछु । म रितको नामाकरण गर्दै जानेछु । यहाँहरुले रीत राख्दै जानहुन समेत अनुरोध गर्दछु । भनेर भन्नु पर्दछ ।

  1. “पुर्खाहरुलाई सम्मान स्वरुप” –  (जोडि कठुवामा रक्सी)
  2. “बाजेबोजुको सम्मान स्वरुप” –  (एक कठुवा रक्सी र १ रुपैयाँ पैसा)
  3. “धीवत्तँको सम्मान स्वरुप” –  (जोडि कठुवामा रक्सी)
  4. “सारथिको सम्मान स्वरुप”  –  (जोडि कठुवामा रक्सी)
  5. “कलियाको सम्मान स्वरुप” –  (जोडि कठुवामा रक्सी)
  6. “आमाको आँसु पुछाउनी, मन बुझाउनी” –  (एक कठुवा रक्सी र १ रुपैयाँ पैसा)
  7. “बाबुको शिर उठाउनी मन बुझाउनी” –  (एक कठुवा रक्सी र ५ रुपैयाँ पैसा)
  8. “सयमुन्द्री”  –  (सिन्दुरपोते, सुपारी, १०० रुपैयाँ र १ तामाको सिक्का भएको थैली)
  9. “मान्यजनहरुको सम्मान स्वरुप” –  (जोडि कठुवामा रक्सी)

रित स्विकार्ने

मान्यजनहरु । यो सवै रितहरु बेहुला पक्षले राख्नु भएको छ । यो रित हिजो पारुहाङ, रुमाहाङ, रेछाकुपा, नायुमा, सुम्निमाहरुले नै गरिल्याउनु भएको हो । तपाँई हाम्रो बाजे पुर्खाहरुले नै गरिल्याउनु भएको हो । यो सवैकुरा हिजैबाट भई आएको हो । हजुर आज हामीले मनोखुशि गरिल्याएका होइनौं । यसमा तलमाथि केहि छैन । केहि कमि कम्जोरि भए माफि माग्दछौं । भनेर भन्नु पर्दछ ।

मगनी वार्तालाप

बेहुलि पक्षको मान्यजनहरुलाई मगनी सम्बन्धि दुईचार शब्द बोलिदिनहुन आग्रह गर्नु पर्दछ । बेहुलीपक्षको महानुभावहरुले कुनै प्रश्नहरु सोधे त्यसको उत्तर बेहुलापक्षको मान्यजनहरुलाई दिन लगाउनु पर्दछ । अन्त्यमा कुरा मिलेपछि रित स्विकार्न लगाउनु पर्दछ ।

रीत स्विकार्ने

यो रितलाई बेहुली पक्षको मान्यजनहरुले स्वीकारी दिन पऱ्यो हजुर । भनेर भन्नु पर्दछ ।

टिका तथा आर्शिबाद प्रदान

बेहुलिपक्षले मगनीको रित स्विकारी सकेपछि बेहुलाबेहुली दुवैजनालाई एकैठाँउमा राखेर बेहुलीपक्षको मान्यजनहरुले बेहुलाबेहुलीलाई टीका लगाँउदै आशिर्बाद दिन पर्दछ ।

सगुन बितरण

बेहुलीपक्षको मान्यजनहरुले टीका लगाँउदै आशिर्बाद दिई रहेको अवस्थामा बेहुलापक्षको नरनताहरुलाई सगुन बितरण गर्नु पर्दछ ।

बेहुलाबेहुलीलाई साईनो चिनाउने

टिका तथा आर्शिबाद दिने कार्यक्रम सकेपछि साईनो चिनाउने कार्यक्रम शुरु गर्नुपर्दछ । यसकोलागि बेहुलीपक्षको कलियाले एउटा आठानाको सिक्का लिएर साइनो चिनाउदै ढोगभेट गराउन पर्दछ ।

ढोगभेट गराउदा बेहुली अधिअधि र बेहुला पछिपछि हुनु पर्दछ र सर्वप्रथम बेहुलीको आमाबाबाबाट ढोग सुरु गरि क्रमश: साईनो अनुसार कस्लाई साईनो चिनाउने हो उस्लाई आठआना पैसा दिदैं ढोगभेट गराउनु पर्दछ । ढोग गरिसकेपछि आठआना फिर्ता गरि फेरि अर्कोलाई ढोग गराउनु पर्दछ ।

सम्धी सम्धिनी ढोगभेट

साईनो चिनाउने कार्यक्रम सकिसकेपछि दुवैतिरको सम्धी सम्धीना पर्नेहरुलाई ढोगभेट गराउनु पर्दछ । यो कार्य गर्नको लागि बेहुलीपक्षबाट एक कठुवा रक्सी र बेहुलापक्षबाट आठाना पैसा सबैको अगाडि राखिदिन पर्दछ र साईनोले दुवैतिरको सम्धी सम्धीनी पर्नेहरु जति अगाडी बोलाउनु पर्दछ । र भन्नु पर्दछ ।

तपाईहरु सवैजना सम्धि सम्धिनी पर्नेहरु उपस्थित हुनु भएको छ । सबैभन्दा पहिले बेहुलाको बाबाआमा र बेहुलीको बाबाआमालाई ढोगभेट गर्न आग्रह गर्नु पर्दछ । सम्धी ढोगभेट गरेको बेला बेहुलापक्षको कलियाले त्यहाँ राखिएको कठुवाको रक्सी र आठाना पैसालाई यताको उता, उताको यता गरेर तिन पटक सारिदिनु पर्दछ ।

ढोगभेट गर्दा निम्न बचन बोलिदिनु पर्दछ ।

१. आजदेखी तपाँईहरु पछि–पछि सम्मको लागि सम्धी सम्धी हुनु भएको छ ।
तर्सथ तपाँईहरु “एक सम्धी, दुई सम्धी, तिन सम्धी” । ढोग गराउने ।

२. आजदेखी तपाँईहरु आघौँ– पराघौँ सम्मको लागि सम्धीनी सम्धीनी हुनुभएको छ ।
तर्सथ तपाँईहरु “एक सम्धीनी, दुई सम्धिनी, तिन सम्धिनी” । ढोग गराउने ।

३. आजदेखी तपाँईहरु युगौँ–युगौँ सम्मको लागि सम्धी सम्धीनी हुनुभएको छ ।
तर्सथ तपाँईहरु “एक सम्धी सम्धिनी, दुई सम्धी सम्धिनी, तिन सम्धी सम्धिनी” । ढोग गराउने ।

यसपछि साईनोमा सम्धी सम्धीनी पर्नेजति सबैजनाले सम्धीढोग गराउदै लानु पर्दछ ।

बिदाई

बेहुलाबेहुलीलाई बिदाई गर्दा बेहुलीलाई माईतीहरुले बोकी घर बाहिर निकाल्न पर्दछ । बेहुलाको घर पुऱ्याउन केटिपक्षकाहरुले केही मानिसहरु पठाँउनु पर्दछ । बेहुलाको घर लाँदा बेहुलीलाई बेहुलाको अगाडि हिडाएर लानु पर्दछ अथवा बेहुलाको घर पुग्ने बेला बेहुलीलाई बेहुलाको अगाडि हिडाउनु पर्दछ । यो रीति सकेपछि बेहुला बेहुली ससुराली आउजाउ गर्न हुन्छ । यस रीतिलाई पिढिबास दिएको भनिन्छ । केटाकेटी आफै मिलेर प्रेम बिवाह गरेको भएमा पिढिबास दिने रीति नगरिन्जेल बेहुला ससुराली जान हुँदैन ।


दोस्रो कार्यक्रम :
बुहारी भित्र्याउने

बेहुलाको घरमा –

सबै नरनाताहरु सहित बेहुला बेहुली घर आई पुग्ने बेला घरमा बस्नेहरुले कलश, दियो र दही चामलको टिका तयार परिराख्नु पर्दछ । बुहारी भित्र्याउने बेला सासुले घरभित्र ढोकानेर केराको पातमा चामल राखी ढोका थुनेर भित्र उभिनु पर्दछ । बन्द गरिएको ढोकालाई बेहुलीले खोल्नु पर्दछ । त्यतिबेला सासुले बुहारीलाई हातमा तानेर भित्र हुलाउनु पर्दछ । बेहुलीले केराको पातमा राखिएको चामललाई दाहिने खुट्टाले टेकेर भित्र पस्नु पर्दछ । बेहुला पनि बेहुलीलाई पच्छयाँउदै भित्र पस्नु पर्दछ । बेहुलीको माईतीबाट बेहुला बेहुली पुऱ्याउन आउनेहरुलाई पनि भित्रै बोलाएर बेहुला बेहुली संगै राख्नु पर्दछ ।

शिन्दुरपोते

बेहुला बेहुलीलाई भित्र पुऱ्याई सकेपछि बेहुलीलाई बेहुलाको घरबाट दिईने लुगाफाटा लगाई दिन पर्दछ । गरगहनाहरु लगाईदिनु पर्दछ । र अन्त्यमा बेहुलाले बेहुलीलाई शिन्दुरपोते लाईदिनु पर्दछ । शिन्दुर लाईदिदा भुईमा नझरोस भनि सेतो कपडा थाप्ने चलन छ ।

टिका तथा आर्शिबाद

शिन्दुरपोते सकेपछि बेहुलाको आमाबाबा, बाजेबोजु, बडाबडि सबैजनाले क्रमश: बेहुला बेहुलीलाई टीका लगाईदिँदै आर्शिबाद दिनु पर्दछ ।

खानपान

टिका तथा आर्शिबाद दिदै गर्दा अन्यहरुलाई खानपान गराउनु पर्दछ ।

ढोगभेट तथा साईनो चिनाउने

सबैजनाले आर्शिबाद दिई सकेपछि ढोगभेट कार्य गन्छि । सबैभन्दा पहिले बेहुलीले बेहुलालाई खुट्टामा ढोग्नु पर्दछ । त्यसपछि बेहुला र बेहुलीले आमाबाबु, बाजेबोजु लगायत उपस्थित सवैजनालाई साईनो अनुसार पहिला बेहुलाले त्यसपछि बेहुलीले क्रमश: ढोग गर्नु पर्दछ ।

जुठो मिसाई दिल मिलाई

ढोगभेट सकेपछि बेहुलाको आमाले एउटै काँसे बोटुकबाट बेहुला र बेहुलीलाई दुई–दुईपटक रक्सी पियाई सगुन गर्ने रीति छ । यसलाई जुठो मिसाई दिल मिलाई” भनिन्छ ।


तेस्रो कार्यक्रम :
बुहारीलाई चुलामा देखाउने

चुलाघरमा –

मगनी गरेपछि बेहुलीलाई, बेहुलाको घरको चुलामा देखाउनु पर्दछ । तर हङकङमा ब्यक्तिगत चृला नभएकोले ईच्छाहुनेहरुले किराया हङकङको सामुहिक चुलामा बुहारी देखाउन सक्तछ । यो बिधि गर्नकोलागि एउटा कठुवामा रक्सि, काँसेथालमा अदुवा र चामल बेहुला बेहुलीलाई छुवाएर अगेनाको छेउमा राखि कुबी/जानिफकार ब्यक्तिले मुन्धुम बाचन गर्दै चुलामा बुहारी देखाउनु पर्दछ । यतिबेला बेहुला बेहुलीलाई तिन चुलाको सामुन्ने राखिन्छ ।

बचन

तयमी –

हे कुलपित्रमा रहनु भएका पितापुर्खाहरु हो ।
साप्सामी दीबूमीहरु हो, छूरीमीकसूमी आप्तुमीहरु हो ।
बिजुवा, जानिफकार लासामीहरु हो ।
रुमालूङ, थूमालूङ, मीयालूङ, मीचालूङ,
तिन चुलामा रहनुभएका पिता पुर्खाहरु हो ।
आज यहाँ हामीले ..(बेहुलाको पाक्षा र सामे)… को बुहारी
तपाँईहरुको छोरा/नाती/पनातीलाई
हाम्रो घरमा ल्याएका छौं ।
यहाँ तपाईहरु सामु यस घरमा चालचलन गर्ने,
पानी भर्ने, आगो फुक्ने बुहारीलाई
चिनाउदै छौं, देखाउदै छौं ।
उनको शरिरमा कुनै रोग कष्ट पर्न दिनु हुदैन,
कुनै आपत बिपत आउन दिनु हुदैन,
आज यहाँ तपाईहरुले दीर्घायुको आर्शिबाद दिनुपर्छ है ।

आँखीडाही, रिसराग हटाई दिनु पर्दछ ।
झै–झगडा पनि हटाई दिनु पर्दछ ।
तपाँईहरुकै परिवारको सदस्य बनेकी
बुहारीलाई ज्ञान बुद्धी दिनुहोस,
मुटु दुख्ने, कलेजो दुख्ने,
छाती दुख्ने, छेर्ने छाद्ने
रोगहरुबाट बचाई दिनुहोस,
स्वस्थ्य लाभ गराई दिनुहोस है ।
जय पितापुर्खाहरु हो ।

सगुन बितरण

अन्त्यमा सबैजनालाई जाँडपानी दिएर सगुन गरिन्छ ।

(समाप्त)


बिबाह छिन्ने

किरात राईहरुको संस्कारमा मगनी गरिसकेपछि उपयुक्त समय हेरेर बिबाह छिन्ने कार्य गरिन्छ । बिवाह छिन्ने दिन सम्पुर्ण नरनाताहरु बोलाई बिवाह भोज खुलाउने चलन छ । बिवाह छिन्नुलाई बगदत्त दिनु पनि भनिन्छ । बगदत्त दिनुभनेको आफ्नो कुलपित्रबाट छोरीचेलीलाई निकाली जुवाँईको कुलपित्रमा लगाउन दिने अनुमतीको बचन हो । मौलिक किरात धर्म अनुसार बागदत्त नलिई श्रीमान वा श्रीमती मध्ये कसैको मृत्यु भएमा मृतकलाई चिहानमा लानु अगावै बागदत्त दिनै पर्दछ । यदि असम्भव भएमा काजक्रिया गर्नुभन्दा अगावै  बागदत्त दिनै पर्दछ । छोराछोरीको बिबाह गर्नु पर्दा पनि आमाबाबुले बागदत्त लिएकै हुनु पर्दछ ।

हङकङमा बिवाह छिन्ने भए :

१. बिबाह संस्कारको फारमभरी किराया हङकङको कार्यलयमा बुझाउनु पर्नेछ ।
२. फारम सहित तोकिएको शुल्क धर्म–संस्कार संरक्षण कोषमा जम्मा गर्नुपर्नेछ ।
३. किराया हङकङले फारम हेरी उपयुक्त समय मिलाई कार्यक्रम संचालन गरिदिनेछ ।
४. आवश्यक सामाग्रीहरु ब्यावस्था गरिदिन पर्ने भए थप रकम जम्मा गर्नुपर्नेछ ।

विवाहको रित

किरात राईहरुको बिवाहको रीति बिभिन्न खोला, पाछा, थर अनुसार फरक फरक पाईन्छ । रित थाहापाउन बेहुलापक्षको कलियाहरुले बेहुलीपक्षको कलियाहरुलाई “जोडि कठुवामा रक्सी” राखेर बिवाहको दिन लानपर्ने रीतभाँतहरुको बारेमा सोधनी गर्न पर्दछ । दुवै पक्षको कलियाहरु बसेर गरिने सल्लाहलाई “बुलुचुरी” भन्दछ । बेहुलीपक्षका कलियाहरुले त्यसदिन ल्याउनुपर्ने सम्पुर्ण रितहरुबारे सबै जानकारी गराउदछ । साधारणतय निम्न रितहरु चलन चल्तिमा छन ।

  1. बाह्र कठुवा रक्सि, १ मट्या भाती जाँड, ३ टपरा सुङगुरको भुटेको मासु, १४ रुपैया पैसा
  2. हाईखूवाको लागि तामाको जोडि भाँडा र २ वटा तामाको पैसा

पित्री पुकारने

बेहुलाको घरमा –

घरबाट जन्ति हिडाउन अगाडि कुबि वा जानकार ब्यक्तिले बेहुलाको घरको कुलपित्रलाई झैझगडा नहोस भनि दर्साएर जन्ति हिडाउन पर्दछ । कुलपित्र नपुकारी हिडेमा बिबाहमा झैझगडा हुने, कुरा नमिल्ने, चिताएको कुरा नपुग्ने बिश्वास गरिन्छ ।

चुलामा बचन

तयमी –

हे कुलपित्रमा रहनु भएका सम्पुर्ण पितापुर्खाहरु हो
आज हामी जाँड पानी, रुपैया पैसा, अन्न लिई
साप्सावा दीबूवा र सोधभाँडा जस्ता सामाग्रीहरु लिई
कुटुम्बको घरमा बिबाहको कुरा छिनाउन जाँदैछौ ।
हामीलाई ज्ञान दिनुहोस, झैझगडा पन्छाई दिनुहोस ।

बाझोजुझो, आँखीडाही सवैकुरा पन्छाई दिनुहोस ।
आज नरनाताहरु र जानिफकार ब्याक्तीहरुलाई साथमा लिई
हामी बुहारीलाई कुटुम्बको कुलबाट,
हाम्रो कुलमा माग्न जाँदैछौ ।
हामीलाई कहि कतै अप्ठ्यारो नपरोस
कुटुम्बहरुको सामुन्ने कुनै कमि कमजोरी नरहोस ।
हे पितापुर्खाहरु हो । हामीलाई यो शुभकार्य
सफलता पुर्वक सम्पन्न गरि आउँनु भनी
ज्ञान दिनुहोस, आर्शिबाद दिनुहोस है ।
जय पितापुर्खाहरु हो ।

जन्ति जाने

जन्ति जाँदा बेहुला बेहुलीलाई अगाडी लगाई बाटो लाग्नु पर्दछ । यस दिन बेहुला बेहुली दुवैजनाले छाता ओढेर हिड्न पर्दछ । बेहुलालाई एकजना कुमार केटा र बेहुलीलाई एकजना कन्या केटी साथी लानुपर्दछ । जन्ति जाँदा बेहुली पट्टिको कलियाहरुले भनेको बाटो जानु पर्दछ ।

कलिया भेट

सरसल्लाह अनुसारको ठाँउमा पुगेपछि जन्तिभन्दा अगाडि कलियाहरु गएर बेहुली पक्षबाट जन्तिलाई स्वगत गर्न आएका कलियाहरुसंग कलिया भेट गर्न पर्दछ । कलिया भेट गर्दा दुवैपक्षको कलियाहरुले “एकएक कठुवामा रक्सि र टपरामा भुटेको मासु” सगुनको रुपमा राखेर एक आपसमा ढोगभेट गर्दछन । कलियाहरुको ढोगभेट सकिएपछि त्यहाँ राखिएको मासु र रक्सि साटासाट गरेर सबैले बाँडी खानु पर्दछ ।

जन्ती पर्छाउने

बेहुलीपक्षका कलियाहरुले जन्तिहरुलाई जन्ति पर्छने ठाँउमा लानु पर्दछ । जन्ति पर्छने ठाँउमा बेहुलीको आमाबाबु, माईतीहरु, मावलीहरु र सबै माईती पट्टिको निम्तालु नरनाताहरुले जन्ति पर्छाउदछ । जन्ति पर्छाउदा २ जना कन्याकेटीहरुलाई एउटा नाङलोमा फुल, चामल, दहीचामलको टिका, दियो र अर्को नाङलोमा बेहुलाबेहुलीलाई माईतीहरुको तर्फबाट दिईने कपडाहरु बोकेर, बेहुला बेहुलीलाई दाहिने पारेर ३ पटक घुम्नु पर्दछ ।

भोज भतेर

जन्ति पर्छिसकेपछि बेहुलाबेहुलीलाई माइतीहरुले बोकेर खाना खाने ठाउँमा लानु पर्दछ । बेहुला बेहुलीलाई खाना राखिसकेपछि अन्य जन्तिहरुलाई पनि खाना दिन पर्दछ । यसदिन बेहुला बेहुलीलाई वरणी (पात गाँसेर तयार पारिएको बिशेष किसिमको ठुलो टपरा) मा खाना राखेर दिने रीति छ । बेहुलाको आमाबाबु, कलियाहरु र लोकन्ता लोकन्तिहरुलाई पनि वरणीमै खाना दिईन्छ ।

टिका तथा आर्शिबाद

खाना खाई सके पश्चात गाछिघरको आँगनमा बनाईएको बिवाह मण्डपमा बेहुलाबेहुलीलाई तथा लोकन्ता लोकन्तिलाई लगेर राख्नु पर्दछ । त्यसपछि बेहुला बेहुलीलाई आमाबाबु, माईतीहरु, मावलीहरु, दिदिबहिनीहरु लगायत सबै नरनाताले टिका लगाईदिदै आर्शिबाद दिएर उपहार दिने कार्य हुन्छ ।

पहिलो कार्यक्रम :
बिवाह रित राख्ने

कार्यक्रम संचालक –

माननिय मान्यजनहरुहो, कुटुम्बहरुहो, आज हामी यहाँ, हिजो पारुहाङ, सुम्निमा, तयमा, खियामा, खोक्चिलिप्पा/रैछाकुले  हाम्रो पुर्खाहरुले चलाईल्याउनु भएको चलनलाई अगाडि बढाउदै, वहाँहरुले चलाएको सवै रितहरु राखेर साँक्षी प्रमाणका पुऱ्याई … (बेहुलीको बाजेबोजुको नाम) … को नातिनि… (बेहुलीको बाबुआमाको नाम) … को … (कुनबहिनि) … छोरी… (बेहुलीकोनाम र पाछा) … को … (बेहुलाको बाजेबोजुको नाम) … को नाति … (बेहुलाको बाबुआमाको नाम) … को … (कुनभाई) … छोरा … (बेहुलाको नाम र पाछा) …  संग बिबाह छिन्न यहाँ उपस्थित भएका छौ ।

मान्यजनहरु, मानव माया अपरम्पार छ । हाम्रो पुर्खा सुम्निमा पारुहाङले यस संसारको सृष्टि गर्नु भयो । खोला, नाला,कोसी, समुन्द्रको सृष्टि गर्नु भयो । पाखा, पर्वत, हिमाल, बनजंगलको सृष्टि गर्नु भयो । यस संसारलाई सुन्दर बनाउन जिव, जन्तु, चराचुरुङगी, मानवको सृष्टि गर्नुभयो । आफ्नो वंशलाई अगाडि बढाउन माया प्रिति लगाउन सिकाउनु भयो । प्रकृतिलाई निरन्तर अगाडी बढाउन माया प्रेमको बन्धन बाँध्न सिकाउनु भयो ।

मान्यजनहरु, आज हामी यहाँ यहि मायाको बन्धन बाँधन, सृष्टिको नियमलाई निरन्तर अगाडी बढाउन तपाँई हामी उपस्थित भएका छौं ।

मान्यजनहरु । हिजो हामि पारुहाङ, सुम्निमा, तयमा, खियामा, खोक्चिलिप्पा/रैछाकुले  हाम्रो पुर्खाहरुले गरिल्याउनु भएको चलन अनुसार उपस्थित भएका छौं । वहाँहरुले चलाएको सवै रितहरु बोकेर साँक्षी प्रमाण पुऱ्याई आएका छौं ।आजको यस बिवाह कार्यक्रममा कसैको रिस राग नहोस भनि सबै मान्यजनहरुको सम्मानार्थ सगुन ल्याएका छौं ।  कार्यक्रम भरि यहाँहरुले मिठो बोली गुलियो बचन बोलिदिनु हुनेछ भनेर हामीले आशा गरेका छौं  । भनि भन्नु पर्दछ ।

र रितको नामाकरण गर्दै बेहुलापक्षको मान्यजनहरुलाई बिवाहको रित राखिदिनहुन अनुरोध गर्नु पर्दछ ।

  1. “पुर्खाहरुलाई चढाउने, पित्रीमा छर्किने, घरमुलीको शिर उठाउनी” (१ कठुवा रक्सि र १ टपरा सुङगुरको भुटेको मासु ) ।
  2.  “धिवत्तको सम्मानमा”  (२ कठुवा रक्सि)
  3. “कलियाको सम्मानमा” (२ कठुवा रक्सि)
  4. “सारथिको सम्मानमा” (२ कठुवा रक्सि)
  5. “आमाबाबुको शिर उठाउनी” –  (२ कठुवा रक्सि)
  6.  “हाईखूवाको लागि सोधमोल भाँडा” (तामाको जोडि भाँडा र २ वटा तामाको पैसा )
  7. “दाजुभाई संग चिनजानी गर्न” (१ कठुवा रक्सि, १४ रुपैया, १ मट्या भाती जाँड र सुङगुरको भुटेको मासु )

बिबाह वार्तालाप

रित स्विकार्नभन्दा अगावै बेहुलि पक्षको महानुभावहरुलाई कुनै शब्द बोल्नुपर्ने भए वा कुनै प्रश्नहरु सोध्नु पर्ने भए राखिदिनहुन आग्रह गर्नु पर्दछ । बेहुलीपक्षको महानुभावहरुले कुनै प्रश्नहरु सोधे त्यसको उत्तर बेहुलापक्षको मान्यजनहरुलाई दिन लाउनु पर्दछ । अन्त्यमा कुरा मिलेपछि रित स्विकार्न लाउनु पर्दछ ।

रित स्विकार्ने

मान्यजनहरु । यो सवै रितहरु बेहुला पक्षले राख्नु भएको छ । यो रित हिजो पारुहाङ, रुमाहाङ, रेछाकुपा, नायुमा, सुम्निमाहरुले नै गरिल्याउनु भएको हो । तपाँई हाम्रो बाजे पुर्खाहरुले नै गरिल्याउनु भएको हो । यो सवैकुरा हिजैबाट भई आएको हो । हजुर आज हामीले मनोखुशि गरिल्याएका होइनौं । यो रितलाई बेहुली पक्षको मान्यजनहरुले स्वीकारी दिन पऱ्यो हजुर । भनि भन्नु पर्दछ ।

बेहुली पक्षबाट रित राख्ने

बेहुला पक्षको रित स्विकारी सके पछि बेहुलीपक्षबाट पनि रित राखने चलन छ । यसको लागि बेहुलीपक्षको कलियाले एउटा मट्टियामा जाँड, एउटा कठुवामा रक्सि र त्यसमाथि सुङगुरको भुटुवा मासु राखि दिन्छ । तत्पश्चात राखिएको सामाग्री हेरेर बेहुलापक्षको कलियाहरुले त्यसमाथि पैसा राखिदिने चलन छ । यसलाई हूम रेम्माक अर्थात पसिना सेलाउने रित भन्दछ ।

यो प्रक्रिया पुरा गरेपछि रित स्विकार्दै बेहुलीपक्षको कलियाहरुले पैसा लानेछ भने बेहुलापक्षको कलियाहरुले जाँडपानी लानु पर्दछ । तत्पश्चात त्यहाँ उपस्थित सबैजनालाई त्यहाँ राखिएको मासु र जाँडपानी बाँडेर खान पिउनु पर्दछ ।

बागदत्त

छोरीचेलीलाई सदासदाको लागि जुवाँईलाई दिनुलाई बगदत्त दिने रीति भनिन्छ । बेहुलीको मामाहरुले बेहुलाबेहुलीको नाममा बचन/बागदत्त बोलीदिनु पर्दछ । अव बागदत्त दिने कार्यक्रम गर्दै छौं भनि आज्ञा माग्नु पर्दछ।

बागदत्त वार्तालाप

बगदत्त बोल्नु भन्दा अगावै बेहुलि पक्षको महानुभावहरुलाई कुनै शब्द बोल्नुपर्ने भए वा कुनै प्रश्नहरु सोध्नु पर्ने भए राखिदिनहुन आग्रह गर्नु पर्दछ। बेहुलीपक्षको महानुभावहरुले कुनै प्रश्नहरु सोधे त्यसको उत्तर बेहुलापक्षको मान्यजनहरुलाई दिन लगाउनु पर्दछ । अन्त्यमा कुरा मिलेपछि बागदत्त बोल्ने कार्यक्रम गर्नु पर्दछ ।

बागदत्त बोल्दा निम्न कुराहरु बोल्नु पर्दछ ।

१. मान्यजनहरु हो । हजुरहरुको भान्जि ..(बेहुलीको नाम र पाछा) को  कुलपित्र तिनचुलाबाट मुलढोका, दलान, आँगन हुँदै यहाँको साखेवाबाट ..(बेहुलाको नाम र पाछा).. लाई उहाँको तिनचुलामा “आजबाट एक दियौं” ।

बेहुलीपक्षबाट सबैले भन्ने– “एक दियौं” ।

२. धन्यबाद । मान्यजनहरु, हजुरहरुको भान्जि ..(बेहुलीको नाम र पाछा).. तपाँईहरुको कुलपित्र, तिन चुलाबाट हाम्रो भाईभतिज ..(बेहुलाको नाम र पाछा).. को कुलपित्र चुलामा बुहारी “आजबाट एक पायौं” ।

बेहुलापक्षबाट सबैले भन्ने– “एक पायौं” ।

३. कुटुम्बहरु हो । आकाशको तेत्तीसकोटी देवीदेवताहरुलाई साक्षी राखेर, पातलको सिमेभुमे, नागनगेनीहरुलाई साक्षी राखेर, हाम्रो जुवाँई ..(बेहुलाको नाम र पाछा).. लाई हाम्रो भान्जि ..(बेहुलीको नाम र पाछा).. लाई “आजबाट दुई दियौं” ।

बेहुलीपक्षबाट सबैले भन्ने– “दुई दियौं” ।

४. धन्यबाद । मान्यजनहरु, सबै देवीदेवताहरुलाई साक्षी राख्दै, सिमेभुमे नागनगेनीलाई साक्षी राख्दै, हाम्रो भाईभतिज ..(बेहुलाको नाम र पाछा).. मा हाम्रो बुहारी ..(बेहुलीको नाम र पाछा).. लाई “आजबाट दुई पायौं” ।

बेहुलापक्षबाट सबैले भन्ने– “दुई पायौं” ।

५. कुटुम्बहरु हो । कुलपित्र, भगवान, नागनगेनी सिमेभुमे सबैलाई साक्षि राख्दै हाम्रो जुवाँई ..(बेहुलाको नाम र पाछा).. लाई हाम्रो भान्जि ..(बेहुलीको नाम र पाछा).. लाई “आजबाट एक दियौं, दुई दियौं, तिन दियौं” ।

बेहुलीपक्षबाट सबैले भन्ने– “एक दियौं, दुई दियौं, तिन दियौं” ।

६. धन्यबाद । हजुर, हाम्रो भाईभतिज ..(बेहुलाको नाम र पाछा).. मा हाम्रो बुहारी ..(बेहुलीको नाम र पाछा).. लाई “आजबाट एक पायौ, दुई पायौं, तिन पायौं” ।

बेहुलापक्षबाट सबैले भन्ने– “एक पायौ, दुई पायौं, तिन पायौं” ।

हातहतियार जगाउने :

बागदत्त दिई सकेपश्चात बेहुला बेहुलीलाई भविश्यमा केहि नहोस भनि खबरदारी गर्न उनीहरुको नाममा हातहतियार जगाउने रीति गरिन्छ । हतियार जगाउदा तल उल्लेख गरेअनुसारको बचन बोलीदिनु पर्दछ ।

१. आज देखी हाम्रो जुवाँई, तपाँईहरुको छोराभतिजा ..(बेहुलाको नाम).. ले मेरो श्रीमती नै हो, मेरो सासुससुरा नै हो, मेरो जेठान, सालो नै हो भन्दा भन्दै, हाम्रो भान्जि छोरीचेली, तपाँईहरुको बुहारी ..(बेहुलीको नाम र पाछा)..ले बाटोमुनी बाटोमाथी कहि कतै बाटो बिरायो भने “आजबाट हाम्रो जुवाँईको सोह्र खानीको सोह्रै धार्निको खुडा एक जाग्यो” ।

बेहुलीपक्षबाट सबैले भन्ने– “एक जाग्यो” ।

२. धन्यबाद हजुर । हाम्रो बुहारी, तपाँईहरुको छोरीचेली ..(बेहुलीको नाम).. ले मेरो श्रीमान नै हो, मेरो सासुससुरा नै हो, मेरो आमाज्यु, नन्द नै हो, भन्दा भन्दै हाम्रो छोरा भतिज, तपाँईहरुको जुवाँई ..(बेहुलाको नाम).. ले बाटोमुनी बाटोमाथी कही कतै बाटो बिरायो भने “आजबाट हाम्रो बुहारीको खुर्पा एक जाग्यो” ।

बेहुलीपक्षबाट सबैले भन्ने– “एक जाग्यो” ।

३. आज देखी हाम्रो जुवाँई, तपाँईहरुको छोराभतिजा ..(बेहुलाको नाम).. ले मेरो श्रीमती नै हो, मेरो सासुससुरा नै हो, मेरो जेठान, सालो नै हो भन्दा भन्दै, हाम्रो भान्जि छोरीचेली, तपाँईहरुको बुहारी ..(बेहुलीको नाम र पाछा)..ले बाटो माथि बाटो मुनी, बाटो हिडदा कँही कतै फुल चुँड्दो गऱ्यो भने “आजबाट हाम्रो जुवाँईको सोह्र खानीको सोह्रै धार्नाीको खुडा दुई जाग्यो” ।

बेहुलीपक्षबाट सबैले भन्ने– “दुई जाग्यो” ।

४. धन्यबाद हजुर । हाम्रो बुहारी, तपाँईहरुको छोरीचेली ..(बेहुलीको नाम).. ले मेरो कुलपित्र, मेरो श्रीमान, मेरो सासुससुरा नै हो भन्दा भन्दै हाम्रो छोरा भतिज, तपाँईहरुको जुवाँई ..(बेहुलाको नाम).. ले बाटो माथि बाटो मुनी, बाटो हिडदा कँही कतै अरुनै फुल चुडायो भने, “आजबाट हाम्रो बुहारीको खुर्पा दुई जाग्यो” ।

बेहुलीपक्षबाट सबैले भन्ने– “दुई जाग्यो” ।

५. आज देखी हाम्रो जुवाँई, तपाँईहरुको छोराभतिजा ..(बेहुलाको नाम).. ले मेरो श्रीमतीनै, मेरो सासुससुरानै, मेरो जेठान, सालो भनेर मान्दा मान्दै पनि, हाम्रो भान्जि छोरीचेली, तपाँईहरुको बुहारी ..(बेहुलीको नाम र पाछा)..ले बाटो बिराएर अरुनै श्रीमान चिन्न थाल्यो भने “आजबाट हाम्रो जुवाँईको सोह्र खानीको सोह्रै धार्नाीको खुडा एक जाग्यो, दुई जाग्यो, तिन जाग्यो” ।

बेहुलीपक्षबाट सबैले भन्ने– “एक जाग्यो, दुई जाग्यो, तिन जाग्यो” ।

६. धन्यबाद हजुर । हाम्रो बुहारी, तपाँईहरुको छोरीचेली ..(बेहुलीको नाम).. ले कामकाज पनि मेरै हो, कुखुरा सुङगुर पनि मेरै हो, अन्नबाली रुपैया पैसा पनि मेरै हो, पानी पँधेरा नागनगेनी सबै नै मेरै हो, भन्दा भन्दै हाम्रो छोरा भतिज, तपाँईहरुको जुवाँई ..(बेहुलाको नाम).. ले बाटो बिराएर अरुनै श्रीमती चिन्न थाल्यो भने, “आजबाट हाम्रो बुहारीको खुर्पा एक जाग्यो, दुई जाग्यो, तिन जाग्यो” ।

बेहुलीपक्षबाट सबैले भन्ने– “एक जाग्यो, दुई जाग्यो, तिन जाग्यो” ।

बेहुलाबेहुलीलाई साईनो चिनाउने

टिका तथा आर्शिबाद दिने कार्यक्रम सकेपछि साईनो चिनाउने कार्यक्रम शुरु गर्नुपर्दछ । यसकोलागि बेहुलीपक्षको कलियाले एउटा आठानाको सिक्का लिएर साइनो चिनाउदै ढोगभेट गराउन पर्दछ ।

ढोगभेट गराउदा बेहुली अधिअधि र बेहुला पछिपछि हुनु पर्दछ र सर्वप्रथम बेहुलीको आमाबाबाबाट ढोग सुरु गरि क्रमश: साईनो अनुसार कस्लाई साईनो चिनाउने हो उस्लाई आठआना पैसा दिदैं ढोगभेट गराउनु पर्दछ । ढोग गरिसकेपछि आठआना फिर्ता गरि फेरि अर्कोलाई ढोग गराउनु पर्दछ ।

सम्धी सम्धिनी ढोगभेट

साईनो चिनाउने कार्यक्रम सकिसकेपछि दुवैतिरको सम्धी सम्धीना पर्नेहरुलाई ढोगभेट गराउनु पर्दछ । यो कार्य गर्नको लागि बेहुलीपक्षबाट एक कठुवा रक्सी र बेहुलापक्षबाट आठाना पैसा सबैको अगाडि राखिदिन पर्दछ र साईनोले दुवैतिरको सम्धी सम्धीनी पर्नेहरु जति अगाडी बोलाउनु पर्दछ । र भन्नु पर्दछ ।

तपाईहरु सवैजना सम्धि सम्धिनी पर्नेहरु उपस्थित हुनु भएको छ । सबैभन्दा पहिले बेहुलाको बाबाआमा र बेहुलीको बाबाआमालाई ढोगभेट गर्न आग्रह गर्नु पर्दछ । सम्धी ढोगभेट गरेको बेला बेहुलापक्षको कलियाले त्यहाँ राखिएको कठुवाको रक्सी र आठाना पैसालाई यताको उता, उताको यता गरेर तिन पटक सारिदिनु पर्दछ ।

ढोगभेट गर्दा निम्न बचन बोलिदिनु पर्दछ ।

१. आजदेखी तपाँईहरु पछि–पछि सम्मको लागि सम्धी सम्धी हुनु भएको छ ।
तर्सथ तपाँईहरु “एक सम्धी, दुई सम्धी, तिन सम्धी” । ढोग गराउने ।

२. आजदेखी तपाँईहरु आघौँ– पराघौँ सम्मको लागि सम्धीनी सम्धीनी हुनुभएको छ ।
तर्सथ तपाँईहरु “एक सम्धीनी, दुई सम्धिनी, तिन सम्धिनी” । ढोग गराउने ।

३. आजदेखी तपाँईहरु युगौँ–युगौँ सम्मको लागि सम्धी सम्धीनी हुनुभएको छ ।
तर्सथ तपाँईहरु “एक सम्धी सम्धिनी, दुई सम्धी सम्धिनी, तिन सम्धी सम्धिनी” । ढोग गराउने ।

यसपछि साईनोमा सम्धी सम्धीनी पर्नेजति सबैजनाले सम्धीढोग गराउदै लानु पर्दछ ।

बलाम थाप्ने कार्यक्रम :

लेखन गर्न बाँकी ।

दोस्रो कार्यक्रम :
हाईखूवा गर्ने

बेहुलीको चुलाघरमा –

चुलामा केराको पात ओछ्याएर त्यसमाथि चामल, अदुवा र दहिचामलको टिका राख्नु पर्दछ । कुटुम्बहरुले ल्याएको तामाको जोडि भाँडा वा काँसे डबका पनि त्यहिँ राख्नु पर्दछ । कुटुम्बहरुसंग १/१ वटा सिक्का पैसा मागेर त्यही भाँडामा राख्नु पर्दछ । एउटा कठुवामा चुलालाई चढाउने चोखो रक्सी पनि त्यहिनिर राख्नु पर्दछ । धामी बस्ने एकपिर्का पनि त्यहाँ राखिदिनु पर्दछ । छोरी जुवाँईलाई चुलामा देखाउनुलाई हाईखुवा चारीखुवा भन्दछ ।

धार्मीक बचन :

तयमी –

हे रुमालूङ, थूमालूङ हो
हे बूलूलूङ खमावालूङ, खप्चीलूङ हो
हे मीचालूङ मीयालूङ हो
हे नागा ह्यालापा साकूदीपावा हो ।

मानव सृष्टी हकूङबूङमा भयो ।
अग्नीको सृष्टी रीब्दँपोपीमा भयो ।
रुपीयाँ पैसाको सृष्टी राजाबासामा भयो ।
अन्नको सृष्टी मधेशामा भयो ।
ज्ञानको सृष्टी समाजमा भयो ।
बिजुवाको सृष्टी हँहँम्लायी फूलूकू सखेवामा भयो ।
अदुवाको सृष्टी बँदेल बस्ने ठाँउमा भयो ।
आयुको सृष्टी भगवानले गऱ्यो ।
रक्सीको सृष्टी दीबूरसूङ लोदूरमा बाट बन्यो ।

बाघ फैलिएको रोसूङला रहँलाको बनजङगलमा
थार फैलिएको दीबूखा रहँलाको बनजङलगमा
भालु फैलिएको भिरपहराको बनजङगलमा

हे कुलपित्रमा रहनु भएको पितापुर्खाहरु हो
आज यस घरमा को–को किन भेला भएका हुन ?
आज हामीलाई के–के किन देखाउदैछन भन्नुहोला ।
आज ..(बेहुलाको पाछा र सामे)..ले हाम्रो छोरीचेलीलाई
उहाँहरुको कुलपित्रमा बुहारी मानी भित्र्याई
आज हामीलाई देखाउन ल्याउनु भएको छ ।

उहाँहरुले हामीलाई करकोशेली, जाँडपानी
अन्न पैसा सबैकुरा ल्याईदिनु भएको छ ।
कुटुम्बहरुले मीठो बोली दर्साई फर्साई
सोध भाँडा राखिदिनु भएको छ ।
यसलाई तपाँईहरु समक्ष मैले देखाउदै छु ।
हे पितापुर्खाहरु हो,
तपाँईहरुले यसलाई हेरिदिनुहोस है, सुनिदिनुहोस है ।

हिजो खक्चुलुप्पाले, आफ्नो चेलीहरुको बिबाहमा
बूलूहाईखूवा, चारी हाईखूवा गरेका थिए ।
त्यही समयदेखी हामीले पनि
बूलूहाईखूवा, चारी हाईखूवा गरेर
तपाँईहरुलाई चिनो देखाउदै छौ
हे पितापुर्खाहरु हो,
मन नदुखाई दिनुहोस है, नरिसाई दिनुहोस है ।
हाम्रो छोरी जुँवाईलाई,
दिर्घायु तथा सफल जिवन प्राप्तीको
आशिर्बाद दिनुहोस है ।
जय पितापुर्खाहरु हो ।

कजेरी फुकाउने रीति :

लेखन गर्न बाँकी ।

कलिया फुकाउने रीति :

लेखन गर्न बाँकी ।

तेस्रो कार्यक्रम :
दुलान फर्काउने रीति :

लेखन गर्न बाँकी ।

(समाप्त)