शुभ विवाह

यहि मिति ७ डिसेम्वर २०१९ का दिन श्री नन्द प्रसाद दुमी राई र रेनुका दुमी राईकी सुपुत्त्री रेगन राईको शुभ विवाह श्री वीर बहादुर राई र लिला देवी राईको सुपुत्र दर्पण राई संग किरात संस्कार अनुसार सुप्तुलुङखिममा सम्पन्न भएको छ । नव दम्पतीलाइ हार्दिक बधाई तथा शुभ कामना ।

हङकङमा शुभ विवाह (एक प्य्राक्टिस)

हङकङमा निम्न तरिकाले शुभ विवाह छिन्ने काम गरिन्दै आई रहेको छ ।

बिबाह छिन्ने चलन

किरात राईहरुको संस्कारमा मगनी गरिसकेपछि उपयुक्त समय हेरेर बिबाह छिन्ने कार्य गरिन्छ । बिवाह छिन्नुलाई बगदत्त दिनु पनि भनिन्छ । बगदत्त दिनुभनेको आफ्नो कुलपित्रबाट छोरीचेलीलाई निकाली जुवाँईको कुलपित्रमा लगाउन दिने अनुमती हो । मौलिक किरात धर्म अनुसार बागदत्त नलिई श्रीमान वा श्रीमती मध्ये कसैको मृत्यु भएमा मृतकलाई चिहानमा लानु अगावै बागदत्त दिनै पर्दछ । यदि असम्भव भएमा काजक्रिया गर्नुभन्दा अगावै  बागदत्त दिनै पर्दछ । छोराछोरीको बिबाह गर्नु पर्दा पनि आमाबाबुले बागदत्त लिएकै हुनु पर्दछ ।

विवाह छिन्ने रीत

किरात राईहरुको बिवाहको रीति बिभिन्न खोला, पाछा, थर अनुसार फरक फरक पाईन्छ । रित थाहापाउन बेहुलापक्षको कलियाहरुले बेहुलीपक्षको कलियाहरुलाई “जोडि कठुवामा रक्सी” राखेर बिवाहको दिन लानपर्ने रीतभाँतहरुको बारेमा सोधनी गर्न पर्दछ । दुवै पक्षको कलियाहरु बसेर गरिने सल्लाहलाई “बुलुचुरी” भन्दछ । बेहुलीपक्षका कलियाहरुले त्यसदिन ल्याउनुपर्ने सम्पुर्ण रितहरुबारे सबै जानकारी गराउदछ । साधारणतय निम्न रितहरु चलन चल्तिमा छन ।

बेहुला पक्षले तयार पार्नुपर्ने रीतहरु

  1. बाह्र कठुवा रक्सि, १ मट्या भाती जाँड, २ टपरा सुङगुरको भुटेको मासु, १४ रुपैया पैसा
  2. हाईखूवाको लागि तामाको जोडि भाँडा र २ वटा तामाको पैसा
  3. फेटा आवश्यक्ता अनुसार (कलिया, बाबा, काका तथा बडाहरुलाई)

बेहुली पक्षले तयार पार्नुपर्ने रीतहरु

  1. एउटा मट्टियामा जाँड, एउटा कठुवामा रक्सि र त्यसमाथि सुङगुरको भुटुवा मासु (ऐच्छिक)
  2. एउटा नाङलोमा फुल, चामल, दहीचामलको टिका, दियो र अर्को नाङलोमा बेहुलाबेहुलीलाई माईतीहरुको तर्फबाट दिईने कपडाहरु
  3. फेटा आवश्यक्ता अनुसार (कलिया, बाबा, मामाहरुलाई)

जन्ति

विवाह छिन्न जाँदा बेहुला पक्षले बेहुलाका आफन्तजन, कलियाहरु तथा दाजुभाईहरु लिएर बेहुलीको घरमा जान पर्दछ यसलाई जन्ति जानु भन्दछन । जन्ति जाँदा बेहुलालाई अगाडी लगाई बाटो लाग्नु पर्दछ । यस दिन बेहुलाले छाता ओढेर हिड्न पर्दछ । बेहुलालाई एकजना कुमार केटालाई साथी लानुपर्दछ । जन्ति जाँदा बेहुलीपट्टिको कलियाहरुले भनेको बाटो जानुपर्दछ ।

कलिया भेट

भनेको ठाँउमा पुगेपछि बेहुली पक्षका कलियाहरु बेहुला पक्षको कलियाहरुलाई स्वगत गर्न बसिरहेको हुन्छ । जन्तिभन्दा अगाडि कलियाहरु गएर कलिया भेट गर्न पर्दछ । कलिया भेट गर्दा दुवैपक्षको कलियाहरुले “एकएक कठुवामा रक्सि र टपरामा भुटेको मासु” सगुनको रुपमा राखेर एक आपसमा ढोगभेट गर्दछन । कलियाहरुको ढोगभेट सकिएपछि त्यहाँ राखिएको मासु र रक्सि साटासाट गरेर सबैले बाँडी खानु पर्दछ ।

जन्ती पर्छाउने

बेहुलीपक्षका कलियाहरुले जन्तिहरुलाई जन्ति पर्छने ठाँउमा लानु पर्दछ । जन्ति पर्छने ठाँउमा बेहुला संगै बेहुलीलाई पनि निकाल्न पर्दछ र बेहुलीको आमाबाबु, माईतीहरु, मावलीहरु र सबै माईती पट्टिको निम्तालु नरनाताहरुले जन्ति पर्छाउदछ । जन्ति पर्छाउदा २ जना कन्याकेटीहरुलाई एउटा नाङलोमा फुल, चामल, दहीचामलको टिका, दियो र अर्को नाङलोमा बेहुलाबेहुलीलाई माईतीहरुको तर्फबाट दिईने कपडाहरु बोकेर, बेहुला बेहुलीलाई दाहिने पारेर ३ पटक घुम्नु पर्दछ ।

प्रितीभोज

जन्ति पर्छाई सकेपछि प्रितीभोज खुलाउने चलन छ ।

प्रितीभोजको समयमा बेहुलाबेहुलीलाई वरणी (पात गाँसेर तयार पारिएको बिशेष किसिमको ठुलो टपरा) मा खाना राखेर दिने रीति छ । बेहुलाबेहुलीको आमाबाबु, कलियाहरु र लोकन्ता लोकन्तिहरुलाई पनि वरणीमै खाना दिईन्छ । खानपान सकेपछि बेहुलाबेहुलीलाई माइतीहरुले बोकेर बिबाह मण्डपमा लानु पर्दछ । बिबाह मण्डपमा लानु अगावै मण्डप अगाडी केराको पात राखि राख्नु पर्दछ । केराको पातमा बेहुलीले दाहिने खुट्टाले टेकेर मण्डपमा गई बस्नु पर्दछ । बेहुला पनि बेहुलीलाई पच्छयाँउदै गई बस्नु पर्दछ । लोकान्ता लोकन्ती पनि संगै बस्न पर्दछ ।

रीतको लागि आशन ग्रहण

बेहुलाको आफन्तजनहरु बेहुलाकै तर्फ तिर र बेहुलीको आफन्तजनहरु बेहुलीकै तर्फतिर बस्न पर्दछ ।

रीत बुझाउने

तुम्साबु –
उपस्थित महानुभावहरुहो, नरनाताहरु हो । आज हामी यहाँ (बेहुलीको बाजेबोजुको नाम) को नातिनि (बेहुलीको बाबुआमाको नाम) को (कुनबहिनि) छोरी (बेहुलीकोनाम र पाछा) र (बेहुलाको बाजेबोजुको नाम) को नाति (बेहुलाको बाबुआमाको नाम) को (कुनभाई) छोरा (बेहुलाको नाम र पाछा) संगको बिबाहमा उपस्थित भएका छौं ।

आज हामी यहाँ, हिजो पारुहाङ, सुम्निमा, तयमा, खियामा, खोक्चिलिप्पा/रैछाकुले हाम्रो पुर्खाहरुले चलाईल्याउनु भएको चलनलाई अगाडि बढाउदै, वहाँहरुले चलाएको सवै रितहरु साँक्षि प्रमाण राख्दै छौं । बेहुलाको तर्फबाट आजको यस बिवाह कार्यक्रममा कसैको रिस राग नहोस भनि सबै मान्यजनहरुको सम्मानार्थ सगुन ल्याएका छन ।  कार्यक्रम भरि यहाँहरुले मिठो बोली गुलियो बचन बोलिदिनु हुनेछ भनेर हामीले आशा गरेका छौं ।

कृपया बेहुलापट्टिको कलियाज्युहरुले रितको नामाकरण सहित बेहुली पट्टिको कलियाहरु माझ रीत राखिदिनहुन अनुरोध गर्दछु ।

  1. “पुर्खाहरुलाई चढाउने, शिर उठाउनी” (१ कठुवा रक्सि र १ टपरा सुङगुरको भुटेको मासु ) ।
  2. “धिवत्तको सम्मानमा”  (२ कठुवा रक्सि)
  3. “कलियाको सम्मानमा” (२ कठुवा रक्सि )
  4. “सारथिको सम्मानमा” (१ कठुवा रक्सि, १४ रुपैया)
  5. “आमाबाबुको शिर उठाउनी” –  (२ कठुवा रक्सि)
  6. “दाजुभाई संग चिनजानी गर्न” (१ कठुवा रक्सि, सुङगुरको भुटेको मासु )

तुम्साबु –
मान्यजनहरु । यो सवै रितहरु हामीले राखेका छौं । यो रित हिजो पारुहाङ, रुमाहाङ, रेछाकुपा, नायुमा, सुम्निमाहरुले नै गरिल्याउनु भएको हो । तपाँई हाम्रो बाजे पुर्खाहरुले नै गरिल्याउनु भएको हो । यो सवैकुरा हिजैबाट भई आएको हो । हजुर आज हामीले मनोखुशि गरिल्याएका होइनौं । यो रितलाई बेहुली पक्षले स्वीकारी दिन पऱ्यो हजुर ।

रित स्विकार्ने

बेहुलीपक्षको कलिया –
हे मान्यजनहरु हो । वहाँहरुले यत्रो सरसरदाम साँक्षि प्रमाण र रितहरु लिएर आउनु भएको रहेछ । हाम्रो छोरिचेली वहाँहरुकैमा छन । मानव मायाको कुरा छिनाउन वहाँहरुलाई बोलाएका छौं। पुर्खाहरु हो । यो हाम्रो परापुर्व काल देखिकै चलन नै हो । रितलाई स्विकारौं वा के गरौं ।

तुम्साबु –
मान्यजनहरु, मानव माया अपरम्पार छ । हाम्रो पुर्खा सुम्निमा पारुहाङले यस संसारको सृष्टि गर्नु भयो । खोला, नाला,कोसी, समुन्द्रको सृष्टि गर्नु भयो । पाखा, पर्वत, हिमाल, बनजंगलको सृष्टि गर्नु भयो । यस संसारलाई सुन्दर बनाउन जिव, जन्तु, चराचुरुङगी, मानवको सृष्टि गर्नुभयो । आफ्नो वंशलाई अगाडि बढाउन माया प्रिति लगाउन सिकाउनु भयो । प्रकृतिलाई निरन्तर अगाडी बढाउन माया प्रेमको बन्धन बाँध्न सिकाउनु भयो । मान्यजनहरु, आज हामी यहाँ यहि मायाको बन्धन बाँधन, सृष्टिको नियमलाई निरन्तर अगाडी बढाउन हामी उपस्थित भएका छौं । रितलाई स्विकार्न नै पर्ला कि के भन्नुहुन्छ गाछि घरले ?

गाछि घर –
यहाँ मान्यजनहरुले सबै साँछि प्रमाण पुराएर आउनु भएको रहेछ । हामिले रित स्विकारेउँ ।
(तालि बजाउने)

रीत साटासाट गर्ने

तुम्साबु –
मान्यजनहरु अब बेहुली पट्टिको कलियाहरुले बेहुला पट्टिबाट आएको रितहरु स्विकार्ने र बेहुली बट्टिबाट पनि बेहुला पट्टिलाई रीतहरु प्रदान गरिदिने ।

रीतहरु बाँडेर खाने ।

बागदत्त

तुम्साबु –
अब हामि बगदत्त दिने रीति तिर लाग्दै छौं । छोरीचेलीलाई सदासदाको लागि जुवाँईलाई दिनुलाई बगदत्त दिने रीति भनिन्छ । बेहुलीको मामाहरुले बेहुलाबेहुलीको नाममा बचन/बागदत्त बोलीदिनु पर्दछ ।

१. बेहुलीपक्षको मावली –
मान्यजनहरु हो । हाम्रो भान्जि (बेहुलीकोनाम र पाछा) को कुलपित्र तिनचुलाबाट मुलढोका, दलान, आँगन हुँदै यहाँको साखेवाबाट (बेहुलाको नाम र पाछा) लाई उहाँहरुको तिनचुलामा “आजबाट एक दियौं” ।

बेहुलीपक्षबाट सबैले भन्ने– “एक दियौं” ।

२. बेहुलापक्षको काका/बडाबाबा –
मान्यजनहरु हो । हाम्रो भाईभतिज (बेहुलाको नाम र पाछा) को कुलपित्र तिन चुलामा उहाँहरुको भान्जि (बेहुलीकोनाम र पाछा) लाई उहाँहरुको कुलपित्र, तिन चुलाबाट बुहारी स्वरुप “आजबाट एक पायौं” ।

बेहुलापक्षबाट सबैले भन्ने– “एक पायौं” ।

३. बेहुलीपक्षको मावली –
मान्यजनहरु हो । आकाशको तेत्तीसकोटी देवीदेवताहरुलाई साक्षी राखेर, पातलको सिमेभुमे, नागनगेनीहरुलाई साक्षी राखेर, हाम्रो भान्जि (बेहुलीकोनाम र पाछा) लाई उहाँहरुको भाईभतिज हाम्रो जुवाँई (बेहुलाको नाम र पाछा) लाई  “आजबाट दुई दियौं”। बेहुलीपक्षबाट सबैले भन्ने– “दुई दियौं” ।

४. बेहुलापक्षको काका/बडाबाबा –
मान्यजनहरु हो । सबै देवीदेवताहरुलाई साक्षी राख्दै, सिमेभुमे नागनगेनीलाई साक्षी राख्दै, हाम्रो भाईभतिज (बेहुलाको नाम र पाछा) मा हाम्रो बुहारी (बेहुलीकोनाम र पाछा) लाई “आजबाट दुई पायौं” ।

बेहुलापक्षबाट सबैले भन्ने– “दुई पायौं” ।

५. बेहुलीपक्षको मावली –
मान्यजनहरु हो । कुलपित्र, भगवान, नागनगेनी सिमेभुमे सबैलाई साक्षि राख्दै हाम्रो भान्जि (बेहुलीकोनाम र पाछा) लाई हाम्रो जुवाँई (बेहुलाको नाम र पाछा) लाई  “आजबाट एक दियौं, दुई दियौं, तिन दियौं” ।

बेहुलीपक्षबाट सबैले भन्ने– “एक दियौं, दुई दियौं, तिन दियौं” ।

६. बेहुलापक्षको काका/बडाबाबा –
मान्यजनहरु हो । कुलपित्र, भगवान, नागनगेनी सिमेभुमे सबैलाई साक्षि राख्दै हाम्रो भाईभतिज (बेहुलाको नाम र पाछा) मा हाम्रो बुहारी (बेहुलीकोनाम र पाछा) लाई “आजबाट एक पायौ, दुई पायौं, तिन पायौं” ।

बेहुलापक्षबाट सबैले भन्ने– “एक पायौ, दुई पायौं, तिन पायौं” ।

तुम्साबु –
धन्यबाद मान्यजनहरु हो बागदत्त दिने काम सकिएकोछ ।

एक चोटी सगुन वितरण गर्ने ।

हातहतियार जगाउने

बागदत्त दिई सकेपश्चात बेहुला बेहुलीलाई भविश्यमा केहि नहोस भनि खबरदारी गर्न उनीहरुको नाममा हतियार जगाउने रीति गरिन्छ । हतियार जगाउदा तल उल्लेख गरेअनुसारको बचन बोलीदिनु पर्दछ ।

तुम्साबु –
बेहुला बेहुलीलाई भविश्यमा खबरदारी गर्न हतियार जगाउने रीति गरिन्छ । हतियार जगाउदा तल उल्लेख गरेअनुसारको बचन बोलीदिनु पर्दछ ।

१. बेहुलीपक्षको मावली –
मान्यजनहरु हो । आज देखी हाम्रो जुवाँई, तपाँईहरुको छोराभतिजा (बेहुलाको नाम) ले मेरो श्रीमती नै हो, मेरो सासुससुरा नै हो, मेरो जेठान, सालो नै हो भन्दा भन्दै, हाम्रो भान्जि छोरीचेली, तपाँईहरुको बुहारी (बेहुलीकोनाम) ले बाटोमुनी बाटोमाथी कहि कतै बाटो बिरायो भने “आजबाट हाम्रो जुवाँईको सोह्र खानीको सोह्रै धार्निको खुँडा एक जाग्यो” ।

बेहुलीपक्षबाट सबैले भन्ने– “हाम्रो जुवाँईको खुँडा एक जाग्यो” ।

२. बेहुलापक्षको काका/बडाबाबा –
मान्यजनहरु हो । हाम्रो बुहारी, तपाँईहरुको छोरीचेली (बेहुलीकोनाम) ले मेरो श्रीमान नै हो, मेरो सासुससुरा नै हो, मेरो आमाज्यु, नन्द नै हो, भन्दा भन्दै हाम्रो छोरा भतिज, तपाँईहरुको जुवाँई (बेहुलाको नाम) ले बाटोमुनी बाटोमाथी कही कतै बाटो बिरायो भने “आजबाट हाम्रो बुहारीको खुर्पा एक जाग्यो” ।

बेहुलापक्षबाट सबैले भन्ने– “हाम्रो बुहारीको खुर्पा एक जाग्यो” ।

३. बेहुलीपक्षको मावली –
मान्यजनहरु हो । आज देखी हाम्रो जुवाँई, तपाँईहरुको छोराभतिजा (बेहुलाको नाम) ले मेरो श्रीमती नै हो, मेरो सासुससुरा नै हो, मेरो जेठान, सालो नै हो भन्दा भन्दै, हाम्रो  भान्जि छोरीचेली, तपाँईहरुको बुहारी (बेहुलीकोनाम) ले बाटो माथि बाटो मुनी, बाटो हिडदा कँही कतै फुल चुँड्दो गऱ्यो भने “आजबाट हाम्रो जुवाँईको सोह्र खानीको सोह्रै धार्निको खुँडा दुई जाग्यो” ।

बेहुलीपक्षबाट सबैले भन्ने– “हाम्रो जुवाँईको खुँडा दुई जाग्यो” ।

४. बेहुलापक्षको काका/बडाबाबा –
मान्यजनहरु हो । हाम्रो बुहारी, तपाँईहरुको छोरीचेली (बेहुलीकोनाम) ले मेरो कुलपित्र, मेरो श्रीमान, मेरो सासुससुरा नै हो भन्दा भन्दै हाम्रो छोरा भतिज, तपाँईहरुको जुवाँई (बेहुलाको नाम) ले बाटो माथि बाटो मुनी, बाटो हिडदा कँही कतै अरुनै फुल चुडायो भने, “आजबाट हाम्रो बुहारीको खुर्पा दुई जाग्यो” ।

बेहुलापक्षबाट सबैले भन्ने– “हाम्रो बुहारीको खुर्पा दुई जाग्यो” ।

५. बेहुलीपक्षको मावली –
मान्यजनहरु हो । आज देखी हाम्रो जुवाँई, तपाँईहरुको छोराभतिजा (बेहुलाको नाम) ले मेरो श्रीमतीनै, मेरो सासुससुरानै, मेरो जेठान, सालो भनेर मान्दा मान्दै पनि, हाम्रो  भान्जि छोरीचेली, तपाँईहरुको बुहारी (बेहुलीकोनाम) ले बाटो बिराएर अरुनै श्रीमान चिन्न थाल्यो भने “आजबाट हाम्रो जुवाँईको सोह्र खानीको सोह्रै धार्निको खुँडा एक जाग्यो, दुई जाग्यो, तिन जाग्यो” ।

बेहुलीपक्षबाट सबैले भन्ने– “हाम्रो जुवाँईको खुँडा एक जाग्यो, दुई जाग्यो, तिन जाग्यो” ।

६. बेहुलापक्षको काका/बडाबाबा –
मान्यजनहरु हो । हाम्रो बुहारी, तपाँईहरुको छोरीचेली (बेहुलीकोनाम) ले कामकाज पनि मेरै हो, कुखुरा सुङगुर पनि मेरै हो, अन्नबाली रुपैया पैसा पनि मेरै हो, पानी पँधेरा नागनगेनी सबै नै मेरै हो, भन्दा भन्दै हाम्रो छोरा भतिज, तपाँईहरुको जुवाँई (बेहुलाको नाम) ले बाटो बिराएर अरुनै श्रीमती चिन्न थाल्यो भने, “आजबाट हाम्रो बुहारीको खुर्पा एक जाग्यो, दुई जाग्यो, तिन जाग्यो” ।

बेहुलाबाट सबैले भन्ने– “हाम्रो बुहारीको खुर्पा एक जाग्यो, दुई जाग्यो, तिन जाग्यो” ।

तुम्साबु –
धन्यबाद मान्यजनहरु हो हतियार जगाउने रीति सकिएकोछ ।

एक चोटी सगुन वितरण गर्ने ।

शिन्दुरपोते

तुम्साबु –
अब बेहुलाले बेहुलीलाई सिन्दुरपोते प्रदान गर्ने कार्यक्रम रहेको छ । बेहुलाले बेहुलीलाई शिन्दुरपोते लाईदिनु पर्दछ । शिन्दुर लाईदिदा भुईमा नझरोस भनि सेतो कपडा थापि दिन लोकन्ता लोकन्तिलाई अनुरोध गर्दछु । तेस पछि बेहुलीले बेहुलीलाई वरमाला लाईदिनु पर्दछ ।

सिन्दुर पोते कार्य सकिएपछि बेहुलीले बेहुलालाई खुट्टामा ढोग गर्नपर्दछ । यतिबेला बेलुन, बन्दुकहरु पट्काउनु लाउनु पर्दछ । तालि बजाउनु लाउनु पर्दछ ।

साईनो चिनाउने

सर्वप्रथम बेहुली पट्टिको आफन्तजनसंग साईनो चिनाउदै ढोग्न लगाउन पर्दछ । साईनो चिनाउने काम बेहुली पट्टिको कलियाले गर्नुपर्दछ । साईनो चिनाउने कार्य गर्दा आठाना पैसा दिएर ढोग गराउनु पर्दछ । ढोग गराउदा बेहुली अधि र बेहुला पछि हुनु पर्दछ । ढोग गरि सके पछि आठाना पैसा फिर्ता मागि एवं रितले साईनो अनुसार क्रमश: ढोग गराउदै आठाना पैसा दिदै, लिदै ढोगभेट सकाउनु पर्दछ । अन्तमा बेहुला पट्टिको साईनो चिनाउने काम बेहुलाको कलियाले गर्नु पर्दछ । माथि जस्तै बेहुला पट्टिबाट साईनो अनुसार ढोगभेट सुरु गरि सकाउदै लानु पर्दछ ।

सम्धी सम्धिनी ढोगभेट

तुम्साबु –
अब सम्धी सम्धिनी ढोगभेटको पालो आएको छ । ढोग भेट गर्दा कलियाहरुले त्यहाँ राखिएको कठुवाको रक्सी र आठाना पैसालाई यताको उता, उताको यता गरेर ढोगै पिच्छे सारिदिनु पर्दछ ।

१. आजदेखी तपाँईहरु पछि–पछि सम्मको लागि सम्धी सम्धी हुनु भएको छ ।
तर्सथ तपाँईहरु “एक सम्धी, दुई सम्धी, तिन सम्धी”
२. आजदेखी तपाँईहरु आघौँ– पराघौँ सम्मको लागि सम्धीनी सम्धीनी हुनुभएको छ । तर्सथ तपाँईहरु “एक सम्धीनी, दुई सम्धिनी, तिन सम्धिनी” ।
३. आजदेखी तपाँईहरु युगौँ–युगौँ सम्मको लागि सम्धी सम्धीनी हुनुभएको छ ।
तर्सथ तपाँईहरु “एक सम्धी सम्धिनी, दुई सम्धी सम्धिनी, तिन सम्धी सम्धिनी” ।

छोरीजुवाँईलाई चुलामा देखाउने

तुम्साबु –
छोरीजुवाँईलाई चुलामा देखाई पितापुर्खाहरुबाट दिर्घायु तथा सुस्वास्थ्यको कामना गर्नुलाई हाईखुवा चारीखुवा भन्दछ । हङकङमा ब्यक्तिगत चुला नभएकोले किराया हङकङको सामुहिक चुलालाई मुन्धुमी विधि अनुसार ब्यक्तिगत चुलामा प्रतिस्थापन गरि हाईखूवा गरिनेछ । यो कार्य किराया हङकङको कूबीमीले गर्दछ ।

आवश्यक सामाग्रीहरु :

१. केराको पात ओछ्याएर त्यसमाथि चामल, अदुवा र दहिचामलको टिका राख्ने ।
२. कुटुम्बहरुले ल्याएको तामाको जोडि भाँडा वा काँसे डबका पनि त्यहिँ राख्ने ।
३. कुटुम्बहरुसंग १/१ वटा सिक्का पैसा मागेर त्यही भाँडामा राख्ने ।
४. एउटा कठुवामा चुलालाई चढाउने चोखो रक्सी राख्ने ।
५. धामी बस्ने एकपिर्का राख्ने ।

छोरीजुवाँईलाई चुलामा देखाउने बचन

तयमी –
हे रुमालूङ, थूमालूङ हो
हे बूलूलूङ खमावालूङ, खप्चीलूङ हो
हे मीचालूङ मीयालूङ हो
हे नागा ह्यालापा साकूदीपावा हो ।

मानव सृष्टी हकूङबूङमा भयो ।
अग्नीको सृष्टी रीब्दँपोपीमा भयो ।
रुपीयाँ पैसाको सृष्टी राजाबासामा भयो ।
अन्नको सृष्टी मधेशामा भयो ।
ज्ञानको सृष्टी समाजमा भयो ।
बिजुवाको सृष्टी हँहँम्लायी फूलूकू सखेवामा भयो ।
अदुवाको सृष्टी बँदेल बस्ने ठाँउमा भयो ।
आयुको सृष्टी भगवानले गऱ्यो ।
रक्सीको सृष्टी दीबूरसूङ लोदूरमा बाट बन्यो ।

बाघ फैलिए रोसूङला रहँलाको बनजङगलमा
थार फैलिए दीबूखा रहँलाको बनजङलगमा
भालु फैलिए भिरपहराको बनजङगलमा

हे कुलपित्रमा रहनु भएको पितापुर्खाहरु हो
आज यस घरमा को–को किन भेला भएका हुन ?
आज हामीलाई के–के किन देखाउदैछन भन्नुहोला ।
आज (बेहुलाको नाम, पाछा, सामे) ले हाम्रो छोरीचेलीलाई
उहाँहरुको कुलपित्रमा बुहारी मानी भित्र्याई
आज हामीलाई देखाउन ल्याउनु भएको छ ।

उहाँहरुले हामीलाई करकोशेली, जाँडपानी
अन्न पैसा सबैकुरा ल्याईदिनु भएको छ ।
कुटुम्बहरुले मीठो बोली दर्साई फर्साई
सोध भाँडा राखिदिनु भएको छ ।
यसलाई तपाँईहरु समक्ष कूबीमीले देखाउदै हुनुहुन्छ ।
तपाँईहरुले यसलाई हेरिदिनुहोस है, सुनिदिनुहोस है ।

हिजो खक्चुलुप्पाले, आफ्नो चेलीहरुको बिबाहमा
बूलूहाईखूवा, चारी हाईखूवा गरेका थिए ।
त्यही समयदेखी हामीले पनि
बूलूहाईखूवा, चारी हाईखूवा गरेर
तपाँईहरुलाई चिनो देखाउदै छौ
हे पितापुर्खाहरु हो,
मन नदुखाई दिनुहोस है, नरिसाई दिनुहोस है ।
हाम्रो छोरी जुँवाईलाई,
दिर्घायु तथा सफल जिवन प्राप्तीको
आशिर्बाद दिनुहोस है ।
जय पितापुर्खाहरु हो ।

टिका तथा आर्शिबाद

बेहुलीको आमाबाबा, बाजेबोजु, बडाबडि सबैजनाले क्रमश: बेहुला बेहुलीलाई टीका लगाईदिँदै आर्शिबाद दिनु पर्दछ । त्यसपछि बेहुलाको आमाबाबा, बाजेबोजु, बडाबडि सबैजनाले क्रमश: बेहुला बेहुलीलाई टीका लगाईदिँदै आर्शिबाद दिनु पर्दछ । अन्त्यमा अन्य आफन्तजनहरुले आशिबाद दिन पर्दछ ।

कजेरी फुकाउने :

विवाहको दिन बिभिन्न कार्य गर्ने कजेरीहरुको काम सकिएपछि कजेरी फुकाउन उनीहरुको शिर उठाउने रीति गरिन्छ । हङकङमा बेहुला बेहुली दुवै तर्फ संयुक्त बिबाह भोज गर्ने चलन रहेकोले सबै कजेरीहरुलाई एक ठाँउमा राखेर उनीहरुको शिरनाम उठाईन्छ ।

तुम्साबु –

तपाँईहरुले (बेहुला बेहुलीको नाम) को बिबाह कार्जे सम्पन्न गर्न काम गर्दा तपाँइहरुको हात, खुट्टा कति दुख्यो होला, सबै नरनाताहरुलाई खानपिन गराउदा कति थकाई लाग्यो होला, नराम्रो बचन पनि कति सुन्नु पऱ्यो होला, यसमा हामी सबै माफि चाहान्छौं । काम गर्दै जाँदा मेलो मेसो हराएर कसैले गालि पनि गरेन होला । यता उता जाँदा आँउदा भोक तिर्खा पनि लाग्यो होला । तपाँईहरुको खुट्टा कति ठाँउमा ठोकिएर दुख्यो पनि होला । जे जसरी काम गर्नु परेता पनि तपाँईहरुले मन नदुखाउनु होला । रिस राग नगरि दिनु होला । आशिर्वाद दिई राख्नुहोला भनि यो तपाँईहरुको शिर उभ्याउनी बेहुला बेहुली दुवै तर्फको आमा बाबा बाट राखेका छौं । स्विकारी दिनु होला ।

१. कजेरिलाई – एक कठुवामा रक्सि र सुँगुरको भुटुवा मासु ।
२. कलियाहरुलाई – एक कठुवामा रक्सि र सुँगुरको भुटुवा मासु ।
३. कूबीमीहरुलाई – एक कठुवामा रक्सि र पैसा
४. फोटोग्राफरलाई – एक कठुवामा रक्सि र पैसा

कलिया फुकाउने रीति :

बिबाह सकिएपछि कलिया फुकाउने रीति गरिन्छ । हङकङमा समयको अभावले संयुक्त रुपमा बेहुला बेहुली दुवै पक्षबाट कलिया फुकाउने रीति गरिन्छ । यो रीति गर्दा कलियाहरुलाई राखेर जोडि कठुवामा रक्सि र सुँगुरको भुटुवा मासु राखिदिन पर्दछ ।

तुम्साबु –
तपाँईहरुले (बेहुलाबेहुलीको नाम) को बिबाह कार्जे सम्पन्न गर्न काम गर्दा कति दु:ख पाउनु भयो होला । काम गर्दै जाँदा मेलो मेसो हराएर कसैले गालि पनि गरेन होला । यता उता जाँदा आँउदा भोक तिर्खा पनि लाग्यो होला । तपाँईहरुको खुट्टा कति ठाँउमा ठोकिएर दुख्यो पनि होला । जे जसरी काम गर्नु परेता पनि तपाँईहरुले मन नदुखाउनु होला । तपाँईहरुको मनमा रिस राग नराखि दिनुहोला भनि बेहुला बेहुली दुवै तर्फको आमा बाबाले तपाँईहरुको शिरनामको लागि या शिर उभ्याउनी राखि दिएका छन । स्विकारी दिनु होला ।
धन्यबाद ।

कार्यक्रमको रुपरेखा :

६:०० बजे – कलिया भेट
६:३० बजे – जन्ति पर्छाउने
७:०० बजे – प्रितीभोज
७:१५ बजे – रित राख्ने
७:३० बजे – बागदत्त बोल्ने
७:४५ बजे – हतियार जगाउने
८:०० बजे – हाईखुवा गर्ने
८:१५ बजे – साइनो चिनाउने
८:३० बजे – सम्धि ढोग
८:४५ बजे – शिर उठाउनी
९:०० बजे – टिका तथा आर्शिबाद
११:०० बजे – समाप्त

नामावली तयार पार्नुपर्ने :

बेहुली पट्टिको नामावली :

बाजे/बोजु –
बाबा/आमा –
भाईहरु –
बेहुली –
पाछा –
सामे –
कुन बहिनि –
मामाहरु –
कलियाहरु –
लोकन्तिहरु –

बेहुला पटिटको नामावली :

बाजे/बोजु –
बाबा/आमा –
बेहुला –
पाछा –
सामे –
कुन भाई –
लोकन्ता –
कलिया –

कार्य बाँडफाँड :

क्र.सं.कार्य बाँडफाँडजिम्मेवारी
1कार्यक्रम संयोजन तथा अनुगमनसंगठन बिस्तार तथा समन्वय विभाग
2कुर्सि, टेबल, टेन्ट, टोईलेट ब्यावस्थापनसुप्तुलुङखिम मर्मत तथा निर्माण विभाग
3न्युज/रिपोर्टिङ, अडियो, भिडियो, फोटोयुवा खेलकुद, संगीत, सहित्य विभाग
4निम्तो बितरण, प्रचारप्रसारकार्यलय संचालन तथा प्रचारप्रसार विभाग
5जन्ति पर्छाउने  कन्याहरुबाल, महिला, प्रौढ तथा अतिथि विभाग
6खरिद बिक्री, आर्थिक कोष ब्यावस्थापनसम्पति तथा कोष–अभिवृद्धि विभाग
7खानपान तयारी ब्यावस्थापन/ कुकिङसुम्निमा खानपान तथा भान्सा विभाग
8खानपान बितरण ब्यावस्थापन/ सर्भिङसिक्रिमा बितरण तथा सेवासत्कार विभाग
9 बेहुला बेहुली बोक्ने ब्यावस्थापनपारुहाङ ढुवानी तथा ओसारपसार विभाग
10 रीतहरु तयार पार्ने किरात धर्म संरक्षण तथा संस्कार विभाग
11 बेहुली श्रृङगारशिली संकलन तथा संस्कृति विभाग
12पंचेबाजा, साउण्ड, लाईटनिङ , म्युजिक, सरसजावटमौलिक संकलन तथा सरसजावट विभाग
13सरसफाई तथा फोहरमैला ब्यावस्थापनसरसफाई तथा फोहरमैला संकलन विभाग
14यातायात सेवा ब्यावस्थापनब्यावसाय, रोजगार तथा यातायात विभाग
15सुरक्षा, प्राथमिक उपचार, नियन्त्रणआपतकालिन सहयोग तथा सुरक्षा विभाग

(समाप्त)