न्वारानको फारम |

न्वारान संस्कार बारेमा

किरात राईहरुको घरमा बच्चा जन्मिएपछि न्वारान गर्ने चलन छ । शिशु जन्मदा कुनै जाति, पाछा र नाम बिना जन्मिएको हुन्छ । उसलाई जाति, पाछा र नाम दिई एक मानवको रुपमा स्थापित गर्नको लागि न्वारान गरिन्छ । शिशु बालीका जन्मेको भए ५ दिनमा बालक जन्मेको भए ६ दिनमा न्वारान संस्कार गरिन्छ । न्वारान गर्नको लागि बुढापाका ब्यक्ति हुनु पर्दछ । घरमा बुढापाका ब्यक्ति नभएमा दाजुभाई भित्रको बुढापाका जेठोपाको ब्यक्तिलाई बोलाउनु पर्दछ । यस दिन दाजुभाईहरु, छोरिचेलीहरु र नजिकको नरनाताहरु बोलाईन्छ ।

सामुहिक चुलाघरमा न्वारान गर्नेभए

  1. न्वारान संस्कार गर्ने फारमभरी किराया हङकङको कार्यलयमा बुझाउनु पर्नेछ ।
  2. किराया हङकङले फारम हेरी उपयुक्त समय मिलाई स्विकृती प्रदान गर्नेछ ।
  3. फारम सहित तोकिएको शुल्क धर्म–संस्कार संरक्षण कोषमा जम्मा गर्नुपर्नेछ ।
  4. अन्य आवश्यक सामाग्रीहरु ब्यावस्था गरिदिन पर्ने भए थप रकम जम्मा गर्नुपर्नेछ ।
  5. सामुहिक धामी चलाउने भए अन्त्यमा धामीको शिर उठाउनी गर्नु पर्नेछ ।

आवश्यक सामाग्रीहरु

  1. नाङलो, काँसेथाल, अलिकति चामल र अदुवा
  2. दुबो, तितेपाती, केराकोपात, चिण्डोमा जाँड
  3. दियोबत्ति, जोडी कलश र फुलपाती
  4. कोक्रो, ३ वटा वासको ढुङग्रो, कुसको कुचो, कर्दा वा खुर्पा
  5. बच्चाको हात खुट्टामा लगाईदिने धागोको डोरी
  6. बच्चालाई लाईदिन भोटो वा कपडा
  7. खान पान तथा पेय पदार्थ–

कार्यक्रमको रुपरेखा

  1. आशन ग्रहण
  2. न्वारान संस्कारबारे जानकारी
  3. धार्मीक बचन
  4. धामी वा जेष्ठ ब्याक्तिबाटआर्शिबाद
  5. बच्चालाई डोरीलाई दिने प्रकिया
  6. बच्चालाई कोक्रोमा सुताउने प्रक्रिया
  7. चुलालाई ३ फन्को मार्ने प्रक्रिया
  8. खानपान

धार्मीक बचन :

हे प्रकिति पुजक सुम्निमा पारुहाङ, हे चुलापुजक पितापुर्खाहरु हो । तपाँईहरुले मानव जीवन दिएर यस धर्तीमा सृष्टि गराउनु भएको छ । आजदेखी तपाँईको सृष्टिले हिजो आमाको गर्भमा फुलको रुपमा बास लिएर बसेको थियो । आज यस धर्तीमा जन्मिएको छ । हामीले तपाँईको सृष्टिको नाम …(नाम भन्ने)… राखेका छौं । उसले नाम फैलाउन सकोस नागनगेनी सिमेभुमेले साथ दिईरहोस । अन्न, धन दौलतको मालीक बनाई रहोस । ज्ञानी, बुद्धिमानी बनाई रहोस । लेकबेसी, डाँडाकाँडा सवैतिर नाम फैलाउन सकोस । दुबो र अदुवा जस्तै फैलियोस, हरेका कदममा प्रगति भईरहोस । शरिरमा लागेको रोगकष्ट नदिले बगाई लैजावोस ।  आँखीडाही वायुवतासले उडाएर लगिरहोस । जय सुम्निमा पारुहाङ ।

धामी वा जेष्ठ ब्याक्तिबाटआर्शिबाद

आर्शिबाद दिदाअदुवा, कलशको पानी र कोदो र मर्च मिसाएको पानीले बच्चा र आमा दुवैको शरिरमा छर्किएर, परिवारको सदस्यहरुलाई, त्यहाँ उपस्थित नरनाताहरुलाई र घरको चारैतिर छर्किनु पर्दछ ।

बच्चालाई डोरीलाई दिने प्रकिया

बच्चाको दुवै हात खुट्टा र कम्बरमा धागोको डोरीले बाधि कपडा लगाई दिन पर्दछ ।

बच्चालाई कोक्रोमा सुताउने प्रक्रिया

शिशुलाई कोदो मर्चाको पानीले कोक्रोलाई छर्कि कुसको कुचोलाई पहिला कोक्रोमा सुताएर मात्र शिशुलाई सुताउनु पर्दछ ।कोक्रोमा छोरा भए कर्दा र छोरी भए खुर्पा सिउरिदिने चलन छ ।

चुलालाई ३ फन्को मार्ने प्रक्रिया

आमाले शिशुलाई बोकी चुलालाई ३ फन्को मार्नु पर्दछ । यतिबेला ३ जना छोरी छेलीले ३ वटा वासको ढुङग्रो चुला वरिपरि ३ फन्को लडाउदै ढोका बाहिर फाल्नु पर्दछ ।