विज्ञ र नेताले सुप्तुलुङ दर्शन गरे

-समाचार बज्र कुमार राईबाट ।

२१ अक्टुबर २०१८ हङकङ ।

कृषिविज्ञ मदन राई, उहाँको श्रीमती सुभद्रा राई, छोरा इन्जिनियर सुरज कुमार राई र युवा नेता सुवास राईले मौलिक धर्म, संस्कार-संस्कृति मान्ने किरात राईहरुको चुला दर्शन-ढोग गरेका छन् ।

किराया अध्यक्ष हरिचन्द्र राईको सभापतित्व र सचिव गजेन्द्र राईको संचालनमा भएको चुला दर्शन-ढोग कार्यक्रममा चुला दर्शणार्थी विज्ञ, नेता र इन्जिनियरलाई अध्यक्ष हरिचन्द्र राई र प्रमुख सल्लाहकार रजीन राईले शीरमा फेटा गुथाएर सम्मान गरेका थिए । यसैगरी उपाध्यक्ष माया (चन्द्रका) राईले विज्ञ राईको जीवन संगीनी शुभद्रा राईलाई शिरमा मजेत्रो ओढाएर सम्मान गरेकी थिइन ।

सम्मान क्रममै किराया प्रज्ञा प्रतिष्ठानका कुलपति शशीमदन राई, संरक्षक हेजेन राई र सल्लाहकार वसन्त कुमारी राईले संस्थाको छापा मुखपत्र “यलम्बर” र “साकेला शीली” को छयाङ्कन सीडी उपहारस्वरुप प्रदान गरेका थिए । यहाँ स्थित किलुङ चुङमा रहेको किरायाको सुप्तुखीम (चुलाघर) मा संसारभरका मौलिक धर्म, संस्कार-संस्कृति मान्ने किरात राईहरु आएर चुला दर्शन-ढोग गर्दै आफ्ना पितृ-पूर्खाहरुको आशिर्वाद लिने गर्दछन् । यो कार्य दिनानुदिन बढ्दै गएको छ ।

#चुला दर्शन-ढोग गर्ने ४ दर्शणार्थीका संक्षिप्त व्यक्तित्व ।

(१) कृषिविज्ञ मदन राई ।
बेलायतको विश्वप्रसिद्ध एक विश्वविद्यालयबाट कृषिविज्ञान बिषयमा माष्टर्श गर्नु भएका कृषिविज्ञ राई कृषि विशेषज्ञ मात्रै होइन समाजसेवा र राजनीतिमा पनि उत्तिकै प्रखर व्यक्तित्व मानिन्छ । प्राकृतिक जीवन प्रणाली,यौनाङ्ग र यौनको बिषयमा खुल्ला बहस गर्ने राई विभिन्न संचारमाध्यममा छाउनु भएको छ।सोसल मीडियाले पनि उहाँलाई उत्तिकै फलो गरेको पाइन्छ । राजनीतिक वृत्तमासमेत चर्चित बनेका राई पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईका हितैषी र नयाँ शक्ति नेपालका संस्थापक योजनाकार पनि हुनुहुन्छ । हलेसी खोटाङमा निर्माणाधीन किरात राईहरुको पवित्र सांस्कृतिक स्थल तायाचुङ-जायाजुङ मूल संरक्षण समितिका सल्लाहकार पनि हुनुहुन्छ।उहाँको ज्ञानको प्रशस्ति यूट्यूबमा पनि पाइन्छ।

(२) विज्ञ राईले ब्याच्लर गर्नु भएको अमेरिकाको यूनिभर्सिटीबाट सूचना-प्रविधिको क्षेत्रमा मास्टर्श गर्नु भएका उहाँका सुपुत्र इन्जिनियर सुरज कुमार राई पनि बैंक अफ अमेरिकाको विशिष्ठ पदमा रही विभिन्नमुलुकमा काम गर्ने क्रममा विगत १ बर्षदेखि यहाँस्थित बैंक अफ अमेरिकामा कार्यरत हुनुहुन्छ।

(३) श्रीमती सुभद्रा राई भने राईको एक असल जीवन सारथी हुनुहुन्छ।

(४)  युवा नेता सुवास राई नेपाल तथा वेलायतमा रही अन्तर्राष्ट्रिय सुरक्षा क्षेत्रमा कार्य गर्नु भएका मेन्सनर व्रिटिश आर्मी हुनुहुन्छ । सानै उमेरबाट प्रजातान्त्रिक धारको राजनीतिक बाटो हिड्नु भएका राई नेपाल ल क्याम्पसबाट बी.एल. गर्नु भएका वकील पनि हुनुहुन्छ । आजभन्दा साढे २ दशकअघि धरान सुनसरी र काठमाण्डौंमा आफ्नो नेतृत्वदायी गहन भूमिका प्रदर्शनपछि हिम्मतिला विद्यार्थी नेताको रुपमा पार्टीले मूल्यांकन गरेका सुवास हाल ने.का.महाधिवेशन सदस्य हुनुहुन्छ ।

 

हङकङको सुप्तुलुङमा न्वागी

-समाचार बज्र कुमार राईबाट ।

१४ अक्टुबर १८, हङकङ, किरात राई यायोक्खाको किलुङचुङस्थित सुप्तुलुङखीम (चुलाघर) मा किरात राई साम्पाङ जुम्लेखाले न्वागी (नयाँ बाली भित्र्याउने मुन्धुमी कार्य) गरेको छ । खोटाङ फेदीका ८३ बर्षीय अग्रज मुन्दुमज्ञाता दल बहादुर साम्पाङ राईको प्रमुख प्रशिक्षणीय भूमिकामा किरायाका कुविमीद्वय नारायण प्रसाद साम्पाङ राई र मइत्र कुमार वान्तवा राईले मुन्दुमी प्रक्रियाद्वारा न्वागी सम्पन्न गरेका हुन्।किरात राईहरुले युगौंदेखि आफ्ना पीता/पूर्खा र प्रकृतिलाई  नयाँ बालीनालीको उत्पादन पहिला चढाएर मात्रै आफूले प्रयोग गर्ने गर्दछन् ।

बिशेष गरेर आफ्नो पीता/पूर्खा,प्रकृति र मौलिक परम्परा मान्ने किरातहरुलाई उक्त न्वागी पूजामा सहभागीताकालागि आव्हान गरिएको थियो । सो न्वागीमा किरायाका अध्यक्ष हरिचन्द्र राई, प्रमुख सल्लाहकार रजीन राई, किराया संरक्षण परिषदका सदस्य तथा प्रज्ञा प्रतिष्ठानका कुलपति शशीमदन राई,सल्लाहकार,भाषिक संस्थाका तथा किराया कार्य समितिका पदाधिकारीहरुलगायत बाहुल्य संख्यामा साम्पाङ राईहरुको उपस्थिति रहेको थियो । प्रत्येक बर्ष जाडो मौसमको शुरुवातसँगै (धान, कोदो पाक्ने बेला,सयपत्री फूल,घैया र अदुवा फूलको/फलेको समयमा उद्यौलीको शुरु भएपश्चात) नयाँ बालीनाली पाकेपछि किरात राईहरुले न्वागी गर्ने प्राचीन परम्परा छ ।

किरात राई साम्पाङ जुम्लेखाले मौलिक धर्म, संस्कार-संस्कृति, परम्परा र रीतिथिति मान्ने किरात राईहरुलाई सहभागीताकालागि आव्हान गरेर संस्थागत रुपमा पहिलोपटक यो बर्षको न्वागी गरे पनि आगामी बर्षबाट किरायामा आवद्ध सबै भाषिक संस्थाहरुको प्रतिनिधित्व गर्दै सामुहिक रुपमा न्वागीको आयोजना गर्ने अनुमति सोहि मितिमा बसेको किरायाको बैठकले निर्णय गरेको छ । उक्त न्वागी प्राकृतिक मौसम बदलिने क्रमको प्रत्येक असोज महिनाभित्र सम्पन्न गर्नु पर्ने जनाइएको छ ।

मुलुखिम हङकङको तदर्थ समिति गठन

८ जुलाई २०१८, हङकङ ।

किरात बाहिङ राई मुलुखिम हङकङको पहिलो भेलाले लोखराज राईको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

उक्त समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश: टंकप्रसाद राई, ज्ञानबहादुर राई, भीमबहादुर राई र पदमबहादुर राई रहेका छन् । विष्णुकुमार राई, मणिराज राई, बालिका राई, निर्मल राई, तिर्थकुमारी राई, सुरेश राई, रोहित राई र रामकुमार राई रहेका छन् ।

किलिङचुङ, युनलङस्थित सुप्तुलुङखिम (बकलीखिम) मा सम्पन्न भेलाले किसन राई, सुनिता राई र हरीकुमार राईलाई सल्लाहकारमा चयन गरेको छ । किरात राई यायोक्खा अन्तर्गत मुलुखिम आठौं भाषिक संस्था रहेको छ । यो भन्दा अघि चाम्लिङ खाम्बातिम, साम्पाङ जुम्लेखा, दुमी फन्सिकिम, पुमा तुप्खाबाङ्खाला, बान्तावा यायोक्लाखिम, थुलुङ सामा र सोदेल कोयीकिम गठन भइसकेका छन् ।

– किसन राई

 

जुम्लेखा हङकङको पारिवारिक भेटघाट

१ जुलाई २०१८, हङकङ ।

किरात साम्पाङ राई जुम्लेखा हङकङले पारिवारिक भेटघाट गर्न बोटिङ तथा हाईकिङ कार्यक्रम आयोजना गऱ्यो । उक्त कार्यक्रममा हङकङमा बसोबास गर्ने किरात साम्पाङ राईहरु लगायत जुवाँई चेलाहरु सहित जम्मा ६० जनाको सहभागिता रहेको थियो । साईकुङबाट स्पिट बोटिङ शुरुभै साई वान चुनमा उत्रेर खानपान गऱ्यो । तत्पश्चात हाम तिन हुदैं करिब २ घण्टाको हाईकिङ पश्चात वोङ सेक फेरिमा आएर हाईकिङ समाप्त भएको थियो । अन्त्यमा बस चढि जोर्डन आएका थिए ।

रबिचन्द्र राईको संयोजकत्वमा आयोजना भएको सो कार्यक्रमको बिच समयमा साम्पाङ चेली रेनुका राई र मणिचन्द्र राईको शुभबिबाहमा खट्ने कलिया तथा कजेरीहरुलाई शिर उभ्याउनी कार्यक्रम समेत राखिएको थियो । बिबाह कार्यक्रम १६ जुन २०१८ मा सुप्तुलुङ खिममा सम्पन्न भएको थियो । किरात साम्पाङ राई जुम्लेखाको अध्यक्ष श्री तेज कुमार राई भने अस्वस्थ्यको कारणले उपस्थि हुन सकेको थिएन ।

किरात साम्पाङ राई जुम्लेखा हङकङले हरेक बर्ष जुलाई महिनाको पहिलो आईतबार हङकङमा बसोबास गर्ने साम्पाङहरुलाई भेटघाट गर्ने अवसर मिलाउदै आएको छ । यस कार्यक्रममा भने अत्यधिक साम्पाङहरुको सहभागिता रहेको थियो । केटाकेटिहरु १७ जना, साठि बर्षभन्दा माथिका जेष्ठ साम्पाङहरु ३ जना र जुवाँईहरु ३ जना गरि बाँकी ३७ जना साम्पाङ चेली माईतीहरु भेला भएका थिए । छुट्टिने बेलामा खै कस्ले हो पछाडिबाट गित गुनगुनाउदै थिए ।

फुल मालैमा, फुल मालैमा ।
फेरि पन भेटौ है, अर्को सालैमा ।।

– जय साम्पाङ ।

सामाको अध्यक्षमा रामली नै

१ जूलाई २०१८ हङकङ,

थुलुङ राई सामाको तेस्रो अधिवेशनबाट तेस्रो कार्यकालकालागि पनि रामली थुलुङ राई नै निर्विरोध चयन भएका छन् । विधानत: १५ सदस्यीय कार्यसमिति व्यवस्था रहेको अन्य पद उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः विजय थुलुङ राई, प्रेम थुलुङ राई, दिनेश थुलुङ राई, राम नारायण थुलुङ राई र सोजित थुलुङ राई रहेका छन् भने सदस्यहरुमा बज्र कुमार थुलुङ राई, राम कुमार थुलुङ राई, टिका थुलुङ राई, नवीन थुलुङ राई, नरेन थुलुङ राई, रश्मिला थुलुङ राई, उर्मिला थुलुङ राई, सुमन थुलुङ राई र गौरव थुलुङ राई चयन भएका छन् ।

प्रमुख अतिथि किरात राई यायोख्खाका अध्यक्ष हरिचन्द्र राईको बाहुलीबाट दियोमा बत्ती बाली उदघाटन गरिएको उक्त अधिवेशनमा किराया सम्बद्ध भाषिक संस्था चाम्लिङ खाम्बातिमका अध्यक्ष पवित्रा राई, साम्पाङ जुम्लेखाका अध्यक्ष तेज कुमार राई, पुमा तुप्खा बाङखालाका अध्यक्ष पेङगुइन किरात, वान्तवा यायोक्लाखीमका उपाध्यक्ष दुर्गाकान्त राई, सोदेल कोयीकिमका अध्यक्ष हित बहादुर कोयी राई लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । उक्त अधिवेशन आफ्नो मौलिक धर्म, संस्कार-संस्कृति मान्ने किरात राईहरुको किलुङचुनस्थित सुप्तुलुङखीमको यलम्बर हलमा सम्पन्न भएको थियो ।

-बज्र कुमार राई

सुप्तुलुङमा बेलायतका श्रीमान/श्रीमती

१ जूलाई २०१८ हङकङ,

याङसोला-५, छोरम्बु,खोटाङ थातथलो भई हाल वेलायतनिवासी ८८ बर्षीय वृद्धवृद्धा श्रीमान/श्रीमती बिर्ख बहादुर राई र भाईसोनया राईले किरात राई मौलिक धर्म, संस्कार-संस्कृति मान्ने किरात राईहरुको यहाँ स्थित सुप्तुलुङखीमको सुप्तुलुङ (तीन चुला) ढोग-दर्शन गरेका छन् । यहाँ निवासी उनका छोरा देवेन्द्र राईको अगुवाईमा यो कार्य गरिएको हो ।

कार्यक्रममा किराया अध्यक्ष हरिचन्द्र राई, उपाध्यक्ष माया (चन्द्रका) राई, महासचिव बज्र कुमार राई लगायतको समुपस्थित रहेको थियो । सुप्तुलुङ (तीन चुला) ढोग-दर्शन पश्चात

अध्यक्ष राईले दर्शनार्थी श्रीमान राईको शीरमा फेटा गुथाएर सम्मान गरेका थिए भने श्रीमती राईको शीरमा मजेत्रो ओढाएर उपाध्यक्ष चन्द्रका राईले सम्मान गरेकी थिईन । यसकासाथै पाहुनाद्वयलाई संस्थाको मुखपत्र यलम्बर र साकेला सिलीको सीडी प्रदान गरिएको थियो ।

सुप्तुलुङ दर्शन र सम्मानपछि बोल्दै दर्शनार्थी विर्ख बहादुरले आफ्नो जातीय मौलिक धर्म, संस्कार-संस्कृति जोगाउने कार्य गरेकोमा संस्था (किराया) प्रति आभारसहित धन्यवाद व्यक्त गर्दै तीन चुलाको महत्त्व र दर्शनलाई पुस्तान्तरण गर्दै लानु पर्ने बताए ।

-बज्र कुमार राई