पित्रीपुजा बारेमा

किरात राईहरुले घरको बिचभागमा तिनमा चुला राखेका हुन्छन । चुलाको ठिक माथि भार हुन्छ । भार भन्दा माथि पित्रीकक्ष राखेका हुन्छन । कसैले पित्रीकक्षलाई सुँवा, कसैले मछेम, कसैले मछामा वा मछाकुमा भन्दछ । भाषिक राई अनुसार फरक नामले पुकारन्छि । पित्रीकक्षमा परापुर्वकाल देखी मरेर गएका पिता पुर्खाहरुको मृतआत्मा बसेको हुन्छ भनि विस्वास गरिन्छ । त्यसैले बर्षमा एक पटक जाडो मौसम लागे पछि धान, कोदो पाक्ने वेला, सयपत्री फुल, घैया र नया अदुवा फुलेको फलेको समयमा पित्री पुजा (उधौली) गरिन्छ । पितृपुजा गर्ने दिन घर र पित्रीकक्ष सफा गर्नु पर्दछ । बुढापाका ब्यक्तिले पित्रीकक्ष सफा गरि त्यस माथि नया केराको पात, सेउली, अदुवा र सयपत्री फुल चढाईदिनु पर्दछ । घरमा कोहि पनि बुढापाका ब्यक्ति नभएमा कुबी वा जानिफकार ब्यक्तिलेनै पित्रीकक्ष सफा गर्नु पर्दछ । युवाहरुले पित्रीकक्ष सफा गर्न हुदैन भन्ने चलन छ । पितृपुजा गरेको दिन खन्ने, जोत्ने र टिप्ने कामहरु केहि पनि गरिदैन । घरका मुख्य बुढापाखाहरुले पित्री पुजा नगरिन्जेल नया धान, कोदो र अदुवा खानु हुदैन । पित्री पुजा गर्ने दिन भन्दा अगाडीनै पित्री पुजाको लागी चोखो नया कोदोको जाड पकाई राख्नु पर्दछ । नया कोदो नपाकेको भए पुरानो कोदोमा विधिको लागी अलिकति नया कोदोको वाला सुर्काएर मिसाई जाड पकाउनु पर्दछ । कसैले चहि पित्री पुजा गर्ने दिनै नया कोदो ल्याएर त्यसमा पानी मर्चा मिसाई प्रयोग गर्दछ । किरात राईहरु विविध भाषि तथा विविध ठाउ अनुसार पितृपुजा गर्ने तरिका फरक फरक हुन सक्तछ तर सवै राईहरुले पितृपुजा गर्दछन ।

हङकङमा ब्याक्तिगत पित्रीपुजा

हङकङमा कसैले सामुहिक चुलामा ब्यक्तिगत पित्री पुजा गर्न चाहेमा मंसिरे पुर्णेको दिन छाडी अन्य दिन वहाँको ब्यक्तिगत पित्री पुजा गर्न सक्तछ । यसका लागी किराया हङकङमा ब्यक्तिगत पित्री पुजा गर्नको लागि आवेदन दिन पर्दछ । आवेदन अनुसार किराया हङकङले समय र धामी मिलाईदिने छ । ब्याक्तिगत पित्री पुज्दा सामुहिक पित्रीकक्षलाई प्रतिस्थापन गरि वहाँको वंशको पित्री राखी पुकारीने छ । पित्री पुजा गरिसके पश्चात वहाँको वंशको पित्रीलाई उक्त कक्षबाट स्थान्तरण गर्नु पर्दछ । स्थान्तरण गर्दा पित्रीलाई घर लगेर राख्न पनि सक्तछ वा कुनै बगैचामा राख्न पनि सक्तछ ।

ब्यक्तिगत पित्रीपुजा गर्नेभए

  1. पित्री पुजा गर्ने फारमभरी किराया हङकङको कार्यलयमा बुझाउनु पर्नेछ ।
  2. किराया हङकङले फारम हेरी उपयुक्त समय मिलाई स्विकृती प्रदान गर्नेछ ।
  3. फारम सहित तोकिएको रकम धर्म–संस्कार संरक्षण कोषमा रकम जम्मा गर्नुपर्नेछ ।
  4. आवश्यक सामाग्रीहरु ब्यावस्था गरिदिन पर्ने भए थप रकम जम्मा गर्नुपर्नेछ ।
  5. पित्री पुजामा कुखुरा चलाउने वा नचलाउने संस्कार गर्नेको ईच्छामा भर पर्नेछ ।
  6. पित्री पुजागर्दा सामुहिक धामी चलाउने वा नचलाउने स्वोईच्छामा भर पर्नेछ ।
  7. सामुहिक धामी चलाउने भए अन्त्यमा धामीको शिर उठाउनी गर्नुपर्नेछ ।

आफ्नै घरमा पित्री पुजा गर्ने तरिका

सवैभन्दा पहिले कुबीको घरमा पितृपुजा गर्नु पर्दछ । कुबीको घरमा पितृपुजा गरेपछि मात्र अरुको घरमा गरिन्छ । पितृपुजा कसको घरमा गरिन्दैछ, त्यस घरभित्रको सदस्यहरुबाट सुवाचा दिन सुरुगरि क्रमश : पाछाभित्रको अन्य दाजुभाईहरुको घरकोलाई, नरनातापक्षकोलाई, जिवित हुँदै काजक्रिया गर्नेहरुलाई, कुबीमीहरुलाई र महिलाहरुलाई दिईन्छ । सुवाचा दिदा हालसालै मरेकोबाट दिन सुरुगरि पहिले नै मरेकालाई अन्तमा दिईन्छ । महिलाहरुलाई सुँवाचा दिदा उनिहरुको पाछाबाट पुकार्दै चुलाको छेउतिर चोखो पातमा दिईन्छ । अन्तमा कुलपितृभन्दा बाहिर रहेकालाई दिनु पर्दछ । कुलपितृ भन्दा बाहिरकालाई सुँवाचा दिदा सवै जनालाई एउटै थालमा राखि ढोकाको छेउमा पुगेर भित्र तिर फर्केर हातले ढोका बाहिर राख्नु पर्दछ । यतिवेला कुबी वा जानिफकारले चिण्डोको जाँडले त्यसैगरि छर्किनु पर्दछ । किरात राईहरु विविध भाषि तथा विविध ठाउ अनुसार पितृपुजा गर्ने तरिका फरक फरक छ ।