राई शब्दको मौलिकता बारेमा

खुक्सङ खम्बु

Khuksang

खालिङ राईहरु आफूलाई रादु भनेर चिनाउँछन । चाम्लिङ राईहरु पनि आफूलाई रादुङ भन्छन क्यारे । हामी थुलुङ राईहरु आफूलाई प्रच्यो भन्छौं । प्रच्यो भनेको राई हो भन्ने हाम्रो बुझाइ छ, जसको शाब्दिक अर्थ यही भूमीबाट उत्पति भएको भन्ने हुन्छ, थुलु भनेको त थुलुङ भइहाल्यो प्रच्यो, रादु, रादुङ र राई शब्द मा निकट सम्बन्ध छ, भन्ने लाग्छ । यदि रायाबाट राई हुन्छ भनेर सजिलै अर्थ लाइन्छ भने रादु, रादुङबाट राई किन हुँदैन ? त्यो जरुर हुन सक्छ, बरु हाम्रो अध्ययनको दायरालाई अझ फराकिलो, वस्तुनिष्ठ र तथ्यपरक पो बनाउने हो कि ? पृथ्वी नारायणले हामीलाई अर्कै ग्रहबाट टपक्क टिपेर राई शब्दले सम्मान गरेको जरुर होइन, बरु राई शब्दसँग सम्बन्धित हामीनै पो थियौं कि ? पद नै देको भए त डिट्ठा, बहिदार, खरदार पो भन्नुपर्ने, किन राई भन्यो ? खोजिको बिषय यो हो । तत्कालीन माँझकिरातका किराती राईहरुले आफूलाई रादु, रादुङ हौं भनेर चिनाउँदा पृथ्वी नारायणको जिब्रोले उच्चारण गर्न नसकी राया, राई भनेको पो हो कि ? किनकि राया शब्दसँग त ऊ पहिल्यै परिचित थियो । हाम्रो साकेला शब्दलाई चण्डी बनाउनेले त्यसो गरेनन् भन्न हामी सक्दैनौं । लु तिमीहरु रादु, रादुङ नै हौ (पृथ्वी नारायणको भाषामा राया, राई नै हौ ) यो जिमीभूमी (किपट) तिमीहरुकै हो, भनेर सम्मानपूर्वक हामीलाई सुम्पेको स्वीकारेको बरु सत्य हो । यो कुनै पूथ्वी नारायणले दिएको पद होइन । सही इतिहास के हो ? फेरि कतिपय साथहिरु चैं थाहै नपाइ पद हो भनेर कोकोहोलो मच्चाउँदा सारै दुःख लागेर आउँछ । समय बित्दै जाँदा राजनीतिक घटनाक्रम हाम्रो प्रतिकूल हुँदै जाँदा शाह, राणाकाल भोग्दै आउँदा, हाम्रो जिमीभूमी खोसिदै जाँदा, भूमीसुधारको नाममा बाध्य भएर हामीले तिरो – कर उठाएर तिर्नु परो होला । त्यसपछि शाह, राणाका भरौटे इतिहासकारले राईलाई पद लेखे होला । तर यहाँनेंर बुझ्नुपर्ने चुरो कुरो के छ भने शाह, राणा त हामीलाई सिध्याउनै चाहन्थ्यो नि, हाम्रा इतिहास, भाषा, संस्कृति त खत्तम पार्नै चाहन्थ्यो नि । अब प्रश्न उठ्छ त्यस्ताका भरौटेले हाम्रो बारेमा बोलेको, लेखेको इतिहास के सही होला ? के तिनीहरुले साँच्चै इमान्दार पूर्वक बृहद किरात इतिहास, भाषा, संस्कृतिको अध्ययन गरेरै लेखेका हुन भन्ने लाग्छ तपाईंलाई ? त्यसो हो भने यहींनेर हामी गलत छौं । सकेसम्म उनिहरु त हामीलाई होच्याउन, सिध्याउन, गिराउन चाहन्थे, चाहन्छन । धेरै टाढा नजाउँ २०४६ साल भन्दा पहिले के थियो देशको स्थिति ? के भन्थे उनिहरु हामीलाई ? हाम्रो भाषा बोल्दा गाईखाने भाषा भन्थे । नियत उनिहरुको, देशको यहीं प्रष्ट हुन्छ । के गर्न चाहन्थे तिनले हामीलाई ? त्यस्ता फटाहाहरुले लेखेको हावादारी इतिहासको पछि लागेर सारा राई जातको बेइज्जत गर्ने अपराध नगरौं साथी हो । यतिबेला हामी इतिहासको पुनर्लैखन, पुनर्खोज–अनुसन्धान र पुर्नसमिक्षामा छौं । बरु आउनुस समिक्षा गरौं र लेखौं हाम्रो सही इतिहास अब हाम्रै हातले ।

राईको इतिहास, संस्कृति र भाषाको सवालमा इतिहासको सवालमा… बान्तावा राईहरुले सुम्निमा–पारुहाङ, हामी थुलुङ राईहरुले पातिसङ–द्युल्युन्दुमा, चाम्लिङ राईहरुले सुम्निमो–पारुहँ आदि – इत्यादि नानाभाँती नामले पुकारे पनि पात्र र कथा भने एउटै हो, यसमा कसैको दुईमत छैन । त्यस्तै तायामा, खियामा, हेत्छाकुप्पा, हामी थुलुङ राईहरुले जाउमा, ख्लिउमा, ख्वाक्चिलिप, जाउमो, ख्लिउमो, खाक्चिलिपु, रैछाकुले जे भने नि पात्र, कथा र दर्शन एउटै हो । भूगोल, भाषा र रहनसहनको दूरी बढ्दै जाँदा, पुस्तान्तर बित्ने क्रममा कथा वक्ता फेरिदैं जाँदा नाम फरक हुनु, सुनिनु, भनिनु र बोलिनु स्वाभाविक हो । तर कथाको सार–जरा या उद्गम चैं हामी सबै राईको एउटै हो । त्यसो त हाम्रो इतिहास एउटै हो, जरा एउटै हो, उद््गम–उत्पतिको बिन्दु एउटै हो । तर पात्रको नाम फरक पर्दैमा कतिपय साथीहरु हामी फरक हौं, हामी छुट्टै जात हौं भन्छन भने त्यो जति सतही र हावादारी कुरा के हुन सक्छ रु नाम त हिन्दुहरुको कृष्णको पनि धेरै छन नि । सायद बताउन नपर्ला । अहिले कतिपय कुलुङ र बाहिङ साथीहरु ५, ७ सय वर्ष यताको आफ्नै मात्र वंशावली पेश गरेर राईको वंशावली माथि प्रश्न तेस्र्याउँछन । त्यसो त म थुलुङ राई भएको नाताले थुलुङ यताको मात्र वंशावली अनुसार अहिले म २२ सौं पुस्ता हुँ । त्यस्ता वंशावली त हामी प्रत्यक कहाँ सुरक्षित छ । तर यो वंशावली भनेको ५, ७ सय वर्ष यताको मात्र हो । त्यसो त ५, ७ सय वर्ष भन्दा पहिलेको इतिहास–वंशावली चाँहि हामीलाई चाहिदैन ? खोज्नु पर्दैन ? त्यो दुर्दान्त – दुखान्त समयको हाम्रो कथा–ब्यथालाई त्यति सजिलै बिर्सन मिल्छ ? त्यति धेरै हामी निष्ठुरी बन्न मिल्छ ? कि हाम्रो उत्पति भएकै ५, ७ सय वर्ष मात्र भयो ? तर इतिहासले त यो भूमिमा हाम्रो उत्पति भएको त १० सौं हजार वर्ष भयो पो भन्छ त । सुम्निमा–पारुहाङ यता राईको वंशावली खोज्नेले ब्रम्हा, विष्णु देखि यता प्रचण्डको वंशावली दिन सक्छन ? सक्छन भने हामी नि खोजौंला । उनीहरु त झन लेखेरै राख्ने हुन हामी भने भन्दै आउने हौं । कुरा यति हो, पात्रको नाम फरक पर्दैमा, ५, ७ सय वर्ष यताको मात्र इतिहास कोट्याएर वंशाावली देखाउँदैमा हामी छुट्टै जात हौं, हाम्रो छुट्टै इतिहास छ भनेर भ्रामक कुरा नगरौं । हाम्रो जरा त्यति धेरै टाढा छैन । र त्यो त्यति लुकाउन मिल्ने खालको छैन ।

संस्कृतिको सवालमा हिजो हाम्रा पूर्खाले एउटै खोलाको पानी पिएर, माटो खोस्रेर जिवन जिए, सभ्यताको निर्माण गरे । संस्कृतिको निर्माण गरे । त्यसो हुँदा हाम्रा संस्कार – संस्कृति पनि मिल्दो–जुल्दो हुनेनै भयो । रिब्दुङका थुलुङ राईले सुँगुर पालेर बस्दा बुङ – छेस्कामको कुलुङ राईले ऊँट पालेर बसेको थिएन । बुङ–छेस्कामको कुलुङ राईले जाँड खाँदै गर्दा रिब्दुङको थुलुङ राईले अवस्य कफी पिउँदै थिएन । यसो हुँदा हामीले निर्माण गरेका सामाग्री–सम्पती, आर्जेको सीप–ज्ञान, सील–स्वभाव, संस्कार–संस्कृति, जिवन पद्धती उस्तै–उस्तै छन । हामी थुलुङले तोसी, बान्तावाले साकेवा, चाम्लिङले साकेला वा बाहिङले सेग्रो जे भने पनि हामीले गर्न, भन्न र पुज्न खोजेको चैं उही भूमी र पूर्खानै हो । नाम, नचाई र पूजा विधीमा फरक हुन सक्छ । भाषाको विविधताले मुन्दुमका शब्द पनि फरक हुन सक्छ । तर यसले बोकेको कथा–दर्शन र भन्न खोजेको कुरा चैं एउटै हो । हामी जाने त कथा र दर्शनमैं हो नि । किनकि एउटै कथा (बिन्दु) बाट यो चाड शुरु भएको हो । नाम, नचाइ र पूजा विधीको फरकतिर मात्र जाने हो भनें त पात्र अनुसार यो फरक पर्छ । थुलुङ राईकै मात्र पनि नाच मिल्दैन । पूजा विधी मिल्दैन । कोही सुङ्गुरले पुज्नेहरु छौं, कोही कुख्राले, कोही अण्डाले मात्र । कसैले केराको पातमा थान–थपना राखेर पूजा गर्ने, लेकतिरकाले नेबराको पातमा थान–थपना बनाउने र पुज्ने यस्ता बिबिधता त हामी थुलुङ भित्रै छ । र गाउँमा बुढाहरु यही कुरालाई इस्यु बनाएर उस्को भन्दा हाम्रो यो कुरामा फरक, हाम्रो भन्दा उस्को यो फरक भन्दै विवाद गर्छन । तर यहाँ बुझ्नुपर्ने सत्य के छ भने लेकमा केरा हुँदैन, लेकमा बस्ने थुलुङले कसरी केराको पातले थान बनाउँछ त ? त्यस्तै तल अउलमा नेबराको रुख हुँदैन अनि कसरी अउलमा बस्नेले नेबराको पातले थान–थपना बनाउँछ त ? त्यस्तै सुङ्गुर नहुनेले कुख्राले पुज्यो होला, कुख्रा सम्म पनि नहुनेले चैं अण्डाले काम चलायो होला । यो ब्यबहारिक बाध्यतालाई नबुझी यहीं कुरामा विवाद गर्दै, फरक हो भन्दै गयौं भने हामी कहीँ पुगिदैन । प्रायः चाम्लिङका नचाई छिटो छ भने दुब्देहाङ बान्तावाहरुको ढिलो छ । कुरा यति हो दुब्देहाङ बान्तावाको पूर्खा मोटो थियो होला ऊ फिजिकल्ली बिस्तारै नाच्यो, चाम्लिङको पुर्खा छरितो ज्यानको थियो होला ऊ छिटो नाच्यो । के यही कुरा हाम्रो संस्कृति फरक पार्ने मापक हुन त ? बुद्धिजिवी साथीहरुले बुझी हालौं ।

राई शब्दको मौलिकताको बारेमा, राई जातिको इतिहास र संस्कृतिको बारेमा यस अघिनै चर्चा गरी सकिएको छ । जिम्मेवार मित्रहरुले यस बारेमा विष्लेशन गर्नुहुनेनै छ, बुझ्नुहुनेनै छ । आफ्नै वंश विनास गर्ने वंशछेदी, कुलद्रोही बिभिषणहरु जो आफ्नै खुट्टामा बन्चरो हान्ने कालिदासका चेलाहरु हुन, उनीहरुलाई अरु भन्नु छैन । समयले सवक सिकाउनेनै छ कुनै दिन । यस लेखमा राई भाषाको सवालमा चर्चा गरिने छ । राई भाषाको सवालमा हिजो राई भाषा (माउ भाषा) एउटै हो । निरन्तर संपर्क नहुँदा, लेख्य परम्परा नहुँदा हाम्रा भाषा–शब्दहरु केही फरक हुँर्दै गए, यो स्वाभाविक हो । खस भाषालाई राष्टिय भाषा राज्यले बनाएर निरन्तर विभिन्न माध्यमबाट प्रयोगमा ल्याउँदा त अझै पूर्व र पश्चिमको खस भाषामा एक रुपता आइसकेको छैन भने राई भाषा फरक नहुने कुरै भएन । जरुर अहिले हाम्रा भाषाहरु केही फरक छन । र अहिले राईलाई टुक्राएर छुट्टै जात बनाउन उधत साथीहरुको सबै भन्दा बलियो हतियार भाषा भइदिएको छ । इतिहास र संस्कृति भने हाम्रो एउटै हो, यसबारेमा चर्चा गरी सकिएको छ । भाषा भने अवस्य केही फरक हो । त्यसो त भाषिक भिन्नताको आधारमा कुलुङ, थुलुङ, बाहिङ जस्ता जात बन्यो रे, एकैछिनलाई मानीलिनुस । भोलि गएर यसको दूरगामी असर के पर्छ रु त्यो जातको भविष्य के हुन्छ ? भाषिक भिन्नताको आधारमा जात बनाइसके पछि भोलि कालान्तरमा गएर, भुमन्डलीकरणको युगमा दिन दुई गुणा, रात चार गुणा हाम्रा स–साना भाषाहरु मर्दै गइरहेको बेला हाम्रो भाषा मर्दैन भन्ने कुनै बलियो आधार छ ? भाषा मर्यो भने छुट्टै जात बनाउने आधार त सकियो त, त्यो दिन के हुन्छ जातको स्थिति ? भाषा भन्ने कुरो कसैको सनक, रुवाई या मूर्खेसास्तीले त बाँच्दैन, कसैको मूर्खेसास्ती, सनकले भाषा बाँच्ने हो भने त त्यत्रो राज्यनै लागेर, नानी देखिनको बल निकालेर,अरबौ, खरबौं खर्च गरेर संस्कृत भाषालाई बाहुनबादी सरकारले बचाउन खोजेकै हो, तर संस्कृत भाषा किन मर्यो ? राज्यनै लाग्दा त भाषा बचाउन नसक्दो र छ भने हामी २, ४ जनाको सनकले के हाम्रो भाषा बाँच्ला ? बचाउन सकिएला ? भाषा मरेको दिन हाम्रो जात बन्ने आधार त सकिन्छ, र त्यो दिन हाम्रो जात चैं के हुन्छ ? भाषा बाँच्नलाई अहिलेको भुमण्डलीकरणको युगमा २ वटा कुरा हुन अनिवार्य छ । प्रथम कुनै पनि भाषा बाँच्नलाई त्यो भाषा आर्थिक रुपमा फाइदाजनक हुन अनिवार्य छ, जस्तो अङ्ग्रेजी र केरियन भाषा । दोस्रो सरल । होला हाम्रा भाषा सरल होलान, के आर्थिक पक्षबाट हेर्दा फाइदाजनक छन ? त्यस्तो बन्ने संभावना छ ? कदापि छैन । म थुलुङ राई भाषाको अत्यन्तै राम्रो वक्ता हुँ, मेरो भाषाको मलाई नि अगाध माया छ । सकेसम्म बचाउन हामी लागीपरेकै छौं । सके त नि संसारको माध्यम भाषानै इङ्लिस हटाएर थुलुङ राई भाषा बनाउन मन छ, तर संभव छ ? अहँ । त्यसो त किन भाषाको कुराले साथीहरु यत्रो रडाको मच्चाउँछन हँ ? मगरको नि ३, ४ वटा भाषा छ । किन उनिहरुले छुट्टै जात नबनाएका ? नमागेका ? किन हामी भित्र मात्र यत्रो लफडा ? के छ फाइदा भोलि गएर हँ ? लेखेरै राख्नुस, निकट भविष्यमा हाम्रा धेरै राई भाषाहरु मर्दै छन । भाषिक भिन्नताको आधारमा छुट्टै जात बनाउन कम्मर कसेर लाग्ने साथीहरुले ठण्डा दिमागले यो सत्यलाई एकचोटी सोच्ने हो कि ?