नियुक्तिपत्र word icon

किरात धर्म, संस्कार संरक्षण तथा सुप्तुलुङसेवा विभाग

800px-Nakchong

हाम्रो परिचय

किरात राईहरुको आफ्नै भाषा, धर्म, संस्कार र संस्कृतीहरु छन । किरात राईहरु प्रकृती र पित्री पुजकहरु हुन । किरात राईहरु मन्दिर, मस्जिद नगई घरको बिच भागमा राखिएको सुप्तुलुङलाई मन्दिर सम्झि धार्मिक आस्थाको रुपमा भक्ति गर्ने गर्दछ । सुप्तुलुङमा सर्वशक्तिमान र सर्वज्ञानी इश्वर सुम्निमा पारुहाङ, देवी देवताहरु तथा आफुलाई जन्म दिने पुर्वजहरु रहेकोहुन्छ भनी मान्दछ । किरातीहरुले बर्षमा १ चोटि पितापुर्खाहरुलाई सुप्तुलुङमा बोलाई खुलाउने तथा स्मरण गर्ने गर्दछन । किरात राईहरुले जन्म देखी मृत्यसम्मको कर्मकाण्ड यहि सुप्तुलुङमा गर्ने गर्दछन । किरात राईहरुको जन्मदेखी मृत्यु पर्यन्त सम्मको कार्यक्रमहरु सम्पन्न गरिदिनु, सुप्तुलुङदर्शन गर्नेहरुलाई दर्शन गराउनु हाम्रो बिभागको काम, कर्तब्य र उदेश्य रहेको छ ।

हङकङको सन्दर्भमा, धेरै किरात राईहरुको आफ्नो घर छैन । भाडामा बस्नुपर्ने बाध्यता छ । हङकङमा किरात राईहरुको धार्मीक परम्परा अनुसार पुजा गर्ने आफ्नो सुप्तुलुङ छैन । यदि यस्तै कारणले हङकङमा किरात राईहरुले सुप्तुलुङ पुज्न छाडियो भने केहि समयबाट नै हङकङगेली किरात राईहरुको धर्म, संस्कार, संस्कृती मरेर जानेछ, किरात राईहरुको अर्को पुस्ताले किरात राईहरुको पहिचान भुलेर जानेछन । तर्सथ, हङकङमा, किरात राईहरुले सामुहीक रुपमै सुप्तुलुङ पुजा गर्ने परम्पराको बिस्तार गर्नुको बिकल्प छैन । तर्सथ किरात राईहरुको धर्म, संस्कार, संंकृतीको जर्गेना गर्नु र किरात राईहरुको पहिचानलाई भौतिकरुपमा पुस्ता हस्तान्तरण गर्दै लान हाम्रो बिभागको काम, कर्तब्य र उदेश्य रहेको छ ।

हाम्रो समुह

tilak
१. बिभाग प्रमुख – तिलक वालाहाङ राई

ramchandra copy
२. बिभाग संयोजक – राम चन्द्र राई

kubimi
३. प्रमुख कूबीमी – श्रेष्ठ बहादुर राई

narayan
४. सहायक कूबीमी – नारायण प्रसाद राई

हाम्रो सेवाहरु

१. किरात राईहरुको जन्मदेखी मृत्यु पर्यन्त सम्मको संस्कार गरिदिनु  ।
२. किरात राईहरुको चुला स्थान्तरण, चुला स्थापना, गृहप्रबेश कार्यक्रम गरिदिनु ।
३. संस्कारगत कार्यक्रममा आवश्यक बस्तुहरुको ब्यावस्था गर्नु ।
४. चुलासंग सम्बन्धित बिभिन्न चाड पर्वहरु मनाउने कार्य गर्नु ।
५. चुलादर्शन गर्न चाहानेलाई चुलादर्शन (Worshiping) गराउनु ।
६. चुलादर्शन गर्नेहरुको फारम भरि दस्तावेजिकरण बिभागमा पठाउनु ।
७. समय समयमा धार्मीक कार्यक्रमहरुको आयोजना गर्नु ।
८. धार्मीक कार्यक्रममा मुन्धुम जानकार ब्यक्तिल्याई मुन्धुम बाचन गर्न लगाउनु ।
९. चुलादर्शनले जिवनमा पुऱ्याउने फाईदा सम्बन्धि अध्यन, अध्यापन गर्दै छलकपट रहित शुद्ध समाजको निर्माण गर्नु ।


परियोजना – मौलिक किरात धर्म संरक्षण

परियोजनाकार – शशि मदन राई (अध्यक्ष, किराया हङकङ, सन २०१२–१६)
२५ नोभेम्वर २०१२ मा अनुमोदन

को हुन किरातहरु ?

१. सुम्निमा र पारुहाङलाई यस पृथ्बी, ब्रहमाण्ड, चराचर जगतको मुल श्रृष्टीकर्ताको रुपमा मान्ने जाती ।
२. आफुलाई जन्म दिने पुर्वजहरुनै मानव प्राणीको श्रृष्टीकर्ता सम्झि पुर्वजहरुलाई आराधना गर्ने जाती ।
३. प्रकृती बिना मानव जिवन सम्भव छैन भनि प्रकृतीको (पृथ्बी, आकाश, हावा, आगो र पानी) को पुजा गर्ने जाती ।
४. बंश बिस्तार, कुटुम्व विस्तार, धर्म कर्म, पाप कर्म, धन दौलत, बिमार क्षयको मुल आधार सुप्तुलुङलाई मान्ने जाती ।
५. सुकर्म गरे साधारण मृत्युभई सुप्तुलुङमा बसिने, कुकर्म गरे असाधारण मृत्यु भई सुप्तुलुङमा नबसिने भनि मान्ने जाती ।
६. यलम्बर हाङको सन्तान, इ.पू. १८७९ तिर नेपालमा ३२ पुस्ता सम्म किरात वंशको नामले राज्य गर्ने जाति ।
७. कुनै युगको सभ्यता, राज्य अर्थात कैलाश पर्वतको काखमा बसोबास गर्ने जाति, कुनै छलकपट नभएका निश्छल, सोझा र ईमान्दार जाति ।

केहो सुप्तुलुङ ?

१. हिन्दुहरुको भगवान बस्ने पवित्र स्थल मन्दिर जस्तै, गिता अनुसार पुजारीले पुजा गर्ने स्थल ।
२. बौदहरुको बुद्ध बस्ने पवित्र स्थल गुम्बा जस्तै, त्रिपिटक अनुसार लामाले बोधि पढने स्थल ।
३. मुश्लिमहरुको अल्लाह बस्ने पवित्र मस्जिद जस्तै, कुरान अनुसार मौलवीले प्रार्थना गर्ने स्थल ।
४. क्रिश्चियनहरुको मशिह बस्ने स्थल चर्च जस्तै, बाईबल अनुुसार पास्टरले सुसन्देश दिने स्थल ।
५. किरातहरुको पुर्वज बस्ने पवित्र स्थल सुप्तुलुङ, मुन्धुम अनुसार कूबीमीले कर्मकाण्ड गर्ने स्थल हो सुप्तुलुङ ।

सुप्तुलुङ किन चाहिन्छ ?

१. पिता पुर्खाहरुलाई तथा पुर्वज देवी देउता राख्न ।
२. पिता पुर्खाहरुलाई सम्झी पुजा आरधना गर्न ।
३. दाजुभाई, दिदिबहिनी, कुल कुटुम्ब बिस्तार गर्न ।
४. जन्म देखि मृत्यु पर्यन्त सम्मको कर्मकाण्ड गर्न ।
५. धन दौलत, बिजय, यष, बल तथा शक्ति माग्न ।
६. प्रकृती प्रकोप, दु:ख, कष्ट, तथा बिमार हटाउन ।
७. मृत्यु पश्चात आफु स्वयं रहन ।

हङकङमा सामुहिक सुप्तुलुङको किन आवश्यक्ता ?

१. आ–आफ्नै घरमा बंशानुगत सुप्तुलुङ राख्न असमर्थता ।
२. घरमै जन्मदेखी मृत्यु पर्यन्त सम्मको कर्मकाण्ड गर्न असमर्थ ।
३. किरात धर्म–संस्कारलाई लोपहुने अवस्थाबाट बचाउन ।
४. कूबीमीहरुको संरक्षण गर्न तथा नव कूबीमीलाई सिकाउन ।
५ मुन्धुमको संरक्षण गर्न तथा लेखन कार्य सम्पन्न गर्न ।
६. नया पुस्तालाई मौलिक किरात धर्म–संस्कार सिकाउन ।
७. मौलिक किरात धर्म संस्कारको अध्यन, अध्यापन, अनुसन्धान गर्न ।

संस्कारगत योजना

सुप्तुलुङ खिमबाट निम्न सेवाहरु उपलब्ध गराईने छ ।

१. Pregnant Day Ceremony (गर्भ संस्कार सेवा)

pregnancy

किरात राईहरुले श्रीमतिको गर्भ रहेको अवस्थामा चुलामा पुजागरी गर्भमा बसेको बच्चाको सुभेफापेको लागी कामना गर्ने प्रचलन छ । यसरी चुलामा पुजा गरेमा पितापुर्खाहरु खुसि भै गर्भमा रहेको बच्चा सर्लककै राम्रोसंग जन्म हुन्छ भन्ने बिश्वास गरिन्छ । श्रीमतिको गर्भ बसेकोबेला काटमार गर्न हुँदैन, शिकार खेल्न जान हुँदैन, मलामी जान हुँदैन, गईहालेमा ढुङगा बोक्न, खाल्डो खन्न, माटो दिनु हुदैन भन्ने संस्कार छ ।

२. Birth Day Ceremony (जन्म संस्कार सेवा)

birth mother

बच्चा जन्मदा चुलामा देखाई, छोरी जन्मे कुखुराको पोथीले, छोरा जन्मे कुखुराको भालेले बच्चा र आमालाई छुवाई पुजा गरेर खुलाउने संस्कार छ । तर हङकङमा भने बच्चा जन्मेको दिन आमा र बच्चा समेत अस्पतालमै हुने भएकोले बच्चा जन्मेको अर्को साल (जन्म दिनको दिन) सामुहिक चुलामा पुजा गरि जन्म संस्कार मनाउने प्रचलन छ । जन्म दिन मनाउने किरात संस्कार नभएपनि ९० प्रतिशत किरातीहरुले होटेल तथा रेष्टुरेन्टमा जन्म दिन मनाई रहेको अवस्थामा सामुहिक चुलामा जन्मदिन मनाउने संस्कार शुरु गरेमा पित्रीहरु खुशिनै हुनेछन ।

३. Naming Procedure (न्वरान सेवा)

Naming-Day

किरात राईहरुको घरमा बच्चा जन्मिएपछि न्वारान गर्ने चलन छ । शिशु जन्मदा कुनै जाति, पाछा र नाम बिना जन्मिएको हुन्छ । उसलाई जाति, पाछा र नाम दिई एक मानवको रुपमा स्थापित गर्नको लागि न्वारान गरिन्छ । शिशु बालीका जन्मेको भए ५ दिनमा बालक जन्मेको भए ६ दिनमा न्वारान संस्कार गरिन्छ । न्वारान गर्नको लागि बुढापाका ब्यक्ति हुनु पर्दछ । घरमा बुढापाका ब्यक्ति नभएमा दाजुभाई भित्रको बुढापाका जेठोपाको ब्यक्तिलाई बोलाउनु पर्दछ । यस दिन दाजुभाईहरु, छोरिचेलीहरु र नजिकको नरनाताहरु बोलाईन्छ ।

४. Weaning Procedure (भात खुलाई सेवा)

Mixed race baby girl eating

किरात राईहरुले बच्चा जन्मेको ३ महिना देखी ६ महिनाभित्र राम्रो दिन परेर बच्चालाई खाना खुवाउने संस्कार गर्दछन । छोरी भए तीन महिना वा पाँच महिना पुगेपछि र छोरा भए चार महिना वा ६ महिना पुगेपछि खाना खुवाईन्छ । यो कर्मलाई पास्नी भन्दछ । यस दिन सवै दाजुभाई, छोरीचेली, मावली र नजिकको नरनातालाई निम्तो दिने प्रचलन छ ।

५. Clothing Procedure (छेवर पास्नी सेवा)

clothing

परापुर्वकालमा तयमा र खियामाले शिपको काम गर्दै लाँदा तानमा बुनेर कपडा निर्माण गरेका थिए । तयमा र खियामाले बुनेको कपडालाई किरातीहरुको पिता पुर्खाहरुले बिशेष बिधि पुर्वक आफ्नो शरिरमा पहिरिएर मानव शरिरमा कपडा लगाउने परम्पराका शुरुवात गरेका थिए । पिता पुर्खाले गरिल्याएको परम्परा अनुसारनै किरात राईहरुले पनि बालक भए दौरा, सुरुवाल, टोपी, खुकुरी, धनुकाँड दिने र बालिका भए गुन्युचोली, पटुकी बर्को, खुर्पा, तानबुन्ने थाको दिने संस्कार चलि आएको हो । बालक भए ४ वा ६ बर्ष पुगेपछि र बालिका भए ३ वा ५ बर्ष पुगेपछि राम्रो दिन हेरेर लुगा दिने संस्कार गरिन्छ । यो कर्म गरेपछि बच्चा ज्ञानी, बुद्धिमानी बन्दै जान्छ । रोग ब्याधि लाग्दैन भन्ने विस्वास गरिन्छ । यस दिन दाजुभाई, मावली, छोरी चेली र नजिकमा रहेको सवै नरनाताहरुलाई निम्तो गरिन्छ ।

६. Marriage Procedure (विवाह संस्कार सेवा)

किरात राईहरुको घरमा बुहारी भित्र्याउदा र छोरीचेली ज्वाँइलाई दिँदा आफ्नै किसिमको रीति गरिन्छ । बिवाह गर्ने रीति बिभिन्न खोला, पाछा, थर अनुसार फरक फरक पाईन्छ । घरमा बुहारी ल्याउनु पर्ने भएमा मगनी गर्न जानु अगावै केटी कस्को छोरी हो ? उनिहरुसंग के साईनो पर्दछ ? उनीहरुको पाछा/उपथर, सामे के हो ? राम्ररी बुझ्नु पर्दछ । केटाकै पाछा भित्र, मामा, छेमादेमा, र फुपुको साखा सन्तानभित्र किरात राईहरुले बिवाह गर्न हुँदैन । कसैले साईनो लाग्ने भित्रको बिवाह गरेमा अशुभ मानिन्छ । यस्तो बिवाह गर्नेलाई गाँउघर, समाज बाटै निकाला गरिन्छ ।

क. Engagement Procedure ( मगनी सेवा)

marriage

मौलिक किरात धर्म संस्कार अनुसार केटाको उमेर १८ बर्ष पुगेपछि र केटिको उमेर २० बर्ष पुगेपछि बिबाह गरिदिने संस्कार छ ।  बिबाह गर्न अगाडी केटी सोधनी गर्न पठाईन्छ । केटीको माईतीघरबाट सारथिले कुरा मिलेको खबर ल्याएपछि मात्र केटाको घरबाट रीतसहित केटी मगनी गरिन्छ । केटी मगनी गरी घरभित्र्याई सकेपछि मात्र पछि समय अनुकुल हेरेर बिबाह छिन्ने कार्य गरिन्छ ।  किरात राईहरुको परम्परा अनुसार केटि मगनी गर्ने भए किराया हङकङले मगनी कार्य सम्पन्न गरिदिनेछ ।

ख. Marriage Ceremony ( बिबाह छिन्ने सेवा)

marriage2

मगनी गरिसकेपछि उपयुक्त समय हेरेर बिबाहभोज र बागदत्त दिने कार्य गरिन्छ । बगदत्त दिनुलाई बिबाह छिन्ने पनि भनिन्छ । बगदत्त दिनुभनेको आफ्नो कुलपित्रबाट छोरीचेलीलाई जुवाँईको कुलपित्रमा लगाउन दिने अनुमतीको बचन हो । बागदत्त नलिई श्रीमान वा श्रीमती मध्ये कसैको मृत्यु भएमा मृतकलाई चिहानमा लानु अगावै वा असम्भव भएमा काजक्रिया गर्नुभन्दा अगावै  बागदत्त दिनै पर्दछ । छोराछोरीको बिबाह कर्म गर्नु पर्दा पनि आमाबाबुले बागदत्त लिएकै हुनु पर्दछ । किरात राईहरुको परम्परा अनुसार बिवाह छिन्ने कार्य गर्ने भए किराया हङकङले छिन्ने कार्य सम्पन्न गरिदिनेछ ।

७. Death Procedure (काजक्रिया सेवा) :

mirtyu

किरात राईहरु (महिला/पुरुष) जो भएपनि रोग लागेर, बृद्धा अवस्था भएर निधन भएमा राम्रो बाटो गएको मानिन्छ । लडेर, झैझगडा गरेर, आत्महत्या गरेर र दुर्घटनामा परेर मृत्यु भएमा महिलालाई ममँसी र पुरुषलाई हिल्लासी भएको (नराम्रो बाटो गएको) मानिन्छ । सुत्केरी ब्यथाले मृत्यु हुने महिला समेत नराम्रो बाटो गएको मानिन्छ । बालबालीकाको सम्बन्धमा भने छेवर वा गुन्युचोली नगरि निधन भएमा नराम्रो बाटो गएको मानिन्छ । तर छेवर वा गुन्युचोली नगरेको भएता पनि भाई वा बहिनि जन्मि सकेको भएमा राम्रो बाटो गएको मानिन्छ । राम्रो बाटो गएको मृतकलाई चुलामा कुलपितृको साथ बोलाई बर्षमा एकचोटि नया अन्नबाली खुलाईन्छ । नराम्रो बाटो जाने मृतकलाई कुलपितृसंग नबोलाई चुलादेखी बाहिर बलेसिमा बोलाई नया अन्नबाली खुलाइन्छ । मानिसको मृत्यु भएपछि गरिने संस्कारहरु मृत्यु संस्कार अन्तर्गत पर्दछ । यो चुलामा गरिन्छ ।

soul

(क) मृतकको शिर उठाउने बिधी
(ख) मृतकको आत्मा जगाउने बिधी
(ग) मृतकको आत्मा छुटाउने बिधी
(घ) दु:ख बोक्ने तथा मलामी चोख्याउने बिधी
(ङ) मृतकको आत्मा बोलाउने बिधी
(च) मृतकको आत्मा बाटो लगाउने बिधी
(छ) मृतक कुन बाटो गयो हेर्ने बिधी
(झ) नुनतेल तथा ढोगभेट फुकाउने बिधी

अन्य योजना

किरात राईहरुको जन्मदेखी मृत्यु पर्यन्त सम्मको कार्यक्रमहरु सम्पन्न गर्न, चुलादर्शन गर्नेहरुलाई चुलादर्शन गराउनु किरात राई यायोक्खा हङकङको किरात धर्म, संस्कार संरक्षण तथा चुलादर्शन सेवा विभागसंग समन्वय गरि निम्न सेवा प्रदान गरिने छ ।

क. सुवाँछेम (पित्रीकक्ष) निर्माण

चुलाकोठामा एक मुल चुलाथान राखिने छ र मुल चुलाथानको उत्तर पट्टि सबैथरी भाषिक राईको नाममा एक एक वटा सुवाँ छेम (पित्रीकक्ष) बनाईने छ । पित्रीकक्षको मुनी एक सामुहिक पित्रीकक्ष र दाँया र बाँया एक एक वटा प्रतिस्थापन पित्रीकक्ष बनाईने छ । चुलाबाट संस्कारगत सेवाहरु प्रदान गरिने छ ।

पित्री कक्ष

तिलुङ नाछिरिङ चाम्लिङ साम्पाङ पुमा कोयु खालिङ
बाम्बुले बाहिङ दुमी बान्तावा थुलुङ कुलुङ लोहारुङ
बुङलावा जेरुङ छिन्ताङ छिलिङ फाङदुवाली मेवाहाङ पोहिङ
बेलहारे याम्फु मुगाली आठपहरिया दुङ्माली सोताङ लिङखिम
Chindo1प्रतिस्थापन
पित्रीकक्ष
छोरी निकाल्न
Chindo1सामुहिक पित्रीकक्ष Chindo1प्रतिस्थापन
पित्रीकक्ष
बुहारी भित्र्याउन
fireसामुहिक चुला

१. चुला कोठामा एकवटा मुलचुला (समुहिक प्रयोजनको लागी) राखिनेछ ।
२. चुलाथानको पछाडी थुप्रै खोपिहरु बनाईनेछ र उक्त खोपीलाई पित्रीकक्ष भनेर भनिनेछ । (यसलाई बिभिन्न भाषी राईहरुले बेग्ला बेग्लै नामले पुकार्दछ, कसैले मछेम, कसैले मछामा, कसैलेले मछाकुमा ईत्यादि)
३. पित्रीकक्षमा एकवटा मुल पित्रीकक्ष (समुहिक पित्रीको लागी), दुईवटा प्रतिस्थापन पित्रीकक्ष (ब्यक्तिगत पित्रीको लागी) र अरु जम्मै पित्रीकक्षहरु हरेक भाषी राईहरुलाई प्रदान गरिने छ ।
४. प्रतिस्थापन पित्रीकक्ष ब्यक्तिगत चुला पुज्दा प्रयोग गर्न दिईनेछ । अथवा आवश्यक परेको बेलामा एकै दिनमा चुलाबाट छोरि निकाल्दा र  बुहारी भित्र्याउदा प्रयोग गरिने छ ।
५. मुल पित्रीकक्षमा राईहरुको समुहिक पित्री सुम्निमा, पारुहाङ, पातेसुङ, दिलिदुङ, तयमा, खियामा र खक्चिलिप्पा (हेच्चकुप्पा, रैछाकुले) जस्ता समुहिकपित्रीहरु रहनेछ ।
६. भाषिक पित्रीकक्षमा भाषीक राईहरुको सामुहिक पित्री रहनेछ । भाषिक राईहरुले संयुक्त रुपमा पित्री पुज्दा वा चुला पुज्दा सो पित्रीकक्ष प्रयोग गर्ने छन ।
७. प्रतिस्थापन पित्रीकक्ष, ब्यक्तिगत पित्री पुजा गर्दा क्षणिक समयको लागि पित्री राख्न प्रयोग गर्न दिईने छ ।पुजा सके पश्चात सो ठाँउमा राखिएको ब्यक्तिगत पित्रीलाई स्थान्तरण गर्नु पर्नेछ । कसैले पित्रीलाई घर लानेछन भने कसैले बगैचातिर लगेर राख्नेछन ।
८. किराया हङकङका मुल धामी र सहायक धामीले मुल पित्रीकक्ष प्रयोग गर्नेछ भने अन्य धामीहरुले प्रतिस्थापन पित्रीकक्ष प्रयोग गर्नेछ । चुला भने संयुक्तरुपमा चलाउने छ ।

ख. कुबीमी सेवा

किरात राईहरुको जन्मदेखी मृत्युपर्यन्त सम्मको कर्मकाण्डहरुका साथै अन्य पुजा आरधना, जोखाना तथा रोगकष्ट झार्न एक मुल कूबीमी र अन्य सहायक कूबीमीहरुको नियुक्ति गरि सेवा प्रदान गरिने छ ।

800px-Nakchong

ग. चुलादर्शन सेवा

1383496_515908541837892_1800651653_n

साधारण अर्थमा चुला भन्नाले भात पकाउनको लागी बनाएको ठाँउलाई चुला भनिन्छ । तर किरात राई जातीमा भने चुलाले भिन्नै अर्थ लगाउदछ । किरात राई जाति बिच समान्ता र आस्थाको प्रतिक आदिम कालदेखी मानि आएको चुलालाई बेग्लै अर्थ लागाएका छन । इस्लामको जस्तो मस्जिद, हिन्दुको जस्तो मन्दिर, क्रिश्चियनको जस्तो चर्च र बौदको जस्तो गुम्बाको रुपमा चुलालाई पित्रीहरु बस्ने पवित्र स्थलको रुपमा मानिआएको छ किरात राईहरुले । चुलामा ३ वटा ढुङगा गाढिएको हुन्छ । पहिलो ढुङगाले बंशलाई, दोस्रो ढुङगाले कुटुम्बलाई र तेस्रो ढुङगाले समाजलाई ईङिगत गरेको हुन्छ । किरात राईहरुले चुलामा दर्शन–ढोग तथा भक्ति गर्ने गर्दछ । चुलामा सर्वशक्तिमान इश्वर, देवी देवता र आफुलाई जन्म दिने पिता पुर्खाहरुले बास रहेको हुन्छ भनि मान्दछ । चुलालाई दर्शन–ढोग गरे पित्रीहरु खुसी भई चिताएको मनोआकाङक्षा पुरा हुने, धन दौलत र ऐश्वर्य प्राप्त हुने, दुख बिमार नहुने, शिर ठाडो हुने बिस्वास गरिन्छ । किराया हङकङले सकेमा प्रत्येक आईतबार चुलादर्शन सेवा संचालन गर्नेछ ।

घ. पित्रीपुजा सेवा

Chula10

किरात राईहरुले घरको बिचभागमा तिनमा चुला राखेका हुन्छन । चुलाको ठिक माथि भार हुन्छ । भार भन्दा माथि पित्रीकक्ष राखेका हुन्छन । कसैले पित्रीकक्षलाई सुँवा, कसैले मछेम, कसैले मछामा वा मछाकुमा भन्दछ । भाषिक राई अनुसार फरक नामले पुकारन्छि । पित्रीकक्षमा परापुर्वकाल देखी मरेर गएका पिता पुर्खाहरुको मृतआत्मा बसेको हुन्छ भनि विस्वास गरिन्छ । त्यसैले बर्षमा एक पटक जाडो मौसम लागे पछि धान, कोदो पाक्ने वेला, सयपत्री फुल, घैया र नया अदुवा फुलेको फलेको समयमा पित्री पुजा (उधौली) गरिन्छ । पितृपुजा गर्ने दिन घर र पित्रीकक्ष सफा गर्नु पर्दछ । बुढापाका ब्यक्तिले पित्रीकक्ष सफा गरि त्यस माथि नया केराको पात, सेउली, अदुवा र सयपत्री फुल चढाईदिनु पर्दछ । घरमा कोहि पनि बुढापाका ब्यक्ति नभएमा कुबी वा जानिफकार ब्यक्तिलेनै पित्रीकक्ष सफा गर्नु पर्दछ । युवाहरुले पित्रीकक्ष सफा गर्न हुदैन भन्ने चलन छ । पितृपुजा गरेको दिन खन्ने, जोत्ने र टिप्ने कामहरु केहि पनि गरिदैन । घरका मुख्य बुढापाखाहरुले पित्री पुजा नगरिन्जेल नया धान, कोदो र अदुवा खानु हुदैन । पित्री पुजा गर्ने दिन भन्दा अगाडीनै पित्री पुजाको लागी चोखो नया कोदोको जाड पकाई राख्नु पर्दछ । नया कोदो नपाकेको भए पुरानो कोदोमा विधिको लागी अलिकति नया कोदोको वाला सुर्काएर मिसाई जाड पकाउनु पर्दछ । कसैले चहि पित्री पुजा गर्ने दिनै नया कोदो ल्याएर त्यसमा पानी मर्चा मिसाई प्रयोग गर्दछ । किरात राईहरु विविध भाषि तथा विविध ठाउ अनुसार पितृपुजा गर्ने तरिका फरक फरक हुन सक्तछ तर सवै राईहरुले पितृपुजा गर्दछन । यो सेवा चुलाघरबाट प्रदान गरिने छ ।

ङ. गृह प्रवेश सेवा

home Entry

किरात राईहरुले घर बनाई सकेपछि वा घर किनि सकेपछि चुला स्थापना गरि नया घरमा गृह प्रवेश गर्ने संस्कार गर्दछ । यसलाई घरपैंचो कार्यक्रम समेत भन्दछ । यस दिन घर बनाउने क्रममा काठको काम गर्ने सिकर्मी, ढुङगा फुटाउने ब्यक्तिहरु, माटो मुछ्ने ब्यक्तिहरु, पर्खाल लगाउने डकर्मी र ढुङगा माटो बोक्ने सबैजनाका साथै घरभित्रको दाजुभाई र मनले खाएको नरनाता ईष्टमित्रहरुलाई निमन्त्रणा गरिन्छ । यस बखत घर बनाउदा प्रयोग गरिएको ढुङगा, माटो काठ र घरको मूलखाँबोको पुजा गरिन्छ । शहरीकरण भएर बिल्डिङ भएको घरमा मुल खाँबो नरहने हुनाले चुला प्रवेश दुवारलाई पुजा गर्ने चलन आएको छ । यो सेवा चुलाघरबाट प्रदान गरिने छ ।

च. चुला स्थापना सेवा :

fire

किरात राईहरुले गृह प्रवेश गरेको दिन वा अगावै चुला स्थापना गर्ने चलन छ । चुला स्थापना गर्दा, ३ वटा चुला ढुङगा (साकुलुङ, दीपालुङ,साप्सालुङ), १ वटा आछ्याउने ढुङगा (लमालुङ) र ४ वटा वरीपरी बार्ने ढुङगा (थु्ँमालुङ, रुँरीलुङ, चासुम्लुङ, बुलुलुङ) चाहिन्छ । चुला ढुङगा खोज्न बुढापाका ब्यक्तिहरु जानु पर्दछ र ल्याउदा जोडी बनाएर ल्याउनु पर्दछ भन्ने मान्यता छ । चुला स्थापनाको लागि धामी नभए जानिफकार ब्याक्तिले चुला स्थापना गर्न सक्तछ । ढुङगा ल्याएपछि उत्तर तिरको भित्ता भन्दा केही तल चुला बनाउने ठाँउ बनाईन्छ ।

बार्ने ढुङगाले चारैतिर बारेर बीचमा ३ वटा चुलाढुङगा गाड्न पर्दछ । ३ चुलाको बिचमा १ तामाको सिक्का, अदुवा र चामल लगाई ओछ्याउने ढुङगाले छोपी माटोले पुर्नु पर्दछ । त्यस पछि माटोले लिपी कलशको पानीले चोख्याएर चुलामा आगो बाल्नु पर्दछ । चुलाको दायाँतिरको भित्तामा एउटा पित्रीकक्ष बनाउनु पर्दछ । बाँसको १ धनुकाँड, १ तिर र १ काठको पिरा बनाएर पित्रीकक्ष माथि राखी दिनु पर्दछ । चुला माथि पनि भार बनाई झुण्ड्याएर राख्नु पर्दछ । यो सेवा चुलाघरबाट प्रदान गरिने छ ।

छ. चुला स्थान्तरण सेवा :

चुलालाई एक ठाँउबाट अर्को ठाँउमा स्थान्तरण गर्दा बिधिपुर्वक चुला उखेली स्थान्तरण गर्नु पर्दछ । चुला ढुङगा भाँचिएमा, चोईटिएमा, फुटेमा चुला ढुङगालाई उखेली स्थान्तरण विधि नै गरिन्छ । भाँचिएको, चोईटिएको, फुटेको ढुङगालाई बाबियो वा खरको डोरीले वा काँचो धागोले बाँधेर चोखो ठाँउमा राख्नु पर्दछ । चुला स्थान्तरण गर्दा निकै टाढा भै सार्नुपर्ने सम्पुर्ण ढुङगालाई बोकेर लान सम्भव नभएमा मुन्धुम बाचन गरेर चुला ओछ्याउने ढुङगा भित्र राखेको तामाको सिक्का र खरानी चाँही निकालेर लानु पर्दछ । एउटै घरको दाजुभाई छुट्टिदाँ मुल चुलाको खरानी बाँडेर लगि आ–आफ्नो घरमा बिधिपुर्वक तिनचुला स्थापना गर्नु पर्दछ । यो सेवा चुलाघरबाट प्रदान गरिने छ ।

पुजापाठ योजना

किरात राईहरुको सवभन्दा ठूलो देव भनेको नै तीन चुलो हो । यसले दाज्यूभाई, घर र नाताको गरी तीन समुहको प्रतिनिधित्व गर्दछ । हरेक किरात राईहरुको साझा विशेषता नै तीन चुलो हो । मुलघर परिवारबाट अलग भएपछि उसले थपना गर्ने पहिलो वस्तु नै चुला हो । सामान्य भात भान्सादेखि कर्म धर्म रीतिथीतिका सम्पूर्ण कुराहरु गर्ने थलो पनि यही चुला नै हो । किरात राईहरुले इतिहासिक पुर्खाहरुलाई खोज्न टाढा जान पर्दैन । यही चुला नै पितृथलो हो ।

(क) नुवांगी

pitri pooza 20152

वार्षिक रुपमा नयाँ अन्नबाली विशेषत धान पाकेपछि पुर्खाहरुको संझना गर्दै भदौ र अशौज र कसैले त माग महिनामा पनि तीनचुलामा चढाई पूजा गरिन्छ । नया अन्नवाली पुर्खाहरुको नाममा नचढाई ग्रहण गर्नु हुदैन भन्ने मान्यताको कारणले यसरी चुला पूजा गरेर उक्त पूजाको दिन कुबिमि, तयामी र दरदाजुभाई घरघरैपिच्छे घुमेर परम्परालाई मान्ने संस्कृतिको जगेर्ना गरेको पाइन्छ ।

(ख) साकेला वा भूमे पूजा (उधौली र उभौली)

Udhauli4

किरात राईहरुको आदिम पितृदेव पारुहाङ, नायुमा तथा तोयामा, खियामा, (हेच्चाकुप्पा/रैछाकुले/खोक्चिलिप्पा), नागेलुम तथा प्रकृतिको संझना गर्दै वर्षको दुई पटक उधौली र उभौली गरी दुई ऋतुहरुमा पूजा गर्ने प्रचलन एक अभिन्न संस्कार तथा संस्कृतिको रुपमा चलीआएको पाइन्छ । लगाएको बालीनाली पाकेर थन्कयाउन थालेपछि मङसिरे पूर्णिमादेखि बैसाखे पूर्णिमासम्मको अवधिलाई उधौली भनिन्छ । उधौलीमा मंशिरे पूर्णिमादेखि शुरु भई लगभग एक महिनासम्म र उभौलीमा बालीनाली लगाउने तथा छरपाउको अवस्थामा यो साल बालीनाली राम्रो देउ, असिना पानी भल पहिरो नलागीदेउ भन्ने कामना गर्दे बैशाख जेष्ठमा यो पूजा गरिन्छ । उधौली र उभौली दुबै साकेला पूजाको अवसरमा सवै किरात राईहरु घरघरमा साकेला नाचेर पुन पूर्णिमा वा पंचमीको दिन पारेर समापन गर्दा सवै गाउँलेहरु भेला भई कुबिमिका साथमा गाउँबाट नाच्दै साकेला थानमा पुगेर भूमिदेवको पूजाको निमित्त सुँगुरको पाठाको बली र चोखो जाँडरक्सी चढाउँदै धुमधामकासाथ शिली नाच्ने एक आपसमा खुृसीयाली बाँड्दै आफ्नो धर्म सस्कार र संस्कृतीलाई मान्ने काम गर्दछन । बुढाबुढी जवान र केटाकेटी समेतले साकेला नाचको शिलीमा भाग लिई नाच्दछन । यसैगरी टाढा टाढा घर भएका छोरी चेलीहरु र परदेश गएका परदेशीहरु समेत यो चाडको अवसरमा घरगाउँ आइपुगी खुसीयालीमा सहभागी हुन्छन् ।

(ग) नागा पुजा :

माझकिरातको साम्पाङ, दुमी, थुलुङ, खालिङ, बाहिङ, कोयु, नाछिरिङ जस्ता किरात राईहरुको घरको मानिसहरुको उपचार गर्न, निसन्तान भएमा छोराछोरीको माग गर्न, आफ्नो सन्तानहरु सलत्र हुर्किएर सप्रिएर जाउन भन्ने कामना र आफ्नो नाम सन्तान दरसन्तानसम्म अमर राख्न, नागा पुजा गरिन्छ । यो अत्यन्त मौलिक सस्कृति हो । यस कर्मको सम्बन्ध तोयमा, खियमा, (हेच्चाकुप्पा/रैछाकुले/खोक्चिलिप्पा) र नागेलुमसंग रहेको छ । यसरी नागा पुजागरी लगाएको नाम किरात राईहरुको बंशावलीमा प्रशस्त पाइन्छ ।

(घ) शिकारी पुजा :

किरात राईहरु शिकारी अवस्थाबाट विकसित हुँदै आएकाले शिकारीको पूजा गर्दछन । घरमा गरिने शिकारी पूजा जसमा एकपाथी कोदो राखेर पुजा गरिन्छ । यदि कोही शिकारी भएमा निजले शिकार मारेर ल्याएपछि चुलालाई देखाउनु पर्दछ । शिकारको हड्डी शिकारीको नाममा भारमा राखिन्छ र वर्षदिनमा कति जम्मा हुन्छ त्यसलाई बाटोमा लगेर डढाउने गरिन्छ ।

(ङ) वन शिकारी पूजा :

किरात राईहरुले वर्षमा एकपटक शिकारीदेवको सम्मानमा धनु ठोक्रो टोटोलाको फूल राखेर जाँड र कुखुराको भालेको भोग चढाई बन शिकारीको पूजा पनि गर्दछन ।

(च) घरायसी देवताहरुको पूजा :

नयाँ अन्नवाली पाकेपछि वर्षमा एक पटक प्राय चैत्रमा धरको तलामा स्थापित देउताहरुलाई चोखो जाँड सुगुरको पाठा र कुखुराहरु काटेर पूजा गरिन्छ । यस्ता देउताहरु पूर्वे आदि नामले चिनिन्दछ । यसलाई जिमीदेउता पनि भनिन्छ । यिनीहरु लाई सापदेउ पनि भनिन्छ । जिमीदेवलाई बाख्राको मासुखाने जोसुकैले पनि छुन हुदैन कुजे लंगडो बनाउँछ । केही किरात राईहरुको विजुवा धामीको गूरुदेव नै यी देवताहरु हुने हुँदा यो देवताहरुलाई आदरकासाथ घरको तालामा पालिन्छ । जुन धामीको सापदेउ गुरु हुन्छ चिन्ताको बेला सर्पको काँडाको माला पनि बाङगोटिङगो भई बटारिएको हुन्छ । यी देवताहरुलाई अन्नको सानो सानो कोठा बनाई त्यसमा नयाँ अन्न भरेपछि वर्षमा एक पटक चैत्रमा पूजा गरिन्छ । पूजा गरेपछि उक्त कोठाको अन्न खान हुन्छ । घरमा खाध्यको संचय समेत हुने यस्तो देवताहरुको पूजाबाट किरात राईहरुलाई फाइदै भएको पाइन्छ । वर्षमा एक–एकदिन आलोपालो सवै छिमेकीहरु जुटेर एकसाथ खानपिनमा सहभागिता हुनमा खुसी पनि त्यतिकै प्राप्त हुन्छ ।

(छ) संसारी पूजा :

देसान मसान वायु नलागुन परपर हटुन पानी परेर सवै वगाएर लैजाउन आँधी बेहरी केही नआउन बोट विरुवा सलत्र हुकिर्उन भन्नाको लागि वर्षमा एक पटक बैशाखमा सवै गाउँ मिलेर दामासाही पैसा चामल कुखुरा परेवा उठाई खोलापुर्याएर पूजा गर्ने चलन छ जसलाई संसारी पूजा भनिन्छ । यसरी पूजा गरेको दिन पानी परेको कैयौं घट्नाहरु पनि छन ।

(ज) थानी पूजा :

किरात राईहरुमा अर्को अनौठो देव थानी रहेको छ । कसैले अन्तरजात विवाह गरी ल्याएको महिलाको मृत्युपछि कुनै समयमा थानीदेवभई उत्रिने गरेको पाइन्छ । यसलाई वर्षमा एकपटक सवै गाउँघर र टाढाटाढाबाट छोरीचेलीहरुले समेत कुखुरा चामल रक्सी ल्याई पूजा गरेर मानमनितो गर्दछन ।

यस वाहेक किरात राईहरु भिर पहरा खोलानाला देवी देउराली नाग नगेनी गोठपूजा भीमसेन पूजा आदि पनि गर्दछन । उपरोक्त सबै चाडवाडहरु चुलाघरले मनाउने छ ।

(झ) विविध पूजाहरु :

पितृहरुलाई खुसी पार्न तथा दु:ख विमार भएको बखत बलदेउ कुनै दु:खकष्ट नदेउ आशिक देउ भन्ने कामना गर्दै बेलाबेलामा सुगुर काटेर वा मुटु कलेजो फियो फोक्सो दुवै मिर्गौला लाम्टा छात्ती र बोसे जाली गरी नौ परिकारको मासु सिमलीको लौरामा उनी कुबिमि र पुर्खाहरुको सामुहिक मुदुम अनुसार चुलोमा पोल्ने काम हुन्छ । यसबाहेक अन्य चिन्ताचार गरेको बेला पनि उकारमा बल माग्न कुबिमि द्धारा चोखो रक्सी र मर्चाले पूजा गर्ने प्रचलन रहेको छ । चुलाको पूजा केबल कुबिमि वा तायामी अनुभवबिद् बृध पुर्खाले मात्र गर्न सक्तछ ।

चाडवाड योजना

किराया हङकङको चुलाघरबाट निम्न चाडवाडहरु मनाईनेछ । किरात राईहरुको विभिन्न चाडहरु हुन्छन ।

(क) माघे संक्राति :

हरेक सालको माघ महिनाको १ गते माघे संक्रातिलाई चाडको रुपमा मनाउने परम्परागत संस्कृति किरात राईहरुमा रहेकोछ । यधपि यो चाड आज साझा भैसकेको भएता पनि विशेषगरी राईहरुले आदिम जीवन निर्वाहको झल्को देखाउने वनतरुल घरतरुल गिठा भ्यागुर जस्ता जङगली फलफूलहरु खोजेर उसीनेर विहानको पहिलो आहाराको रुपमा खाने प्रचलनले किरात संस्कृतिको प्रतिनिधित्व गरेको पाइन्छ । पुर्खाहरु भन्छन– यो चाड वा मरिन्छकी भनेर मान्ने चाड हो । हङकङमा यसैदिन यलेदुङ मनाउने चलन छ ।

(ख) साउने संक्राति :

हरेक वर्षको श्रावण महिनाको पहिलो दिन साउने संक्राति भनेर भैसीं वा राँगा काटेर खाने चाडलाई पुर्खाहरुले अवत बाँचियो है भनेर मान्ने चाड हो भन्दछन । यस दिन लेकको टिम्बुर लाई मासुमा मसलाको रुपमा लगाई खाने चलन रहेको छ । यो खाना विशेषत किरात राईहरुले आदिम कालदेखि जिउ तथा पेट दुखेको वायु भरिएको बेला औष्धिको रुपमा खाने प्रचलन रहेको पाइन्छ । संक्रातिको दिन बुढाखाडाहरु कामबाट विसाएर घरछिमेकतिर आलोपालो डुलफिर गर्ने गर्दछन भने जवानहरु डाडाकाँडा घुम्ने तथा स्थानीय हाटबजार गई नाचगान गरी मनोरञ्जन गर्ने गर्दछन ।

(ग) तिहार:

तिहारलाई किरात राईहरुले आफ्नै चाडको रुपमा मानेको पाइन्छ । प्राप्त इतिहास र किंवदन्तीहरुको आधारमा किरात राजा बलिहाङको कालबाट यो तिहार मान्ने देउसी खेल्ने परम्परा रहीआएको बुझिएको छ । तसर्थ यो चाडबारे किरात राईहरुमा दुईमत छैन ।

 

कोष

कोष निम्न तरिकाले राखिने छ ।

१. धर्म–संस्कार संरक्षण कोष :

संस्कारगत सेवाबाट प्राप्त रकम धर्म–संस्कार संरक्षण कोषमा राखिनेछ र मुन्धुम लेखन, कूबीमीको पारिश्रामिक तथा कूबीमी प्रशिक्षण आदिमा यो कोषबाट खर्च गरिनेछ ।

(समाप्त)


भुपु पदाधिकारीहरु (सन २०१४–१६)

बिभाग प्रमुख – दुर्गाकान्ता राई (69902440), बिभाग संयोजक – हरिचन्द्र राई (69937354), प्रमुख कूबीमी – श्रेष्ठ बहादुर राई (69383845) र सहायक कूबीमी – नारायण प्रसाद राई (54983077)

Durgaharichandrakubiminarayan