किरात धर्म संरक्षण तथा संस्कार विभाग

Kirat Religion Protection & Ceremonial Depart

800px-Nakchong

परिचय

किरात राईहरुको धर्म, संस्कारहरुलाई जोगाउदै, किरात राईहरुलाई प्रकृती र पित्री पुजकको रुपमा स्थापित गराउन, सुप्तुलुङलाई धार्मिक आस्थाको बिन्दुको रुपमा स्थापित गराउन तथा किरात राईहरुको जन्म देखी मृत्यसम्मको कर्मकाण्ड सम्पन्न गरि दिन यस बिभाग गठन हुनेछ ।

उदेश्यहरु

  1. किरात राईहरुको जन्मदेखी मृत्यु सम्मको संस्कार गरिदिनु।
  2. किरात राईहरुलाई आवश्यकपर्ने बिभिन्न पूजापाठ, आरधना गरिदिनु।
  3. मुन्धुमदर्शनले जिवनमा पुऱ्याउने फाईदा सम्बन्धि अध्यन, अध्यापन गर्नु।
  4. मौलिक किरात धर्म, प्रकृति पुजा तथा मुन्धुम सम्बन्धि गोष्ठि गर्न लगाउनु।
  5. चुलाको रक्षा गर्नु। चुलाका बारेमा नया पुस्तालाई जानकारी गराउनु।
  6. समय समयमा मौलिक किरात धार्मीक कार्यक्रमहरुको आयोजना गर्नु।
  7. कार्यक्रममा उद्घाटन सामाग्री तयार पार्नु।

संयोजन समिति

विभाग प्रमुख विभाग संयोजक
रामचन्द्र राई  
प्रमुख कुबिमि सहायक कुबिमि
श्रेष्ठ बहादुर राई नारायण प्रसाद राई
कुबिमि  
मैत्र कुमार राई  

 

 

 

आरधना

गृह प्रवेश :

किरातीहरुले घर बनाई सकेपछि गृह प्रवेश गर्ने संस्कार गर्दछ । यसलाई घरपैंचो समेत भन्दछ । यस दिन घर बनाउने क्रममा काठको काम गर्ने सिकर्मीहरु, ढुङगा फुटाउने ब्यक्तिहरु, माटो मुछ्ने ब्यक्तिहरु, पर्खाल लगाउने डकर्मीहरु र ढुङगा माटो बोक्ने सबैजना लगायत घरभित्रको दाजुभाई र नरनाता ईष्टमित्रहरुलाई निमन्त्रणा गरिन्छ । गृह प्रवेश गर्दा घरको मूलखाँबोको पुजा गरिन्छ । हाल शहरिकरण भै फ्ल्याट सिस्टमको घरमा मुल खाँबो नभएकोले प्रवेश दुवारलाई पुजा गर्ने चलन आएको छ अहिले ।

चुला स्थापना :

किरात राईहरुले गृह प्रवेश गरेको दिन वा अगावै चुला स्थापना गर्ने चलन छ । चुला स्थापना गर्दा, ३ वटा चुला ढुङगा (साकुलुङ, दीपालुङ,साप्सालुङ), १ वटा आछ्याउने ढुङगा (लमालुङ) र ४ वटा वरीपरी बार्ने ढुङगा (थु्ँमालुङ, रुँरीलुङ, चासुम्लुङ, बुलुलुङ) चाहिन्छ । चुला ढुङगा खोज्न बुढापाका ब्यक्तिहरु जानु पर्दछ र ल्याउदा जोडी बनाएर ल्याउनु पर्दछ भन्ने मान्यता छ । चुला स्थापनाको लागि धामी नभए जानिफकार ब्याक्तिले चुला स्थापना गर्न सक्तछ । ढुङगा ल्याएपछि उत्तर तिरको भित्ता भन्दा केही तल चुला बनाउने ठाँउ बनाईन्छ ।

बार्ने ढुङगाले चारैतिर बारेर बीचमा ३ वटा चुलाढुङगा गाड्न पर्दछ । ३ चुलाको बिचमा १ तामाको सिक्का, अदुवा र चामल लगाई ओछ्याउने ढुङगाले छोपी माटोले पुर्नु पर्दछ । त्यस पछि माटोले लिपी कलशको पानीले चोख्याएर चुलामा आगो बाल्नु पर्दछ । चुलाको दायाँतिरको भित्तामा एउटा पित्रीकक्ष बनाउनु पर्दछ । बाँसको १ धनुकाँड, १ तिर र १ काठको पिरा बनाएर पित्रीकक्ष माथि राखी दिनु पर्दछ । चुला माथि पनि भार बनाई झुण्ड्याएर राख्नु पर्दछ । यो सेवा चुलाघरबाट प्रदान गरिने छ ।

छ. चुला स्थान्तरण :

चुलालाई एक ठाँउबाट अर्को ठाँउमा स्थान्तरण गर्दा बिधिपुर्वक चुला उखेली स्थान्तरण गर्नु पर्दछ । चुला ढुङगा भाँचिएमा, चोईटिएमा, फुटेमा चुला ढुङगालाई उखेली स्थान्तरण विधि नै गरिन्छ । भाँचिएको, चोईटिएको, फुटेको ढुङगालाई बाबियो वा खरको डोरीले वा काँचो धागोले बाँधेर चोखो ठाँउमा राख्नु पर्दछ । चुला स्थान्तरण गर्दा निकै टाढा भै सार्नुपर्ने सम्पुर्ण ढुङगालाई बोकेर लान सम्भव नभएमा मुन्धुम बाचन गरेर चुला ओछ्याउने ढुङगा भित्र राखेको तामाको सिक्का र खरानी चाँही निकालेर लानु पर्दछ । एउटै घरको दाजुभाई छुट्टिदाँ मुल चुलाको खरानी बाँडेर लगि आ–आफ्नो घरमा बिधिपुर्वक तिनचुला स्थापना गर्नु पर्दछ । यो सेवा चुलाघरबाट प्रदान गरिने छ ।

चुलापुजा :

किरात राईहरुको घरमा चुला राखेको हुन्छ । चुलाको ठिक माथि भार हुन्छ । भार भन्दा माथि भित्तापट्टि पितृकक्ष राखेको हुन्छ । पितृकक्षलाई कसैले सुँवाछेम, कसैले मछेम, कसैले मछामा भन्दछ । भाषिक राई अनुसार फरक नामले पुकारन्छि । पितृकक्षमा परापुर्वकाल देखीको पिता पुर्खाहरुको आत्मा रहेको हुन्छ भनि मान्दछ ।

किरात राईहरुले बर्षमा जाडो मौसम (उधौली) लाग्ने बेला, धान, कोदो, घैया पाक्ने वेला, सयपत्री फुल फुल्ने बेला, नया अदुवा फुल्ने बेला पितृकक्ष सफा गरि नया चामलको भात (सुवाँचा), बिभिन्न मासुहरुको मिसावट (छँरिसा), नया अदुवा, र नया कोदोको जाँड पितृहरुलाई दिने चलन छ । यसलाई पितृपुजा भनिन्छ । यसलाई सुवाँ हान्नु पनि भन्दछ । पितृपुजा असोज/कार्तिक महिनामा गर्ने चलन छ । घरका मुख्य बुढापाखाहरुले पितृ पुजा नगरिन्जेल नया अन्न खानु हुदैन भन्ने मान्यता राख्दछन । पितृ पुजा गर्नु भनेको नया अन्नबाली चलाउनु हो । यसलाई न्वगी गर्नु पनि भन्दछ ।  किरात राईहरु विविध भाषी तथा विविध ठाउ अनुसार पितृपुजालाई बिभिन्न नामले पुकार्ने तथा बिभिन्न तरिकाले गर्ने चलन रहेको छ । तर सवै राईहरुले बर्षमा एक चोटि पितृपुजा गर्दछन ।

ग. चुलादर्शन :

साधारण अर्थमा चुला भन्नाले भात पकाउनको लागी बनाएको ठाँउलाई चुला भनिन्छ । तर किरात राई जातीमा भने चुलाले भिन्नै अर्थ लगाउदछ । किरात राई जाति बिच समान्ता र आस्थाको प्रतिक आदिम कालदेखी मानि आएको चुलालाई बेग्लै अर्थ लागाएका छन । इस्लामको जस्तो मस्जिद, हिन्दुको जस्तो मन्दिर, क्रिश्चियनको जस्तो चर्च र बौदको जस्तो गुम्बाको रुपमा चुलालाई पित्रीहरु बस्ने पवित्र स्थलको रुपमा मानिआएको छ किरात राईहरुले । चुलामा ३ वटा ढुङगा गाढिएको हुन्छ । पहिलो ढुङगाले बंशलाई, दोस्रो ढुङगाले कुटुम्बलाई र तेस्रो ढुङगाले समाजलाई ईङिगत गरेको हुन्छ । किरात राईहरुले चुलामा दर्शन–ढोग तथा भक्ति गर्ने गर्दछ । चुलामा सर्वशक्तिमान इश्वर, देवी देवता र आफुलाई जन्म दिने पिता पुर्खाहरुले बास रहेको हुन्छ भनि मान्दछ । चुलालाई दर्शन–ढोग गरे पित्रीहरु खुसी भई चिताएको मनोआकाङक्षा पुरा हुने, धन दौलत र ऐश्वर्य प्राप्त हुने, दुख बिमार नहुने, शिर ठाडो हुने बिस्वास गरिन्छ । किराया हङकङले सकेमा प्रत्येक आईतबार चुलादर्शन सेवा संचालन गर्नेछ ।

परिच्छेद ()

पुजापाठ

किरात राईहरुको सवभन्दा ठूलो देव भनेको नै तीन चुलो हो । यसले दाज्यूभाई, घर र नाताको गरी तीन समुहको प्रतिनिधित्व गर्दछ । हरेक किरात राईहरुको साझा विशेषता नै तीन चुलो हो । मुलघर परिवारबाट अलग भएपछि उसले थपना गर्ने पहिलो वस्तु नै चुला हो । सामान्य भात भान्सादेखि कर्म धर्म रीतिथीतिका सम्पूर्ण कुराहरु गर्ने थलो पनि यही चुला नै हो । किरात राईहरुले इतिहासिक पुर्खाहरुलाई खोज्न टाढा जान पर्दैन । यही चुला नै पितृथलो हो ।

(क) नुवांगी

वार्षिक रुपमा नयाँ अन्नबाली विशेषत धान पाकेपछि पुर्खाहरुको संझना गर्दै भदौ र अशौज र कसैले त माग महिनामा पनि तीनचुलामा चढाई पूजा गरिन्छ । नया अन्नवाली पुर्खाहरुको नाममा नचढाई ग्रहण गर्नु हुदैन भन्ने मान्यताको कारणले यसरी चुला पूजा गरेर उक्त पूजाको दिन कुबिमि, तयामी र दरदाजुभाई घरघरैपिच्छे घुमेर परम्परालाई मान्ने संस्कृतिको जगेर्ना गरेको पाइन्छ ।

(ख) साकेला वा भूमे पूजा (उधौली र उभौली)

किरात राईहरुको आदिम पितृदेव पारुहाङ, नायुमा तथा तोयामा, खियामा, (हेच्चाकुप्पा/रैछाकुले/खोक्चिलिप्पा), नागेलुम तथा प्रकृतिको संझना गर्दै वर्षको दुई पटक उधौली र उभौली गरी दुई ऋतुहरुमा पूजा गर्ने प्रचलन एक अभिन्न संस्कार तथा संस्कृतिको रुपमा चलीआएको पाइन्छ । लगाएको बालीनाली पाकेर थन्कयाउन थालेपछि मङसिरे पूर्णिमादेखि बैसाखे पूर्णिमासम्मको अवधिलाई उधौली भनिन्छ । उधौलीमा मंशिरे पूर्णिमादेखि शुरु भई लगभग एक महिनासम्म र उभौलीमा बालीनाली लगाउने तथा छरपाउको अवस्थामा यो साल बालीनाली राम्रो देउ, असिना पानी भल पहिरो नलागीदेउ भन्ने कामना गर्दे बैशाख जेष्ठमा यो पूजा गरिन्छ । उधौली र उभौली दुबै साकेला पूजाको अवसरमा सवै किरात राईहरु घरघरमा साकेला नाचेर पुन पूर्णिमा वा पंचमीको दिन पारेर समापन गर्दा सवै गाउँलेहरु भेला भई कुबिमिका साथमा गाउँबाट नाच्दै साकेला थानमा पुगेर भूमिदेवको पूजाको निमित्त सुँगुरको पाठाको बली र चोखो जाँडरक्सी चढाउँदै धुमधामकासाथ शिली नाच्ने एक आपसमा खुृसीयाली बाँड्दै आफ्नो धर्म सस्कार र संस्कृतीलाई मान्ने काम गर्दछन । बुढाबुढी जवान र केटाकेटी समेतले साकेला नाचको शिलीमा भाग लिई नाच्दछन । यसैगरी टाढा टाढा घर भएका छोरी चेलीहरु र परदेश गएका परदेशीहरु समेत यो चाडको अवसरमा घरगाउँ आइपुगी खुसीयालीमा सहभागी हुन्छन् ।

(ग) नागा पुजा :

माझकिरातको साम्पाङ, दुमी, थुलुङ, खालिङ, बाहिङ, कोयु, नाछिरिङ जस्ता किरात राईहरुको घरको मानिसहरुको उपचार गर्न, निसन्तान भएमा छोराछोरीको माग गर्न, आफ्नो सन्तानहरु सलत्र हुर्किएर सप्रिएर जाउन भन्ने कामना र आफ्नो नाम सन्तान दरसन्तानसम्म अमर राख्न, नागा पुजा गरिन्छ । यो अत्यन्त मौलिक सस्कृति हो । यस कर्मको सम्बन्ध तोयमा, खियमा, (हेच्चाकुप्पा/रैछाकुले/खोक्चिलिप्पा) र नागेलुमसंग रहेको छ । यसरी नागा पुजागरी लगाएको नाम किरात राईहरुको बंशावलीमा प्रशस्त पाइन्छ ।

(घ) शिकारी पुजा :

किरात राईहरु शिकारी अवस्थाबाट विकसित हुँदै आएकाले शिकारीको पूजा गर्दछन । घरमा गरिने शिकारी पूजा जसमा एकपाथी कोदो राखेर पुजा गरिन्छ । यदि कोही शिकारी भएमा निजले शिकार मारेर ल्याएपछि चुलालाई देखाउनु पर्दछ । शिकारको हड्डी शिकारीको नाममा भारमा राखिन्छ र वर्षदिनमा कति जम्मा हुन्छ त्यसलाई बाटोमा लगेर डढाउने गरिन्छ ।

(ङ) वन शिकारी पूजा :

किरात राईहरुले वर्षमा एकपटक शिकारीदेवको सम्मानमा धनु ठोक्रो टोटोलाको फूल राखेर जाँड र कुखुराको भालेको भोग चढाई बन शिकारीको पूजा पनि गर्दछन ।

(च) घरायसी देवताहरुको पूजा :

नयाँ अन्नवाली पाकेपछि वर्षमा एक पटक प्राय चैत्रमा धरको तलामा स्थापित देउताहरुलाई चोखो जाँड सुगुरको पाठा र कुखुराहरु काटेर पूजा गरिन्छ । यस्ता देउताहरु पूर्वे आदि नामले चिनिन्दछ । यसलाई जिमीदेउता पनि भनिन्छ । यिनीहरु लाई सापदेउ पनि भनिन्छ । जिमीदेवलाई बाख्राको मासुखाने जोसुकैले पनि छुन हुदैन कुजे लंगडो बनाउँछ । केही किरात राईहरुको विजुवा धामीको गूरुदेव नै यी देवताहरु हुने हुँदा यो देवताहरुलाई आदरकासाथ घरको तालामा पालिन्छ । जुन धामीको सापदेउ गुरु हुन्छ चिन्ताको बेला सर्पको काँडाको माला पनि बाङगोटिङगो भई बटारिएको हुन्छ । यी देवताहरुलाई अन्नको सानो सानो कोठा बनाई त्यसमा नयाँ अन्न भरेपछि वर्षमा एक पटक चैत्रमा पूजा गरिन्छ । पूजा गरेपछि उक्त कोठाको अन्न खान हुन्छ । घरमा खाध्यको संचय समेत हुने यस्तो देवताहरुको पूजाबाट किरात राईहरुलाई फाइदै भएको पाइन्छ । वर्षमा एक–एकदिन आलोपालो सवै छिमेकीहरु जुटेर एकसाथ खानपिनमा सहभागिता हुनमा खुसी पनि त्यतिकै प्राप्त हुन्छ ।

(छ) संसारी पूजा :

देसान मसान वायु नलागुन परपर हटुन पानी परेर सवै वगाएर लैजाउन आँधी बेहरी केही नआउन बोट विरुवा सलत्र हुकिर्उन भन्नाको लागि वर्षमा एक पटक बैशाखमा सवै गाउँ मिलेर दामासाही पैसा चामल कुखुरा परेवा उठाई खोलापुर्याएर पूजा गर्ने चलन छ जसलाई संसारी पूजा भनिन्छ । यसरी पूजा गरेको दिन पानी परेको कैयौं घट्नाहरु पनि छन ।

(ज) थानी पूजा :

किरात राईहरुमा अर्को अनौठो देव थानी रहेको छ । कसैले अन्तरजात विवाह गरी ल्याएको महिलाको मृत्युपछि कुनै समयमा थानीदेवभई उत्रिने गरेको पाइन्छ । यसलाई वर्षमा एकपटक सवै गाउँघर र टाढाटाढाबाट छोरीचेलीहरुले समेत कुखुरा चामल रक्सी ल्याई पूजा गरेर मानमनितो गर्दछन ।

यस वाहेक किरात राईहरु भिर पहरा खोलानाला देवी देउराली नाग नगेनी गोठपूजा भीमसेन पूजा आदि पनि गर्दछन । उपरोक्त सबै चाडवाडहरु चुलाघरले मनाउने छ ।

(झ) विविध पूजाहरु :

पितृहरुलाई खुसी पार्न तथा दु:ख विमार भएको बखत बलदेउ कुनै दु:खकष्ट नदेउ आशिक देउ भन्ने कामना गर्दै बेलाबेलामा सुगुर काटेर वा मुटु कलेजो फियो फोक्सो दुवै मिर्गौला लाम्टा छात्ती र बोसे जाली गरी नौ परिकारको मासु सिमलीको लौरामा उनी कुबिमि र पुर्खाहरुको सामुहिक मुदुम अनुसार चुलोमा पोल्ने काम हुन्छ । यसबाहेक अन्य चिन्ताचार गरेको बेला पनि उकारमा बल माग्न कुबिमि द्धारा चोखो रक्सी र मर्चाले पूजा गर्ने प्रचलन रहेको छ । चुलाको पूजा केबल कुबिमि वा तायामी अनुभवबिद् बृध पुर्खाले मात्र गर्न सक्तछ ।

परिच्छेद ()

चाडवाड

किराया हङकङको चुलाघरबाट निम्न चाडवाडहरु मनाईनेछ । किरात राईहरुको विभिन्न चाडहरु हुन्छन ।

(क) माघे संक्राति :

हरेक सालको माघ महिनाको १ गते माघे संक्रातिलाई चाडको रुपमा मनाउने परम्परागत संस्कृति किरात राईहरुमा रहेकोछ । यधपि यो चाड आज साझा भैसकेको भएता पनि विशेषगरी राईहरुले आदिम जीवन निर्वाहको झल्को देखाउने वनतरुल घरतरुल गिठा भ्यागुर जस्ता जङगली फलफूलहरु खोजेर उसीनेर विहानको पहिलो आहाराको रुपमा खाने प्रचलनले किरात संस्कृतिको प्रतिनिधित्व गरेको पाइन्छ । पुर्खाहरु भन्छन– यो चाड वा मरिन्छकी भनेर मान्ने चाड हो । हङकङमा यसैदिन यलेदुङ मनाउने चलन छ ।

(ख) साउने संक्राति :

हरेक वर्षको श्रावण महिनाको पहिलो दिन साउने संक्राति भनेर भैसीं वा राँगा काटेर खाने चाडलाई पुर्खाहरुले अवत बाँचियो है भनेर मान्ने चाड हो भन्दछन । यस दिन लेकको टिम्बुर लाई मासुमा मसलाको रुपमा लगाई खाने चलन रहेको छ । यो खाना विशेषत किरात राईहरुले आदिम कालदेखि जिउ तथा पेट दुखेको वायु भरिएको बेला औष्धिको रुपमा खाने प्रचलन रहेको पाइन्छ । संक्रातिको दिन बुढाखाडाहरु कामबाट विसाएर घरछिमेकतिर आलोपालो डुलफिर गर्ने गर्दछन भने जवानहरु डाडाकाँडा घुम्ने तथा स्थानीय हाटबजार गई नाचगान गरी मनोरञ्जन गर्ने गर्दछन ।

(ग) तिहार:

तिहारलाई किरात राईहरुले आफ्नै चाडको रुपमा मानेको पाइन्छ । प्राप्त इतिहास र किंवदन्तीहरुको आधारमा किरात राजा बलिहाङको कालबाट यो तिहार मान्ने देउसी खेल्ने परम्परा रहीआएको बुझिएको छ । तसर्थ यो चाडबारे किरात राईहरुमा दुईमत छैन ।

परिच्छेद ()

 

(समाप्त)