साकेला उधौली संस्कृती

चुलापुजा बारेमा

किरात राईहरुको सवभन्दा ठूलो देव भनेको नै तीन चुलो हो। मुलघर परिवारबाट अलग भएपछि थपना गर्ने पहिलो वस्तु नै चूला हो । हरेक किरात राईहरुको धार्मिक आस्थाको प्रतिक नै तीन चूला हो । हरेक किरात राईहरुको साझा विशेषता नै तीन चुलो हो। चूलामा ३ वटा ढुङगा गाढेको हुन्छ। यसले बंश, दाजुभाई र कुटुम्ब गरी मानव समाजलाई ईङ्गित गरेको हुन्छ। उत्तर तर्फको ढुङगाले बंशलाई, दाहिने तिरको ढुङगाले दाजुभाईलाई र देब्रे तर्फको ढुङगाले कुटुम्बलाई बुझाउदछ। चूलामा सामान्य भात भान्सादेखि कर्म धर्म, रितीथितीका सम्पूर्ण कुराहरु गरिन्छ। किरात राईहरुको चूलामा जन्म दिने पुर्वजहरुले बास गरेको हुन्छ भनि विस्वास गरिन्छ। किरात राईहरुले प्रार्थना गर्न टाढा जाँदैनन्। यही यहि चुलालाई मन्दिर मान्दछन। चुलालाई  पितृथलो मान्दछन। यही चूलामा प्रार्थना गर्दछन । चूलामा दैनिक पुजा गरे पित्रीहरु खुसी भई चिताएको मनोआकाङक्षा पुरा गरिदिने, धन दौलत र ऐश्वर्य दिने, दुख बिमार हटाउने, शिर ठाडो बनाई दिने बिस्वास गरिन्छ।

चुलापुजा बिशेष  उधौली र उभौलीमा साकेलापुजा गर्न जानु पुर्व तिन चूलाबाट बल माग्ने कार्य गरिन्छ। त्यस्तै अरुबेला नुवांगी, तिधाम, छिदाम र छमदम, दिवुमी वा सुरुमी शिकारी पुजा तथा अन्य विविध पूजाहरु जस्तै  पितृहरुलाई खुसी पार्न तथा दुःख विमार भएको बखत बलदेउ कुनै दुःखकष्ट नदेउ आशिक देउ भन्ने कामना गर्न चूलापूजा गरिन्छ यसबाहेक अन्य चिन्ताचार गरेको बेला उकारमा बल माग्न धामीद्वारा चोखो रक्सी र मर्चाले पूजा गर्ने प्रचलन रहेको छ।

साकेला उधौली बारेमा

उधौली भनेको मंसिरे पुर्णे देखि ऋतु परिवर्तन भै हिमाल तिर अत्यधिक जाडो बढ्ने, चिसो हावा चल्ने, हिउँ पर्ने हुंदा पशुपंक्षी, चराचुरूङ्गी, माछाहरू जाडो/चिसो हावापानी छल्नलाई तातो स्थान खोज्दै, उधो तराई तर्फ जाने हुनाले “उधौली” भनिएको हो।

किराँत समुदायले आफुले लगाएको अन्नबाली पाकेपछी प्रकृति र पूर्खालाई चढाएपछि मात्र खाने चलन छ। उधौलीमा खेतीबाली पाकेर थन्क्याउने समय भएको हुंदा पहिला पितापुर्खाहरुलाई चढाएर अन्नको सह माग्दै,रुपैया पैसाका सह माग्दै, पशु पंक्षीहरू फैलियोस, सबै जिवजन्तु, बोटबिरूवा, खोलानाला, हिमाल पहाड, बन जंगल, आकाश पाताल, जुन घाम, तारा सबै नै सन्तुलित रहि रहोस भनि किरात राईहरुको आदिम पितृदेव पारुहाङ सुम्निमा तथा तोयामा खियामा हेच्चाकुप्पा नागेलुम तथा प्रकृतिको संझना गर्दै तिन चूलाबाट बल माग्ने कार्य गरिन्छ।

यस चाडमा चेली, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर विभिन्न परिकार ख्वाउने चलन रहेको छ । यस चाडलाई विशेषत मेलमिलापको चाडको रूपमा पनि मनाउने गरिन्छ। बर्षभरिमा कसैसंग मनमुटाव रहेको खण्डमा साइनोले कान्छो व्यक्ति जेठो साइनोको घरमा कोसेली, उपहार बोकेर जाने र बोलचाल गर्ने चलन रहेको छ । साइनोमा जेठोले आफ्नो घरमा आएकालाई माया र आदर गर्नुपर्दछ यसरी यो चाडले मेलमिलाप, भेटघाटको अवसर पनि प्रदान गर्ने भएकोले सामाजिक सहिष्णुता कायम राख्न महत्वपूर्ण भूमिका रहेको पाइन्छ।

उधौली पार्थना

हे पितापुर्खाहरुहो, हे सुम्निमा पारुहाङ । हे नागनगेनी, सिमेभुमेहरु हो । हामी तपाँईहरुकै साखा सन्तान हौं । हामी कूबीमी र बुद्धिजिवीहरुको साथ लिई तपाँईहरुलाई पुज्न आएका छौं । तपाँईहरुलाई सम्झेका छौं,

हामीलाई अन्नको सह दिनुहोस, हामीलाई रुपैया पैसाका सह दिनुहोस, पशु पंक्षीहरू फैलियोस,
सबै जिवजन्तुहरू फैलियोस, बोटबिरूवाहरू फैलियोस,

हे नागनगेनी, पाखा पखेरा, बनजंगल, हामी हातहतियार ढोल झ्याम्टा, सामा सरदमको साथ लिई, महिलाहरु, बुद्धिजिवीहरु र अग्रजहरुको साथ लिई, यहाँहरुको भक्ति गरि रहेछौं ।

सबै जिवजन्तुरक्षा गर्नुहोस प्रकृतिको संरक्षण गर्नुहोस खोलानाला सन्तुलित रहोस, हिमाल पहाड, बन जंगल सन्तुलित रहोस, आकाश पाताल सन्तुलित रहोस, जुन घाम, तारा सबै नै सन्तुलित सन्तुलित रहोस ।

हे पिता पुर्खाहरु हो । हामि दाजुभाई दिबिहिनीको साथ लिई हाम्रो ढोले, झ्यम्टेहरुसंग
हाम्रो पुर्खाहरु रैछाकुले नागेलुङले परापुर्वकालबाटै गरिल्याएको रीतिअनुसार यहाँहरुलाई भक्ति गरि रहेका छौं । हामीलाई राम्रो गरिदिनुहोस, सबैलाई आर्शिबाद प्रदान गरिदिनुहोस ।

हामीलाई अन्नपात दिनुहोस । हामीलाई धन दौलत दिनुहोस । हामीलाई दिर्घायु दिनुहोस । आपत बिपतबाट जोगाउनु होस । हामी नजान्ने नबुझ्ने छौं । हामीलाई ज्ञान दिई अघि बढ्न बाटो देखाउनुहोस ।

जय नागनगेनीहरु हो, जय सुम्निमा पारुहाङ, जय पिता पुर्खाहरु हो ।