साउने संक्रान्ति

बर्षायाममा गरिएको खेतीपातीका कारण थाकेका किरात राईहरु हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी साउन महिनाको पहिलो दिन गोरुको मासुमा टिम्बुर मिसाएर खाने गर्दछन। यसलाई साउने संक्रान्ति चाडको रुपमा मनाउदछन। पछि गोरु काट्न बन्देज भएपछि भैंसि वा राँगाको मासुमा टिम्बुर मिसाएर खाने प्रचलन बसेको हो।

बर्षामा गाँउघरमा बाढि पहिरो आउने, खोला नाला बढ्ने भएकोले र साउन देखी हिउँदको सुरुवात हुने र बाढि पहिरो रोकिने, खोला नाला घट्ने भएकोले अवत बाँचियो है भनेर साउने संक्रान्ति चाड मनाएको हो पनि भन्दछन । साउने संक्रान्तिमा बुढापाकाहरु कामबाट विसाएर घरछिमेकतिर डुलफिर गर्ने गर्दछन भने जवानहरु डाडाकाँडा घुम्ने तथा स्थानीय हाटबजार गई नाचगान गरी मनोरञ्जन गर्ने गर्दछन।

औषधिजन्य खाना

साउने संक्रान्तिको दिन लेकको टिम्बुरलाई मासुमा मसलाको रुपमा लगाई खाने चलन छ। यो खाना विशेषत किरात राईहरुले जिउ तथा पेट दुखेको वायु भरिएको बेला औषधिको रुपमा खाने प्रचलन रहेको पाइन्छ।

टिम्बुर विशेष गरि अचारको रुपमा प्रयोग गरिन्छ। टिम्बुरलाई दानाकै रुपमा होस् वा धुलो वनाएर प्रयोग गरिन्छ। यसको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छ। यसको गर्मी वा जाडोको दुवै समयमा प्रयोग गरिन्छ। नेपाली टिम्बुर पछिल्लो समय विश्व बजारमै लोकप्रिय बन्दै गएको छ। टिमुरले निम्न रोगहरु निको पार्दछ।

  1. टिम्बुरले हिमाली क्षेत्रमा यात्रा गर्दा लेक लागेको ठिक हुन्छ।
  2. टिम्बुरले दाँत दुखेको निको पार्ने, जरो निको पार्ने हुन्छ।
  3. टिम्बुरले लुतो, दाद अजिर्ण, हैजा छालाका रोगहरु आदी समस्याहरुबाट मुक्ति दिन्छ।
  4. टिम्बुरले आँखा कम देख्नेहरु र न्युन रक्तचाप भएका व्याक्तिलाई अचुक औषधी हुन्छ।
  5. टिम्बुरले हात खुट्टा मर्किएको, टाउको दुखेको र पिनास पनि निको पार्छ।
  6. टिम्बुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि फाइदाजनक हुन्छ।
  7. टिम्बुरले क्यान्सरको सम्भावना कम गर्ने, पेटको जुका मार्ने र भोक लाग्ने समस्याबाट पनि मुक्ति दिन्छ।

राँके खेदाउने

राँके भनेको रोगब्याधि दिने दुष्टात्मा हो भनि विस्वास गरिन्छ। साउने संक्रान्तिको बेलुकि पख, कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीजन्य बनस्पतिहरु अगुल्ठोमा बालेर घर वरिपरि, आँगन हुँदै दोबाटो सम्म पुराउने चलन छ। राँके खेदाउदा नाङलो ठटाउने, टिन बजाउने, ढिकि कुट्ने, घरको ढोका एक छिन बन्द गर्ने चलन छ।

औषधीजन्य बनस्पतिहरु बाल्दा, आवाज निकाल्दा यसले वातावारणमा रहेका छालाका रोगका जिवाणु नष्ट हुन्छन र हामीलाई लुतो, दाद अजिर्ण, हैजा छालाका रोगहरु लाग्दैन भन्ने बैज्ञानिक कारण रहेको छ। राँकेलाई दुष्टात्मा मानि दोबाटोमा कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरुले पुजा गरि अबदेखी हाम्रो घरबारीमा नआईज, हाम्रो रोगब्याधि सबै लैजा भनि पुजा गर्ने चलन छ।