मुन्दुमकी सुम्निमा

मुन्दुमकी सुम्निमा

बहस

– भोगीराज चाम्लिङ श्रावण २२, २०७३-

sumnimabpबीपी कोइरालाले मुन्दुमकी सुम्निमालाई औपन्यासिक आख्यानमा बदलेर पहिलोपटक सबैले सुन्ने र पढ्ने गरी फराकिलो फलकमा ल्याइदिएका थिए। अहिले पनि बीपीको धेरै पढिने उपन्यास हो ‘सुम्निमा’। उपन्यासबारे असहमति जनाउँदै किरातहरूले नै विराटनगरमा ‘सुम्निमा’ जलाएका कारण विवादित पृष्ठभूमिले पनि पाठकीय आयतन विस्तारमा अप्रत्यक्ष सहयोग पुगिरहेको हुँदो हो।

बीपीले सुन्दरीजल जेल बसाइका क्रममा अर्का राजनीतिक बन्दी देवानसिं राईको मुखबाट सुम्निमाको कथा सुनेका थिए। र, बीपीले भनेझैं ‘सुम्निमा’ उपन्यास ‘किरात देशको एउटा कथा’ हो। यसमा थपेर भन्ने हो भने सुम्निमा ‘किरात देशको एउटा अजम्बरी कथा’ हो। यसकारणले होइन कि केही अपवादबाहेक सबैथरी भाषा बोल्ने किरात राईहरूमा सुम्निमाको कथा प्रचलित छ, बरु यसकारणले अझ बढी हो– सुम्निमाको कथाले किराती समाज विकासको एउटा कालखण्डको चोखो इतिहास बताइरहेको छ। सुम्निमाको कथा किरात प्रागइतिहास अध्ययनको मूल खम्बा हो भन्दा फरक नपर्ला। खासमा मुन्दुमकी सुम्निमाबारे थाहा नपाईकन बीपीको ‘सुम्निमा’लाई बुझ्नै सकिँदैन।

सुम्निमालाई किरात राईहरूले भाषिक विविधताका कारण फरकफरक नामले चिन्छन्। जस्तो कि चाम्लिङ राईहरूले नाइम्मा भन्छन् भने कोयूले सुम्दिमा। वाम्बुले राईले ङेबे भन्छन् जबकि खालिङ राईले निन्वाम रिदम। थुलुङ राईले भन्छन् द्युलुन्दुमा। सुम्निमा नाम बान्तवा, साम्पाङ र पुमा राईहरूले प्रयोग गर्ने शब्द हो। अहिले यही शब्द साझा प्रचलनमा छ।

मुन्दुमअनुसार सृष्टिको पहिलो नारी रिभ्याँमा र पहिलो पुरुष रिकपा थिए। उनीहरू दिदी–भाइ थिए। हुर्किंदै गएपछि रिकपा हिमालतिर लागे, रिभ्याँमा तराईतिर लागिन्। उनीहरू उमेरदार भए। जोडी खोज्ने क्रममा रिकपा र रिभ्याँमाको भेट भयो र उनीहरूबीच विवाह भयो। उनीहरूको पहिलो सन्तानका रूपमा नाइम्मा (सुम्निमा) जन्मिइन्। दिदी (नाना) सँग सुतेर (इम्मा) जन्मिएका कारण नाइम्मा भनिएको हो। मुन्दुममा पनि यो सन्दर्भ आउँछ :

एक दिन रिकपाले छोरी सुम्निमालाई ‘एक साइनोले छोरी, एक साइनाले भान्जी’ भन्दै फुल्याएको सुनेपछि रिभ्याँमाले ‘हैन के भन्दैछौ’ भनेर सोधिन्। रिकपाले ‘केही होइन’ भनेर अलमल्याए रे। परिवारकै सदस्यबीच यौनसम्बन्ध हुने मुन्दुमको यो कथा समाज विकासको क्रममा पहिलोपटक विकसित भएको रक्तसम्बद्ध परिवारसँग सम्बन्धित छ।

फ्रेडरिक एंगेल्सको ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ पुस्तकका अनुसार रक्तसम्बन्धमा आधारित परिवार समाज विकासका क्रममा विकसित परिवारको पहिलो अवस्था थियो जहाँ एकै बाबु–आमाका सन्तानबीच मात्र होइन  काका, बडा, फुपूका छोराछोरीहरूको एकअर्काका बीचमा विवाह र यौनसम्बन्ध हुन्थ्यो। त्यसबखत माइती–चेली हुनुको अर्थ लोग्ने–स्वास्नी हुनु थियो। विश्वमा यो रक्तसम्बद्ध परिवार कहीं कतै बाँकी रहेको छैन भनिन्छ।

नेपालका मगर, गुरुङ, ठकुरीलगायतमा लोपोन्मुख अवस्थामा पुगेको मामा–चेली, फुपू–चेली विवाह रक्तसम्बद्ध विवाह प्रणालीकै अवशेष हो। गुरुङहरूमा मामा–चेली (मामाकी छोरी) र फुपू–चेली (फुपूकी छोरी) विवाह हुन्छ भने ठकुरी र मगरमा मामा–चेली विवाह मात्र प्रचलित छ। मोदनाथ प्रश्रितले ‘नेपाल : गणयुगदेखि राष्ट्रयुगसम्म’ पुस्तकमा यसलाई आदिम मातृतन्त्री समाज पूरै भत्किएर पितृसत्तातिर संक्रमण भइसकेको अवस्थाको विवाह प्रणाली बताएका छन्।

लिम्बू जातिमा त लगभग डेढ सय वर्षअघिसम्म पनि आफ्नै पिताकी विधवा (सौतेनी आमा) सँग विवाह गर्ने चलन थियो। भीमसेन थापाको पालामा आएर मात्र सानीआमा र भाउजू विवाह गर्ने चलनमाथि रोक लगाइएको हो। नेपाल खाल्डोको पशुपतिमा रहेको किरात विरुपाक्ष स्वयं आमासँग सम्भोग गरेका व्यक्ति हुन्। यी तथ्य र कथ्यहरू नेपाली समाज कुनै बेला मातृसत्तात्मक थियो भन्ने कुराको ज्वलन्त साक्ष्य हुन्। तर अहिले दिदी–भाइको वैवाहिक सम्बन्धबाट जन्मिएकी सन्तान हुन् नाइम्मा (सुम्निमा) भनेर हाकाहाकी स्वीकार गर्न किरातहरूलाई अप्ठेरो लाग्ने गरेको छ। कुरो त्यस्तो होइन, यो लुकाउनुपर्ने, लजाउनुपर्ने कुनै कुरा होइन। विश्वभरिकै समाज विकासको प्रारम्भिक चरणमा यही अवस्थाबाट गुज्रिएको थियो। बरु गर्वको कुरा यो छ कि हजारौं वर्षपहिलेको समाजको कथा किरातहरूले मुन्दुमका रूपमा जोगाएका छन्।

सुम्निमासँगसँगै जोडिएर आउने नाम हो पारुहाङ। सुम्निमालाई जस्तै पारुहाङलाई चिन्ने नाम पनि फरकफरक छ। चाम्लिङ र कोयूले पारुहोँ भन्छन् भने पुमाले पारुहोङ र साम्पाङले चाहिँ पारुहँ। वाम्बुले राईले पारु भन्छन् जबकि खालिङले ख्वाम्द र थुलुङले पातिसङ। पारुहाङ शब्द भने बान्तावा राईले प्रयोग गर्छन्। पारुहाङ सुम्निमाका पति हुन्। मुन्दुमअनुसार सुम्निमा (नाइम्मा) उमेरदार भइन्। उनका लागि केटाको खोजी भयो तर कतै पाइएन। बल्लबल्ल पारुहाङ छन् भन्ने थाहा भयो र उनीसमक्ष विवाहका लागि कलियाहरू मार्फत् प्रस्ताव गरियो। तर, आफूलाई सुम्निमाले मन पराउँछन् भन्ने विश्वास पारुहाङमा थिएन। त्यसैले उनले कलिया भएर आएका हावासमक्ष सर्त राखे, ‘सुम्निमाले मलाई मन पराइनन् भने म तेरो एउटा पखेटा भाँच्छु।’ हावाले सहर्ष स्वीकार गर्‍यो। नभन्दै फुस्रेधुस्रे पारुहाङलाई सुम्निमाले मन पराइनन्। पारुहाङले हावाको पखेटा भाँचे र सबैतिर चर्को खडेरी लगाए जसले गर्दा पानीको हाहाकार भयो, हावा चल्न नसकेर हपहपी गर्मी भयो। सुम्निमा तिर्खाले प्याकप्याक भइन्। उनका लागि चराहरू पानी खोज्न गए तर कतै फेला परेन। पारुहाङले नै वीर्यपात गरेर कर्कलोको पातमा छाडिराखेका थिए, त्यसैलाई पानी ठानेर चराहरूले सुम्निमालाई दिए। त्यो खाएपछि उनी गर्भवती भइन् र छोरी जन्माइन्। छोरीको नाम राखियो वाइलुङ्मा। उनीहरूबीच फेरि घरजम भयो र अरू पनि सन्तान जन्माए : बाघ, भालु, कुकुर र मान्छे। बाघ, भालु र कुकुर किरातीहरूका टोटेमिक (गणको प्रतीक) जनावरहरू हुन्। तर सुम्निमाका पति पारुहाङका पिता को थिए भन्नेचाहिँ मुन्दुममा खुल्दैन। पारुहों (पारुहाङ) की आमा चिनिमा थिइन्। तर, बाबु त पसिना पो थिए रे ! मुन्दुमअनुसार रजस्वला भएका कारण नुहाइधुवाइ गरेर घाममा सेकिँदा चिनिमाको शरीरबाट पसिना (हुलिपा) आयो। त्यो पसिना बग्दै गएर रजस्वलामा मिसिँदा चिनिमा गर्भवती भइन् र पारुहों (पारुहाङ) जन्मिए (जितराज राईद्वारा लिखित मुन्दुमको पाण्डुलिपि)।

यो कथा समाज विकासका क्रममा विकसित परिवारको दोस्रो अवस्था अर्थात् पुनालुआन (अन्तरंग साथी, सहयात्री) सँग सम्बन्धित छ। एंगेल्सका अनुसार यस चरणमा निकट माइती–चेलीका बीचमा हुने विवाह प्रणाली कमजोर हुँदै गएर एक समूहका युवाहरूले अर्को समूहका एक या केही युवतीसँग सामूहिक (युथ) विवाह गर्थे। लोग्ने धेरैजना हुने भएकाले गर्दा बच्चाको बाबु को हो भन्ने पत्ता लाग्दैनथ्यो। पारुहाङको पिता थाहा नहुनु अर्थात् पसिनालाई नै पिता मान्नुको अर्थ पनि चिनिमाका धेरैजना पतिहरूमध्ये कससँगको यौनसम्बन्धका कारण जन्मिएका सन्तान हुन् भन्ने थाहा नहुनु नै हो। युथ विवाहमा आमा मात्र थाहा हुने हुनाले आमाकै नामबाट सामै (वंश–गोत्र) चल्थ्यो। विश्वभरि नै जंगली र बर्बर चरणको निम्न (पहिलो) अवस्थाका मान्छेमा यस्तो पाइएको छ। पुरुष पुर्खाका नामबाट चलेका सामै (गोत्र) हरूले ढाके पनि किरात राई समाजमा अहिलेसम्म पनि महिलाको नामबाट चलेका सामै (गोत्र) हरू पाइन्छन्। जस्तो कि पेन्छामा, युङ्खामा, ब्राक्सुमा, युयुमा, छेकुमा, दिखामा आदि। यी सामै (गोत्र) शब्दहरू किरात मातृसत्तात्मक समाजका भाषिक अवशेष हुन्।

सामूहिक विवाहको भाषिक अवशेष नेवार समाजमा पनि पाइन्छ। पुष्पलालले ‘नेपालमा मातृसत्तात्मक समाज’ लेखमा यो कुरा उल्लेख गरेका छन्। उनका अनुसार काठमाडौंको नेवार समाजमा बहुपति प्रथाको भाषिक झलक अझै बाँकी छ। उनले भनेका छन्, ‘काठमाडौंमा ‘भात पिनिगु छें वेनेगु’ अर्थात् ‘लोग्नेहरूको घर जानु’ भन्छन्। यहाँ लोग्नेका निम्ति एकवचनको प्रयोग नभई बहुवचनको प्रयोग भएको छ। ‘छें’ को मतलब घरको समूह अर्थात् टोललाई जनाउँछ। यसको साक्षी अहिले पनि ‘झोचें, चोखाचें, इखाछें’ आदिले दिन्छ। फेरि आइमाईहरू माइतलाई ‘थछें’ अर्थात् ‘आफ्नो घर’ भन्छन्। यसबाट पनि सिद्ध हुन्छ कि पहिले नेपालमा युथ (ग्रुप) विवाह हुँदो रहेछ।’ त्यस्तै काठमाडौंका नेवार समुदायमा अझै त:बा (जेठा बा), माइला बा, साइँला बा, काइँला बा, कान्छा बा भनेर काका–बडा सबैलाई पिता अर्थ दिने ‘बा’ सम्बोधन गरिन्छ। यसले पनि नेवार समाजमा बहुपति प्रथा थियो भन्ने प्रस्ट हुन्छ। नेपालको हिमाली क्षेत्रमा त अझै पनि बहुपति प्रथा कायम रहेको पाइन्छ।

जहाँसम्म ‘सुम्निमा’ उपन्यासको कुरा छ, बीपी कोइरालाले मुन्दुमकी सुम्निमासम्बन्धी आख्यान जस्ताको तस्तै लिएका छैनन्। उनले सुम्निमालाई महाभारत र पुराणकालभन्दा यताको युगको प्रतिनिधिका रूपमा प्रस्तुत गरेका छन्। मुन्दुमकी सुम्निमा मातृसत्ताकालीन हुन् जबकि बीपीकी सुम्निमा पितृसत्ताकालीन। त्यसकारण मुन्दुमकी सुम्निमा महाभारत र पुराणकालभन्दा धेरै अघिकी हुन्। महाभारत युद्धमा त किरात राजाहरूले कौरबका पक्षबाट पाण्डवहरूविरुद्ध युद्ध नै लडेका थिए। डा. स्वामी प्रपन्नाचार्यको ‘प्राचीन किरात इतिहास’मा उल्लेख भएअनुसार महाभारतकालमा किरात सम्राट् ‘भगदत्तको शासन वर्तमान आसामदेखि लिएर वर्तमान बंगलादेशसम्म थियो।’ डा. जीपी सिंहले पनि ‘दी किरात अफ् एन्सियन्ट इन्डिया’मा गंगा, यमुना र सरस्वती नदीको किनारमा किरातहरूका त्यस्ता थुप्रै जनपदहरू थिए भन्ने चर्चा गरेका छन्। बीपी कोइरालाले उपन्यासमा जुन कोसी–वराहक्षेत्रको चर्चा गरेका छन्, प्राचीनकालमा हालको मोरङको पहाडी क्षेत्र बेल्काकोठदेखि पश्चिम सिक्किम र भुटानका बीचमा किरातहरूको राज्य थियो। अहिले पनि कोसीटप्पु वन्यजन्तु आरक्षभित्र बेलका गढीको भग्नावशेष देख्न सकिन्छ। त्यस्तै सिंहले महाभारत र पुराणहरूमा किरात स्त्रीहरूले गरगहना र सुन्दर पहिरन लगाउने गरेको वर्णन पाइन्छ भन्ने उल्लेख गरेका छन्। तर, बीपी कोइरालाले सुम्निमालाई कपडाको प्रयोग गर्न जानिनसकेको जंगलबासी किरातीका रूपमा प्रस्तुत गरेका छन्। निश्चय नै मुन्दुमकी सुम्निमा जंगलबासी नै थिइन्, उनको युगमा कपडाको प्रचलन भइसकेको थिएन तर महाभारत र पुराणकालमा आइपुग्दा किरातहरूको अवस्था त्यस्तो थिएन। ठीक यहाँनिर बीपी कोइरालाले इतिहासमाथि न्याय गर्न सकेका छैनन्। बीपीको ‘सुम्निमा’ उपन्यासमाथि यही सन्दर्भमा सबैभन्दा बढी प्रश्न उठिरहेको हो, उठिरहनेछ।

प्रकाशित: श्रावण २२, २०७३