तयमा खियमा दिवस – एक परिकल्पना

शशि मदन राई
२१ अगष्ट २०१६

Tayama2उहिलेनै किरातहरुको पुर्वज पातेसुङ र दिलिदुमको २ वटा छोरी (जेठी तयमा र कान्छी खियमा) र १ वटा छोरा रैछाकुले (कसैले हेच्छाकुप्पा, खोक्चिलुप्पा समेत भन्दछ) थिए । सानो उमेर हुदै पातेसुङ र दिलिदुमको निधन भयो । यस्तो अवस्थामा तयमा खियमाले बनिबुतो गरि भाई रैछाकुलेलाई पालन पोषण गरे । एक दिन बनिबुतो गरी ल्याएको खाना पकाउदै गर्दा रैछाकुले हर्षित भै चुलाको वरिपरि घुम्ने क्रममा आगो बलिरहेको दाउरा टेकि भात घोप्टीन पुग्दछ । बल्ल तल्ल बनिबुतो गरिल्याएको भात घोप्टायो भनि तयमा खियमाले भाईलाई गालि गर्दछ । भाई रुँदै भोकै सुत्दछ।

भोलिपल्ट तयमा खियमाले भाईलाई बोलाउदा, भाई बोल्दैन । सायद भोकले गर्दा अचेत अवस्थामा निदाएको हुनु पर्दछ । तर दिदि बहिनीले भने भाई त मरेछ भनि रुँदै भाईलाई खाल्डा खनि बनमाराको झारले छोपी अब भाई त मरिहाल्यो हामी किन यहाँ बस्ने भनि दिदि बहिनिहरु अन्त्यै जाने निर्णय गर्दछ । एउटा डाँडामा पुगी दिदि बहिनीहरु पनि छुट्टिन्छन् । दिदि लेक तिर लाग्दछ र बहिनी औल तिर लाग्दछ । तर उनिहरुले पछि एक अर्काको सम्झना आएमा यसै ठाँउमा भेटौ है भनि एउटा लिमचिमबुङको बिरुवा रोपी छुट्टिन्छन । उनीहरुले यो पनि भनेका थिए, ‘यो बिरुवा ओइलाएमा हामी कसै बिसन्चो भएको सम्झिनुपर्ने छ ।

Limchinbung

(लिमचिमबुङ बिरुवा को पत्ता यसको फुल हुँदैन । यसलाई किरात राईहरुले फुलको रुपमा गोजिमा सिउराउँदछ)

यता भने भाई मरेको हुँदैन । भरै बिउझी निस्कदा दिदिहरुलाई नपाए पछि रुदै बस्दछ । अन्त्यमा बाध्य भएर आफै खाना खोजि खान थाल्दछ । उस्ले शिकार खेल्ने, पशुपन्छिको गाँडबाट निस्केको खाध्यन्नको अन्न बाली लाउने, माछा मार्ने आदि कार्यहरु गर्दै ठुलो हुन्छ । उनै रैछाकुलेले कृषी युगको बिस्तार गरेको किम्वदन्तीमा पाईन्छ ।

उता तयमाले धेरै बर्ष पछि खियमासंग भेट हुन मनलागि तेहि लिमचिमबुङको बिरुवा रोपेको डाडाँमा आउछन् । नभन्दै लिमचिमबुङ ओइलाएर सुक्दै गरेको पाइन् । यसपछि बहिनी खोज्दै उनी औलतिर झरे । दिदिबहिनीको पुन भेट हुन्छ । तर जब उनले बहिनीलाई भेटिन्, चर्को बिरामीले थला परेको भेटिन् । दिदिले बहिनिलाई स्याहार सुसार गर्दै संचो पार्छिन । दिदि बहिनि धेरै भलाकुसारी गर्छन । भाईलाई सम्झेर रुन्छन । भाई अहिले सम्म बाँचेको भए कती ठुलो भै सक्थे होला भनि सम्झना गर्छन । र पछि दिदि बहिनी त्यहि लिमचिमबुङ रोपेको डाडामा आई तान बुनि जिविकोपार्जन गर्न थाल्दछन । उही तयमा खियमाले लुगाको अबिस्कार गरेको किम्वदन्ती सुन्न पाईन्छ ।

पछि रैछाकुलेको बिबाहमा तयमा खियमाको भाईसंग भेट हुन पुग्दछ । यो लामो कथा छ । यही हाम्रो पुर्वजहरुको कथालाई भावी पुस्तामा पुऱ्याउन तथा तयमा खियमा र रैछाकुलेसंगको भेटघाट प्रसंगलाई अमर बनाई राख्न, तयमा खियमा दिवस मनाउन आवश्यक देखिएकोले, यो दिवसको परिकल्पना गरिएको छ । यो दिवस दिदिबहिनी तथा भाईसंग भेट भएको दिन अगष्ट महिना तदनुसार भाद्र महिनाको शुक्ल द्धितिया देखी पञ्चमीसम्म ४ दिन भित्र कुनै दिन मनाईने छ । यस बेला हिन्दु नारीहरुले तिज मनाउने परम्परा पनि रहि आएको छ ।

किरात राई चाम्लिङ खाम्बातिम हङकङले सन २०१६ देखि यसै मिथकलाई मान्यता प्रदान गर्दै परिकल्पनालाई अनुमोदन गरि हङकङमा तयमाखियमा दिवस भब्यताका साथ मनाउनदै आई रहेको छ ।

दिवस कसरी मनाउने ?

१. सवै दिदिबहिनीहरु किरात भेषभुषामा भेटहुने ।
२. तयमा खियमा र रैछाकुलेको प्राथना गर्ने ।
३. आफ्नो दाजुभाईहरुको शुखसमृद्धीको प्राथना गर्ने ।
४. दिदिबहिनीले एकअर्कामा शुभकामना आदान प्रदान गर्ने ।
५. खानपान तथा किरातजन्य गित संगित प्रस्तुत गरि रमाईलो गर्ने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *