तयामा खियामा दिवस

परिकल्पनाकारः शशि मदन राई
अध्यक्ष, ( सन २०१२–१६ )
किरात राई यायोक्खा हङकङ ।

Tayama2

परिच्छेद १

१. तयामा खियामा दिवसको परिकल्पना:

सन २ जुलाई २०१६, किरात राई चाम्लिङ खाम्बातिमका तत्कालिन अध्यक्ष श्री पिताम्वर चाम्लिङ राईज्युले हङकङमा बस्ने किरात राई दिदिबहिनी तथा दाजुभाईहरु आफ्नो संस्कारलाई छाडि अन्य संस्कारतिर लागि रहेको महशुस गर्दै उनिहरुलाई एक ठाँउमा ल्याई आफ्नो संस्कार संस्कृती प्रति चेतना जगाउनुपर्ने आवश्यक्ता भएको तत्कालिन किरात राई यायोक्खाका अध्यक्ष श्री शशि मदन राईज्युलाई सुनाउदै किरात राई दिदिबहिनी तथा दाजुभाईहरु एकता हुनुपर्ने कुनै एक कार्यक्रमको परिकल्पना गर्न अनुरोध गर्नु भएको थियो । सोही अनुसार श्री शशि मदन राईज्युले “तयामा खियामा दिवस” को परिकल्पना गरेका थिए । सन २०१६ मा प्रथम तयामा खियामा दिवस किरात चाम्लिङ खाम्बातिमको ङामेचिमे (महिला) विभागले आयोजना गरेका थिए ।

१४ अक्टुबर २०१८ का दिन किराया हङकङ र भाषिक संस्थाहरुसंगको सामूहिक बैठकले “तयमा खियमा दिवस” अब उप्रान्त किरात राई चाम्लिङ खाम्बातिमको मुल आयोजनामा किरात राई यायोक्खा हङकङले प्रकाशन गर्ने बार्षिक क्यालेण्डर अनुसार उधौली लागे पछि भाद्र महिनाको हरितालीका तिजको सेरोफेरोको दिन संयुक्त रुपमा मनाउदै जाने निर्णय गरेका थिए ।

२. तयामा खियामा दिवसको उदेश्य:

  1. किरात राई दिदिबहिनी र दाजुभाईहरु सांस्कृतिक चेतना अभिवृद्धि गर्न ।
  2. किरात बालबालिकाहरुलाई किरात संस्कृती, भेषभुषा तर्फ आकर्शन गराउन ।
  3. हाम्रो पुर्खा तयामा खियामा र रैछाकुलेको बीरगाथाहरु नव सन्ततीहरुलाई सुनाउदै जान ।

३. तयमा खियमा दिवस मनाउने तरिका:

  1. सवै दिदिबहिनी, दाजुभाईहरु किरात भेषभुषामा भेलाहुने ।
  2. बालबच्चा तथा आमाबाबाहरुलाई भेला गराउने ।
  3. तयामा खियामा र रैछाकुलेको दिवसको शुभकामना आदान प्रदान गर्ने ।
  4. आफ्नो दाजुभाई दिदिबहिनीहरुको शुखसमृद्धीको कामना गर्ने ।
  5. किरातजन्य खानपान, भेषभुषा, गरहगहना, गीत संगीत प्रस्तुत गर्ने ।

४. तयामा खियामा दिवसको प्रार्थनाः

हे पारुहाङ, सुम्निमा ।, हे पातेसुङ, दिलिदुम ।। हे रैछाकुले तथा तयामा खियामा ।।।

तपाँईहरुले हामीलाई जन्म दिनु भयो । हामीलाई पालन पोषण गर्नु भयो ।।
तपाँईहरुले खानपानको निर्माण गर्नु भयो । हामीलाई बाँच्न सिकाउनु भयो ।।
तपाँईहरुले भेषभुषाको निर्माण गर्नु भयो । हामीलाई मानवतामा प्रवेश गराउनु भयो ।।
तपाँईहरुले असल चालचलन सिकाउनु भयो । हाम्रो संस्कार संस्कृतीको निर्माण गर्नु भयो ।।

हामी दाजुभाई, दिदिबहिनीहरु भेट्दैछौं । शुभकामना आदानप्रदान गर्दैछौं ।।
हामी छरछिमेक, नातागोताहरु भेट्दैछौं । पुर्खाहरुको बीरगाथा सुनाउदैछौं ।।
भविश्यमा पनि भेटघाट भई रहोस । दाजुभाई दिदिबहिनीहरुमा शुखसमृद्धी छाई रहोस ।।
हाम्रो छोराछोरीहरु असल रहोस । हाम्रो बबा आमाहरु दिर्घायु भई रहोस ।।

तयमा खियमा दिवसको हार्दिक शुभकामना । यहिछ हाम्रो प्रर्थना ।।
जय पारुहाङ, सुम्निमा ।, जय पातेसुङ, दिलिदुम ।। जय रैछाकुले, तयामा खियामा ।।।


परिच्छेद २

१. तयमा खियमा र रैछाकुले:

संकलकः शशि मदन राई

मुन्दुम अनुसार तयामा खियामा र रैछाकुले महान पुर्खाहरु बुबा पातेसुङ र आमा दिलिदुमका सन्तान थिए । जेठी दिलिदुमबाट २ वटा छोरी (तयामा खियामा) र १ वटा छोरा रैछाकुले जन्मेका थिए । कान्छी श्रीमती चाँहि निसन्तान भई । उनिहरु हलेशी गुफामा बस्नुहुन्थ्यो भन्ने आम किरातीमा विस्वास छ । हलेसी तुवाचुङ जयाजुम डाँडामा किराती चेलीद्धय तयामा, खियामा दिदी बहिनीले कपास छर्ने र तान बुन्ने काम गर्थे । भाइ रैछाकुले वरीपरी डाँडामा शिकार खेल्ने गरेका कुरा पौराणिक किंवदन्ती छ । किरातीहरुको आदिम उद्गम थलो, औधोगिक क्रान्तीको युग र मानवीय पोशाकको सुरुवात भएको तुवाचुङ जयाजुमबाट नै अन्नको पहिचान भएको कथन पाईन्छ । तुवाचुङ जयाजुम डाँडामा तान बुन्ने स्थान अहिले पनि अवलोकन गर्न सकिन्छ । सोही नगरपालिकाको महादेवस्थान वडाको नागिबाट २० मिनेटको जंगल छिचोलेपछि क्रमशः तान बुन्ने स्थान, तयामा खियामाको प्रतिमा, साकेला थान, रैछाकुलेको प्रतिमा, वाबु (चिण्डो), भुमे थान देख्न सकिन्छ । उनीहरूले नै हामीलाई जंगली युगबाट खेतीपाती र सभ्य जीवनमा प्रवेश गराएका हुन् । किराती समुदायले यहाँ उभौली र उधौली साकेला पर्व मनाउछन्। रैछाकुले चाम्लिङ भाषामा भनिएको हो । साम्पाङ भाषामा खोक्चिलिप्पा भन्दछ भने बान्तावा भाषामा हेत्छाकुप्पा भन्दछ । तेस्तै अन्य किरात राई भाषाहरुमा खोक्चिलिप, खक्चुलुक्पा, खक्चिलिप्पा, खक्चिलुपा, काक्चिरिक्पा, खाक्चिलिपा, हेछाकुप्पा, हेत्छाकुवा, कक्तिसाला आदि नामले चिनिन्छ ।

२. पापा पातेसुङ र आमा दिलिदुमको मृत्यु:

पातेसुङ र दिलिदुम (बाबा आमा) को तायामा, खियामा र रैछाकुले सानो उमेर हुदै निधन हुन पुग्दछ । कान्छी आमाले पनि छाडेर जाँदछ । यस्तो अवस्थामा टुहुरो रैछाकुलेलाई दिदीहरू तायामा र खियामाले हुर्काउन थाले । आमा बाबु नभएको उनीहरूलाई देखेर चाक्लुङ्धिमा राक्षसनीले उनीहरूको खेतबारी र भकारीको सबै अन्न भण्डार खाएर सकिदिई । उनीहरू भोकभोकै रहन थाले।

जङ्गलबाट खोक्ली साक्की र गिठ्ठा भ्याकुर ल्याएर खुवाई भाईलाई तायामा र खियामाले हुर्काइ रहेका थिए । त्यो थाहा पाएर चाक्लुङ्धिमाले खोक्ली साक्कीलाई पाताल भसाई दिई । गिठ्ठा भ्याकुरमा खक्पा छर्केर खान नहुने तीतो बनाई दिई । त्यसपछि दिदीहरूले ऐसेलुको रस ल्याएर भाईलाई दिन थाले तर त्यसले भाई बाँच्न नसक्ने भयो ।

३. रैछाकुलेको मृत्यु:

एक दिन दिदीहरू माटोको हाँडीमा लोहोरो ढुङ्गा उसिनी राखेर खानेकुरा खोज्न ठाढा गए। रैछाकुले खाने कुरा पाक्दै छ भन्ने सम्झदै र लोहोरोलाई छाम्दै हर्षित हुँदै चुलाको वरिपरि घुमीरहेको हुन्छ । अचानक घुम्ने क्रममा बलिरहेको दाउरा टेकि हाँडी घोप्टीन पुग्दछ। हाँडीको तातो पानी उसको जीउमा पर्छ । उ लड्छ । भोक, निराश र तातो पानीले ऊ मरेझै बेहोश हुन्छ । दिनभर तायामा र खियामाले जङ्गलमा खानेकुरा खोज्दा खोज्दा केही पाएनन् । बल्ल बल्ल बनकेरा भेट्टाएका थिए । बेलुका उनीहरू घर फर्कन्दा भाई  रैछाकुले मरेको पाए र ज्यादै दुःखी भए । तयामा खियामाले भाईलाई बोलाउदा, भाई बोल्दैन । भोकले गर्दा भाई अचेतभै  बेहोश भएको हुन्छ । तर दिदि बहिनीले भने भाई त मरेछ भनि रुँदै भाईलाई खाल्डा खनि जाँडको छोक्रा र सिलाम छर्केर केराको पातले छोपछाप गरेर गाढि दिन्छन । त्यहाँ एउटा कर्द र एक कोसा बनकेरा पनि राखि दिन्छन । अब भाई त मरिहाल्यो हामी यहाँ आफ्नो प्यारो भाइको सम्झनाले सताउने यस्तो विरक्तिलो ठाउँमा किन बस्ने भनि दिदि बहिनि पनि अन्त्यै जाने निर्णय गर्दछ।

४. तयामा खियामाको बिछोड:

उनिहरु नेवालाककला (तायाचुम जयाजुम) डाँडा पुग्दछन र कता जाने भनि सल्लाह गर्दछन । दिदिले लेक तिर जाने, बहिनीले औल तिर जाने कुरा गर्दछ । दुईजनाको कुरा नमिले पछि बेग्ला बेग्लै जाने बिचार गर्दछन । तर उनिहरुले पछि एक अर्काको सम्झना आएमा, दुख बिमार परेको थाहा पाउन दिदिले लिम्चिबुङको बिरुवा रोपी र बहिनीले गोआबुङको बिरुवा रोपी यो बिरुवा ओइलाएको भेटिएमा हामी बिसन्चो भएको सम्झिनुपर्ने भनि रुँदै बिछोड हुन्छन । तायामाको आँखाबाट बगेको आँसुले रावाखोला बग्यो रे र खियामाको आँखाबाट बगेको आँसुले तावाखोला बग्यो रे । त्यस पछि दिदि लेक तिर गयो रे भने बहिनी औल तिर झर्यो रे ।

Limchinbung

(लिमचिमबुङ बिरुवाको पत्ता यसको फुल हुँदैन । यसलाई किरात राईहरुले फुलको रुपमा गोजिमा सिउराउँदछ)

५. रैछाकुले ब्युझिएको:

यता रैछाकुले भने मरेको हुँदैन । भरै बिउझी निस्कदा दिदिहरुलाई पाँउदैन । दिदिहरु नपाए पछि रुदै बस्दछ । दिदिहरुले त्याँहा छाडि राखेको एक कोसा बनकेरा कर्दले काटि खान्छ र तेस्को गेडा भने त्यँहि फ्याँकि दिन्छ । उसलाई बेजोडले भोक लाग्दछ र बाध्य भएर आफै खाना खोजि खान थाल्दछ । खाना खोज्ने क्रममा त्याँहा दिदिहरुले छाडि राखेको कर्दले काठको तीरहरु बनाई शिकर खेल्न थाल्दछ । उस्ले चराचुरुङगीहरु मार्दछ र घरमा ल्याई पोलेर खाँदछ । चराचुरुङगीहरुको गाँड भने बारीमा फ्याँकि दिन्छ।

६. राक्षसनीको अन्त्य:

एकदिन रैछाकुले केराको बोटमा बसि केरा खाई रहेको हुन्छ त्यातिवेला त्याहाँ चाक्लुधिमा नाम गरेको राक्षसनी आँउछ । उस्ले भन्छ, “ए रैछाकुले, मलाई पनि केरा देऊ न ।” उसले केरा टिपेर चाक्लुङधिमालाइ दिन्छ । यही मौका पारेर चाक्लुङधिमाले रैछाकुलेलाई हात समाती तानी झार्छ र थुन्सेमा राखेर घरतिर लान्छ । बाटोमा थुन्से बिसाएर चाक्लुङधिमा दिसा गर्न जान्छ । यही मौकामा रैछाकुले थुन्सेमा ढुङ्गा राखि भाग्छ । घर पुगेर थुन्से हेर्दा ढुङ्गा मात्र देखेर चाक्लुङधिमा फेरि केराको बोट भएको ठाउँमा आँउछ । त्यहाँ रैछाकुले खुट्टा हल्लाई केरा खाइरहेको हुन्छ ।

राक्षसनीले फेरि भन्छ, “ए बाबु मलाई पनि केरा देऊ न ।” चाक्लुङधिमाको कुरा सुनेपछि रैछाकुलेले भन्छ “तँ राक्षसनीलाई दिन्नँ।” “त्यसो नभन न । म भोकले मर्न आँटे ।” चाक्लुङधिमाले आँसु खसाउँदै भन्छ। केटाकेटीको मन न हो, पग्ल्यो होला र एक कोसा केरा भुँइमा फ्याकि दिन्छ । चाक्लुङधिमाले भुँइमा झरेको केरा खान मान्दैन। उस्ले भन्छ “हेर बाबु, भुँइमा झरेको खाने कुरा म कहिल्यै खान्नँ । हातैले देऊ न ।” रैछाकुले भन्छ, “निकै बाठी हुन खोज्छेस् । फेरि समातेर लैजाउला भन्दी होस् ।” रैछाकुलेको कुरा सुनेपछि चाकलुङधिमाले भन्छ—“तिमीलाई त्यस्तो लाग्छ भने खुट्टाले नै देऊ न ।” रैछाकुलेले खुट्टामा केरा राखेर दिदा चाकलुङधिमाले समातेर फेरि उसलाई घर पुराँउछ । घरमा छोरीलाई बोलाएर भन्छ “ए श्रीथुङमा, मीठो शिकार ल्याएको छु । पकुवा बनाउनु । म तेरा मामाहरूलाई बोलाएर ल्याउछु ।” भन्दै चाकलुङधिमा माइतीघरतिर लाग्छ ।

श्रीथुङमाले खडकुलोमा पानी उमाल्न थाल्छ । खुकुरी ल्याएर रैछाकुलेलाई थुन्सेबाट निकाली मार्न लाग्दा रैछाकुलेको घुङरिएको केश देखेर सोद्छ “ए केटा, कसरी तेरो यति राम्रो केश भयो हँ ।” रैछाकुले आफु उम्कने यही मौका हो भन्ने सोचेर भन्छ“ उम्लिएको तेल टाउकोमा खन्याउनु पर्छ । यस्तो भइहाल्छ नि ।” त्यसपछि दुवैले मिलेर तेल उमाल्न थाल्छ । श्रीथुङमा पिरामा बस्छ । भकभक उम्लिएको तेल रैछाकुले श्रीथुङमाको तालुमा खनाइ दिन्छ । श्रीथुङमा तत्कालै मर्छ ।

रैछाकुलेले श्रीथुङमाको कपडा ओड्छ । श्रीथुङमाको लाश टुक्रा टुक्रा पारेर मासु पकाउँछ । चाकलुङधिमा पनि माइतीहरूलाई लिएर आईपुग्छ । उसले श्रीथुङमालाई बोलाउँछ । तल्लामाथिबाट रैछाकुलेले श्रीथुङमाकोजस्तो स्वर बनाएर बोल्छ। चाकलुङधिमा ढोकाछेउको डुँडको रगत पिएर मात्छ । माइतीहरूलाई पनि मासु खान दिन्छ । माइतीहरूपनि मासुले मात्न थाल्छ । केही बेरपछि माइतीहरू आफ्ना घर जान्छन । चाकलुङधिमा भने मातेर सुत्छ । यही मौकामा बदला लिन पर्यो भन्ने सोचेर रैछाकुले केश कोर्ने थाँक्रो, कोदोको पिठो र अण्डा गोजीमा राखेर चाकलुङधिमाको आँखामा खोटो लगाई घरको धुरीमा चढ्छ र कराईकराई भन्न थाल्छ “छोरीको मासु खाने, छोरीको मासु खाने” यो सुनेर चाकलुङधिमालाई छोरीको मासु खाएको शङ्का लाग्छ र आँखा खोल्न खोज्छ । आँखा खोलिन्दैन । उसले छुरीले आँखा तात्छ, आँखा खोलिन्छ तर दुवै आँखाबाट रगत बग्न थाल्छ । चाकलुङधिमालाई रिस उठ्छ र रैछाकुलेलाई खान धुरी चड्छ । रैछाकुले उसलाई जिस्काउदै हाम फाल्छ र भाग्छ ।

चाकलुङधिमाले लखेट्न थाल्छ । रैछाकुलेलाई चाकलुङधिमाले भेट्न भेट्न आटेको बेला केश कोर्ने थाँक्रो उसले फ्याकि दिन्छ। थाँक्रोमा अड्केर लड्छ । यही मौकामा रैछाकुले धेरै पर पुग्छ । रैछाकुले भागेको भागै गर्न थाल्छ । चाकलुङधिमा खेदेको खेदै गर्न थाल्छ । धेरै दिनपछि फेरि चाकलुङधिमाले भेट्न भेट्न आँटछ । रैछाकुलेले कोदोको पीठो फ्याकि दिन्छ । कोदोको पीठो आँखामा परेर हेर्नै नहुने हुन्छ । रैछाकुले भागेर टाढा पुग्छ । फेरि चाकलुङधिमा रैछाकुले भए ठाउँमा आई पुन आँट्छ । रैछाकुले भाग्न थाल्छ। रैछाकुले भागेको भागै गर्न थाल्छ । चाकलुङधिमा खेदेको खेदै गर्न थाल्छ । फेरि पनि भेट्न भेट्न आँट्छ । यही समयमा रैछाकुलेले अण्डा गोजीबाट निकालेर चाकलुङधिमापट्टि फर्काएर फ्याँकि दिन्छ । अण्डामा चिप्लिएर रिसको झोकमा चाकलुङधिमाले ग्वाम्ल्याङ्ग सुनकोशीमा खस्न पुग्छ । सुनकोशीले उसलाई बगाएर लान्छ। रैछाकुलेले बल्ल सन्चोको स्वास फेर्छ । चाकलुङधिमा लाईबगाए पछि रैछाकुले बाटो खोज्दै खोज्दै आफ्नो घर आउछ ।

७. तयामा खियामाको पुर्नमिलन:

यता धेरै बर्षपछि तयामालाई बहिनी खियामा र भाई रैछाकुलेको सम्झना आँउदछ । भाई त मरिहाल्यो बहिनी के गर्दै होला भनि सोच्दछ । बहिनी दुख बिमार मा छ कि संचै होला भनि सोच्दछ । उ बिरुवा रोपि छुट्टिएको सम्झना गर्दछ । उस्लाई त्यो बिरुवा हेर्न जान मन पर्दछ । उ नेवालाककला डाँडामा आउछन् । नभन्दै बहिनीले रोपेका गोआबुङ बिरुवा ओइलाएर सुक्दै गरेको पाउदछ । यसपछि बाहिनी बिमारी भएछ भनि बहिनी खोज्दै औलतिर झर्दछ । खोज्दै जाँदा औलको एउटा घरमा बहिनीलाई भेट्दछ । बहिनी चर्को बिरामीले थला परेको हुन्छ। दिदिले बहिनीलाई नेवालाककला डाँडामा ल्याउँछिन । दिदिले बहिनिलाई स्याहार सुसार गर्दै संचो पार्छिन । त्यसपछि दिदि बहिनी धेरै कुराकानी गर्छन । दिदि बहिनीले विगतलाई सम्झेर धेरै धेरै रुन्छन । भाईलाई सम्झेर रुन्छन। भनिन्छ, भदौ/असोज महिनातिर दिदि बहिनि भेटेको बेलामा झरी परि रावाखोला र तावा खोलामा अझै पनि अन्तिम भेल बग्दछ ।

(यस दिन हङकङमा तयामा खियामा दिवस मनाउने परिकल्पना गरिएको हो।)

त्यस पछि उनिहरु त्यहि तायाचुम जायाजुम डाँडामा कपासको खेती गर्दै तान बुनि कपडा बनाई जिविकोपार्जन गर्दै बस्छिन । जंगली (शिकारी) जीवन व्यतित गरेका मानवहरुले सुरुमा नरम खालका रुखपात का बोक्रा जनावरका छाला कपडाको रुपमा प्रयोग गर्थे। पछी कपडा बुन्नु मानव जातिले गरेको अर्को महान आविष्कार थियो । जुन तयामा खियामाले सुरु गरेका थिए ।

८. नागेलुङ र रैछाकुले को प्रेम:

यता रैछाकुले पनि ठुलो हुन्छ । एक दिन माछा मार्ने क्रममा जाल हान्दै जाँदा अचानक आफ्नो जालमा एउटा ढुङगा पर्दछ । त्यो ढुङगालाई त्याँहि पानीमा फ्याँकि दिन्छ । फेरि जाल हान्छ, फेरि त्यहि ढुँङगा पर्दछ । फेरि फ्याँक्छ फेरि पर्छ । अन्तिममा दिक्क भएर यो ढुँङगा त घरमा अचार पिस्नु काम लाग्छ भनि घर ल्याएर आँउछ । खासमा त्यो ढुँङगा एक नागराजको सुन्दर छोरि नागेलुङको ढुङगा हुन्छ । नागेलुङ त्याँहा नुहाउदै गरेको बेला रैछाकुले माछा मार्दै आएको देखेर पर ढुङगाको पछाडी लुकेर बसेको हुन्छ । आफ्नो ढुङगा लग्यो भनेर नागेलुङले पनि रैछाकुलेलाई पछाडिबाट लुक्दै पच्छाउदै जान्छ र रैछाकुलेको घर पुग्छ। रैछाकुलेले त्यो ढुङगा चुलामाथिको सरङ (भार) मा राखि खानपिन गरि सुत्दछ । नागेलुङले झ्यालबाट लुकेर चियाई रहेको हुन्छ । सुतेपछि लान्छु भनि सम्झिन्छ तर भित्रबाट चुकुल लगाएको हुनाले लान सक्तिन । भोलि बाहिर गएको बेला लान्छु भनि उ पनि घर फर्कन्छ ।

सुत्ने बेलामा नागेलुङले रैछाकुलेलाई सम्झिन्छ । रैछाकुलेको आकर्षक शरिर, हस्टपुस्ट जिउडाल, आकर्षक अनुहार सम्झेर मोहित हुन्छे । भित्रभित्रै मन पराउन थाल्छे । भोलि पल्ट रैछाकुलेको घरमा जान्छ तर रैछाकुले घरमै बसि रहेको हुन्छ । उस्ले फेरि लुकेर हेर्छ । भरै साँझ साँझ पर्ने बेलामा रैछाकुले घरबाट जाल बोकि निस्कन्छ । त्यहि मौका पारेर नागेलुङ घरभित्र पस्दछ र आफ्नो ढुङगा खोज्न थाल्दछ । ढुङगा सरङमा राखेको पाउदछ र लानको लागि निकाल्दछ । फेरि एक मनले सोच्दछ, उस्ले मनपराएर ल्याएको ढुङगा किन लानु । ढुङगा त अरु पाईहाल्छुनी बरु एक्लई रहेछ खानापो पकाईवरि जानु पर्यो भनि खाना पकाई दिन्छ र घर जान्छ । वास्तवमा नागेलुङले रैछाकुलेलाई अत्यन्तै मन पराई सकेको हुन्छ । भरै रैछाकुले घर आउँदा खाना पाकि रहेको हुन्छ। उ छक्क पर्छ कस्ले पकायो भनेर । भोक लागि रहेको बेलामा खाना पस्केर खान्छ । खाना साह्रै मिठो हुन्छ । अचम्म मान्दै सुत्दछ।

भोलि पल्ट फेरि साँझ पख तिर माछा मार्न जान्छ । यस बेला पनि नागेलुङ घरभित्र छिरि खाना पकाईवरि जान्छ। भरै रैछाकुले घर आँउदा फेरि मिठो खाना पाकिरहेको हुन्छ । अचम्म मान्दै फेरि खाएर सुत्छ । यो क्रम दिनदिनै हुन थाल्दछ र रैछाकुले अचम्म मान्दै कस्ले खाना पकाउद रहेछ लुकेर बसेर पत्ता लाउनु पर्यो भनि बिचार गर्छ । र एक दिन सदाझैं माछा मार्न गएको जस्तै गरेर लुकेर बस्तछ । अचानक उस्ले देख्छ एक सुन्दर कन्या उस्को घरभित्र छिरि खाना पकाएर गएको देख्छ । भोलि पल्टचैं खाना पकाई रहेको अवस्थामा पक्डिन पर्यो भनि बिचार गरि बस्छ । भोलि पल्ट सदाझैं माछा मार्न गएको झैं गरि लुकेर बसि नागेलुङले खाना पकाउदै गर्दा अचानक भित्र पसि नागेलुङलाई समात्छ । नागेलुङ अतिनै डराउछ तर रैछाकुले कोहो? कहाँ बस्ने हो? कस्को छोरी हो? सविस्तार कुराहरु सोद्दछ । नागेलुङले सबै बताउदछ । अन्त्यमा रैछाकुले र नागेलुङको प्रेम बस्दछ र उनिहरु विवाह गर्ने निधो गर्दछ ।

तर विवाह गर्ने निधो गरेता पनि नागेलुङका बाबाले जस्ले मेरो छोरी माग्न आउँछ उस्ले सुनको माला दिन पर्छ । उस्लाई मात्र छोरी दिने भन्ने शर्त राखेको कुरा नागेलुङले रैछाकुलेलाई सुनाउदछ । रैछाकुलेसंग सुनको माला हुदैन र के गर्ने भन्दा मामाहरुसंग सरसल्लाह लिने बिचार गर्दछ । त्यसपछि रैछाकुले सरसल्लाहको लागि मामा घर जाँदछ।

९. मावलीद्वारा सरसहयोगः

मावली घर पुग्दा सुनकोशीले बगाएको चाकलुङधिमा नोकर्नी भएर काम गरिरहेकी रहिछ । रैछाकुलेले मामाहरूलाई चाकलुङधिमा राक्षसनी भएको कुरा बताउदछ । मामाहरूले उसलाई खाजाको पोको दिएर घरबाट निकालि दिन्छ । चाकलुङधिमा रुदैरुदै जान्छ । बाटामा उसलाई भोक लाग्छ । उसले पोकोबाट खाजा निकाली खान लाग्दा एकाएक बाघ, भालु, सिंहजस्ता जनावरहरू आएर चाकलुङधिमालाई खाइ मार्दछ । चाकलुङधिमाको भुइमा झरेको रगतबाट भुसुना, लामखुट्टे, उपियॉ, जुकाजस्ता किराहरू बन्दछ । यसभन्दा अगाडि यस्ता किराहरू थिएनन् । राक्षसनीको रगतबाट बनेको हुदा नै यी किराहरूले मानिसको रगत खान थालेका हुन् भनिन्छ ।

रैछाकुले मामाहरूलाई नागेलुङको बारेमा कुरा सुनाउदछ । आफुहरु प्रेममा बाँधिएको र विवाह गर्ने कुरा सुनाउदछ । तर नागेलुङका बाबाले जस्ले मेरो छोरी माग्न आउँछ उस्ले सुनको माला दिन पर्छ । उस्लाई मात्र छोरी दिने भन्ने शर्त राखेको कुरा मामाहरुलाई सुनाउदछ । मामाहरुले सम्पुर्ण कुरा बुझेपछि हामी सहयोग गर्दछौं भन्दछ । मामाहरुले नागेलुङलाई माग्न जाने दिनको तिथिमिति मिलाई धेरै धनसम्पत्ति रैछाकुलेलाई दिई पठाउछ । त्यो धनसम्पत्ति लिएर रैछाकुले घर फर्किन्छ ।

१०. नागेलुङ र रैछाकुलेको शुभविवाहः

सबै कुराहरु मिलाएर एक दिन रैछाकुले र उस्का मामाहरु नागेलुङको घर गई उस्को बाबुआमालाई नागेलुङ माग्न आएको बताउदछ । नागेलुङको बाबु नागराजले मेरो छोरी लानेले मेरो छोरीलाई सुनको गहना दिनु पर्दछ अनि मात्र लान पाईन्छ भन्ने शर्त राख्दछ । रैछाकुले मामाले दिएको धनसम्पतीबाट सुनको गहना निकालेर नागेलुङलाई दिन्छ । बाबु नागराज पनि सुनको माला छोरीले पाएको देखेर ज्यादै खुशि हुन्छन । र अझै सुनचाँदि, धन, सम्पत्तिहरु दिई विवाह गरि घर पठाँउदछ ।

यसै समय देखि बेहुली माग्दा सयमुन्द्रि दिने चलन आएको भनिन्छ ।

११. तायामा, खियामा र रैछाकुलेको भेटः

यता रैछाकुलेले बुहारी ल्याई घर पट्टि विवाह गर्न लाग्दा दिदीहरू तायामा र खियामालाई सम्झिन्छ । विवाह गर्दात चेलीहरु चाहिन्छ भनि सम्झन्छ । उनीहरू अवश्य जिउदै हुनुपर्छ भन्ने लागेर रैछाकुलेले चारैतिर खबर पठाउँछ । खबर गर्ने कामको जिम्मा कखुराको भालेलाई दिन्छ । कुखुराको भाले नेवालाककला डॉडामा पुगेर बास्न थाल्छ । “कुकुरी काँ, कुकुरी काँ” । तायामा र खियामाले भालेको स्वरमा “रैछाकुले, रैछाकुले” भनेको सुन्छ र पछ्छाउदै आउँछ । उनीहरू आएको देखेपछि भाले अगाडि अगाडि बास्दै बास्दै र पछि पछि तायामा र खियामा पछ्छाउदै रैछाकुलेको घरमा आई पुग्छ ।

मर्यो भनेर चिहानमा गाडेको भाईको विवाह हुँदै गरेको देखेर तायामा र खियामा खुशीले रुन थाले । रैछाकुलेले उनीहरूलाई घरभित्र आउन बोलाउँछ । तर दिदीहरू घरभित्र आउन मान्दैनन् । रैछाकुलेले अब के गर्ने दिदिहरु त घरमा पस्न मान्नु हुन्न त भनि नागेलुङलाई सोद्दा चेलीहरूको लागि विशेष सत्कारपूर्वक कटेरा बनाइ दिनु अति तेहा राख्नु भन्दछ । सोही अनुसार रैछाकुलेले बिशेष कटेरा बनाई दिन्छ र दिदिहरुलाई तेस्मा राख्दछ ।

त्यसैबेलादेखि किरातहरूको विवाहमा छोरीचेलीहरूलाई विशेष सम्मानसाथ बाहिर कटेरामा राख्ने चलन छ ।

अब भाइ रैछाकुलेको विवाहको रीत (संस्कार) सुरु हुन्छ । भाइको ‘शिरउभ्याउनी’ का लागि तायामा खियामाले ‘लिम्चिबुङ र गोआबुङ’ फूलले भाइको शिरउभ्याउनी गर्दछ ।

त्यही बेलादेखि विवाहमा चेली चाहिने र चेलीले माइतीलाई फूलमाला लगाइदिएर ‘शिरउभ्याउनी’ गर्ने चलन चलेको मानिन्छ ।

रैछाकुलेको विवाह धुमधामसग सम्पन्न हुन्छ । विवाह सम्पन्न भएपछि दिदी-भाइको छुट्टनिे बेला पनि हुन्छ । भाइ-बुहारीले दुबै दिदीहरू तायामा खियामालाई ढोल-झ्याम्टा बजाएर कोशेली दिई बिदाइ गर्दछन ।

त्यसैबेलादेखि आजसम्म किरात समुदायमा छोरीचेलीलाई बिदाइ गर्दा ढोल-झ्याम्टा बजाउने र कोशेली दिने चलन छ ।

१२. खाध्य वस्तुको पहिचान :

रैछाकुलेले सिकार खेल्ने क्रममा विभिन्न चरा चुरुङ्गीहरु मार्दछ । उस्ले चाराचुरुङ्गीहरु खाई तेस्को गाँड बारीमा फाल्दछ । फालेको गाँडबाट विरुवाहरु पलाई फल्न थाल्दछ । उस्लेले सोच्दछ कि चराचुरुङगीहरु खाएर तेस्को गाँड फ्याँकेको थिए, त्याहाँबाट बिरुवा पलाई फल फल्न थाल्यो । यो चराचुरुङ्गीलाई मैले खाँएको थिएँ । यो चाराचुरुङ्गीले खाएको गाँडबाट फल पलायो । अब यो फल मैले खाँदा केहि हुदैन भनि सोँच्छ र फल खान थाल्छ । तर त्यो फल खाएर उ बिमार हुन्छ । अत्यन्तै सारो बिमार हुन्छ । औषधीमुलो गर्दा पनि केही हुँदैन ।

१३. पितृपुजा (न्वगी) को शुरुवातः

यसरी उ बिमार भए पछि नागेलुङलाई साह्रै चिन्ता पर्छ । उस्ले सोच्न थाल्छिन कि के भएर बिमार भयो । उस्ले सोचे कि नया अन्नबाली पितृ पुर्खालाई नचढाई खाएका कारण बिरामी परेको हो भनि निचोड निकाले र रैछाकुलेलाई पितृहरुको पुजा गर्न लगाई। नया अन्नबाली पितृहरुलाई चढाउन लगाई । त्यस पछि रैछाकुलेलाई खान लगाई । यसो गर्दा उ बिमार भएन । अझ हस्टपुष्ट भए । हाल आएर किरात राईहरुले नया अन्नबाली खान अगावै पितृपुजा गर्ने चलन रहेको छ ।

त्यसैबेलादेखि आजसम्म नया अन्नबाली पाकेपछि पितृपुजा (न्वगी) गर्ने चलन छ ।

१४. छोराको मृत्युः

रहँदा बस्दा नागेलुङ र रैछाकुलेको छोरा भयो । रैछाकुलेले घर बनाउने विचार गर्यो । जब रैछाकुले घर बनाउन मुल खांबो काटेर जंगलबाट ल्याउछ तर त्यो खांबोमा बोलो अडिदैन रैछाकुलेले नागेलुङलाई कसरी खाँबोमा बोलो अड्काउने भनि सोद्दछ । अनि नागेलुङले बनको चिभे चरीको पुच्छर देखाउदै रैछाकुलेलाई उ त्यस्तो काठ काटि ल्याउनु भनी अह्राउछ, अनि चिभे चरीको पुच्छर जस्तै मुल खांबो काटेर ल्याउँदछ । तर खॉबो राख्ने दुलोमा खॉबो गाड्दा दुलोभित्र छोरा खसि झर्छ र खाँबोले किचेर छोराको निधन हुन पुग्छ ।

१५. घरपुजाको शूरुवातः

छोराको मृत्यु भएपछि रैछाकुले र नागेलुङलाई असाध्यै पीर पर्दछ । उनीहरूले यस्तो अपसगुन किन भयो भन्नेबारे सोच्दा नागेलुङले घरपुजा नगरि घरको खाँबो गाढ्दा अपसकुन भएको निर्क्यौल निकाल्दछ र छोराको कृयाकर्म सकेपछि नागेलुङकै सल्लाह अनुसार घरपुजा गरेरमात्र घर बनाउन थाल्दछ ।

त्यसैबेलादेखि नया घर बनाउँदा घरपुजा गर्ने चलन आएको हो भनिन्छ ।

१६. कृषी तथा पशुपालनको विस्तार :

यसपछि उस्ले खेतिपाति शूरु गर्न थाल्दछ । उनै रैछाकुलेले कृषी युगको बिस्तार गरेको किम्वदन्तीहरुमा पाईन्छ । अलि ठुलो भएपछि पशुजनवारहरुको शिकार गर्न धनुबाणको अविष्कार गरे । धनुबाण बनाई पशुजनवारहरुको शिकार खेल्न थाले। जिउँदै पक्रेका पशुजनवारहरुलाई घरमा पाल्न थाले । त्यसबाट जन्मेका पशुजनवारहरुलाई घरको काममा लगाउने, खेतिपातीको काममा सहयोग गर्न लगाउने, मासुको आवश्यक परेमा काटि खाने आदि गर्न थाले । ठुलो भएपछि खोलामा गई माछा मार्न थाले । माछा मार्न सजिलोको लागि माछा मार्ने जालको अविष्कार गरे ।

१७. उधौली उभौलीको शुरुवातः

खेतीपातीका शुरुवात गरेदेखि नागेलुङले कहिले देखि खेतिपाती लगाउने? र कहिले देखि खेतीपाती थन्काउने? आदिबारे समय तालिकाको मापन गरे ।

त्यसैबेलादेखि पशुपंछि उभोलागे पछि खेतीपाती लगाउन शुरु गर्ने र पशुपंक्षि उधो झर्न थाले पछि खेतिपातीहरु थन्काउन थाल्ने चलन चलाएको हो ।

१८. रैछाकुलेका सन्तान हामी किरातहरुः

रहँदै बस्दै जाँदा पछि रैछाकुले र नागेलुङले २ वटा छोरा जन्माए रे । उनिहरुको जीवन आनन्दपूर्वक बित्यो रे । उनीहरुले प्रशस्त धनसम्पत्ति र मानप्रतिष्ठाले कमाए रे । भनिन्छ, यो पृथ्वीमा रैछाकुलेले अनन्त समयसम्म प्रतिष्ठापूर्वक जिवन ब्यातित गरिरहे रे ।

उनिहरुकै सन्तानहरु हौं हामि किरातहरु ।

परिच्छेद ३

१९. श्रोत सामाग्रीहरुः

  1. पर्खनबहादुर राईको सांस्कृतिक लेख (वाङ्मय -११, दोर्पा, खोटाङ) ।
  2. माझकिराँत क्षेत्रमा प्रचलित ऐतिहासिक किंवदन्तीमा आधारित लोककथा, मधुपर्क २०६७ कात्तिक ।
  3. किराँती लोक कथा : तोयामा-खियामा र हेचाकुप्पा, रामविक्रम थापा
  4. मुन्धुमस्टार टिम /बिभिन्न श्रोत
परिच्छेद ४

सातौं तयामा खियामा दिवस २०२३ को हार्दिक निमन्त्रणाः