किरातीहरुको आदिम थलो कहाँ ?

किरातीहरुको आदिम थलो कहाँ ?

– भोगीराज चाम्लिङ

मौखिक रूपमा एकदेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको मुदुम मा इतिहासभन्दा पुराना प्राग्ऐतिहासिक स्थानहरूको उल्लेख हुने गर्छ । एक हिसाबले मुदुम हजारौं वर्षअघिको किरातहरूको यात्रावर्णन पनि हो । यात्रावर्णनमा उल्लेख हुने स्थानका आधारमा किरातहरूको आदिमथलो र बसाइँसराइको मार्गबारे अध्ययन गर्न सकिन्छ । खासमा ती स्थानहरूलाई किरातहरूको प्राग्इतिहास चिह्याउने आँखीझ्याल भनिदिए पनि फरक पर्दैन । त्यस्तै एउटा आँखीझ्याल हुन सक्छ नियामा । प्रायः किरात राईहरुको मुन्दुममा आदिमथलोको रुपमा वर्णन हुने यो ठाउँ कहाँ पर्ला भन्नेबारेमा केही अध्येयताहरुले अध्ययन गर्ने प्रयत्न पनि गरेका छन् । तर, ती अनुमान र सामान्य तर्कका रुपमा मात्र सीमित रहेका छन् । तथ्यहरुका आधारमा नियामाबारे बताउन सक्ने हो भने पाँचदेखि दश हजार वर्षपूर्वका किरातहरुलाई चिन्न सकिन्छ ।

मुदुममा नियामा/निवामा

किरात राईहरूका मुदुमअनुसार उनीहरूको आदिमथलो नियामा÷निवामा हो । तर, केही राईहरूले खुवालुङलाई पनि आदिमथलो बताउने गर्छन् । सबै राईहरूले बताउने साझा कुरा चाहिँ के भने खुवालुङपछि वराहक्षेत्र हुँदै किरात पुर्खाहरू सप्तकोशी पार गरेर खोला–नदी पछ्याउँदै नेपालको पूर्वी पहाडमा फैलिएका हुन् ।

मुदुम गाउने क्रममा नछुङ (धामी) हरूले सबैभन्दा पहिला चुलाको पुकार गर्छन् । चुलाको पुकार गरेर क्रमशः सँघार, सिकुवा, बलेसी, आँगन, धारा–कुवाबाट हुँदै आदिमथलो नियामा÷निवामासम्म पुग्छन् र नियामा/निवामाबाट पुकार गर्दै पुनः चुलामै आइपुग्छन् । मुदुम गाउँदा नछुङहरूले एउटा चक्र पूरा गर्छन् । नछुङहरूले सांस्कृतिक यात्रा (ritual journey) चुलाबाट सुरू गर्दा नियामा÷निवामाको पुकार अन्तिममा आउँछ भने फर्किंदा नियामा/निवामाबाट सुरू भएर चुलाको पुकार अन्तिममा आउँछ ।

नियामा/निवामाका बारेमा किरात राईहरुका मुदुममा विभिन्नथरि व्याख्या र थरिथरि शब्द प्रयोग भएको पाइन्छ । जस्तो कि कुलुङ राईहरू आदिमथलोलाई नावामा भन्ने गर्छन् (Nicoletti, 2006 :163) भने चाम्लिङ राईहरूले नियामा/निवामा भन्ने गर्छन् (चाम्लिङ, २०७० : ८३) । बान्तावा राईहरूले नेवामा 2  भन्ने गर्छन् भने साम्पाङ राईहरू नेवला÷नेवालालाई आदिमथलो मान्ने गर्छन् (राई २०७० :२३२ र २८९)  । याम्फूहरुले निवालुङ भन्छन् (Yamphu : 50) ।

लिम्बूहरूले सृष्टिसम्बन्धी वर्णन गर्ने मुन्धुमलाई ‘नावा चःइत्’ भन्ने गर्छन् (वैरागी २०६० : १) । सृष्टि भन्ने अर्थ बुझाउन प्रयोग गरिने ‘नावा’ शब्द कतै आदिमथलो बुझाउने शब्दबाट अर्थ परिवर्तन पो भएको हो कि ? थप अध्ययनको आवश्यकता छ । किरात राईहरूले भन्ने गरेको आदिमथलो निवामा/नेवामा/नावामासँग यसको नजिकको सम्बन्ध हुन सक्छ ।

कुलुङ राईहरू आफू उत्पत्ति भएको थलो ‘मिनापोङ्खा हलखुम्बु’लाई मान्ने गर्छन् । निकोलेट्टीले यो ठाउँलाई सप्तकोशीको तल्लो मैदानको रूपमा व्याख्या गरेका छन् (Nicoletti, 2004:64) । तर यो शुद्ध अनुमान मात्रै हो किनभने पुरातात्विक, भाषा र वंशाणु अध्ययनले राईहरुको उत्पत्ति नेपालको तराईमा भएको पुष्टि हुँदैन । कुलुङ धामीहरूले सांस्कृतिक यात्रा गर्ने क्रममा मिनापोङ्खा हलखुम्बुपछि नावामाको कुरा गर्छन् (Nicoletti, 2004:163) । कुलुङहरू नावामाको पुकार गरेपछि अन्न उत्पत्ति भएको थलो चासुमपोङ्खाको कुरा गर्ने गर्छन् (Nicoletti, 2004:60, 163) ।

चाम्लिङ मुदुमअनुसार किरातहरू नछुङ (shamanism) सहित नियामा÷निवामाबाट आएका हुन् । मुदुमअनुसार नियामा÷निवामामा सुर्लुमी, मुबुमी, कुबुमीजस्ता नछुङ (धामी)हरू पैदा भइसकेका थिए । अगेना पुज्ने र अजिङ्गर पुज्ने किरात पुर्खाहरू पैदा भइसकेका थिए (चाम्लिङ २०७१ : ७६) । नियामा÷निवामाबाट धामीले ढोल, थाल, कर्छारी (ढोल–थाल बजाउने)हरू ल्याएका थिए (चाम्लिङ २०७१ : ८५) । चाम्लिङ नछुङहरूले विरामीको उपचार, शिर उभ्याइदिने आदि थुप्रै कार्य गर्दा नियामा÷निवामाको नाम लिने गर्छन् (चाम्लिङ २०७१ : ७५–११२) । कतिपय क्षेत्रका चाम्लिङहरूले नियामा–ताप्कुमा शब्द पनि प्रयोग गर्ने गर्छन् (Ebert & Gaenszle 2008 : 77) ।

चाम्लिङ शब्दकोशमा नियामाको अर्थ मधेश भनेर गरिएको छ भने नियामाछँ भनेर पराललाई अथ्र्याइएको छ (राई सन् २००७ : १५६) । बान्तावा शब्दकोशमा नियामालाई मलिलो जग्गा, उब्जाउशील भूमि, बढी अन्न फल्ने जमिन तथा तराई, मधेश भनेर मुन्दुमी शब्दको रूपमा अथ्र्याइएको छ (बान्तावा २०६७ : १२०) ।

चाम्लिङ नछुङ (धामी) शिवराज राईका अनुसार नियामा भनेको भारतको काशी हो । तर, यो पनि शुद्ध अनुमान मात्र हो । माथि भनिएजस्तै पुरातत्व, भाषा र वंशाणु अध्ययन कुनै पनि कुराले किरातहरुको आदिमथलो काशी हो भन्ने पुष्टि भएको छैन । त्यस्तै गडुलमान राईले नियामालाई नेपालको अहिलेको तराई भनेका छन् (राई २०६६ : ११४–११५) । यो पनि उब्जाउशील भूमि देखेर गरिएको व्याख्या मात्र हो । भोगीराज चाम्लिङले चाहिँ नियामा (निवामा÷नावामा÷नायोङ्मा) चीनको सिन्जियाङ प्रान्तमा पर्ने ‘निया’ हुन सक्ने तर्क अघि सारेका छन् । भोट–बर्मेली भाषा परिवारमा स्थाननामका पछाडि ‘मा’ प्रत्यय जोडिने भएकोले ‘निया’ शब्दमा ‘मा’ जोडिएर ‘नियामा’ भएको हुन सक्ने तर्क गरेका हुन् उनले (चाम्लिङ, २०७० : ३४–३५) ।

करेन एबर्टले नियामालाई उब्जाउशील मैदान जहाँ महिला पुर्खा (female ancestor) पैदा भए भनेर व्याख्या गरेका छन् (Ebert & Gaenszle 2008 : 97) । ठीक यहाँ चाहिँ राहुल सांकृत्यायनले किरातहरू ईसापूर्व १००५० वर्ष पहिले भारतका जंगलमा जहींतहीं पाइन्थे, उनीहरू मातृसत्तात्मक व्यवस्थामा थिए (सांकृत्यायन सन् २०११ : १९) भन्ने कुरा स्मरणीय छ ।

याम्फूहरूले तराईलाई याङ्ली भन्ने गर्छन् (Yamphu :53) तर यो नेपालको तराई हो कि चीन अथवा भारतमा पर्छ ? याम्फू मिन्दुमअनुसार पप्पा र ममेकले निवालुङ सृष्टि गरेका हुन् र निङवालुङ हावाको थलो हो (Yamphu : 50) । याम्फू मिन्दुममा निवालुङलाई पृथ्वीको कुनै स्थानका रुपमा भन्दा पनि अलौकिक रंग दिइएको छ ।

साम्पाङ राईहरूका अनुसार नेवला÷नेवाला अन्नबाली उत्पत्ति भएको थलो हो (राई २०७० : १८३) । अहिले उब्जाउशील भूमि देखेर होला, नेवला÷नेवालालाई नेपालको मधेश भनेर खगेन्द्र राईले व्याख्या गरेका छन् (राई २०७० ः २९०) । तर यहाँ स्मरणीय कुरा चाहिँ के भने सन् २०१० र २०११ मा लुम्बिनी मायादेवी मन्दिरवरिपरि गरिएको उत्खननले त्यो क्षेत्रमा इसापूर्व १३०० मा प्रारम्भिक खेती सुरू भएको पत्ता लागेको छ (Coningham & Acharya, 2013:11) । तर, चीनको ह्वाङहो (यल्लो रिभर) र याङ्जे नदीको उपत्यकामा योभन्दा धेरै पहिला इसापूर्व १०००० वर्षअघि खेतीपाती सुरू भइसकेको थियो । र, यही नदीको उपत्यकाबाट भोट–बर्मेली भाषा बोल्नेहरू बसाइँ सरेर चीन र नेपालमा फैलिएको अध्ययनले देखाएको छ ।

सबैथरि राईहरुको मुदुम संकलन नभइसकेको र कतिपयको संकलन भए पनि खसभाषालगायतमा अनुवाद नभइसकेको कारण नियामा÷निवामाका बारेमा धेरै भन्न सकिएन । तर, उल्लेखित कुराहरुका आधारमा किरात राईहरूले मुदुममा वर्णन गर्ने नियामा÷निवामाका ४ वटा विशेषता देखिन्छ । एक, नियामा÷निवामा किरातहरुको आदिमथलो हो । दुई, नियामा÷निवामा खेतीपाती सुरु गरिएको उब्जाउशील थलो हो । तीन, नियामा÷निवामा सम्म परेको मैदान हो । र चार, किरातहरुले नछुङ (धामी) प्रथा नियामा÷निवामाबाट लिएर आएका हुन् । यी चार विशेषताका आधारमा नियामा÷निवामा कहाँ पर्छ भन्ने विश्लेषण गर्न सकिन्छ ।

क) कागुन खेतीको सुरुवात
किरातहरूले खेती गर्ने प्राग्ऐतिहासिक अन्नहरूमध्ये कागुनी एक हो । अहिले फाट्टफुट्ट खेती गरिने यो अन्न उनीहरूको पितृपूजामा प्रयोग हुने गर्छ ।

चाम्लिङ राईहरूले कागुनीलाई फ्यार, साप्खिचा, फेरों भन्ने गर्छन् । बान्तावा राईहरूले फेसाक, फेसा भन्ने गर्छन् । याम्फूहरूले पिया शब्द प्रयोग गर्छन् भने लिम्बूहरू पया? भन्ने गर्छन् । यता दुमी राईहरूले कागुनीलाई बुछु, बुहु भन्छन् ।

खालिङहरूले ब्यो भन्ने गर्छन् । सिनो–तिब्बती (भोट–चिनिया) भाषामा कागुनीलाई (van Driem 2008 : 235) भनिन्छ जुन किरात राईहरूले प्रयोग गर्ने शब्दको मूल हो ।

पुरातात्विक अध्ययनअनुसार ह्वाङहो (यल्लो रिभर) नदीको माथिल्लो–मध्य उपत्यकामा १० हजार वर्षअघि नवपाषाण युगको विकास भएको थियो । ती मानवहरू आधुनिक सिनो–तिब्बती मूलका पुर्खाहरू थिए (Su, 2000: 582) । सिनो–तिब्बतीका पुर्खाहरूले ह्वाङहो नदीको माथिल्लो र मध्य–उपत्यकामा १० हजार वर्षअघि कागुन खेती (millet) । तर, भानड्रिमका अनुसार सिचुआनमा कागुन खेती सुरू भएको थियो ।

किरातहरूले कागुनीका लागि प्रयोग गर्ने शब्द र भोट–चिनियाँ भाषामा प्रयोग हुने शब्दमा समानता हुनु, कागुनीलाई पितृलाई चढाउने पवित्र अन्न मान्नु, चीनको यल्लोरिभरबाट कागुनीखेती अरुतिर फैलिनु र अहिले मासिँदै गए पनि केही समयअघिसम्म नेपालका किरातहरुले कागुनी खेती गर्नुले नेपालका किरातहरुको आदिमथलो चीन हो भन्ने देखिन्छ ।

ख) समनजिम् (धामीप्रथा)को उत्पत्ति
समनिजम् अर्थात् धामीप्रथा विश्वभरि नै फैलिएको छ । साइबेरियादेखि उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, एसिया, अफ्रिका सबैतिर समनिजम् पाइन्छ । विद्वान्हरूका अनुसार एक क्षेत्रका भाषा र संस्कृति अर्को क्षेत्रका भाषा र संस्कृतिसँग, त्यस्तै गरेर एक समुदायको र अर्को समुदायसँग सम्पर्क भएर समनिजम् विश्वभरि फैलिएको हो । अहिलेको समनिजम् कम्तीमा २०,००० वर्षअघि विकास भएको मानिन्छ । र, समनिजम्सँग सम्बन्धित चित्र फ्रान्सको लसकक्स गुफामा फेला परेको छ जुन कार्बनडेटिङबाट १४,००० देखि १२,६०० इसापूर्व मानिएको छ (Pratt, 2007: xvii) ।

समनिजम्को उत्पत्तिथलो साइबेरिया र मध्यएसिया(central Asia) लाई मानिन्छ (Price 2001:43) । नेपालको तराई क्षेत्र समनिजम्को उत्पत्तिथलो होइन । यसका साथै तिब्बती परम्परामा गुरूमपा शब्द प्रयोग हुने गरेको छ जुन शब्द किरातीहरूले धामीका लागि प्रयोग गर्ने मपा, मोपासँग मिल्दोजुल्दो छ । मुदुमले नियामा÷निवामामा धामी पैदा भइसकेको थियो भन्ने बताउने भएकोले नेपालको तराई नियामा÷निवामा हुन सक्दैन ।

ग) ६ हजार वर्ष पुरानो भाषा
पछिल्लो समयमा मान्छेको वंशाणुका आधारमा पुख्र्यौली अध्ययन गर्ने विज्ञानको सुरुवात भएको छ । पर्याप्त नभए पनि किरातलगायत थुप्रै जातिको वंशाणु अध्ययन भइसकेको छ । चीनमा त वंशाणुको अध्ययन व्यापक रुपमा भएको छ । ती अध्ययनले चिनियाँ वंशाणु H8 को उमेर २०,००० देखि ४०,००० वर्ष पुरानो देखिन्छ भने भोट–बर्मेली H8 को उमेर ५,२०० देखि ५,९०० वर्ष पुरानो देखिन्छ (Su, 2000: 588) । भाषिक अध्ययनले पनि लगभग वंशाणु अध्ययनले देखाएकै हाराहारीको समय देखाएको छ जसअनुसार प्रोटो–सिनो–तिब्बती भाषा ६००० वर्षअघिसम्म बोलिन्थ्यो Su, 2000: 583) । त्यस्तै ६००० वर्षअघि भोट–बर्मेली भाषा र सिनो (चिनियाँ) भाषाबीच विभाजन भएको थियो ।

केही विद्वान्हरुका अनुसार प्रोटो–भोट–बर्मेली भाषा बोल्नेहरू ह्वाङ–हो (यल्लो रिभर)बाट सुरूमा पश्चिमतिर लागेका थिए । त्यसपछि दक्षिणतिर मोडिएर अहिलेको हिमालय क्षेत्रमा बसोबास गरेका हुन् । उनीहरू ह्वाङ–होबाट किङझाइ प्रान्ततर्फ पश्चिम बढेर दक्षिणतिर लाग्दै तिब्बतबाट हिमालय पार गरेर नेपाल आइपुगे (Su, 2000: 589) । उनीहरू ५७०० वर्षदेखि ६००० हजार वर्षअघि नेपाल प्रवेश गरेका थिए (Wang, 2012: 233) ।

अर्को रोचक तथ्य के भने चीनको प्राचीन सिल्क रोडमा खोटाङ भन्ने स्थान छ, नेपालमा पनि राईहरू बस्ने पूर्वी पहाडमा जिल्लाको नाम नै खोटाङ राखिएको छ । मानवजातिले आफूसँगै स्थाननाम, भाषा, संस्कृति पनि सँगसँगै लिएर हिँड्ने भएकोले किरात राईहरू चीनबाट यता आउने क्रममा ती स्थानका नामहरू पनि आफूसँग लिएर आएका हुन् भन्न सकिन्छ ।

घ) वंशाणु र बसाइँसराइ
तिब्बततिरबाट हिमालय पार गरेर नेपाल आइपुगेका भोट–बर्मेली भाषा बोल्ने समुदायको बसाइँसराइ विभिन्न समयमा भएको थियो (Gayden 2007 : 891) । त्यस्तै अर्को अध्ययनले पनि शृंखलावद्ध रूपमा हिमालय क्षेत्रमा उनीहरुको बसाइँसराइ भएको देखाएको छ (Su 2000 : 891) ।

नवपाषाण युगका पहिलो खेती गर्ने भोट–बर्मेलीभाषीका पुर्खाहरु चीनको सिचुआनबाट उत्तरतिर ह्वाङ–हो (यल्लो रिभर) नदीको मलिलो उपत्यकामा सरेका थिए । अर्को समूह चाहिँ सिचुआनबाट दक्षिणतिर लागेर उत्तर–पूर्वी भारतसम्म आएका थिए । पालिस लगाइएको ढुंगे औजार र कर्ड माक्र्ड पोटरी (cord marked pottery) यहींबाट उत्तर–पूर्वी भारतसम्म आइपुगेको थियो । र, ती भोट–बर्मेलीभाषीहरू इसापूर्व ७००० वर्षअघि दुई शाखामा बाँडिएका थिए (Van driem, neolithic correlates : 75) .

भोट–बर्मेलीभाषी दुई समूहमध्ये उत्तरी सिचुआन र पूर्वी तिब्बतबाट भूटान तथा सिक्किम आइपुगेको समूहले इसापूर्व चौथो शताब्दीको अन्तिमदेखि तेस्रो शताब्दीको सुरूमा तिब्बती पठार (platue) पार गरिसकेका थिए । त्यस्तै काराकोरम हुँदै कास्मिरबाट आएको समूह इसापूर्व तेस्रो शताब्दीको मध्यतिर नेपालको पहाडी भूभागमा फैलिएका थिए (Van driem, neolithic correlates : 86) . ।

सिचुआनबाट दक्षिण–पूर्व लागेकाहरू तिब्बत, भुटान र सिक्किम आइपुगे भने गान्सुबाट पश्चिम लागेकाहरू काराकोरम हुँदै कस्मिरबाट पूर्व हुँदै हिमालयको दक्षिण (अर्थात्) नेपालका पहाडी भूभागमा लिम्बुवानसम्म फैलिए(Van Driem, Neolithic Correlates : 77-78, 80) । भोट–बर्मेलीभाषीहरू पश्चिमबाट नेपालको पहाडी भूभागमा फैलिएका थिए (Van Driem, Neolithic Correlates:82-83) ।

अर्को अध्ययनअनुसार पनि प्रोटो–भोट–बर्मेलीले बसाइँसराइका क्रममा पछ्याएको बाटो चिरपरिचित झाङ (तिब्बत)–मेन कोरिडर (corridor) हो जुन हिमालय क्षेत्रमा पूर्वबाट प्रवेश गर्ने चिरपरिचित बाटो हो । ह्वाङ–होको माथिल्लो क्षेत्रबाट सुरू हुने यो यात्रा किङघाइ प्रोभिन्स पार गरेर दक्षिणतिर हिमालयतिर लाग्छ । बेरिक (Baric) शाखा दक्षिणतिर लाग्दै हिमालय पार गरेर भुटान, नेपाल, उत्तर–पूर्वी भारत र उत्तर युन्नान पुग्छ (Su, 2000 : 588-89) .

वंशाणु अध्ययनले बताएअनुसार पनि किरातहरु प्रस्टै रुपमा चीनको ह्वाङ–होबाट फैलिएका हुन् । भनेपछि मुदुमले वर्णन गर्ने नियामा÷निवामा चीनमै पर्छ । र, त्यो सायद ह्वाङ–हो नदीको मैदानी मलिलो उपत्यका नै हुनुपर्छ ।
टुङ्ग्याउनीमा म के भन्छु भने मुदुममा वर्णित किरातहरुको आदिमथलो नियामा÷निवामा नेपालको तराई होइन भन्ने कुरा उल्लेखित चार वटै तथ्यले बताइरहेको छ । यद्यपि यो अध्ययन पनि पर्याप्त होइन तर मेरो सीमित अध्ययनले चाहिँ नियामा÷निवामा चीनको ह्वाङ–हो नदीको उपत्यकामै पर्छ भन्ने निचोडमा पुगेको छु । थप बहस र अध्ययन चालु रहने नै छ ।

किरातहरुको प्राग्ऐतिहासिक बसाइँसराइ (भान ड्रिमले गरेको अध्ययन)

सन्दर्भसामग्री
काइँला, वैरागी (सन् १९९९) । ‘मुन्धुम’ । निर्माण (संस्कृति विशेषांक) । वर्ष १९, अंक ३४, अप्रिल १९९९ । सिक्किम, निर्माण प्रकाशन ।
काइँला, बैरागी । २०६० । संकलक÷सम्पादक÷अनुवादक । चइःत् मुन्धुम (सृष्टिवर्णन) । प्रथम संस्करण । काठमाडौं ः लिम्बू साहित्य विकास संस्था ।
काइँला, बैरागी । २०७१ । ‘मुन्धुमबारे नयाँ पुस्ताले धेरै काम गर्नुछ’ । तुवाचुङ–जायजुम । सम्पादक चतुरभक्त राई । अंक २ । किरात उद्गम आदिमभूमि तुवाचुङ–जायजुम संरक्षण समिति, हलेसी–१, खोटाङ ।
चाम्लिङ, भोगीराज । सम्पादक । २०७१ । मुन्दुम : सृष्टिकथा, भाग १ । प्रथम संस्करण । काठमाडौं : किरात राई चाम्लिङ खाम्बातिम, केन्द्रीय समिति ।
ढुंगेल, डा. रमेश (२०६९) । ‘विगत बुझ्ने प्रयास’ । हिमाल खबरपत्रिका । १६–३०, असोज ।
बान्तावा, डिक । सम्पादक । २०६७ । किरात बान्तावा (राई) शब्दकोश । तेस्रो संस्करण । प्रकाशक : मेजर चामबहादुर राई ।
राई, डा. खगेन्द्रबहादुर । विसं २०७० । किरात साम्पाङ राई चिनारी (वंशावली) । प्रथम संस्करण । खोटाङ : कल्पना राई (दिप्लुङ–६) ।
राई, गडुलमान । विसं २०६६ । किरात संस्कार । दोस्रो संस्करण । ललितपुर : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान; सिद्धार्थ राई, जीवनज्योति राई, किरण राई र आतंक राई ।
राई, प्रा.डा. नोवलकिशोर, प्रा.डा. विष्णु एस राई, टंकबहादुर राई र बागदेवी राई । सम्पादक । सन् २००७ । चाम्लिङ–नेपाली–अंग्रेजी शब्दकोश । प्रथम संस्करण । काठमाडौं : किरात चाम्लिङ राई शब्दकोश तथा व्याकरण निर्माण मूल समिति ।
राई, तारामणि । विसं २०७१ । साकेल् : कोयी मिथक, सिली र अनुष्ठान विधिको विश्लेषण । प्रथम संस्करण । कोयी÷कोयू राई समाजका लागि काजीकुमार कोयी राई, लोकेन्द्र कोयी राई, हर्कजंग कोयी राई र सुमन कोयी राई ।
सांकृत्यायन, राहुल । सन् २०११ । ऋग्वैदिक आर्य (ऐतिहासिक और सांस्कृतिक अध्ययन) । चौथो संस्करण । इलाहाबाद ः किताब महल ।

Allen, N.J. (2012), Miyapma: Traditional Narratives of the Thulung Rai, Kathmandu: Vajra Publications.

Coningham, Robin & Kosh P A charya, 2013, Strengthening conservation and management of Lumbini, the Birthplace of Lord Budha, World Heritage Property, UNESCO office in Kathmandu.

Ebert, Karen & Gaenszle, Martin (2008), Rai Mythology: Kirati Oral Texts, The Department of Sanskrit and Indian Studies, Harvard University.

Gayden, Tenzin & others (2007), The Himalayas as a Directional Barrier to Gene Flow, The American Journal of Human Genetics, Volume 80, May 2007.

Nicoletti, Martino (2006), Samanic Solitudes: Ecstasy, Madness and Spirit Possession in the Nepal Himalayas, second revised edition, Kathmandu: Vajra Publications.

Pratt, Christina (2007),An Encyclopedia of Shamanism, Volume two N-Z, First edition, New York: The Rosen Publishing Group, Inc.

van Driem, George (2008), ‘To which language family does Chinese belong, or what’s in a name?’, Past Human Migrations in East Asia: Matching archaeology, linguistics and genetics, First edition, New York: Routledge.

Price, Neil S. (2001), The Archaeology of Shamanism, First edition, New York: Routledge.

van Driem, George (2012), The ethnolinguistic identity of the domesticators of Asian rice, www.sciencedirect.com.

van Driem, George (?), A Prehistoric Thoroughfare between the Ganges and the Himalayas.

Su, Bing & others (2000), Y Chromosome haplotypes reveal prehistoric migration to the Himalayas, Hum Genet, 11 november 2000 (published on online).

Wang, Hua-wei (2012), Revisiting the role of the Himalays in peopling Nepal: insights from mitochondrial genomes, Journal of Human Genetics, Volume 57, march 22, 2012 (published online).

Yamphu, Hom (2014), Mndum: Account of Yamphu Origin and Indigenity, A Dissertation Submitted to Faculty of Humanities and Social Sciences Central Department of Sociology/Anthropology Tribhuvan University, Kirtipur in the Partial Fulfillment of the Requirements for the Master of Philosophy In Anthropology.