Nakchhong नेपाली चलचित्र किराँत राई समुदायको संस्कृति, धर्म र परम्परालाई केन्द्रमा राखेर बनाइएको सामाजिक तथा सांस्कृतिक कथा भएको नेपाली फिल्म हो। यस चलचित्रमा विशेषगरी “नाक्छोङ” अर्थात् किराँत धर्ममा धार्मिक विधि गर्ने पुजारीको भूमिका र उसको सामाजिक महत्वलाई साथै समुदायले भोग्दै आएको समस्या र विभिन्न कारणले लोप हुदै गएको नाक्छोङ ( बिजुवा ) लाई बेलैमा सम्रक्षण नगरे आइपर्ने बिपति झेल्नु पर्ने हुदा बेलैमा सचेत हुनुपर्ने बिषेस कुरा देखाइएको छ। कथामा एक परिवारमा बुबाको मृत्यु भएपछि उनको अन्तिम इच्छा अनुसार आत्मालाई बाटो लाउन लागि आफनो कुलको नाक्छोङ बोलाएर परम्परागत विधि गर्नुपर्ने अवस्था आउँछ। तर भनेको समयमा कुलको नाक्छोङ नपाउदा परिवारका केही सदस्य आधुनिक सोचका भएकाले यस्ता परम्परामा विश्वास नगर्ने देखाइन्छ, जसले गर्दा परम्परा र आधुनिक सोचबीच द्वन्द्व सिर्जना हुन्छ। यही द्वन्द्वमार्फत चलचित्रले संस्कार र संस्कृति केवल पुराना चलन मात्र नभई हाम्रो इतिहास, पहिचान र समुदायसँग जोडिएको महत्वपूर्ण पक्ष भएको सन्देश दिन्छ। आजको समयमा धेरै युवा पुस्ता आफ्नै भाषा, संस्कार र पहिचानबाट टाढिँदै गएको अवस्था देखिन्छ, त्यसैले यस चलचित्रले आफ्नो जरा र सांस्कृतिक पहिचान सम्झाउने काम गर्छ। यसले आधुनिक जीवनशैली अपनाउनु गलत होइन तर आफ्नै संस्कृति र परम्परालाई बिर्सनु हुँदैन भन्ने सन्देश दिन्छ। त्यसैले यो चलचित्र केवल मनोरञ्जनका लागि मात्र होइन, किराँत संस्कृतिको संरक्षण, पहिचानको सम्मान र परम्परा तथा आधुनिकताको सन्तुलनबारे सोच्न बाध्य बनाउने महत्वपूर्ण सांस्कृतिक चलचित्रका रूपमा पनि हेरिन्छ।