किरात राई चाम्लिङ भाषा खोज तथा अनुसन्धान

किरात राई चाम्लिङ भाषा खोज तथा अनुसन्धान

आजको विश्वमानव समाज बीसौं शताब्दी पार गरी एक्काइसौं शताब्दी प्रवेश भइसकेको यो अवस्थासम्म आइपुग्नमा विशेष प्रकृतिरुपी श्रष्टाको अहम् भूमिका रही आएको कुरा निर्विवाद रहेको छ । प्रकृति आफैंमा विद्यमान विविध स्वरुप प्रकारको रहेबाट विगतबाटै वर्तमानमा पकृतिअनुरुपका वातावरणीय प्रभाव परी मानव समूह समाजका सारा संरचनाको विकासक्रम क्रमशः हुँदै निरन्तर आइरहेको कुरामा कोही कसैबाट दुइमत नहोला । प्रकृतिको यो प्रक्रिया क्रमशः नित्य निरन्तर रहिरहनुले यिनै आधार परिधिमा विश्वका मानव समुदाय विद्वान जो कोहीले नकार्न, अपहेलना गर्न हिम्मत गर्नै सक्दैनन् । किनकी प्रकृतिको देनबाट निर्मित र प्रकृतिकै आधारमा आधारित रहेको कुनै पनि वस्तु आफैमा अलौकिक,अनमोल, महत्वपूर्ण एउटा सभ्यताको उपज राष्ट्रकै निधि हो । प्रकृतिको उपज त्यो वस्तुलाई विकृत पारी नष्ट गरेर एउटा राष्ट्रिय निधि राष्ट्रले गुमाउनु शिवाय त्यसको केही अर्थ लाग्दैन । व्यक्ति वा समाजका महत्वकांक्षी, अहम्ले ओतप्रोत भई प्रकृतिको विपरीत अवसरवादी अवैज्ञानिक क्रियाकलापकै कारणबाट घटित दुर्भाग्यपूर्ण घटनाहरू विश्वका इतिहासका पानाहरूमा शिक्षाका लागि उल्लेख भएको पाइन्छ । प्रकृतिबाट प्रदत्त त्यो वस्तु नष्ट गरी गुमाएर फेरी त्यस्तो वस्तु प्राप्त गर्न सम्भव होला ? यो प्रश्न आफैंमा जटिल अनि निरुत्तर रहेको छ ।

विश्वमा यस्ता प्रकृतिका उपज मानिएका मध्येका मानवले संचार बोलीबाट जानकारीको आदानप्रदान गर्न अपनाई आएका ६००० यस्ता भाषाहरू विद्वान् डेभिड क्रिस्टलका अनुसार विविध कारणवश ३००० हजार भाषा लोप भइसकेका र ३००० मात्रै सुरक्षित अवस्थामा रहेका छन् भनी उल्लेख गरेको पाइन्छ । कुनै पनि भाषा कुनै पनि मानव समाजले मात्र कुनै पनि विषयमा जानकारी आदानप्रदान गरी भावना लिनेदिने माध्यमको रुपमा भाषाको विशेष महत्व रहेको छ । आज विश्वमा भाषा बिनाको मानव समाजको कल्पना गर्न सकिन्न । यही भाषाकै कारणले मानव र जीवजन्तुमा भिन्नता रहेको छ । भाषा आफैमा जटिल वस्तु भएपनि कुनै पनि समाजका मानव परिवारबाट जन्म दिइएका बालकले आफ्नो उमेर संसंगै आमाबाट बोलिने भाषालाई बिस्तारै ढंगबाट बोल्दै भोक, प्यास, दुःख जस्ता मनमा लागेका कुराहरु बोलेर भाव प्रकट गर्दै आएका छन् । बालक बिना तालिम आमाले बोलेको भाषालाई बोलेर मनका भाव व्यक्त गर्न सक्नुमा महान् विद्वान् भाषा शास्त्री नोम चोम्स्कीका अनुसार बालक जन्मदै मष्तिस्क (दिमाग)मा एउटा ल्याड नाम गरेको यन्त्र प्रकृतिबाट प्रदत्त वंशानुगत रहेको हुन्छ भनी उल्लेख भएको पाइन्छ । यसै ल्याडको सहायताले बालक आमाले बोलेका भाषा बोल्न सक्दछ । यो ल्याड नामको यन्त्र होस् या नहोस् तर आमाले बोलेकै भाषालाई बोल्न सक्ने गराउने एउटा तत्व जसलाई इनेटली इन्डोमन्ट बायोलोजिकल्ली डिटरमिनन्ट, जेनेटिकल्ली ट्रन्समिटेड जसले प्राकृतिक ढंगबाट वंशाणुगत भाषा बुझ्न सिक्नलाई यस तत्वले सहयोग गर्दछ भनी विद्वानले उल्लेख गर्नुभएको छ ।

माथि उल्लेख गरिए अनुसार विश्वबाट भाषाको लोप हुने विविध समस्याबाट हाम्रो देश नेपाल पनि अछुतो रहेको छ भन्ने अवस्था छैन । श्री ५ को सरकारले सन् २००१ मा लिएको जनगणना विश्वसनीय, भरपर्दो नभए पनि नेपालका आदिवासी समाजका समूहले बोल्ने भाषाहरुपनि लोप भएका र लोपवान अवस्थामा रहेको पाइन्छ । जनगणना अनुसार ९२ वटा भाषाहरू अस्तित्वमा रहेको छ भनिन्छ साथै भाषाको पहिचानै नगरिएका भनिएका भाषीहरूको जनसंख्या १६८३४० उल्लेख भएको छ । यसै कारणपनि श्री ५ को सरकारबाट गरिएको जनगणना उपयुक्त प्रक्रिया नअपनाएको सावित हुन्छ ।
नेपालको नीति निर्माण गर्ने शासक भनेकै तत्कालिन भारतका मुसल्मान शासकबाट सुरक्षित रहन मध्यकालमा आएका सवर्ण भनिने हिन्दूहरु हुन् । यिनैको प्रवेश भए पछि वर्तमान नेपाली यो भाषाको विकास भएको हो । अठारौं शताब्दीको अन्तमा वर्तमान नेपालको निर्माण संसगै उत्तरी भारतमा बोलिने भारोपीय (क्ष्लमय भ्गचयउष्बल) परिवारका खस भाषा सम्पूर्ण नेपालको राष्ट्रभाषा राज्यबाटै घोषणा गरी आदिवासी चाम्लिङ भाषामा समेत प्रतिबन्ध लगाइयो । खस नेपाली भाषाको आधार भनेको संस्कृत भाषा हो जसलाई मृत भाषा पनि भनिन्छ । आदिवासी भाषाहरू जति छन् ती सबै तिब्बत–बर्मी (त्ष्दभतय द्यगचmबल) भाषा परिवारका हुन् । कुनै पनि भाषाको आफ्नै किसिमको महत्व रहेको हुन्छ साथै भाषा आफैमा सानो र ठूलो माध्यमको नभई समान् हुन् । त्यसैले सबै भाषाहरु संरक्षण गर्नु राष्ट्रले नीति निर्माण गरी दायित्व पूरा गर्नु पर्दछ । आज नेपालजस्तो सानो मुलुकमा भाषाको हिसाबले अत्यन्तै धनी त छ तर खस नेपाली भाषाको एकाधिकारवादी थिचो मिचोमा पर्ने धेरै भाषाहरू मध्ये एउटा चाम्लिङ भाषा पनि हो । कुन मूलका कति भाषाहरू र त्यसको वक्ता संख्या कति छन् भन्ने उपयुक्त प्रक्रियाबाट भरपर्दो विश्वासयोग्य भाषा संख्या र वक्ता संख्या गनना अझसम्म पनि श्री ५ को सरकारले दिन कन्जुस्याँइ गरेको मात्र हैन षडयन्त्र नै गरिरहेको बुझिन्छ ।

२०४६ सालको परिवर्तन ससंगै आफ्नो छुट्टै मातृभाषा हुने समाज समूहले आफ्नो मातृभाषाप्रति चासो देखाई त्यसलाई बचाएर राख्न राजनीतिक, सामाजिक दबाबहरू बढाई रहेका छन् । यसको साथै व्यक्तिगत रूपमा भाषाका शब्दहरू भाषा सम्बन्धी लोककथा, उखान, टुक्का, किंवदन्ती जस्ता कुराहरू संकलन गरी लेखेर पुस्तक पुस्तिकाको रूपमा प्रकाशन भइरहेको छ । श्री ५ को सरकारले ऐच्छिक विषय मानी आ–आफ्नो मातृभाषामा कक्षा ५ सम्म पढ्न पाउने छुट त दियो तर त्यसबारे आवश्यक शिक्षक लगायत अन्य व्यवस्थाबारे पहल भएको छैन । चाम्लिङ भाषा पनि २०६१ को शैक्षिक सत्रबाट कक्षा १ को कक्षा सञ्चालन हुँदैछ । समस्या शिक्षककै रहेको छ । जातीय संगठनहरु, श्री ५ को सरकार समक्ष प्रतिनिध मण्डल पठाई भेटी आवश्यकताको परिपूर्ति गर्न दबाबमूलक क्रियाकलाप अगाडि बढाई रहेका छन् । किरात राईहरूको जेठो संस्था किरायाको विशेष पहलमा बान्तावा भाषा पछि चाम्लिङ भाषाको पाठ्यपुस्तक – पाठ्यपुस्तक विकास केन्द्र सानोठिमी भक्तपुरबाट चाम्लिङ खाम्बातिमको सक्रियतामा छापिइरहेको छ ।

चाम्लिङ भाषा बोल्ने क्षेत्र खोटाङ जिल्लाको हलेसी, बुइपा हुँदै नेर्पा, लामाखु, दोर्पा, रतन्छा, खिदिमा, टेम्मा, चुइचुम्मा, चिप्रिङ, हरलुङछा, कात्तिके र उदयपुर जिल्लाका बलम्ता समेत घुमेर सम्पर्क राखी शब्द संकलन गर्ने काम स्वयं म आफैबाट पनि भयो । ती शब्दहरूलाई चन्द्र कुमार राईज्यूले शब्द संग्रहको रूप दिनुभयो । त्यो शब्द संग्रहलाई भाषाका विद्वान् प्रा.डा.योगेन्द्र यादव, प्रा.डा.नोबल किशोर राई, प्रा.डा.माधव पोख्रेल, उप प्राध्यापक विष्णुसिहं राई, लाल रापचा भाषाका विद्यार्थीहरू बागदेवी राई, अमृतयोन्जन लामा समेतको सहयोग सुझाव भाषा विज्ञानको परिधीमा राखेर (चाम्लिङ नेपाली दिम्चिम्हा लाबेवा) चाम्लिङ नेपाली शब्दकोश भनेर करीब ३४३० शब्द चाम्लिङबाट नेपालीमा र १६१५ नेपालीबाट चाम्लिङमा शब्द अर्थ राखी २०५९ फागुनमा किरायाको पहलमा १५०० प्रति छापियो । शब्दकोश निर्माण गर्न ज्यादै जटिल हुनाको साथै सर्वप्रथम त मानक बारे भाषाका स्वर वर्ण र व्यञ्जनवर्ण भाषा विज्ञानको आधारमा पहिचान गर्ने कार्य भयो । लोपवान अवस्थाका भाषाहरूलाई उजागर गर्दै लानु राज्यबाटै भाषाको नीति निर्माणका बारेमा योजनाबद्ध कार्यक्रम ल्याउनु पर्दछ । भाषा बोल्ने भाषीहरूले पनि त्यतिकै निरन्तरता दिएन भने त्यो भाषाको विकास हुन असम्भव हुन्छ । किरात चाम्लिङ भाषाको लिपि कस्तो हो ? किरात लिपि थियो थिएन यो खोजकै विषय रहेको छ । त्यसकारण चाम्लिङ भाषा संरचनालाई विज्ञानसम्मत उपयुक्त स्वरूपको रूपमा ढाल्न धेरै कार्यहरू भएकै छैनन् । चाम्लिङ भाषा बोल्ने चाम्लिङ राई समाजमा पनि उत्साह जागेको छ । त्यो उत्साहलाई संयमपूर्वक अध्ययन अनुसन्धान खोजबाट भाषा विज्ञान सम्मत गर्दै लगे राष्ट्रकै एउटा निधि किरात राई चाम्लिङहरूको अस्तित्वदायी भएर चाम्लिङ भाषा रहीरहनेछ । किरात राईहरूमा एउटा यस्तो उखानै रहेको छ – ‘दश भाषा एक भान्सा’ भन्ने त्यसकारण पनि किरात राईहरूले आफ्नो भाषाको जगेडा गर्न फुटेर होइन जुटेर लागि पर्नु पर्ने हुन्छ । कुनै पनि भाषालाई काखा र पाखा गर्ने राज्यले पनि यो नीति तुरुन्त हटाएर समान ब्यवहारको नीति अपनाउनु पर्दछ । किरातहरूको राई समाजमा यति विघ्न भाषा हुनु भू बनावट प्रकृतिको प्रभावबाट भन्ने भनाइ भाषाविद्हरूको रहेको छ । प्रकृतिका उपज मानिएका कुनै पनि भाषाहरूमा पक्षपात रहित समान व्यवहार गर्नु मानवतावादी भएर अगाडि बढन् मानवअधिकारको उपयोग गर्नु हो ।

सन् १९०९ मा चाम्लिङ भाषाको अनुसन्धान गर्ने पहिलो व्यक्ति ग्रियरसन थिए । उनले भोट बर्मेली परिवारका भाषालाई विभिन्न वर्गमा वर्गीकरण गरेका थिए । जस्तै – तिब्बतीय, हिमाली, उत्तर आसामी, समूह, बोडो, नागा, कुचिन, कुकिचिन् र बर्मेली आदि । ग्रियरसनका अनुसार चाम्लिङ सर्वनामिक भाषा हो र खम्बू उप–भाषिकाका रूपमा वर्गीकरण भए अनुसार पूर्वीय उप–विभाजनमा चाम्लिङ भाषा पर्दछ भनिएको छ । भोट–बर्मेली भाषाहरूका १६ वटा तुलनात्मक सर्वेक्षण गरेका छन् । त्यस मध्ये चाम्लिङ÷रोदुङ पनि एक हो भन्दै चाम्लिङ व्याकरणीय वर्गको परिचय पनि दिएका छन् ।सन् १९६४÷५ अनुसार भोगेलिन+भोगेलिन, सन् १९७२ अनुसार, वेनेडिक, क्रमशः चाम्लिङ भाषा सर्वनामिक भाषा हो भनेका छन् भने चाम्लिङ भाषालाई खम्बु विभाजनमा वर्गीकरण गरेको छन् । बाहिङ वा हायू किरातीको भोट बर्मेली उप–विभाज अन्तरगत चाम्लिङ भाषालाई राखेका छन् । चाम्लिङ भाषा बारे सन् १९९१ हड्सन र ग्रियरसनले “चाम्लिङ ला” भनेर प्रयोग गरेका छन् ।

इतिहासको भौतिकवादी धारणा मताबिक “मानवीय चेतनाले उसको अस्तित्वको निश्चय गर्दैन, यसको विपरीत चेतनाको निश्चय उसको जातीय सामाजिक अस्तित्वले गर्दछ” मानौं सामाजिक चेतना सामाजिक अस्तित्वको कारणले भएको हुन्छ । त्यसैकारण पनि सामाजिक जातीय अस्तित्वको महत्वबारे वौद्धिक छलफल, वाद, विवाद र सम्वाद जस्ता क्रियाको माध्यम अपनाइ सचेत गरी चुस्त गराउन सामाजिक अध्ययनको आवश्यकता हुन्छ । गलत प्रक्रियाबाट अगाडि बढन गएमा त्यसको भविष्यको कल्पना गर्न सकिन्न । समाजलाई सही र सुगम निस्वार्थ रही सहज ढंगबाट आफ्नो विकास निर्माण गर्न उनैहरूलाई दिएर आवश्यक सहयोग पु¥याउनु राम्रो उपाय अपनाउनु हो । एकले अर्कोलाई सानो र ठूलोको व्यवहार नगरी बराबरीको व्यवहार प्रकृतिको नियम हो भन्ने बुझेर संघ, संस्था, श्री ५ को सरकार, विद्वान् जाति, समाज, समूह सबमा समानताको व्यवहार रहनु राज्यको पनि नीतिको आवश्यक हुन्छ । चाम्लिङ भाषालाई चाम्लिङ समाजले संरक्षण सम्बद्र्धन गर्न राज्यका प्रत्येक क्षेत्रमा जागरण गराउन एउटा किरात राई चाम्लिङ खाम्बातिम् काठमाडौंको ल क्याम्पसको बृहत्तर भेलाले पटक पटकको छलफलबाट दर्ता गर्ने टुङ्गोमा पुगी तदर्थ समिति गठन गरी काठमाण्डौ जिल्ला प्रशासन कार्यालयबाट दर्ताको स्वीकृति लिएर यो संस्था पनि एक वर्षदेखि क्रियाशील रहँदै आएको छ । चाम्लिङ भाषाका व्याकरण र त्रिभाषीय शब्दकोश निर्माणका संयोजक प्रा.डा.नोबल किशोर राई, उप प्राध्यापक विष्णु सिहं राई जस्ता चाम्लिङ राईहरू लागि पर्नु भएको छ । चाम्लिङ भाषाका अरू शब्द संकलन सम्पादन भइरहेको छ । चाम्लिङ भाषा प्रेमीहरूबाट एकलाख सहयोग शब्दकोश निर्माण समितिका उपाध्यक्ष भगुवान चाम्लिङ मार्फत् हङकङबाट प्राप्त भएको र शब्दकोश छपाई खर्च वापत चन्द्र कुमार राईज्यूको सक्रियतामा रतन्छाली समूहबाट पनि एकलाख रकम उठीसकेको छ भने उठाउने क्रम जारी नै छ ।