भाषिक व्याडमिन्टनको दोस्रो संस्करण
२६ डिसेम्बर २०१८, हङकङमा अन्तर–भाषिक व्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण सफल रुपमा सम्पन्न भएको छ । किरात राई यायोक्खा हङकङको युवा खेलकुद, संगीत तथा संचार विभागको अयोजनामा दोस्रो अन्तर–भाषिक व्याडमिन्टन प्रतियोगितामा सम्पन्न भएको हो ।
युनकोङ डिस्ट्रीक स्पोर्ट्स सेन्टर हलमा बुधबार सबै प्रतियोगिता आयोजना भएका थिए । प्रतियोगितामा ‘मेन्स डबल्स’ डिभिजन ए–बी तथा ‘मिक्सड डबल्स’ बिधाहरु समेटिएका थिए। बेस्ट अफ थ्रीको नक आउट फम्र्याटमा प्रतियोगिता खेलाइएको थियो।
मेन्स डबल्स एमा बान्तावा खिम समूहलाई उपाधि
मेन्स डबल्स डिभिजन ए को फाईनल खेलमा बान्तावा खिमको प्रतिनिधित्व गर्दै मिलन राई र शुभराज राई उपाधि जित्न सफल भए । उनीहरुको जोडीले चाम्लिङ खाम्बातिमका समूहका जोडी हेमराज राई र किरण राईलाई २१–११ र २१–१५ को सोझो सेटमा पराजित गरे।
मेन्स डबल्स बीमा पुमा तुप्खाबांखालाका समूहलाई उपाधि
प्रतियोगिता अन्तर्गत डिभिजन बीतर्फ पुमा तुप्खा बांखालाका गणेश राई र बिनोदले वान्तवाखीमका शान्तवीर राई र दिपेन राईलाई १८–२१, २१–१२, २१–९ को सेटमा पराजित गरे । सुरुवाती सेट पराजित भएपनि उपाधिका लागि पुमा तुप्खाबांखालाका समूह कमब्याक गर्न सफल भएको हो ।
मिक्सड डबल्समा चाम्लिङ खाम्बातिम समूह विजयी
प्रतियोगितामा अर्को विधा मिक्सड डबल्स तर्फ चाम्लिङ खाम्बातिम उपाधि चुम्न सफल भयो । चाम्लिङ खाम्बातिमका हेमराज राई र मनिषा राईको जोडीले सोदेल कोयीकीमका संजिव राई र कृष्णा राईलाई २१–१४ र २१–१५ को सोझो सेटमा पराजितगर्दै उपाधि आफ्नो पोल्टामा पारेका थिए।
पुरस्कार
उपाधिसँगै सबै बिधाका विजेता र उपविजेताले हङकङ डलर क्रमशः दुई हजार र बाह्रसय, ट्रफी तथा प्रमाणपत्र हात पारे ।उक्त प्रतियोगितामा किरात राई यायोख्खा हङकङमा आबद्द ६ भाषिक संस्थाहरुको सहभागीता थियो ।
यायोक्खाका ८ भाषिक संस्थाहरु मध्ये बान्तावा, चाम्लिङ, कोयि, पुमा, थुलुङ्ग ,साम्पाङ्ग गरि जम्मा २१ जोडीले प्रतियोगितामा सहभागीता जनाएका थिए ।
खेल सफल रुपमा समापन गरेसँगै प्रतियोगिताका संयोजक बज्र कुमार थुलुङ राईले भने,‘हङकङमा रहेका सबै उमेरका किरात राईहरुलाई खेलकुद मार्फत एक जुट गराई स्वास्थ्यप्रति सचेत गराउन र व्याडमिन्टन खेलाडीहरु उत्पादन गर्नु खेल आयोजनाको अभिप्राय रहेको छ । प्रतियोगिताको प्रमुख प्रायोजक नेपाल फाइनान्स रहेको थियो। हङकङमा व्याडमिन्टन खेल नेपालीहरुबीच लोकप्रिय हुँदै गएको छ ।
मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्