Category Archives: यायोक्खा हङकङ

सुप्तुलुङमा बेलायतका श्रीमान/श्रीमती

१ जूलाई २०१८ हङकङ,

याङसोला-५, छोरम्बु,खोटाङ थातथलो भई हाल वेलायतनिवासी ८८ बर्षीय वृद्धवृद्धा श्रीमान/श्रीमती बिर्ख बहादुर राई र भाईसोनया राईले किरात राई मौलिक धर्म, संस्कार-संस्कृति मान्ने किरात राईहरुको यहाँ स्थित सुप्तुलुङखीमको सुप्तुलुङ (तीन चुला) ढोग-दर्शन गरेका छन् । यहाँ निवासी उनका छोरा देवेन्द्र राईको अगुवाईमा यो कार्य गरिएको हो ।

कार्यक्रममा किराया अध्यक्ष हरिचन्द्र राई, उपाध्यक्ष माया (चन्द्रका) राई, महासचिव बज्र कुमार राई लगायतको समुपस्थित रहेको थियो । सुप्तुलुङ (तीन चुला) ढोग-दर्शन पश्चात

अध्यक्ष राईले दर्शनार्थी श्रीमान राईको शीरमा फेटा गुथाएर सम्मान गरेका थिए भने श्रीमती राईको शीरमा मजेत्रो ओढाएर उपाध्यक्ष चन्द्रका राईले सम्मान गरेकी थिईन । यसकासाथै पाहुनाद्वयलाई संस्थाको मुखपत्र यलम्बर र साकेला सिलीको सीडी प्रदान गरिएको थियो ।

सुप्तुलुङ दर्शन र सम्मानपछि बोल्दै दर्शनार्थी विर्ख बहादुरले आफ्नो जातीय मौलिक धर्म, संस्कार-संस्कृति जोगाउने कार्य गरेकोमा संस्था (किराया) प्रति आभारसहित धन्यवाद व्यक्त गर्दै तीन चुलाको महत्त्व र दर्शनलाई पुस्तान्तरण गर्दै लानु पर्ने बताए ।

-बज्र कुमार राई

सुप्तुलुङखीममा विवाह सम्पन्न

१६ जून, हङकङ ।

कि लुङ चुनस्थित किरात राईहरुको सुप्तुलुङखीम (चुलाघर)मा किरात राई यायोख्खाका सहायक कुविमी श्रीमान नारायण प्रसाद राई र श्रीमती शिव कुमारी राईको जेठी छोरी रेणुका राईको विवाह श्रीमान सकल बहादुर राई र श्रीमती मन कुमारी राईको कान्छा छोरा मणीचन्द्र राईसँग सम्पन्न भयो ।

किरात राई सम्पाङ जुम्लेखाको समायोजनमा भएको सो विवाह किरात राई मुन्दुमी संस्कार अनुसार गरिएको थियो । किरात राईहरुको मौलिक संस्कार-संस्कृतिलाई जीवन्त राखी पुस्तान्तरण गर्दै जाने उद्धेश्य लिएर गरिएको उक्त विवाहमा गाउँघरको मौलिक भोजभतेर तयार गरी दुना, टपरा, कठुआ आदिमा राखी जन्ती, नरनाता तथा इष्टमित्रहरुलाई दिइएको थियो ।

मुन्दुमी रीतिथीति अनुसार सुप्तुलुङखीममा विवाह सम्पन्न भए पनि दोस्रो दिन इण्डिया क्लवमा आमन्त्रित सबैकालागि विशाल प्रीतिभोजको आयोजना गरिएको थियो । आमन्त्रित सबैले यसै स्थानमा उपस्थित भई बेहुला-बेहुलीलाई टिका लगाई दिएर आशिर्वाद दिदैं बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

-बज्र कुमार राई

महासचिवले सुप्तुलुङ दर्शन गरे

१० जून २०१८ हङकङ ।

खोटाङ हलेसीमा निर्माणधीन मौलिक धर्म,संस्कार-संस्कृति मान्ने किरात राईहरुको प्राग ऐतिहासिक थलो  तुवाचुङ-जायाजुम संरक्षण समितिका महासचिव तथा नेपाली कांग्रेसका युवा नेता दिनेश राईले यहाँस्थित किरात राईहरुको सुप्तुलुङखीम (चुलाघर)मा राखिएको सुप्तुलुङ (चुला) दर्शन-ढोग गरे ।

किराया प्रमुख संरक्षक तथा किराया प्रज्ञा प्रतिष्ठानका कुलपति शशीमदन राईले सुप्तुलुङखीम खरीद गर्नुको औचित्य र सोहि अनुरुप भई रहेका कार्यहरु बारेमा सबैको प्रतिनिधित्व गर्दै संक्षिप्तमा मन्तव्य राखे। यसैगरी कार्यसमितिका सल्लाहकार धिराज कुमार राई र पदेन उपाध्यक्ष तिलक वालाहाङ राईले साकेला शीली भाग -१ र २ सीडीसाथै संस्थाको मुखपत्र यलम्बर उपहारस्वरुप प्रदान गरे।

किराया कार्यसमितिका अध्यक्ष हरिचन्द्र राईले पाहुना दिनेश राईको शीरमा फेटा गुथाई दिएर सम्मान व्यक्त गरे । सम्मान पश्चात पाहुना दिनेशले आफ्नो मन्तव्य राख्ने क्रममा आफ्नो जातीय उत्थानकालागि आफू मौलिक पहिचानको पक्षमा रही सदैव  क्रियाशील रहने बताए ।

त्यस्तै चुला दर्शन गर्न अगावै सुप्तुलुङखिमको अगाडि रहेको रमणिय डाँडामा हाईकिङ कार्यक्रम आयोजना गरिएको थियो । यसै अवसरमा यो डाँडाको नाम तुवाचुङ डाँडा भनेर राईले नामाकरण समेत गरे ।

सचिव गजेन्द्र राईले सञ्चालन गरेको उक्त कार्यक्रममा कार्यसमितिका विभिन्न पदीय जिम्मेवारीमा रहेका पदाधिकारी तथा विशिष्ट किरात राई व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा सगुनस्वरुप आराखा (रक्सी) खुवाईएको थियो ।

-बज्र कुमार राई

बधाई तथा शुभकामना

१३ मे २०१८ हङकङ ।

किरात राई यायोक्खा हङकङकी सहसचिव पविता पुमा राई नेपाली महिला संघ हङकङद्वारा १३ मे २०१८ मा आयोजित “मिसेस हङकङ नेपाल” सुन्दरी प्रतियोगीताको प्रथम विजेता बन्नु भएकोमा उहाँको भावी सफलता र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक बधाई एवं शुभकामना दिन चाहन्छौं । सुम्निमा-पारुहाङले सदैव उहाँ साथ रहुन् ।

किरात राई यायोक्खा हङकङ ।

ताइमोशानमा साकेला उभौली

६ में, २०१८ हङकङ

यहाँस्थित ताईमोशान कन्ट्री पार्क (यलम्बर पार्क)मा नेपाली राष्ट्रिय चाड साकेला उभौली भव्यताकासाथ सम्पन्न भएको छ । आयोजक किरात राई यायोख्खाका अध्यक्ष हरिचन्द्र राईको अध्यक्षतामा सम्पन्न सो साकेलाको औपचारिक  कार्यक्रममा आदिवासी जनजाती महासंघका अध्यक्ष किसन राईको प्रमुख आतिथ्यता रहेको थियो । यसै गरी नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ र भूतपूर्व व्रिटिश सैनिक संघको बिशेष अतिथ्यतापूर्ण उपस्थिति थियो । नेपाल च्याम्वर्श अफ कमर्श र गैर आवासीय नेपालीलाई पनि बिशेष आतिथ्यताको निम्तो दिइएको भएपनि अनुपस्थित थिए ।

कार्यक्रममा आदिवासी जनजाती महासंघमा आवद्ध संस्थाका प्रमुख/प्रतिनिधि, किरायाका कुविमी, किरात राई प्रमुख रहेका सामाजिक संस्थाका प्रमुख/प्रतिनिधि, किरायाका संरक्षकहरु, प्रमुख सल्लाहकार (निवर्तमान अध्यक्ष), सल्लाहकारहरुलगायत समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको अतिथ्यता रहेको थियो । यसै कार्यक्रममा संस्थाको बार्षिक मुखपत्र “यलम्बर” को १९औं अंक लोकार्पण गरिएको थियो।

आयोजक संस्थाका सचिव गजेन्द्र राईको सञ्चालन र महासचिव बज्र कुमार राईको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा प्रमुख सल्लाहकार रजिन राई, बिशेष अतिथि रीता गुरुङ (सम्पूर्ण अतिथिगणको तर्फबाट) र प्रमुख अतिथि किसन राईले मन्तव्य राखेका थिए।

कार्यक्रमका अध्यक्ष हरिचन्द्र राईले औपचारिक कार्यक्रमको समापन गरे पश्चात सहायक कुविमीद्वय नारायण प्रसाद राई र मैत कुमार राईले साकेला थानमा पूजा गरी यो साल कुनै प्राकृतिक अनिष्ट नहुने बताएका थिए । यसपछि शीलीमोपा प्रतिक चाम्लिङ राई र शीलीमोमा रेणुका साम्पाङ राईले सयौं संख्यामा साकेला शीली नाँच्न आतुर महानुभावहरु बीच साकेला शीली नाँचको शुभारम्भ गरेका थिए। साकेला शीली नाँचपूर्व कुविमीद्वय, शीलीमोपालाई फेटा गुथाएर र शीलीमोमालाई मुजेत्रो ओढाएर सम्मान गरिएको थियो।

नेपालका आदिवासी किरात राईहरुले परापूर्वकालदेखि मान्दै आएको यो राष्ट्रिय चाडमा गैर राई तथा बिदेशीहरुको पनि सहभागीता देखिन्थ्यो । मौलिक खानपान, वार्विक्यूसाथै पेयपदार्थहरुको उचित व्यवस्था गरिएको उक्त साकेला उभौलीमा आफ्नो (किरात राई) मौलिक भेषभूषा तथा गरगहनामा सजिएर आएका सबै उमेर समुहका किरात राई दाजुभाई-दिदीबहिनीहरुको उत्साहपूर्ण बाहुल्यता रहेको थियो ।

कार्यक्रमको निर्धारित समय (६ बजेपछि) अध्यक्ष हरिचन्द्र राई र सम्बन्धित विभागका प्रमुख रामचन्द्र राईले कुविमी, शीलीमोपा र शीलीमोमालाई शीर उभ्याउने संस्कार अनुसार सो कार्य गरेका थिए । अध्यक्ष राईले कार्यक्रम सफल हुनुमा किराया सम्बद्ध भाषीक संस्थाहरुको महत्वपूर्ण कार्य भूमिका रहेको भन्दै  सबैप्रति धन्यवादपूर्ण कृतज्ञता व्यक्त गरेका थिए ।

– बज्र कुमार राई

सुप्तुलुङमा फर्किए निरज

३० अप्रिल २०१८, हङकङ ।

साहित्य तथा संगीतकर्मी नीरज वान्तवा राई किरात राईहरुको मौलिक धर्म,संस्कार-संस्कृतिलाई स्वीकार गर्दै सुप्तुलुङ (चुला) मा फर्किएका छन् । किरायाका भाषिक संस्था वान्तवा यायोक्ला खीमका अध्यक्ष तिलक वालाहाङ राई र नाक्छोङ मैत्र कुमार राईले मुन्दुमी प्रक्रियाद्वारा उनलाई चुलामा प्रवेश गराएका थिए । चुला प्रवेश पश्चात स-सम्मान फेटा गुथाएर  निरजको शीर उभ्याउने कार्य पनि गरिएको थियो । किरात राईहरुको संस्कारमा फेटा गुथाउनुलाई बिशेष सम्मानको रुपमा लिने गरिन्छ । आफ्ना पारिवारिक अग्रजहरुले अन्य धर्म-संस्कार मान्दै आएको र त्यसमा किरात राई हुनुको कुनै मौलिक पहिचान नरहने कुरा आफूले गहन रुपमा महशुश गरी आफ्नै मौलिक धर्म, संस्कार, संस्कृतिमा फर्किएको बताउँदै नीरजले सुप्तुलुङ (चुला) ढोगे । भावी दिनहरुमा आफ्ना सन्ततिहरुलाई किरात राईहरुको भाषा, धर्म, संस्कार, संस्कृति तथा समग्र मुन्दुमी दर्शनबारे ज्ञात गराउँदै आफ्नो मौलिकताको पक्षमा उभिने कुरा निरजले आफ्नो मन्तव्यमा थपे । किरायाले विभिन्न कारणले बाटो बिराएर, आफ्नो मौलिकता भूलेर अर्काको धर्म, संस्कार, संस्कृतिमा गएका आफ्ना किरात राई दाजुभाई/दिदीबहिनीहरु आफ्नै घरमा, आफ्नै धर्म,संस्कार,संस्कृतिमा फर्कन आव्हान गर्दै आएको छ । स्मरण रहोस् किराया हङकङले विगत ३ बर्षअघि जमीनसहितको आफ्नै भवन (जसलाई सुप्तुलुङखीम भनिएको छ) खरीद गरी किरात राईहरुको सम्पूर्ण मौलिक संस्कार-संस्कृति सम्पन्न गर्ने थलो निर्माण गरेको छ । यस थलोमा निरजलाई जस्तै सबै किरात राईहरुलाई हार्दिक स्वागत छ ।