अन्तराष्ट्रिय सम्मेलन २०१५

अन्तराष्ट्रिय सम्मेलन २०१५

२१–२२ फेब्रुअरी २०१५ मा भारतको सिलिगुडिमा आयोजित दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत गरेको किराया हङकङको कार्यपत्र ।

श्रीमान अध्यक्ष ज्यु,
किरात राई अन्तराष्ट्रिय सम्मेलन ।

किरात राईहरुको भाषा, धर्म–संस्कार र संस्कृतिसम्बन्धि हङकङको अवस्था सम्बन्धमा कार्यपत्र

पृष्ठभुमी

किरात राई यायोक्खा हङकङ बिधिवतरुपमा सन १९९८ को जनवरी २८ तारिख गठनभई किरात राईहरुको भाषा, धर्म–संस्कार र संस्कृतिको संरक्षण र सम्र्वद्घन गर्न लागीपरीरहेको कटिबद्ध संस्था हो । किरात राई यायोक्खा हङकङको बिधिवत स्थापना पश्चात यसले १७ बर्षको आरोह अवरोह पार गर्ने क्रममा किरात राईहरुको भाषा, धर्म–संस्कार र संस्कृतिको पुर्ण संरक्षण र सम्र्वद्घन गर्न नसकेतापनि संस्कृति तर्फमा भने फड्को मारेको हङकङका किरात राईहरुले महशुस गरेकाछन । किरात राई यायोक्खा हङकङले बर्षमा दुइचोटी साकेला उभौली र उधौली धुमधामले मनाउने गरेकाछन भने यलेदुङलाई किरात राई यायोक्खा हङकङ संग आवद्ध ६ भाषिक संस्थाको संयुक्त आयोजनामा मौलिक खानपान तयार पारि किरात नया बर्ष चाडको रुपमा मनाउदै आईरहेको छ । साकेला उभौली र उधौली पर्वमा राईहरुमात्र साकेला ननाची गैरराईहरु तथा बिदेशीहरु समेत साकेला नाच्न आउने गरेकाछन । हङकङका चिनियाहरुलाई समेत सकेला भनेको नेपाली राईजातीहरुको मौलिक संस्कृति हो भनेर थाहा पाउने क्रममा छन ।

भाषा सम्बन्धमा

किरात राई यायोक्खा हङकङले राईहरुको भाषा संरक्षण र सम्र्वद्घन गर्न खासै उल्लेख्य कार्य गरेको छैन । हङकङमा एकातर्फ राईहरुको उपस्थिती न्युन छन भने अर्कोतर्फ धेरै भाषी राईहरु भएकोले कस्को भाषालाई प्राथमिकता दिएर कार्य गर्ने भन्ने खाका कोरीएकोछैन । अहिले किरात राई यायोक्खा हङकङले भाषिक संस्थाहरु गठन गर्ने पहल गर्दै सोही भाषिक संस्थालाई आफ्नो भाषा संरक्षण गर्न पहल गराउन लागिरहेको छ । किरात राई चाम्लिङ खाम्वातीम हङकङले किरात राई यायोक्खा हङकङको उपस्थितीमा चाम्लिङ भाषा कक्षा संचालन गरी हङकङमा भाषा सम्बन्धि सचेतना थप्ने कार्य गरेकोछ । किरात राई यायोक्खा हङकङलाई राईहरुको भाषा संरक्षण गर्नु भनेको कोशे ढुङगा सावित भएकोछ ।

धर्म सम्बन्धमा

हङकङमा रहेका किरात राईहरु आफ्नो मौलीक धर्म छाडी बिभिन्न धर्ममा प्रवेश गरेको पाईन्छ । कारण किरात राईहरुको साझा धार्मीक ग्रन्थ मुन्धुम नहुनु तथा मुन्धुम अनुसार कार्य गर्ने गराउने साझा धार्मीक गुरु (धामी) नहुनु प्रमुख कारण हुन । हाल हङकङले साझा धामी राखेकोछ तर साझा मुन्धुम छैन । राईहरुको साझा मान्यताको आधारमा साझा मुन्धुम प्रकाशन गर्नु, आजको प्रमुख आवश्यकता हो । यस अन्तराष्ट्रिय सम्मेलनले साझा मुन्धुम प्रकाशनको अवधारण ल्यावोस भन्ने हङकङले अपेक्षा गरेकोछ । अर्को, हङकङमा रहेका किरात राईहरु जो किरातहरुको मौलीक धर्म छाडी अन्य धर्ममा प्रवेश गरेकाछन तिनीहरुले हामीहरुपनि किरात राईहरुहौ, किरात राई यायोक्खालाई धार्मीक संस्था नबनाई विविध धर्ममा प्रवेश गरेका राईहरुलाई समेटि वृहद किरात राई यायोक्खा बनाउनु पर्दछ भन्ने आवाज उठाई रहेकाछन् । आफ्नै मौलीक किरात धर्ममा बसिरहने राईहरुले भने राईहरुको मौलीक धर्म जोगाउन अन्य धर्ममा प्रवेश गरेका राईहरुलाई यायोक्खाको सदस्य नदिई यायोक्खा बिधानत सुद्दीकरण गर्नु पर्दछ भन्ने आवाज उठाई रहेका छन् ।

तर्सथ, आजको यो सम्मानित अन्तराष्ट्रिय सम्मेलनले किरात राई यायोक्खा धर्म निरपेक्षित संस्था हो वा किरात राईहरुको मौलीक धर्म सापेक्षित संस्थाहो भन्ने विवादलाई निराकरण गरोस भन्ने अपेक्षा राखेका छौ ।

संस्कार सम्बन्धमा

किरात राईहरुको जन्म देखी मृत्यु सम्मको संस्कारमा विविध भाषी राईहरुको बिविध संस्कार भए पनि हङकङमा मत मतान्तर भएको छैन । किनकि एउटै भाषी राईहरुको एकै प्रकारको संस्कारहरु छन् । तर धर्म परिवर्तन गरेका किरात राईहरु धर्म परिवर्तनसंगै संस्कारमा समेत परिवर्तन आएकोछ । हाल हङकङमा मौलिक किरात धर्म मान्ने र नव किरात धर्म मान्नेहरुमा चुला पुजामा मत मतान्तर भएको पाईएकोछ । आफ्नै मौलीक किरात धर्म मान्ने हङकङका किरात राईहरुले चुल्हा पुजालाई बलि चढाएर पुजा गर्नुपर्दछ भन्दछ भने मौलीक किरात धर्म परिवर्तन गरि नव किरात धर्ममा प्रवेश गरेका राईहरुले चुल्हा पुजा गर्दा बलि चढाउनु हुन्न फलफुलले पुजा गर्नु पर्दछ भन्दछ । तेस्तै अन्य पाश्चात्य धर्म तिर गएका राईहरुले त राईहरुको एकमात्र पहिचान चुलानै राख्दैनन् ।

तेस्तै मौलीक धर्म मान्ने किरात राईहरु बिचमा पनि चुला सम्वन्धमा विवाद छ । जस्तै हङकङमा आफ्नै घरमा चुल्हा राख्न असम्भव भएकाले सामुहीक चुलाको अवधारणा ल्याइएकोछ । जस्मा विवाद छ । एक थरी राईहरु सामुहिक चुल्हा हुनुहुन्न एउटै चुलाबाट छोरी निकालेर बुहारीको रुपमा भित्राउने काम हुदैन भन्ने धारणा राख्दछ भने अर्को थरी राईहरु परिस्थति सापेक्ष चुला एउटै भएपनि मुन्धुमले बखानी कर्मकाण्ड गर्न सकिन्छ भन्ने धारणा ब्यक्त गर्दछन् । आज किरात राईहरु बिभिन्न देशमा माईग्रेट भएका छन् । बिदेश माईग्रेट भएका किरात राईहरुले आफ्नै घरमा चुला राख्न सम्भव छैन तर संस्कार गर्न चुला नभई हुदैन ।

यसर्थ सामुहिक चुला मान्ने वा नमान्ने यस अन्तराष्ट्रिय सम्मलेनमा राख्न चाहान्छौ यसको निराकरण होस भन्ने किराया हङकङ अपेक्षा गर्दछ ।

संस्कृती सम्बन्धमा

किरात राई यायोक्खा हङकङले किरातहरुको मौलिक संस्कृतीमा भने हङकङमा बिबाद रहित फड्को मारेकोछ । बार्षिक रुपमा दुइ चोटि मनाईने उभौली र उधौली पर्वमा कुनै द्घुविधा तथा मतमतान्तर छैन । सम्पुर्ण किरात राईहरु त्यस दिन किरात भेष भुषामा सजिएर साकेला नाच्न आउछन् । किरात राई यायोक्खा हङकङले पनि साकेलाको दिन तय गरेर २ महिना अगावै सुचना जारी गर्दछ त्यसै अनुरुप किरात राईहरु तथा गैर किरातराईहरु छुट्टि मिलाएर सहभागी हुन आउछन । नाच्छन रमाउछन् र बिश्व भरी छरिएर रहेका किरात राईहरु तथा सम्पुर्ण मानव जगतकै सुख समृद्धीको कामना गर्दछन ।

किराया हङकङको प्रश्न

१.   किरात राई यायोक्खा धर्म निरपेक्षित संस्था हो वा किरात राईहरुको मौलीक धर्म सापेक्षित संस्थाहो ?
२.   चुला पुजालाई मौलीक संस्कार अनुसार बलि चढाएर पुजा गर्नुपर्दछ वा फलफुलले पुजा गर्नु पर्दछ ?
३.   चुला प्रत्येक किरात राईहरुकोघर घरमा राख्न पर्दछ वा देश र परिस्थिति अनुसार सामुहीक चुला स्थापना गर्नु पर्दछ ?

किराया हङकङको सुझाव

१.   इटालीका नेता मेजिनिले भनेका थिए कुनै पनी राष्ट्र वा जातीलाई पराजीत गर्नुछ भने पहिले उस्को धर्म–संस्कारलाई नष्ट गर त्यो जाति वा राष्ट्र स्वतनै नष्ट भएर जानेछ । यसर्थ किरात राई यायोक्खालाई मौलीक किरात धर्म सापेक्षीत संस्था बनाउनु पर्दछ भन्ने किराया हङकङ सुझाव पेश गर्दछ ।
२.   राष्ट्रको मुल कानुन त्यस देशको सर्वोच्च कानुन हो । यदि राष्ट्रले बलिभोग गर्न बर्जित गरेको छ भने चुला पुजा गर्दा मौलिकतालाई जोगाई राख्न बलीलाई सांकेतीक बस्तुको प्रयोग गरि बलीभोग गरेर पुजा आर्चन गर्नु पर्दछ भन्ने किराया हङकङ सुझाव पेश गर्दछ ।
३.   विदेशमा वा शहरीकरण भएको ठाउमा घर घरमा चुल्हा राख्न नसकिने भएकोले सामुहिक चुला स्थापना गरि समुहिक चुलापुजा गर्न पर्दछ वा चुलालाई जमिनमै गाढ्न पर्ने मान्यतालाई हटाई सजिलै स्थान्तरण गर्न सकिने चुला राख्न पर्दछ भन्ने किराया हङकङ सुझाव राख्दछ ।

श्रीमान अध्यक्ष ज्यु,

किरात राई यायोक्खा हङकङ सदा सर्वदा किरात राईहरुको भाषा, धर्म–संस्कार र संस्कृतिको संरक्षण र सम्र्वद्घन गर्न लागीपरीरहेको अवगत गराउदछौ । किरात राई यायोक्खा केन्द्रिय कार्यलय नेपाललाई सदा मातृ संगठनको रुपमा राखी कार्य गर्दै आईरहेका छौ । तेस्तै हङकङगेली किरात राईहरुको आवाजलाई किरात राईहरुको यस साझा मंच सम्मानीत अन्तराष्ट्रिय सम्मेलनलमा सुनुवाई हुनेछ भन्ने हामिले आशा लिएका छौं । र अन्तमा किरात राईहरुको ऐतिहासिक यस अन्तराष्ट्रिय सम्मेलन सफलता पुर्वक सम्पन्न होस भन्ने शुभकामना ब्यक्त गर्न चाहान्छौ ।

जय किरात
जय किरात राई अन्तराष्ट्रिय सम्मेलन ।
जय किरात राई यायोक्खा हङकङ ।

शशि मदन राई
अध्यक्ष, किराया हङकङ

निर्कष :

किरात राई यायोख्खा हङकङले अन्तराष्ट्रिय सम्मेलनमा राखेको प्रश्न र सुझाव पत्रमा समयको अभावले छलफल हुन नसकेता पनि २३ अप्रिल २०१५ मा बसेको अन्तराष्ट्रिय समन्वय समितिको बैठकमा अनौपचारिक छलफल गरि अगामी सम्मलेनहरुमा प्रस्तावहरु उपर छलफल गर्दै जाने गरि निष्कर्ष ननिस्किन्जेल निम्न समझदारी कायम गरियो ।

१.   किरात राई यायोक्खा धर्म निरपेक्षित संस्था हो वा किरात राईहरुको मौलीक धर्म सापेक्षित संस्थाहो भन्ने प्रश्नमा किरात राई यायोक्खा नेपालले नेपाल राष्ट्र धर्म निरिपेक्षित राष्ट्र हुनु पर्दछ भनि आवाज उठाईरहेको अवस्थामा किरात राई यायोक्खा समेत धर्म निरिपेक्षित संस्थाहुनु पर्दछ तर यस संस्थाले किरात राईहरुको मौलिक किरात धर्म संस्कारलाई संरक्षण गर्दछ भन्नेमा समझदारी कायम गरियो ।

२.   चुला पुजालाई मौलीक संस्कार अनुसार बलि चढाएर पुजा गर्नुपर्दछ वा फलफुलले पुजा गर्नु पर्दछ भन्ने प्रश्नमा चुला मान्ने र किरात धर्म सम्प्रादय अन्तगर्त पर्ने किरात धर्मलम्वीहरुलाई स्वेच्छाले पुजा गर्न दिन प्रदछ तर यस संस्थाले किरात राईहरुको मौलिक संस्कार बलि चढाएर चुला पुजा गर्नुलाई संरक्षण गर्दछ भन्नेमा समझदारी कायम गरियो ।

३.   चुला प्रत्येक किरात राईहरुकोघर घरमा राख्न पर्दछ वा देश र परिस्थिति अनुसार सामुहीक चुला स्थापना गर्नु पर्दछ भन्ने प्रश्नमा प्रत्येक किरात राईहरुले सकेमा आफ्नै घरमा चुला राख्न सुझाव दिनु पर्ने तर नसकेको खण्डमा सामुहिक चुलाघर स्थापना गरि सामुहिक चुलामा किरात राईहरुको मौकिलक कर्म काण्ड गर्दै जानुपर्ने अवधारणामा यस संस्था जोड दिन्छ भन्नेमा समझदारी कायम गरियो ।

अन्य,
४. शशि मदन राई किराया हङकङको अध्यक्ष रहेमा अगामी तेस्रो अन्तराष्ट्रिय सम्मेलन हङकङमा गर्न सकिने संभावना  राख्ने, यसबारे छलफल गर्दै जाने ।

समाप्त