पितृ पूजक किरात धर्म

शशि मदन राई (कुलपति–किरात राई प्रज्ञा प्रतिष्ठान, हङकङ)
२६ अप्रिल २०१८–२०२१ ।

पितृ पुजक किरात धर्म भनेको युमा किरात धर्मकै परम्परा हो। पितृ र प्रकृतिक दर्शनमा आधारित मुन्दुमद्वारा निर्देशित आस्थालाई पितृपुजक किरात धर्म भनिन्छ। पितृपुजक किरात धर्म माझ किरात र वल्लो किरातका किरातीहरुले मान्दछ। मुन्धुम मौखिक रुपमा भन्दै ल्याएको दर्शन हो। मुन्धुम नया पिडिमा मौखिक हस्तान्तरण हुँदा केहि अदल बदल हुन सक्तछ। मुन्धुम किरातहरुको पुस्तौ–पुस्ता पितापुर्खाहरुले संगाल्दै ल्याएको आस्था हो। अहिले मुन्धुमलाई लिखत गर्न लागेकोछ। मुन्धुममा यस जिवन र जगत प्रतिको धारणा दर्शाएको हुन्छ। मुन्धुममा पितापुर्खाहरुले संगाल्दै ल्याएको घटना , दुरघटना, संस्कार, संस्कृति, नियम, कानुन, ईतिहास आदि संगालेको हुन्छ।

२. पितृ पुजक किरात धर्मका मानव सम्बन्धि आस्था

पितृ पुजक किरात धर्मले मानव संसार बसाउने पितृहरु र यो संसार चलाउने प्रकृतिमा आस्था राख्दछ।

  1. यस चराचर जगत तथा प्रकृतिका श्रृष्टिकर्ता रुमाहाङ हुन।
  2. सुम्निमा र पारुहाङलाई यस जगतका प्रथम मानव अदिम पुर्खा मान्दछ।
  3. मनुष्यको जन्म पितापुर्खाहरुको कर्तब्यको उपजको रुपमा मान्दछ।
  4. पितापुर्खानै आफ्नो सृष्टिकर्ता हो । पितापुर्खानै जन्मदाता हो भनि मान्दछ।
  5. किरातहरुले स्वर्ग र नर्कमा विश्वास गर्दैन। पुर्वजन्म र पुर्नजन्ममा विस्वास गर्दैन।
  6. राम्रो बाटो गएका पितापुर्खाहरुको आत्मालाई घर भित्र चुलामा रहेको पितृकक्ष (सुवाँछेम) मा राखिन्छ। नराम्रो बाटो गएका पितापुर्खाहरुको आत्मालाई घर बाहिर राखिन्छ।
  7. पुजागर्दा पहिला पित्रिलाई चढाएर, अनि आफुले मुख जुठ्याएर मात्र गर्दछन् । मुख नजुठ्याई पुजागरेमा अशुभ मानिन्छ।
  8. जातपातमा बिस्वास गर्दैनन् । सात पाछाका दाजुभाईहरु जम्मा भई रातो अचना चिसो छपना गरि पितृहरुलाई देखाउदै जुनसुकै मानिसलाई नया पाछामा प्रवेश गराउन सक्तछ।
  9. पितृहरुको नाम यसप्रकार छ : १) सुम्निमा पारुहाङ, २) हँछा/हेन्कम्बु , ३) किरातुईवा, ४) हर्कबुङ, ५) राई, ६) पतिसुङ, ७) लारिहा, ८) लारिहाप्पा, ९) नागेलुङमे, १०) नारिता, ११) यारिता, १२) नागरिता, १३) पातेसुङ, १४) खक्चीलुप्पा/हेचाकुप्पा/रैछाकुले।

३. पितृ पुजक किरात धर्मका प्रकृति सम्बन्धि आस्था

पितृ पुजक किरात धर्ममा किरातीहरुले मनुष्यहरुलाई राम्रो होस भनि प्रकृतीको पुजा गर्दछ।

  1. मनुष्यका सम्पुर्ण बिचार, धारणा, आचारण, ईच्छा, कार्य आदि प्रकृतीबाट पैदा भएको र उसको प्रवित्ति, क्रिया, यात्रा, मनोकामना आदि पनि प्रकृती बाटनै निर्देर्शित हुन्छन भनि मानिन्छ।
  2. संसारमा घटेका घटना, दुर्घटना, प्रकोप, प्रलयहरु र मनुष्यको जन्म, मरण कुनै दैवीक शक्तिको उपज नभई प्रकृतिकै उपज हो भनि मानिन्छ।
  3. जिवन, जगत, मरण कुनै ईश्वरीय शक्तिले सृजना नगरि प्रकृतिले गरेको मानिन्छ। यो निरन्तर चलिरहन्छ। मनुष्यका संस्कार पनि ईश्वरीय देन नभई प्रकृतीबाट नै प्रेरित भएका हुन्छन भनि मानिन्छ।

४. पितृ पुजक किरात धर्मका कर्मकाण्डहरु

  1. गर्भ संस्कार 
    श्रीमतिको गर्भ रहेको अवस्थामा चुलामा पुजागरी गर्भमा बसेको बच्चाको सुभेफापेको लागी कामना गर्ने प्रचलन छ । यसरी चुलामा पुजा गरेमा पितापुर्खाहरु खुसि भै गर्भमा रहेको बच्चा सर्लककै राम्रोसंग जन्म हुन्छ भन्ने बिश्वास गरिन्छ । श्रीमतिको गर्भ बसेकोबेला काटमार गर्न हुँदैन, शिकार खेल्न जान हुँदैन, मलामी जान हुँदैन, गईहालेमा ढुङगा बोक्न, खाल्डो खन्न, माटो दिनु हुदैन भन्ने संस्कार छ ।
  2. जन्म संस्कार –
    बच्चा जन्मदा चुलामा देखाई, छोरी जन्मे कुखुराको पोथीले, छोरा जन्मे कुखुराको भालेले बच्चा र आमालाई छुवाई पुजा गरेर खुलाउने संस्कार छ । तर हङकङमा भने बच्चा जन्मेको दिन आमा र बच्चा समेत अस्पतालमै हुने भएकोले बच्चा जन्मेको अर्को साल (जन्म दिनको दिन) सामुहिक चुलामा पुजा गरि जन्म संस्कार मनाउने प्रचलन चलेको छ ।
  3. नौरान संस्कार –
    घरमा बच्चा जन्मिएपछि न्वरान गर्ने चलन छ । शिशु जन्मदा कुनै जाति, पाछा र नाम बिना जन्मिएको हुन्छ । उसलाई जाति, पाछा र नाम दिई एक मानवको रुपमा स्थापित गर्नको लागि न्वरान गरिन्छ । शिशु बालीका जन्मेको भए ५ दिनमा बालक जन्मेको भए ६ दिनमा न्वरान संस्कार गरिन्छ ।
  4. भात खुलाई संस्कार –
    बच्चा जन्मेको ३ महिना देखी ६ महिनाभित्र राम्रो दिन परेर बच्चालाई खाना खुवाउने संस्कार गर्दछन । छोरी भए तीन महिना वा पाँच महिना पुगेपछि र छोरा भए चार महिना वा ६ महिना पुगेपछि खाना खुवाईन्छ ।
  5. छेवर/गुन्युचोलो संस्कार –
    परापुर्वकालमा तयमा र खियामाले शिपको काम गर्दै लाँदा तानमा बुनेर कपडा निर्माण गरेका थिए । तयमा र खियामाले बुनेको कपडालाई पिता पुर्खाहरुले बिशेष बिधि पुर्वक आफ्नो शरिरमा पहिरिएर मानव शरिरमा कपडा लगाउने परम्पराका शुरुवात गरेका थिए । पिता पुर्खाले गरिल्याएको परम्परा अनुसारनै बालक भए दौरा, सुरुवाल, टोपी, खुकुरी, धनुकाँड दिने र बालिका भए गुन्युचोली, पटुकी, बर्को, तानबुन्ने थाको दिने संस्कार चलि आएको हो । बालक भए ४ वा ६ बर्ष पुगेपछि र बालिका भए ३ वा ५ बर्ष पुगेपछि राम्रो दिन हेरेर लुगा दिने संस्कार गरिन्छ।
  6. बिवाह संस्कार –
    केटाको उमेर १८ बर्ष पुगेपछि बिबाह गरिदिने संस्कार छ । बुहारी भित्र्याउदा र छोरीचेली ज्वाँइलाई दिँदा आफ्नै किसिमको रीति गरिन्छ । बिवाह गर्ने रीति बिभिन्न खोला, पाछा, थर अनुसार फरक फरक पाईन्छ।
  7. मृत्यु संस्कार –
    मानिस जन्मे पछि मृत्य अनिवार्य छ। अजम्बरि कोही छैन। यस जगतको हरेक भौतिक वस्तुहरुको एक दिन मृत्यु हुनेछ। धर्ती आकाशको पनि एकदिन अन्त्य हुनेछ। ढुङगा माटोको पनि एकदिन अन्त्य हुनेछ। जुन तारा पनि एकदिन मर्नेछ। मृत्यु अवश्य हुनेछ। मानिसको मृत्यु पश्चात भौतिक शरिरलाई धर्तीमा समाहित गरिन्छ। आत्मालाई बाटो लगाईन्छ।  

५. पितृ पुजक किरात धर्ममा गर्नुपर्ने सत्कर्महरु

  1. प्रार्थना गर्नु, माता पिताको सेवा गर्नु –
    दैनिक बिहान–बेलुका सुम्निमा पारुहाङलाई सम्झेर शान्त मनले प्रार्थना, ध्यान, गर्नु। माता पिताको दैनिक सेवा गर्नु।
  2. पितृ तथा प्रकृतिको पुजा गर्नु –
    वर्षमा दुई पल्ट उभौली र उधौलीमा पितृ तथा प्रकृतिको पुजा गर्नु। खोला नाला बन जंगल प्रकृतिको रक्षा गर्नु। जिव जन्तुको नियन्त्रण तथा संरक्षण गर्नु।
  3. वयोवृद्धलाई आदर, गरिब दु:खिलाई दया गर्नु –
    वयोवृद्धलाई आदर गर्नु, गरिब दुःखीलाई दया गर्नु। प्रत्येक दिन आफूले उपभोग गर्ने भागबाट खाने, पिउने वस्तुहरु जोगाएर गरिब दुःखीलाई सहयोग गर्नु।
  4. खान अगावै पितापुर्खालाई चढाएर खानु –
    अन्न पाकेपछि पितापुर्खालाई चढाएर मात्र खानु पर्दछ । पितापुर्खा खुशी भए अन्न राम्रो फुल्ने, फल्ने हुनाले पाकेको अन्न पितापुर्खालाई पहिला चढाउनु पर्दछ।
  5. पवित्र वस्तु र स्थलको रक्षा गर्नु –
    किरातहरू घरभित्र चुला र सुँवाछेमलाई पवित्र स्थल मान्दछन्। आगोलाई शक्तिको रुपमा मानिने हुनाले मुन्दुम अनुसार आगो बाल्ने चुलालाई खुट्टाले हान्नु, थुक्नु, दिसा, पिसाब गर्नु हुँदैन। आगो जहीँहोस् बालेको बखत नमस्कार गर्नु पर्दछ । त्यस्तै पानीमा दिसा, पिसाब गर्नु, थुक्नु, जुठो फोहोर गर्नु, पाप मानिन्छ।
  6. मानव कल्याणकारी कामहरु गर्नु –
    जीवनको केहि समय मानव कल्याण कार्य, जीवन दर्शनको अध्ययन, अनुसन्धान र मानव समुदायबीच भातृत्व एवं प्रेम बढाउने कार्य गरे पितापुर्खाको आर्शिवाद प्राप्त हुन्छ।
  7. स्वधर्म संस्कारलाई जोगाउनु –
    स्वधर्मको पालना गर्नु। स्वधर्म त्याग गरे भतुवा भइन्छ, इज्जत रहँदैन र पराइ भइन्छ भनी मुन्दुममा भनिएको छ।

६. पितृ पुजक किरात धर्ममा नगर्नु पर्ने असत्कर्महरु

किरातधर्म अनुसार पाप गरेको जून, घाम, माटो, पानी, हावाले देख्छ भन्ने पितापुर्खाहरुको अर्ती उपदेशमा पाईन्छ। त्यस्तैै नराम्रो काम गरेमा अल्पायू, अधकल्चे भइन्छ, हराइन्छ, मासिइन्छ, शाखा सन्तानलाई पिर्छ, कुजा, लाटा, लङ्गडा, अन्धा, बहिरा, दुखिया, रोगी, अपराधको दोष लाग्छ, गर्भपात हुन्छ भन्ने विश्वास गरिन्छ। कुकर्म गर्नेले पितृशक्ति, राजशक्ति र धनशक्तिको बाटो पक्रन सक्दैन भन्ने किरात उपदेशमा छ ।

  1. भिख मागेर खानु हुदैन –
    किरातहरुले भिख मागेर खानु हुँदैन । किरातहरु बुद्धि, विवेक र शारीरिक परिश्रमको प्रयोगबाट खान, लाउन र बाँच्न पर्दछ।
  2. चोरी, ठगी गर्नु हुदैन –
    किरातहरुले चोरी र ठगी गर्न नहुने। चोरेको ठगेको सबै जून, घाम, हावा, माटो, पानीले देखिरहेको हुन्छ। चोरी, ठगी गरेर प्राप्त गरेको धन सम्पत्तिले आफू र आफ्ना परिवारलाई फलिफाप हुँदैन।
  3. परस्त्री/परपुरुष गमन गर्नु हुदैन –
    मानव जातिको सृिष्टमा पुरुष र महिलाको संख्या समान अनुपातमा हुन्छ। त्यसैले एक पतिव्रत नारी र एक पत्नीव्रत पुरुषको चलनलाई असल मानिन्छ। परस्त्री र परपुरुष गमन पाप र कलहको जड मानिन्छ। यसको परिणाम आफैंले मात्र हैन आफ्ना सन्तानहरु र परिवारका अन्य सदस्यले समेत भोग्नु पर्ने हुन्छ।
  4. लोभ, लालच गर्नु हुदैन –
    लोभ, लालचले क्षणिक लाभ भए तापनि अन्तत क्षति, दुःख, कष्ट निम्त्याउँछ। मानव जातिलाई प्रकृतिले सबै आवश्यक वस्तुहरुको पूर्ति गरिदिएका छन् तर आफूलाई चाहिनेभन्दा बढी लोभ लालच गर्दा अरुको अधिकार र स्वामित्वमा असर पर्ने र प्राकृतिक सन्तुलनमा असर पर्ने हुनाले लोभ लालच गर्नु हुदैन।
  5. डाहा, ईष्र्या गर्नु हुदैन –
    डाह र ईष्र्यालाई अनुचित र तुच्छ मानिन्छ। मानव–मानव बीच, समुदाय–समुदाय बीच सदिच्छा र सदभाव नै किरात धर्म हो। डाह र ईष्र्याले मानिसको मनलाई डढाएर नष्ट गर्दछ।
  6. घमण्ड गर्नु हुदैन –
    धन, सम्पत्ति, रुप, वुद्धि, बल र शक्तिको अहंकारले व्यक्तिलाई क्षतिगर्दछ । धन, सम्पत्ति, रुप, वुद्धि, बल र शक्ति माथि व्यक्तिको स्थायी स्वामित्व हुँदैन । घमण्डले प्रेम, सदाचार हैन द्वेश बढाउँछ । वुद्धि र विवेकमा ताल्चा लाग्छ।
  7. मानव हत्या गर्नु हुदैन –
    सृष्टिपछि मानव जातिले पृथ्वीमा फैलिनु पर्ने, प्रकृतिलाई संरक्षण गर्नु पर्ने, प्रकृतिक संरक्षण प्रणालीको विकाश गर्नुपर्ने, जिव जन्तुको नियन्त्रण गर्नुपर्ने भएकोले मानव जनसंख्या फैलाउन मानव हत्या गर्नु हुँदैन। प्रकृतिको संरक्षण गर्न नसके मानव संकट आउने।

७. पितृ पुजक किरात धर्ममा मृत्यु प्रति धारणा

  1. रोग लागेर वा बृद्ध भएर निधन भएमा स्वभाविक मृत्यु मानिन्छ।
  2. स्वभाविक मृत्यु हुनेहरु राम्रो बाटो गएको मानिन्छ। राम्रो बाटो जानेहरु चुलामा आँउदछ।
  3. झैझगडा गरेर, लडेर, आत्महत्या गरेर, दुर्घटनामा परेर मृत्यु भएमा अस्वभाविक मृत्यु मानिन्छ।
  4. अस्वभाविक मृत्यु हुनेहरु नराम्रो बाटो गएको मानिन्छ। नराम्रो बाटो जानेहरु चुलामा आउनु सक्तैन। 
  5. सुत्केरी ब्यथाले मृत्यु हुने महिला समेतलाई नराम्रो बाटो गएको मानिन्छ।
  6. छेवर वा गुन्युचोली नगरि निधन भएको बालबालिका समेतलाई नराम्रो बाटो गएको मानिन्छ।
  7. छेवर वा गुन्युचोली नगरेको भएता पनि भाई वा बहिनी जन्मि सकेको भए राम्रो बाटो गएको मानिन्छ।

८. पितृ पुजक किरात धर्ममा मृत्यु शोक धारणा

आमा बाबुको मृत्यु भएमा छोराहरुले मृत्यु भएकै दिन देखि नुनतेल छाडि मृत्यु शोक बस्न पर्दछ। मृत्यु शोक बस्दा निम्न कुराहरु गर्न हुदैन।

  1. ढोगभेट गर्न, हुदैन,
  2. चौतारामा बस्न हुदैन,
  3. गुन्द्रीमा बस्न हुदैन,
  4. दोहोरो बोल्न हुदैन,
  5. गीत गाउन हुदैन,
  6. नाच्न हुदैन,
  7. टिका लाउन हुदैन,
  8. जुठो खानु हुदैन,
  9. नुनतेल, मासु खान हुदैन,
  10. काँसको भाँडामा खान हुदैन,
  11. बाबुको मृत्युमा रक्सी खान हुदैन,
  12. आमाको मृत्युमा दुध खान हुदैन ।

९. पितृ पुजक किरात धर्ममा आत्मा प्रतिको धारणा

  1. मानिस मरेर गएपछि शरिर माटोमा मिल्दछ। आत्मा रहि रहन्छ भन्ने धारणा छ।
  2. आत्मा यहि प्रकृतिमा बस्तछ। आत्मा पृथ्वीकै पबित्र स्थल, उच्च स्थान, भीरमा, पाखामा, पखेरामा, ढुङगामा, चट्टानमा, रुखबिरुवामा, बादलमा, बादलको गर्जनमा बस्तछ।
  3. आत्मालाई कहाँ, कसरी, कता राख्ने, कसरी बोलाउने, कसरी खुलाउने, कसरी मिलाउने यस्को ब्यावस्थापन कुबिमिले गर्दछ।
  4. आत्मालाई प्रत्येक बर्ष एकचोटि उधौलीको बेला, नया अन्नबाली पाकेको बेला बोलाई नया अन्नबाली खुलाउने चलन छ।
  5. राम्रो बाटो जानेहरुलाई चुलामा खुलाईन्छ। नराम्रो बाटो जानेहरुलाई चुला बाहिर खुलाईन्छ।

१०. पितृ पुजक किरात धर्मको आदर्श

मुन्धुमले भन्दछ – प्रकृतिकरुपमा संसारमा सिर्जिएका तथा घटेका घटना, दुर्घटना, प्रकोपहरु र मनुष्यको जन्म, मरण कुनै दैवीशक्तिको उपज नभई प्रकृतिकै उपज हो ।

अर्थात, प्रकृतीकै कारणले गर्दा, मानिसले जिवनमा सत्कर्म/ असत्कर्महरु गर्न पुग्दछ। सत्कर्म गरि मृत्यु भएमा मुक्ति प्राप्त गर्दछ। यदि अज्ञानतावस असत्कर्म गरेको रहेछ भनेपनि चोखोनितो भई चुलामा बसी सुम्निमा पारुहाङलाई साँछि राखि  पितापुर्खाहरु र दाजुभाईहरुको माझ क्षमा मागे क्षमा प्राप्त गर्नेछन। असत्कर्म गरि मृत्यु हुनेहरुलाईपनि ७ पाछाका बुढापाकाहरुले चुलामा बसि पितृहरुसंग क्षमा मागे मृतआत्मा क्षमितभै मुक्ति प्राप्त गर्न सक्ने छन।

किरात भित्रका धार्मीक सम्प्रादयहरु:

  1. युमा पुजक किरात धर्म
  2. पितृ पुजक किरात धर्म
  3. जोसमनि सम्प्रादय
  4. सत्यहाङमा सम्प्रादय
  5. अन्य सम्प्रादयहरु

सन्दर्भ सामग्रीहरु :

  1. इमानसिङ् चेम्जोङ, किरात ईतिहास  १९४८(२००५),  किरातको बेद  १९६१(२०१८),  किरात जनको ईतिहास र सङ्स्क्रिती  १९६७(२०२४)
  2. महाजन बि.डि., Ancient India  1981.
  3. जनकलाल शर्मा, जोसमनी सन्त परम्परा र साहित्य  १९६३(२०२०)
  4. चैतन्य सुब्बा, The Culture and Religion of Limbus  1995.
  5. टंक बहादुर सुब्बा, Politics of Culture  1995.
  6. राष्ट्रिय जनगणना, Nepal BS 2058.
  7. साम्पाङ मुन्धुम, मुन्धुम होसुङ, मुक्दुमको सेरोफेरो, थुलुङ मुन्दुम
  8. Wikipedia, Encyclopedia.