सांगठनिक प्रतिवेदन २०१७

सांगठनिक प्रतिवेदन २०१७,
बार्षिक साधरणसभा,
किरात राई यायोक्खा हङकङ,
२ जुलाई २०१७

सभाध्यक्ष महोदय,

कार्यसमितिका पदाधिकारीज्यूहरु, प्रज्ञा प्रतिष्ठानका कूलपति तथा प्राज्ञिक सदस्यज्यूहरु, पूर्वाध्यक्ष, सल्लाहकार, आजीवन सदस्यज्यूहरु, बिभिन्न विभाग प्रमुखज्यूहरु, भाषिक संस्थाका प्रमुख तथा पदाधिकारीज्यूहरु, योगदानी अग्रजज्यूहरुसाथै समस्त किरात राई दाजुभाई तथा दिदी बहिनीहरुलाई यो हाम्रो सुप्तुलुङखीमको यलम्बर सभाहलमा हार्दिक स्वागत गर्दै सेवा ट्क्रयाउँदछु । यसैसाथ संस्थाको सचिवको हैसियतले सांगठानिक मन्तव्य पस्कने अनुमति पनि चाहन्छु ।

महोदय !

विगत बर्षहरुमा झैं साकेला उभौली अगावै संस्थाको बार्षिक साधरणसभा सम्पन्न गरी त्यस सभाले अनुमोदन गरेको सांगठानिक प्रतिवेदनलाई मुखपत्र “यलम्बर” मा राख्ने परंपरा रही आएको थियो । यसपटक संस्थागत विविध कार्य व्यस्तताका कारणले समयसीमाभित्र साधरणसभा सम्पन्न गर्न सकेनौं।यसप्रति आरम्भमै क्षमायाचना गर्दै सांगठानिक प्रतिवेदनलाई बुँदागतरुपमा पस्कन चाहन्छु।

१. विधान परिमार्जन र अधिवेशन-

किरात राई यायोक्खाले आफ्नो स्थापनाकाल(सन १९९८)देखि नै विधानत: संस्थागत कार्यहरु गर्दै आएको सर्वविदितै छ। काम गर्ने क्रममा समय र आवश्यकता महशुश अनुसार संस्थाको विधान परिमार्जन गर्ने कार्य पनि हुँदै आएको देखिन्छ नै।सोहि अनुरुप विगतको कार्यसमितिले नै केहि उल्लेखनीय कार्य योजनाकासाथ विधानमा केहि परिमार्जन गर्न अधिवेशनमा मर्स्यौदा प्रस्ताव प्रस्तुत गरेको थियो । अघिल्लो कार्यसमितिका अध्यक्ष शशीमदन राईले भविश्यमा किरात राई यायोक्खा हङकङलाई आफैंमा महासंघ बनाउन सकिने तबरको विधान मर्स्यौदा प्रस्ताव ९ औं अधिवेशनमा प्रस्तुत गर्नु हुँदा अधिवेशन हलले सो प्रस्ताव अनुमोदन गरेको थियो । सो विधानानूसार-

(क) पदेन उपाध्यक्ष:

किरात राई यायोक्खा हङकङसँग सम्बद्ध भाषिक संस्थाका अध्यक्षहरु मूल संस्था (राई यायोक्खा हङकङ) को पदेन उपाध्यक्ष रहने व्यवस्था भई ६ मार्च २०१६ मा सम्पन्न संस्थाको ९ औं अधिवेशनबाटै कार्यान्वयन गरियो।

(ख)महासचिव:

बाह्य काम/कुराहरु जस्तै- केन्द्र तथा अन्तर्राष्ट्रिय संघ/संस्थाहरुसँग समन्वय गरि कार्यहरु गर्न/गराउन महासचिवको व्यवस्था गरियो।९ औं अधिवेशनबाटै महासचिव चयन पनि गरियो । विधान परिमार्जन र महासचिवको यहि व्यवस्था अनुसार पूर्व सचिव बिमल राई ९ औं अधिवेशन महासचिवमा चयन गरिएको हो । महासचिव विमल राई केहि बर्ष स्वदेश नेपाल बस्ने जानकारी गराएर जानु भएकोले हाल यो पद रिक्त रहेको छ ।

२. किरात राई प्रज्ञा प्रतिष्ठान हङकङ गठन-

किरात राईहरुको भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, भेषभूषा, साहित्य, कला, इतिहास आदिलाई संरक्षण, सम्बर्धन एवं समायानूकूल बिकास गर्नको खातिर किरात राई यायोक्खाको १२ औं बैठक तदानूसार १२ मार्च २०१६ ले पूर्वाध्यक्ष तथा बर्तमान सल्लाहकार प्रमुख शशीमदन राईको कूलपतित्वमा ९ सदस्यीय ”किरात राई प्रज्ञा प्रतिष्ठान हङकङ” गठन गर्यो।यो दुनियाँका हरेक मानव जातीले नै आफ्नालागि प्राज्ञिक कार्यहरु गर्दै आई रहेको वर्तमान अवस्थामा यो प्रज्ञा प्रतिष्ठान गठनलाई अर्थपूर्ण ठानिएको छ । यो प्रतिष्ठानले कुनै छुट्टै संस्थागत काम/कार्वाही गर्ने नभई किराया हङकङले दिशा निर्देश गरेका कार्यहरु प्राज्ञिकरुपमा गर्दछ।स्पष्ट यसरी बुझ्यौं-किराया हङकङलाई बौद्धिक सहयोग गर्नाका निम्ति यो प्रतिष्ठान गठन भएको हो । यो प्रतिष्ठानले किरायाको छत्रछाँयामा रहेर किरायाबाटै अनुमोदन भए/गरेका कार्यहरु मात्रै गर्नेछ ।

३.संस्थागत एकता-

यस संस्था (किरात राई यायोक्खा हङकङ) सँग आबद्ध हरेक भाषिक संस्थाहरुले गरेका कार्यहरुमा संस्थागतरुपमा व्हिप नै जारी गरी साथ/सहयोग गर्ने गरिएको छ । हाल ७ वटा भाषिक संस्थाहरु किरायामा आबद्ध छन् । हरेक भाषिक संस्थाहरुले मूल संस्था किरायाप्रति उत्तरदायी  भएर कार्यहरु गरी नै रहेका छन् । यसप्रति किराया हङकङ आभार व्यक्त गर्दछ । भाषिक संस्थाहरुको चलायमनता नै किरायाको बुलन्द शक्ति हो । यस कुरालाई सदैव आत्मसात गरिएको नै छ  ।

४. अपनत्व र नैतिक जिम्मेवारी-

किरायाले हरेक किरात राईहरुको भलाई होस् भन्ने बिषयमा जोड गर्दछ।संस्थागत काम गर्दै जाँदा कति ठाउँमा कमी/कमजोरी  रहन्छन् नै । तथापि ति कुराहरुले हामीलाई बिभाजित गराउने होइन सिक्दै, जान्दै बुझ्दै जाने क्रमतिर डोर्याउँछ । कार्यसमितिका पदाधिकारीहरु सबैले आ-आफ्नो तबरले संस्थाको हितमा कार्य गरेकै छन् । सबैभन्दा ठुलो कुरा त अपनत्व भन्ने कुरा भित्री हृदयमा हुनु पर्दछ । मस्तिष्कको केन्द्रियतामा हुनु पर्दछ । व्यवहारमा हुनु उत्तिकै जरुरी छ । पदमा रहेर सबैले आजसम्म संस्थाको हित विपरित कार्य गरेका छैनन् । यो सम्माननीय कुरा हो । यो ठाउँको व्यस्त दैनिकी र मजबुरीले सबैलाई गाँजेको सत्य घाम जत्तिकै छर्लङ छ । यसका वावजुद पनि अस्ति र हिजैदेखि तन,मन,वचन र कर्मले आफ्नो समुदायको निम्ति उठ्न र जुट्न सकेका छौं।यो भावी शुभसंकेत हो।अब हाम्रा पाइलाहरुले मूल गन्तव्यको चोमोलोङ्मा टेक्ने छन्।यहि हो अवनत्व।यहि हो नैतिकता।

५. संस्कारतर्फ –

किरात राईहरुको मौलिक संस्कार सम्पन्न गर्नाकालागि किरायाले पूर्वसमितिले झैं प्रमुख कुविमि र सहायक कुविमि नियुक्त गरेको छ । जसमा पूर्वकार्यसमितिले नियुक्त गरेको प्रमुख कुविमी तथा मौलिक धर्म- संस्कारविद श्रेष्ठ बहादुर राई र सहायक कुविमि नारायण प्रसाद राई नै पुन: दोस्रो कार्यकालकालागि सोहि पदमा नियुक्त गरिएको छ।यसबाट किरात राईहरुले गर्भ-जन्मदेखि मृत्‍युसम्मका संस्कारगत सेवाहरु लिन सक्नेछन् । यो व्यवस्थाबाट धेरैले सेवा प्राप्त गरी रहेका छन् ।

६.संस्कृतितर्फ-

किरात राईहरुले परापूर्वकालदेखि नै मान्दै आएका चाडहरु किरायाले अघिल्ला बर्षहरुमा झैं मनायो । जस्तो कि भाषिकहरुको बिशेष सहभागीतामा किराती सम्वत (येले सम्वत) येलेदुङ ५०७७ मंकीहिलमा मनाइयो।येलेदुङमा भाषिक संस्थाहरुले तयार गर्ने गरेका बिभिन्न मौलिक खानपान यसपटक पनि उस्तै उत्साहकासाथ तयार गरिएको थियो।यसैसाथ संस्थाको स्थापना दिवश पनि सामेल गरेर मनाइएको थियो । यसै गरी १८ डिसेम्बर २०१६मा ताइमोशान कन्ट्रि पार्कमा ”साकेला उधौली” भव्यताकासाथ मनाइयो। यसैगरी १९ मेंमा साकेला उभौली पनि सम्पन्न गरियो। विगत बर्षहरुको तथ्यांकको आधारशीलमा रहेर गरिएको व्यवस्थापनले यसपटक पुरै थाम्न सकेन।अप्रत्यासित जनमासको उपस्थिति रह्यो।जसको अड्कल गर्न सकिएन।यसप्रति पुन: क्षमाप्रार्थी छौं।पूर्वाध्यक्ष शशीमदन राईको कार्यसमितिको बेला (विगत ३ बर्ष) देखि उहाँकै प्रस्ताव अनुसार मानिंदै आएको साउने संक्राति मनाउने क्रमलाई पनि निरन्तरता दियौं । किरात राई केन्द्र तथा अनुशन्धानकर्ताहरुबाट किरात राई  संस्कृति बारेमा अन्य नयाँ केहि नआएको हुनाले पहिलादेखि किरायाले मान्दै आएका चाडहरु मान्ने क्रमलाई नै मात्रै निरन्तरता दिइएको निवेदन गर्न चाहन्छु।

७. सुप्तुलुङखीम(चुलाघर)खरिद र व्यवस्थापन-

अघिल्लो कार्यसमिति अर्थात बुद्धिजीवि व्यक्तित्व शशीमदन राईको नेतृत्वमा रहेको किराया कार्यसमितिले सुप्तुलुङखीम (चुलाघर) खरिद गर्न सल्लाहकार तथा सर्वमान्य व्यक्तित्व हेजेन राईको संयोजकत्वमा ”चुलाघर खरिद तथा व्यवस्थापन समिति” गठन गरेको थियो । सोहि समितिले सुप्तुलुङखीम (चुलाघर) खरिद गरेर कार्यसमितिलाई हस्तान्तरण गर्न सफल भयो । तत्पश्चात अधिवेशन भयो।अर्को कार्यसमिति अर्थात अध्यक्ष रजिन राई रहेको हालको कार्यसमितिलाई बाँकि जिम्मेवारी आयो।यो निक्कै ठूलो उपलब्धि र उत्तिकै ठूलो व्यबस्थापनको चुनौति पनि हो।किलुङ चुन,शान्तिनमा रहेको यो जमीनसहितको सुप्तुलुङखीम (चुलाघर) खरिद गर्नलाई निक्कै हम्मेहम्मे परे जस्तै यसको रेखदेख,स्याहारसंहार र व्यवस्थापन गर्नकालागि विधान अन्तर्गत नियमावली बनाइएको छ।नियमावलीमा उल्लेख गरे अनुसार सम्पूर्ण व्यवस्थापन गर्न नसके पनि हाल सम्भव भएसम्मको कार्यहरु गरिएको छ । सुप्तुलुङखीम(चुलाघर) खरिद गरी सके पश्चात संस्थाको कार्यालय यसैभित्र राखिएको छ । यसभित्रको १ कोठामा किरात राईहरुको एकताको प्रतिक ३ ढुङ्गे चुला गाडिएको छ । चुलाकै एकातर्फको भित्तामा सबै भाषी राईहरुको पित्रि कक्ष राखिएको छ । साम्पाङ र चाम्लिङ भाषी राईहरुले आफ्नो पित्रि राखी सकेका छन् । अन्य भाषी राईहरुले जुनसुकै मितिमा आफ्नो पित्रि कक्षमा  पित्रि राख्न सक्नेछन्।यो सुप्तुलुङखीम (चुलाघर) खरिद गर्दा सयौं किरात राई दाजुइभाई तथा दिदीबहिनीहरुले आर्थिक सहयोग गरेका छन् । सहयोगदाता सबैको सहयोग सकमसहित नामावली यसैभित्रको यलम्बर हलमा राखिएको छ । बार्षिक मूखपत्र यलम्बरमा पनि सहयोगदाताहरुको नामावली र रकम छापिएको छ । यो कार्यसमितिले यो सुप्तुलुङखीम (चुलाघर) व्यवस्थापन पूर्णरुपमा गर्न कोशिश गरी नै रहेको छ । आदरणीय रजिन राईको प्रमुख नेतृत्वमा रहेको यो कार्यसमितिले सुप्तुलुङखीम खरिद गर्दाको ७५% ऋण पनि चुक्ता गरेको अवगत गराउँदछौं ।

८. सुप्तुलुङखीम(चुलाघर) र कार्यक्रम-

किरायाको नेतृत्व र किरात राई दाजुभाई तथा दिदीबहिनीहरुको सहयोगले सुप्तुलुङखीम (चुलाघर) खरिद गरी सकेपछि किराया र भाषिक संस्थाका कार्यक्रमहरु यसभित्रको यलम्बर हलमा नै सम्पन्न गर्न थालिएको छ । यसबाट आर्थिक बचावट र अन्य तपसिलका झन्झटबाट मुक्त भएको आभास हुन्छ । यस हलमा आजसम्म थुलुङ राई सामाको अधिवेशन,चाम्लिङ खम्बातिमका विविध कार्यक्रमहरु, साम्पाङ जुम्लेखाका संस्कारगत कार्यक्रमहरु, वान्तवा यायोक्लाखीमका भाषा प्रशिक्षण कार्यक्रम, यलुङछा परिवारका अधिवेशन लगायत सबैले आ-आफ्नो कार्यक्रम निर्ढुक्कले गर्दै आएका छन् । सुप्तुलुङखीम (चुलाघर) प्रगोग गर्ने अनुमति लिएर व्यक्तिगत कार्यक्रमहरु पनि गर्न सकिने व्यवस्था गरिए अनुसार पूर्वाध्यक्ष शशीमदन राईको छोरा जय राईको छेवर यहाँ गरिएको थियो । यसैगरि अध्यक्ष श्रीमान रजिन राई र श्रीमति प्रनिका राईको छोरा जिमीहाङ राई र लिमाहाङ राईको छेवर यहाँ नै सम्पन्न गरिएको थियो।श्रीमान राजेन्द्र कुमार राई र श्रीमति शोभा राईको बेलायत निवासी छोरी डाक्टर अप्सरा राईको मगनी इन्जिनियर सुन्दर राईको साथमा यहिं सम्पन्न गरिएको थियो । यस्ता कार्यक्रमहरु अटुटरुपमा भई नै रहेका छन् । यसरी सुप्तुलुङखीम(चुलाघर)खरिद गरि सकेपछि किरात राईहरुमा एकताको भावना विकास हुने क्रम बढेको आभास मिलेको छ।

९.सुप्तुलुङ(चुला) दर्शन-

संसारभरीबाट यहाँ (हङकङ) आएका आफ्नो मौलिक धर्मा,संस्कार-संस्कृतिप्रति कटिबद्ध विशिष्ट किरात राईहरुलाई सुप्तुलुङ(चुला)दर्शन गराइने परंपरा अनुसार थुलुङ राई सामा बेलायतका अध्यक्ष टंक थुलुङ राई, आर्टिष्ट (जो ह्वाट बटरफ्लाई म्यानको नामले संसारले चिन्दछ) मिलन राई, सिक्किम भारतका किरात खम्बु राई सांस्कृतिक संघका सल्लाहकार गगन राईलगायत १४ जनाको टोली, कलाकार गणेश इशारा, शीला राई, कला राई, संगीता राई, सांस्कृतिक संस्थानका कार्यकारी अध्यक्ष उद्द्योग थुलुङ राई, नाट्य कलाकार केशव थुलुङ राई, सुप्रसिद्ध कलाकारहरु राजेश पायल राई, विल्शन विक्रम राई, दयाहाङ राई, आदिबासी जनजाती युवा संघका महासचिव तथा किराया केन्द्रिय सदस्य हेमन्त राई, जनवादी गायक राजन राई, शारिरिक सुगठन क्षेत्रका एक विशिष्ट व्यक्तित्व जबिन्द्र राई, कार्यक्रम प्रस्तोतातथा चलचित्रकर्मी जसकुमार राई, गायिका सरला राई, मुस्कानसेवा नेपालकी प्रमुख तथा मानवसेवी भवानी राई आदिलाई सुप्तुलुङ (चुला) दर्शन गरे । यसबाट किरात राईहरु बीचमा एकताको शन्देश प्रवाह हुँदै गएको महशुश गरिएको छ।

१०. बिभाग गठन र कार्य-

किरायाले १५ वटा बिभाग गठन गरी कार्य बाँडफाँड गरेको छ । भाषिक संस्था तथा सक्षम व्यक्ति/व्यक्तिवहरुलाई बिभागमा बिभागीय प्रमुखको जिम्मेवारी दिइएको छ । प्राय: सबै बिभागहरुले आ-आफ्नो ठाउँमा कार्यहरु गरी नै रहेका छन् । विगत केहि महिनाअघि मात्रै युवा खेलकुद तथा संगीत बिभागले ब्याडमिन्टन प्रतियोगीता आयोजना गरी भव्यताकासाथ सम्पन्न गरेको थियो । आकर्षक नगद पुरस्कार राखिएको यो प्रतियोगीता बिशेषत: युवाहरुको निम्ति उपलब्धिमूलक रहेको सर्वत्र चर्चा भएको थियो ।

११. बधाई तथा सम्मान-

साकेला २०१६ को अबशरमा विश्व प्रसिद्ध अल्ट्रा ट्रायल रेस धाविका मिरा राईलाई स-सम्मान बधाईसहित कदरपत्र प्रदान गरिएको थियो । विगतको साकेला उभौलीमा सुप्रसिद्ध चलचित्र नायक दयाहाङ राईलाई फेटा गुथाएर सम्मान गरिएको थियो । यी दुवै कार्यक्रम ताइमोशान कन्ट्रि पार्कमा गरिएको थियो ।

१२.यलम्बर नाइट-

किरायाले कार्यसमितिको २ बर्षे कार्यकालमा १ पटक सांगीतिक कार्यक्रम ”यलम्बर नाइट” गर्दै आएको सार्वजनिक ज्ञात भएकै कुरा हो । तथापि अघिल्लो कार्यसमितिले प्राविधिक कारणले सो कार्यक्रम गर्न सकेन । यो कार्यसमितिले  “यलम्बर नाइट ६” सम्पन्न गर्यो । नेपालका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिमा सम्पन्न भएको यो नाइट सभ्य,भव्य र ऐतिहासिकरुपमा सफल भएको थियो । आर्थिक पाटोमा पनि यलम्बर नाइट फाइदातर्फ नै रहयो । सहयोगी सबै अविस्मरणीय धन्यवादका पात्र छन् ।

१३. सदभाव एवं भाईचारा-

बिशेशत:हङकङबासी नेपाली समुदायका क्रियाशील संघ/संस्थाहरुसँग मित्रवत व्यवहार कायम राखेका छौं । विभिन्न समुदायका निमन्त्रणामा आतिथ्यतापूर्ण उपस्थिति जनाउँदै आएका छौं । आदिबासी जनजातीसँग सम्बद्ध संघ/संस्थाहरुसँग किरायाको आन्तरिक सम्बन्ध रहेको छ । किरात राई प्रमुख रहेका संघ/संस्थाका प्रमुखलाई किरायाले आतिथ्यता नै प्रदान गर्ने गरेको छ।यसबाट आपसी सदभाव र शुभेच्छाको बढोत्तरी भएको छ भन्ने विश्वास गरेका छौं ।

अन्त्यमा,

मौलिक धर्म,संस्कार-संस्कृतिप्रति प्रतिबद्ध किरात राईहरुको मूल संस्था किराया हङकङबाट भएका कमी/कमजोरी तथा अनेक कारणले गर्न नसकिएका कार्यहरु सम्बन्धमा पुन: क्षमायाचना गर्दै विगत र बर्तमानमाजस्तै संस्थागत कार्यमा आदरणीय तपाईहरुको अनमोल साथ/सहयोग रहने नै छ भन्ने विश्वास राख्दछौं ।

धन्यवाद ।
जय किरात राई !
जय किरात राई एकता !

बज्रकुमार थुलुङ राई
(सचिव)
किराया हङकङ ।