१९ मे २०१९, हङकङ – किरातहरुको महान चाड साकेला उभौलीको अवसरमा किरात राई यायोक्खा हङकङले चुला पूजा र प्रकृती पूजा गर्दै धुमधामका साथ शिली नाँचेर साकेला उभौली मनायो ।

१८ मेका दिन यायोक्खाको सुप्तुलुङखिममा चुला पूजा गरी शुरु भएको साकेला उभौली १९ मे आइतबारका ताईमोशन डाँडाँमा विशाल जनसहभागिताका साथ औपचारिक कार्यक्रम तथा साकेला शिली नृत्य प्रदर्शन गर्दै सम्पन्न भयो ।

यायोक्खाका अध्यक्ष हरिचन्द्र राईको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रमको प्रमुख अतिथि आदिवासी जनजाती महासंघका महासचिव कृष्णराज लावती रहेका थिए । त्यस्तै गरी अन्य अतिथिहरुमा हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, एन.आर.एन.ए. हङकङकी अध्यक्ष टिका गुरुङ, याक्खा छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवान लगायत यायोक्खाका सल्लाहकार एवं भाषिक संस्थाका अध्यक्षहरु रहेका थिए ।
यायोक्खाका उपाध्यक्ष चन्द्रका राई (माया थुलुङ) को स्वगत मन्तब्य संगै शुरु भएको औपचारिक कार्यक्रमलाई यायोक्खाका सहायक कुबिमीद्धय नारायण प्रसाद राई र मैत्र कुमार राईद्धारा साकेला थानमा प्रकृतीको पूजा गरेर उद्धघाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कृष्णराज लावती, यायोक्खाका अध्यक्ष हरिचन्द्र राई लगायत अन्य अतिथिहरुद्धारा साकेला उभौलीको अवसरमा शुभकामना मन्तब्य राखिएको थियो ।

कार्यक्रममा यायोक्खाको मुखपत्र “यलम्बर” अंक २० समेत सार्वजनिक गरिएको थियो । मुखपत्रको बारेमा प्रकाशन मुल संयोजक तथा किरात राई प्रज्ञा प्रतिष्ठानका कुलपती श्री शशि मदन राईज्युले प्रकाश पार्नु भएको थियो ।

यायोक्खाका सचिव गजेन्द्र राईद्धारा संचालन गरिएको औपचारिक कार्यक्रम समापन भए संगै शुरु भएको साकेला शिली नृत्य प्रदर्शनले उपस्थित सबै दर्शक दिर्घहरुको मन खिचेको थियो । शिली मपा रविचन्द्र राई र शिली ममा रेनुका राईको नेतृत्वमा किराती भेषभूषामा सजिएका युवायुवती देखि बुढापाकाहरु समेत ढोल, झ्याम्टा बजाउँदै विभिन्न शिली टिपेर नाचिरहँदा उपस्थित अन्य जातजातिका नेपाली तथा स्थानिय चाइनिजहरु समेत बीचबीचमा घुसेर नाच्नुका साथै फोटो तथा भिडियो लिनमा व्यस्त देखिन्थे ।

प्रकृती तथा पित्री पूजक किरातहरुको महान चाड उधौली र उभौलीको अवसरमा स्थापनाकाल देखि नै यायोक्खा हङकङले चुला पूजा तथा साकेला सिली नाँचेर वर्षको दुई पटक मनाउँदै आएको छ ।