किरात धर्म र मुन्दुम

किरात धर्म र मुन्दुम

हिजो आज किरात धर्म र यसको परम्परा बारे सकारात्मक साथै नकारात्मक चर्चा, व्याख्या र विश्लेषण विभिन्न संचार माध्यमहरुमा आउने गरेको छ । यसो हुनु स्वभाविक पनि हो किनकि वि.स.२०४६ सालको जनआन्दोलन अगाडि दुईसय वर्ष भन्दा बढी यस मुलुकमा एक तन्त्रीय राज्यव्यवस्थाले अपनाएको एक धर्म, एक भाषा, एक भेष जस्तो स्वेच्छातारी र दमनकारी नीतिले गर्दा यहाँ हिन्दु धर्म बाहेक अन्य धर्म बाहेक अन्य धर्मबारे छलफल, व्याख्या र विश्लेषण गर्न संभव थिएन । राणाकालपछि पनि किरात धर्म अनुयायीहरुले पूर्वी नेपालमा धार्मिक अनुष्ठानहरु बनाउँदा र गुरुङ र तामाडहरुले बौद्ध गुम्बाहरु बनाउँदा पञ्चायत प्रशासनले अनेकौं लाञ्छना लगाई दण्ड सजाय गर्ने गर्दैथ्यो । त्यसकारण अहिले पनि राणा र पंचायत शासनकालीन मानसिकता बोकेका केही प्रतिगामी तत्व धर्म, भाषा र संस्कृतिको क्षेत्रमा प्रजातान्त्रिक अभ्यास भएको देख्न चाहँदैनन् । तर नेपालको यथार्थ भनेको यो मुलुक बहुजातीय, बहुभाषिक र बहुधार्मिक हो । नेपालमा हिन्दु, बौद्ध, ईस्लाम, किरात, इसाई, जैन । शिख धर्मावलम्बी बस्दछन् भन्ने कुरा राष्ट्रिय तथ्याङ्क विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणनाको प्रतिवेदनहरुबाट स्पष्ट हुन्छ ।
नेपालका आदिबासी राई, लिम्बु, याक्खा र सुनुवार जातिअरु हजारौं वर्षअघि देखि निरन्तररुपले आफूलाई किरात धर्मको अनुयायी मान्दै आएका छन् । मुन्दुमविद्हरुको भनाई अनुसार किरात धर्म विश्वको प्राचीन धर्महरु मध्ये एक हो । यो धर्म अत्यन्तै गहन, तर्कपूर्ण र मानवीय मूल्य र मान्यतामा आधारित धर्म–दर्शन भए तापनि ऐतिहासिक कारणहरुले गर्दा अन्य धर्महरु जस्तै यसको बिस्तार हुन सकेन । तर यस धर्ममा अन्तरनिहित मानवीय मूल्य, मान्यता र आदर्श वैज्ञानिक युगमा प्रेरणादायी र सान्दर्भिक छन् ।

मुन्दुम
हिन्दुको वेद, इसाइको बाइबल र मुसलमानको कुरान जस्तै किरात धर्ममा ‘‘मुन्दुम’’ दर्शन र संस्कृतिको श्रोत हो । पृथ्वी, सूर्य, ग्रहहरु, तारा मण्डलको उत्पत्ति मानिस र अन्य प्राणीहरुको सृष्टि, वनस्पतिहरूको उत्पत्ति र प्राकृतिक सन्तुलन मानवीय सद्गुण र सदाचार आदि कुराहरुको व्याख्या मुन्दुम मा रोचक र तर्कपूर्ण ढंगले गरिएको छ ( हेर्नोस्– किरात राई यायोक्खाबाट प्रकाशित दोवाङदुम शाामकालिङ) । गहिरिएर खोज अनुसन्धान गर्ने हो भने मुन्दुम ज्ञान र बुद्धिको भण्डार र प्रेरणाको श्रोत हो । तर मुन्दुमविद्हरुले यसलाई मौखिमक परम्परामा सिमित राख्दै आएका हुनाले यसको मौलिक गुणहरुमा केही ह«ास भइरहेको हुन सक्दछ । यसलाई लिखित रुपमा टुक्राटाक्री समेटिएता पनि समग्रमा यसलाई एउटै ग्रन्थको रुपमा लिपिबद्ध गरी यसको प्रचार प्रसार व्यापकरुपमा गरिएको छैन । तसर्थ मुन्दुमको अध्ययन, अनुसन्धान गरेर यसभित्र अन्तरनिहित ज्ञान र बुद्धिबारे जानकारी गराउनु आजको बौद्धिक चुनौती हो । मुन्दुमविदहरुको भनाईअनुसार हिन्दु र बौद्ध धर्मको उदय हुनु अगाडि नै किरात धर्मको विकास भइसकेको थियो । गौतम बुद्धभन्दा अगाडिका किरात सम्राट यलम्बर किरात धर्मका अनुयायी थिए । उनको राज्यकालमा किरात धर्म राजकीय धर्म भएको हुनाले यसको प्रभाव नेपाल, भारत लगायत पूर्वमा कम्पूचियासम्म पुगेको थियो । त्यस समय यस क्षेत्रका शासकहरुले मुन्दुममा उल्लेखित पारुहाङ, सुम्निमा धर्म उपदेश अनुसार राज्य गर्दथे । मध्यपूर्वमा यहुदीहरूको यहुदी धर्म जस्तै हिमालको दक्षिणी भेग वर्तमान नेपाल र केही भारत भू–खण्डमा किरात धर्म प्रचलनमा थियो ।

मुन्दुममा ईश्वर र सृष्टिबारे व्यख्या
सृष्टिकर्ता माङ (ईश्वर)को अवधारणा
मुन्दुममा माङ अनन्त, निराकार, सर्वव्यापी र सर्वशक्तिमान छन् । उनी जल, थल, पृथ्वी, आकाश, ताराकण्डल सबै ठाउँमा सर्वव्यापी छन् । यी सबै उनकै सृष्टि हो । उनको कुनै आकार र रुप हुँदैन । सर्वव्यापी माङको इच्छा अनुरुप नै सृष्टिको परिचालन भइरहन्छ ।
पृथ्वीमा जीव, जन्तुहरुको उत्पति
सर्वशक्तिमान माङको इच्छाले पृथ्वीलाई सुन्दर बनाउन हावा, पानी, माटो र घामको शक्ति प्रयोग गरी रुख, बिरुवा वनस्पतिको श्रृजना गरे । त्यसपछि पृथ्वी शून्यबाट हरिया सुन्दर भूमिमा परिणत भयो । सृष्टिको क्रममा रुखको फलबाट पंक्षीहरुको उत्पत्ति भयो । रुखको बोटबाट कमिला र धमिरा उत्पन्न भयो । सारा झारपातबाट किरा, फट्यांग्रा उत्पन्न भयो । त्यसरी नै गाई भैंसी, बाख्रा, घोडा, बाघ आदि जनावरहरु उत्पन्न भयो । यी सबै उनै सर्वशक्तिमान् माङको इच्छाअनुसार भयो ।

रुमहाङ र नायुमा
माङले सूर्यशक्तिको प्रयोग गरी रुमुहाङ (सूर्यपुत्र)को सृष्टि गरे । त्यसपछि हावा, पानी घामको प्रयोग गरी नायुमाको सृष्टि गरे । रुमुहाङ सूर्य पुत्र भएको र पृथ्वी जस्तो सानो ग्रहमा सधैं बस्न नसक्ने भएको हुनाले रुमुहाङ र नायुमाले सल्लाह गरेर पृथ्वीको सौन्दर्य निरन्तरता दिन रुमुहाङको स्वरुप र शक्ति भएको पारुहाङ र नायुमाको स्वरुप र शक्ति भएको सम्निमा सृष्टि गरे र उनीहरु स्वेच्छाले विलय भए ।

पारुहाङ र सुम्निमा
दैवीशक्ति सम्पन्न पारुहाङ र सुम्निमा ज्ञानी, दानी र दयावान् थिए । उनीहरुलाई माङले सृष्टि गरेको पृथ्वी, जीव र निर्जीव वस्तुरूप्रति माया भयो । त्यसैले पारुहाङ र सुम्निमाले ध्यान, आराधना, योग सत्कर्म मार्फत् माङ, पारुहाङ, सुम्निमाको अनुभूति गर्न सक्ने, सृष्टिको नियम बुझ्न सक्ने, आफ्नो स्वरुप भएको विवेकशील मानव जातिको सृष्टि गरे । आफ्ना इच्छानुसार मानव जातिको सृष्टि गरेपछि पारुहाङ र सुम्निमा पनि अदृश्य भएर गए तापनि उनीहरूलाई अनुभूत गर्न सकिने ज्ञान मुन्दुममा छाडेका छन् ।

मुन्दुममा पारुहाङ – सुम्निमा धर्म उपदेशः
पारुहाङ, सुम्निमा धर्म उपदेश प्राचीन युगमा राजकाज साथै जनस्तरमा पनि प्रचलनमा थियो । त्यसबेला किरातहरु पाप गरेको घाम, जून माटो, हावा, पानीले देख्छ भन्ने सुम्निमाको अर्र्ती उपदेशको रुपमा लिन्थे । त्यस्तै नराम्रो काम गरेमा अल्पायू, अधकल्चे भइन्छ, हराइन्छ, मासिइन्छ, शाखा सन्तानलाई पिर्छ, कुजा, लाटा, लङ्गडा, अन्धा, बहिरा दुखिया, रोगी, अपराधको दोष लाग्छ, गर्भपात हुन्छ भन्ने विश्वास गर्दथे । कुकर्म गर्नेले देवशक्ति, राजशक्ति र धनशक्तिको बाटो पक्रन सक्दैन भन्ने सुम्निमाको अर्ती उपदेश किरात कथाहरुमा छ । मुन्दुममा उल्लेखित पारुहाङ, सुम्निमाको उपदेश अनुसार किरातहरुले निम्न कुराहरु गर्न नहुने कुराहरु गर्न नहुने उल्लेख छ ।
१.किरातहरुले भिख मागेर खान नहुने– कुनै पनि किरात जसले माङ, पारुहाङ र सुम्निमा शक्तिमा विश्वास राख्दछ, उनले भिख मागेर खानु हुँदैन । पारुहाङ र सुम्निमाले सृष्टि गरेको किरातहरु बुद्धि, विवेक र शारीरिक परिश्रमका प्रयोगबाट खान, लाउन र बाँच्न सक्दछन् । तर भिख माग्नु, ढाँट्नु र ठग्नु पारुहाङ सुम्निमा उपदेश विपरीत हो ।
२. किरातहरुले चोरी र ठगी गर्न नहुने– दैवीशीक्त सम्पन्न पारुहाङ र सुम्निमाले बुद्धिमान र विवेकी किरातको सृष्टि गरेका हुनाले पारुहाङ र सुम्निमाले विश्वास राख्ने किरातहरुले चोरी र ठगी गर्न नहुने मुन्दुममा उल्लेख गरिएको छ । चोरेको ठगेको सबै घाम, जून, हावा, माटो, पानीले देखिरहेको हुन्छ । चोरी, ठगी गरेर प्राप्त गरेको धन सम्पत्तिले आफू र आफ्ना परिवारलाई फलिफाप हुँदैन भन्ने कुरा लोककथाहरु पनि छ ।
३.परस्त्री र पर पुरुष गमन बन्देज– दैवीशक्ति सम्पन्न पारुहाङ सुम्निमाले वुद्धि र विवेक भएको मानव जातिको सृष्टि गरेका हुनाले आफ्नो सृष्टिको कल्याण र सुखको लागि सृष्टिको नियमअनुसार पुरुष र महिलाको संख्या समान अनुपातमा हुन्छ । त्यसैले एक पतिव्रत र एक पत्नीव्रतको चलनलाई मुन्दुममा स्वभाविक र असल भनिएको छ भने परस्स्त्री परपुरुष गमन पाप र कलहको जड भनिएको छ । यसको परिणाम आफैंले मात्र हैन आफ्ना सन्तानहरु र परिवारका अन्य सदस्यले समेत भोग्नु पर्ने कुरा मुन्दुमले व्याख्या गरेको छ ।

    ४.लोभ नगर्नु– मुन्दुममा भनिएको छ, लोभले कसैलाई क्षणिक लाभ भए तापनि भौतिक वस्तुको प्राप्तिमा बढी लोभ गर्दा अन्तत क्षति, दुःख, कष्ट निम्त्याउँछ । मानव जातिलाई माङले सृष्टिमा सबै आवश्यक वस्तुहरुको पूर्ती गरिदिएका छन् । तर आफूलाई चाहिने भन्दा बढी लोभ लालच गर्दा अरुको अधिकार र स्वामित्वमा असर पर्ने र प्राकृतिक सन्तुलनमा असर पर्ने हुनाले त्यस्तो सोच र व्यवहारले हित नहुने कुरा पारुहाङ र सुम्निमा धर्मादेशमा भनिएको छ । 

    ५. डाह, इष्र्या नगर्नु– डाह र ईष्र्यालाई मुन्दुममा अनुचित र तुच्छ भनिएको छ । मानव–मानव बीच, समुदाय–समुदाय बीच सदिच्छा र सदभाव ने माङ, पारुहाङ र सुम्निमाको अनुभूति गर्ने एउटा पथ हो भनिएको छ । आगोले सालको काठ डढाएर खरानी बनाए जस्तै डाह र ईष्र्याले मानिसको शरीर र मनलाई डढाएर नष्ट गर्दछ । 
    ६. घमण्ड नगर्नु– मुन्दुम अनुसार धन, सम्पत्ति, रुप, बुद्धि, बल र शक्तिको अहंकारले व्यक्तिलाई क्षति गर्दछ । धन, सम्पत्ति, रुप, बुद्धि, बल र शक्ति माथि व्यक्तिको स्थायी स्वामित्व हुँदैन । घमण्डले प्रेम, सदाचार हैन द्वेस बढाउँछ । बुद्धि र विवेकमा ताल्चा लाग्छ । माङको अनुभूति गर्ने क्षमता ह«ास हुन्छ ।
    ७.मानव हत्या नगर्नु– सृष्टिपछि मानव जातिले पृथ्वीमा फैलिनु, दीर्घायू हुनु भनी पारुहाङ, सुम्निमाको आशिर्वाद पाए । मानव जनसंख्या पृथ्वीमा फैलिंदै जाँदा पारुहाङ–सुम्निमा धर्म आदेश पालन नगर्ने , कुकर्म गर्ने, स्वच्छन्द व्यभिचारी मानिसहरुको संख्या पनि बढ्दै गयो । यी सबै कुराहरूले अन्तरयामी पारुहाङ,सुम्निमाले देख्छन्, धर्म उपदेशमा यही भनिएको छ । 
    पापबाट मोक्ष पाउने र माङको अनुभूती गर्न मानिसले गर्नुपर्ने कर्महरूबारे मुन्दुममा उल्लेख भएको पाइन्छ । समष्टिमा निम्न कर्महरू गर्नलाई किरात सत्कर्म भनी मुन्दुममा उल्लेख भएको भनी मुन्दुमविद्हरूको भनाई छ । 

( दैनिक बिहान–बेलुका माङ, पारुहाङ–सुम्निमालाई सम्झेर शान्त मनले प्रार्थना, ध्यान, योग गर्ने ।
( वयोवृद्धलाई आदर गर्नु, गरिब दुःखिलाई दया गर्नु भन्ने मुन्दुममा उल्लेखित छ । प्रत्येक दिन आफूले उपभोग गर्ने भागबाट खाने, पिउने वस्तुहरु जोगाएर गरिब दुःखीलाई सहयोग गर्नु वा सामाजिक कल्याण कोषमा दान दिनु भन्ने छ ।
( अन्न पाकेपछि माङलाई चढाएर मात्र खानु पर्दछ । माङ खुशी भए अन्न राम्रो फुल्ने फल्ने हुनाले पाकेको अन्न माङलाई पहिला चढाउनु पर्दछ ।
( पितृ पूजा गर्नु – मृत्युपछि स्वर्ग गएका पुर्खाहरूलाई माङखिममा मुन्दुम अनुसार रीत पु¥याई पूजा गरियो भने हामीले पितृहरुलाई गरेको धर्मनिष्ठ उनीहरूले सुन्दछन् । वर्षमा दुई पल्ट उभौली र उधौलीमा पितृ पूजा गर्नु उपयुक्त हुन्छ ।
( पवित्र वस्तु र स्थलहरूको रक्षा गर्नु – किरात धर्म अनुयायीहरू घरभित्र चुला वा घर भित्र एक निश्चित ठाउँलाई पवित्र स्थल मान्दछन् । आगोलाई सूर्य शक्तिको रुप मानिने हुनाले मुन्दुम अनुसार खुट्टाले हान्न, थक्नु, दिसा– पिसाब गर्नु हुँदैन । आगो जहीँ होस् बालेको बखत नमस्कार गर्नु पर्दछ । त्यस्तै पानीमा दिसा, पिसाब गर्नु, थुक्नु, जुठो फोहोर गर्नु पाप मानिन्छ ।
( स्वधर्मको पालना गर्नु । स्वधर्म त्याग गरे भतुवा भइन्छ, इज्जत रहँदैन र पराइ भइन्छ भनी मुन्दुममा भनिएको छ ।
( जीवनको केही समय मानव कल्याण कार्य, जीवन दर्शनको अध्ययन, अनुसन्धान र मानव समुदायबीच भातृत्व एवं प्रेम बढाउने कार्य गरे पारुहाङ–सुम्निमाको आर्शिवाद प्राप्त हुन्छ ।
नोटः— यो लेख मुन्दुमविद्हरूसँग छलफल साथै प्रकाशित र अप्रकाशित पुस्तक ग्रन्थहरूमा आधारित छ ।