
किरात मुन्धुम अनुसार मानिसदेखि सारा प्राणी, हावा–पानी, झार–जंगल आदि सबै कुरासहितको धर्ती र ब्रह्माण्डको ‘सृष्टि’ भएदेखि नै किरातजातिले मानिआएको सनातन किरातधर्म हो । हाल यस धर्ममा देखिएका प्रमुख विशेषता चाहिँ सरलता, जात–भात तथा स्त्री–पुरुषबीचमा समानता, अनय धर्मप्रति सहिष्णुता र झाँक्री÷मुन्धुम प्रकृति पूजन हुन् । हुन त आदिम अवस्थामा यिने गुणहरुलाई अँगालेका थिए– विश्वका अन्य प्रमुख धर्मले पनि । तर युगको परिवर्तन सँगसँगै खासगरी विभिन्न धार्मिक चेलाहरुबीच एकले अर्काको धर्मलाई चुत्थो साबित गर्दै आफ्नो धर्मप्रति आमजनतालाई आकर्र्षित पारी शक्तिशाली मनका इच्छा पुराई दिने अलौकिक चमत्कारी शक्ति भएको र स्वर्ग÷मोक्ष÷मुक्ति प्राप्तिको सजिलो बाटो पनि रहेको दाबी जोडेर अविश्वसनीय एवम्र जटिल बनाएका थिए आदिम सरल धार्मिक विधि–विधानलाई । त्यस्ता धार्मिक प्रतिस्पर्धाले सहधर्मी जनताबीच जत्तिसुकै फराकिलो राजनीतिक मतभेद रहे, भएपनि बेला बखत एके ठाउँ भेटघाट गराईने र धर्मरक्षाको नाममा भने आपसी सबै झैझग्डा बिर्साएर एकैढिका तुल्याउने जादुमयी धार्मिक संस्थाहरुको जन्म दिएका थिए । तर किरातधर्मले भने त्यस्तो आकर्षक धार्मिक नाराकासाथ पेसेवार अध्यात्मज्ञानीहरुको कदर र पालन–पोषण गर्ने स्थायी संस्थामा विकसित हुने सुविधाजनक अवसर नै पाएन । पौरणिक युगमा किरातले भोगेको एकपछि अर्को पराजयलाई छाडेर इतिहासज्ञात कालखण्डको मात्र कुरा कोट्याउने हो भने पनि ईसाई संवत्को शरुवाततिर नै तत्कालीन नेपाल (यलोखोम÷वर्तमान काठमाडौं उपत्यका) बाट वर्णश्रमधर्मी (वैष्णपन्थी) लिच्छीविजातिद्वारा किरात राजवंशीहरु साँगा भन्जयाङ पूर्व लखेटिएका थिए । तसर्थ यही युग अर्थात दुई हजार वर्षअघिलदेखि उनीहरु बिरानो धार्मिक तथा राजनीतिक थिचोमिचोमा रही आएका थिए । अनि त्यस्तो संकटकालीन युग युगान्तरदेखि किरातजनलाई आदिम अवस्थाको रुपमै सही आफ्नो धर्म, संस्कृति र भाषालाई यहाँसम्म बँचाई ल्याएका थिए । त्यही नै ठूलो कुरो थियो । वर्तमान युगका किरातजन भने प्राचीन लामो किरातराजवंशलाई उखेल्ने समृद्ध लिच्छविहरु आफ्नो गौरवशाली जातीय पहिचानबाट बिलाएजस्तै हुनुपर्ला भन्ने पीरले किरातीय अस्तित्व–पहिचानको विकास गर्न औधी नै सचेत देखिन्छन् । यस मेसोमा उनीहरु, खासगरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय प्रजातन्त्रको पुनर्बहालीपछि, आफ्नै सितो–पिठो खाएर आफ्नो धर्म, संस्कृति, भाषा, लिपिको अवशेष खोजी गरी फेरिबाट हुर्काउने, फलाउने र जगेर्ना गर्ने काममा निर्भयसाथ लागिपरेका पाइन्छन् । यसको ज्वलन्त प्रमाण — उनीहरु भलै लामो अन्तरालपछि नै सही, फेरि आफ्नै किरातधर्ममा फर्कनथालेको अभिलेख अघिल्ला दुई जनगणना तथ्याङ्कमै भेटिन्छन् ।
अघिल्लो २०४८ सालको जनगणना फारामको धर्म खुलाउने महलमा नेपालमा प्रचलित धर्महरुको नाम छापिएको भए पनि त्यहाँ किरातधर्मको नामोनिशान थिएन । तैपनि त्यस फारामको ‘अन्य धर्म’ खुलाउने महलमै भए पनि तीन लाख १८हजार ३८९ जनाले अर्थात कुल जनसंख्या एक करोड ४ लाख ९१ हजार ०९७ को १.७ प्रतिशतले स्वतः स्फूर्त आफ्नो धर्म ‘किराती’ लेखाएका थिए । जबकि त्यस जनगणनामा किरातधर्मी ठानिएका राई, लिम्बू वर सुनुवारको जम्मा जनसंख्या आठ लाख ६३ हजार ६८० अर्थात कुल जनसंख्याको ४.६ प्रतिशत थियो । यही जनसंख्याको ४.६ प्रतिशत थियो । यही समूहमध्येको ३७ प्रतिशत मात्रले भए पनि आफ्नो धर्म ‘किराति’ भएको उद्घोष गरी किरातधार्मिक जनगणना तथ्याङ्कको शुभः आरम्भ गराएको थियो ।
दसौं राष्ट्रिय जनगणना २०५८ को सारांश नतिजा केन्द्रीय तथ्याङ्क विभागले हालै २०५९।१।४ मा प्रकाशित गरेको छ । यस अनुसार यस दशकमा वार्षिक जनसंख्या २.२४ प्रतिशतको दरले बढेर कुल दुई करोड ३१ लख ५१ हजार समेत ४२३ (गणना गर्न नपाएको अनुमानित संख्या चार लाख १४ हजार ४सय ८९ समेत गरी) पुगेको छ । पेशा, जाति, भाषा लगायतका विषयगत जनसंख्या र प्रतिशत चाहिँ हाल प्रकाशित छ, जसको प्रतिशत यस प्रकार छ ः हिन्दू ८०.६२, बौद्ध १०.७४, इस्लाम ४.२०, किरात ३.६०, जैन ०.०२, क्रिश्चियन ०.४५, सिख ०.०३, बहाई ०.०१ र अन्य ०.३५ । पसमा किरातधर्मी ३.६० प्रतिशत देखिएकोबाट हिसाब गर्दा त्यसको जनसंख्या आठ लाख ३३ हजार चानचुनमात्र हुन आउछ । यस कुराले अघिल्लो जनगणनाकै किरातसमूहको जनसंख्या सबैले यसपालि पनि आफ्नो धर्म किरात नलेखाएको रहस्य उजागर गरेको छ । तर अघिललो जनगणनाको प्रतिमान १.७ बाट पछिल्लोमा उदेकलाग्दो फड्को ३.६० सम्म दोबरभन्दा बढी नाघेको अर्थात् ११२ प्रतिशतले बृद्धि भई समग्रमा किरात धर्मीको जनसंख्या ८,३३ हजार नाधेको अथवा खास गणना भएको कुल जनसंख्या दुई करोड २७ लाख, ३६ हजार ९ सय ३४ मध्येबाट आठ लाख १८ हजार १०६ देखिएको छ । यो उँभौली–उडान किरातधर्मीका निम्ति शुभ ः लक्षण त हुँदैहो, तर अझै पनि “किरात सबैजना किरातधर्मी हुँदैनन्” भन्ने अपवाद चाहिँ घटेको देखिँदैन , कसरी भने अघिल्लो जनगणनामै किरातसमूहको कायमी जनसंख्यामा यो दशकमा वार्षिक बृद्धिदर २.२४ प्रतिशतले बढेको संख्या जोड्दा १० लाख ५७ हजार सहजै नाघ्छ । यो तथ्यको पुष्टि समेत भलिभाँती हुनेछ – अब प्रकाशित हुने जात÷जाति रस मातृभाषाको आधारमा वर्गीकृत किरातसमूहको जनसंख्या तथ्यांकबाट ,, तसर्थ त्यो किरात संख्याले मात्र पनि आफ्नो धर्म योपटक ‘किरात’ लेखाएको भए कुल जनसंख्याको ४.२० (वर्तमान स्लामधर्मीको तेश्रो प्रतिमान) नाघेको भई नेपालमा प्रचलित आठ धर्ममध्ये किरातधर्मलाई तेस्रो ठूलो धर्मको ऐतिहासिक कीर्तिमान हासिल हुनेथियो । अनि त्यो उज्जवल नयाँ प्रतिमानले “हुँदैनभएको किरातधर्मलाई जन्माउनलागे” भन्ने आरिसे धार्मिक नेतावर्ग र यस भारतीय उपमहाद्विपकै प्राचीन जातीय इतिहास बोकेको गौरवमयी किरातवंशी हुने सौभाग्यशाली भएर पनि ‘किरातधर्मी’ लेखाउन, भनाउन हीनभावना ग्रसित किरातजनलाई पछुतो गराउने थियो तर जनगणना हुँदा विदेश रहेको सात लाख ६२ हजार १८१ संख्या यस तथ्यांकमा नजोडिएकोले र अस्थायी विदेशिनेमा किरातधर्मीको अत्याधिम संख्या हुनेहुँदा भविष्यको लागि उक्त तृतिय कोसेढुंगाको आशाा चाहिँ अझै झुण्डिएकै देखिन्छ ।
किरातधर्मी जनसंख्याको उल्लेखनयि उक्त प्रतिशत बृद्धिको नतिजा हासिलभित्र काठमाडौंका स्वतन्त्र किरात बुद्धिजीवी तथा किरात जातीय संगठन नामतः किरात राई यायोक्खा किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज र किरात याक्खा छुम्माका केन्द्रीय पदाधिकारीहरुको सराहनीय भूमिका छ । यसै वर्गले २०५८ को जनगणना फारामको धर्म लेख्ने महलमा ‘किरातधर्म’ को नाम पनि छपाउने मागमा सरकारलाई राजी तुल्याएको थियो । अनि त्यस महलमा आफ्नो धर्मको नाम लेख्न सिकाउने पर्चाको झोला बोकेर आफैंआफ जुरमुराएर आफ्नै मानो खादै जेठ–असारको घाम नभनी दुर्गमपहाडी विकट किराती गाउँ – घरमा पुग्ने किरात संघ – संगठनका पदाधिकारी र किरात धर्म, संस्कृति आदिको संरक्षण तथा संवद्र्धनप्रति जागरुक अन्य बन्धुहरुको प्रशंसनीय योगदान छ । ती सबैले किरात–पहिचानलायई लोप हुनबाट बँचाई हुर्काउने चाहना राखेका भएर नै त्यसरी कुल संख्याको अघिल्लो १.७ प्रतिशतबाट यो पालिको छलाङ्ग ३.६० प्रतिशत ‘किरातधर्मी’ संख्याको प्रामाणिक कोसेढुंगाको कीर्तिमान (रेकर्ड) खडा हुन सकेको हो । यस उपलब्धिमा समग्र किरातधर्मीहरु बधाईका पात्र छन् । ई.सन् नयाँ सहस्राब्दी (हजारवर्षे संवत्) को सुरुवातमै किरातजनलाई प्राप्त यो उपलब्धि, चौतर्फी किरात समुन्नतिको सुखद थालनी बनोस् हार्दिक बधाई एवम् शुभकामना किरातधर्मका अनुयायी सबैलाई ।