किराँत धर्मको संक्षिप्त चिनारी

किराँत धर्मको संक्षिप्त चिनारी

 प्राचीनकालमा किराँत हिमवत् खण्ड कैरात देश अर्थात् किराँतहरूको मुलुक भनेर चिनिने नेपालको वर्तमान काठमाडौं खाल्डोमा गौतम बुद्ध आउँदा यहाँ उनले १३५० जना चेला बनाएका थिए । यो कुरा आजभन्दा पचीस सय वर्ष अघि (इ.पू. ५२०) को हो र त्यसताका यहाँ किराँत राजाको शासन चलिरहेको थियो । तर किराँत शासकलगायतको किराँत जातिले बुद्धका ती चेला तथा मत (धर्म) प्रति आदर र सहनशीलता देखाएका भए पनि खुद उनीहरू चाहिँ सनातन किरात धर्ममै अडिग रहेका थिए । यी गुण आजका किराँत धर्मीहरूमा पनि ज्यूँकात्यूँ पाइन्छ । यस दृष्टिबाट किराँत धर्म खुद किराँत जातिको ‘सृष्टि’ भएदेखि ने चलिआएको संसारमा सबैभन्दा जेठो धर्म हो । तर विश्वको प्रमुख धर्ममध्येका हिन्दूधर्मलाई जस्तै किराँत धर्मलाई सटिक शब्दमा परिभाषा (चिनारी) गर्न सकिँदैन, यसका लक्षणहरू मात्र औंल्याउन सकिन्छ । यसका निजी  (मौलिक)  विशेषताहरू यस प्रकार छन्– मूर्तिपूजा नहुनु । आगो (चुलो) भूमि (भुमे), खोला आदि जस्ता ‘प्रकृति’ को पूजा हुनु । छुवाछुत, जात– भातको भेदभाव नहुनु, आइमाई, लोग्नेमान्छेलगायत संसारका सबै मान्छेलाई बराबरी एउटै दर्जाको मान्नु मूल ग्रन्थ मुन्धुम हुनु ।
 
  खुला आकासमुनि विनामूर्तिको साङ्भे (देवस्थल, मण्डप) स्थापना गरी पूजा, अर्चना गर्ने धार्मिक अभ्यास किराँत धर्मको मूल लक्षण हो । साङ्भेमा सर्वव्यापी, सर्वशक्तिमान, सर्वज्ञाता ईश्वर र कुल तथा पितृदेवतासमेतलाई पुकारा गरी पूजाआजा गरिन्छ , आजकल भने यस्ता साङ्भेले कतैकतै किराँती बान्कीका माङहिम÷माङखिम (मन्दिर) को स्वरूप लिन थालेको पाइन्छ । यसबाहेक प्रकृतिको पनि व्यापक रूपमा उपासना गर्छन् किराँत धर्मीहरू । हुन त आज विश्वका प्रमुख धर्म मान्ने सबै पंथी वा जातिका आदिम पुर्खाहरूले पनि एकताका आगो पानी (समुद्र, नदी) घाम (ज्योती) जस्ता प्रकृतिको उपासक रहिआएका छन् आजसम्मै । उनीहरू भूमे (भूमि) देउराली, हिमाचुली, अन्नबाली (उँभौली उँधौली) आगो  (चुलो) लाई पूज्ने गर्छन् । यसो हुँदा तीर्थ गर्न विदेश भौँतारिने खाँचो नै पर्दैन किराँत धर्मका अनुयायीहरूलाई । 

 किराँत धर्मको मूल मर्म “ स्त्री–पुरुषलगायत सबै मानिसहरू जात–जाति, धर्म र छालाको रङ्गको आधारमा कोही पनि सानो ठूलो हुँदैन, बराबरी हुन्छ” भन्ने छ । तर नेपालमा किराँत शासनको समाप्तिपछि हिन्दू शासकहरूको राजधर्म “हिन्दू” बाहेक दोस्रो धर्मको प्रचार प्रसार गर्न नपाइने ऐनकानुन रहिआएको हुँदा यस मानव समानतावादी तर तामझाम नभएको सजिलो किराँत धर्मलाई यसका प्रतिपादकहरूले संसारमा फैलाउन सकेनन् । त्यसको नतिजा हिन्दू धर्मशास्त्र (मनुस्मृति आदि) ले सबै मानिसहरूको निम्ति दज्र्यानी भाग लगाएको जम्मा ४ वर्ण (जात) मध्ये पुछारको “शूद्रवर्ण” (अछुतजात) को तहमा मानव समानतावादी किराँत धर्मी किराँत जातिलाई पनि जबर्जस्ती सामेल गर्न खोजेको छ । तापनि उनीहरू यो “वर्ण व्यवस्था” लाई मान्दैनन् ।

   किराँत धर्मीहरूको धर्मशास्त्र मुन्धुम हो । “मुन्धुम” भनेको प्राचीन किराँत पुस्ता मुखौली सुन्दै कण्ठ पार्दै ल्याएका सृष्टि र धार्मिक रहनसहनसम्बन्धी कवितामय प्राचीन सृष्टिसम्मको र किराँत जीवन दर्शनको कुरा आउँछन् । मुन्धुममा पृथ्वी, आकाश, हावापानी, पशुपंक्षी, झार–जङ्गलीदेखि मान्छेको सृष्टिसम्मको र किराँत जीवन दर्शनको कुरा आउँछन् । मुन्धुममा सबै किराँतहरूलाई एउटै धागोमा बाँधी वर्ण÷वर्ग अर्थात् बाहुन, क्षेत्री, वैश्य शूद्र भन्ने जस्ता उचो–नीचो जातको तह नभएको जातीय समानता, अरू धर्मप्रति सहनशीलता र उदारताको सिद्धान्तलाई अँगालिएको छ । यस्ता मुन्धुमलाई अघिल्लो पुस्ताबाट सुनी कण्ठ पार्दै बचाई ल्याउनेमा “ साम्बा, येवा÷येमा, फेदाङमा, हाङछाम्बा, नाक्छोङ्, नाअसो” भन्ने किराँती नामका पुरोहित पुजारी वा झाँक्रीको ठूलो योगदान छ । उनीहरूद्वारा किराँत धर्मीहरूले जन्मदेखि मरण र मर्नेको हँस (आत्मा) लाई पार तार्नेसम्मका कर्मकाण्डहरू र अन्य चाडपर्व, धार्मिक कार्यहरू आफ्नै मातृभाषाबाट मुखौली मुन्धुम फलाकेर परम्पराअनुसार सम्पन्न किताबहरू पनि आजकल प्रशस्तै प्रकाशित भएका छन् । किराँत धर्मले विश्वको धार्मिक जगत्मा आफ्नो ठोस पहिचान आजतक बनाउन सकेको छैन । त्यसकारण धार्मिक अभ्यासको आधारबाट समाजशास्त्रीहरूले यस धर्मलाई “झाँक्री–मुन्धुमी, प्रकृतिपूजक धर्म” को वर्गमा राख्ने गर्दछन् । 

 ठीक किराँत धर्मी जस्तै जातभात, छुवाछुत नबार्ने भोट बर्मेली भाषा परिवारका जातिहरू जस्तै कागते, खाम, गुरुङ (तमु), चेपाङ (प्रजा), छन्तयाल, जिरेल, तामाङ (मर्माी ) थकाली, थामी, दुरा, धिमाल, नेवार, पहरी, ब्यास, मगर, मेचे, राउटे, राजी, लेप्चा, लोबा, सुरेल, शेर्पा, हायू र भारोपेली भाषा परिवारका कुम्हाल, कोचे (राजवंशी), थारु, बोटे, माझी आदि समेतलाई मान्छेको वंशशास्त्र तथा भाषाशास्त्रका आधारबाट प्राचीन नेपालमा लामो अवधि ३३ पुस्तासम्म राज्य गर्ने किराँत राजाहरूकै सन्तान, दरसन्तान (वंश) छरपष्टिएका हुन्  भन्ने सम्बन्धित विद्धान्हरूको गहिरो विचार रहिआएको छ । तर यी जातिबाहेक हालसम्ममा भोट बर्मेली भाषा परिवारका याक्खा, राई (खम्बू), लिम्बू र सुनुवार जातिले मात्र “किराँत धर्मी” भनी गौरव मान्ने गरी आएका देखिन्छन् । 

 झनडै १० वर्षअघि २०४८ सालमा लिइएको जनगणनाको फारामको “धर्म” खुलाउने महलमा किराँत धर्मको नाम थिएन तैपनि किराँत धर्मीहरूले आफसेआफ त्यो फारामको अन्य धर्म खुलाृने जम्मा सङ्ख्या ३,१८,३८९ (कुल जनसंख्याको १.७ प्रतिशत) पुगेको थियो । यसले गर्दा किराँत धर्मले पनि राष्ट्रिय मान्यता पाएको हुँदा आउँदो २०५८ सालको जेठ–असारमा हुने जनगणना फारामको “धर्म” खुलाउने महलमा “किराँत धर्म” कोृ नाम पनि उल्लेख हुन पुगेको छ । यसो हुँदा आउँदो जनगणनाको तथ्याङ्कमा उल्लेखनीय रूपमा किराँत धर्मीको सङ्ख्या बढ्ने पक्कापक्की छ , किनभने, २०४८ सालको जनगणना तथ्याङ्कमा किराँत धर्मका अनुयायीहरू राई, लिम्बू र सुनुवारको मात्रै पनि जम्मा जनसङ्ख्या ८,६३,६८० (४.६ प्रतिशत) थियो ।