किरात समन्वय समिति

हङकङको प्रस्तावित नियमावली – २०२२३
मस्यौदाकार – शशि मदन राई

प्रस्तावना:

हङकङ भित्र रहेका किरातहरुको पहिचानको विकास गर्न तथा किरात जातीबिच भाईचारा एवं सुमुधुर सम्बन्ध स्थापित गर्दैं सह–अस्तित्व, सहकार्य र सहमति सहित किरातहरुलाई अनन्तकालसम्म एकताको शुत्रमा बाँध्न आवश्यक्ता भएकोले हङकङका चार किरात जातिय संस्थाहरुलाई समेटेर “किरात समन्वय समिति हङकङ” निर्माण गरि सो संस्थालाई सुचारु संचालन गर्न “किरात समन्वय समिति हङकङ नियमावली – २०२३” जारी गरिएको छ।

परिच्छेद १

धारा १, नाम:

१. यो समितिको नाम “किरात समन्वय समिति हङकङ” रहनेछ। अंग्रेजीमा “KIRAT COORDINATION COMMITTEE, HONG KONG” रहनेछ।
२. यो नियमावलीलाई “किरात समन्वय समिति हङकङको नियमावली – २०२३” (संसोधन सहित) भनिनेछ।
३. यो नियमावली (एक संयोजक नियुक्त गरि) चार किरात संगठनका कार्य समितिहरु भेला गराई बहुमतबाट पास गराई किरात समन्वय समिति हङकङको पहिलो कार्य समिति पदस्थापन गरि सपथ खाएपछि लागू हुनेछ।

धारा २, परिभाषा:

बिषय वा प्रसंगले अन्य अर्थ नलागेमा यस नियमावलीमा,

१. “समन्वय समिति” भन्नाले हङकङ भित्र रहेका चार किरात जातीय संस्थाहरुको समन्वय गर्ने समिति “किरात समन्वय समिति हङकङ” लाई बुझाउनेछ।
२. “नियमावली” भन्नाले किरात समन्वय समिति हङकङको नियमावली – २०२३ (संसोधन सहित) लाई बुझाउनेछ।
३. “कार्य समिति” भन्नाले किरात समन्वय समिति हङकङको कार्य समितिलाई बुझाउनेछ।
४. “सभा/बैठक” भन्नाले किरात समन्वय समिति हङकङको कार्य समितिको सभा/बैठकलाई बुझाउनेछ।
५. “साधारण सदस्य” भन्नाले चार किरात जातिय संस्थाहरुको सम्पुर्ण साधारण सदस्यहरुलाई बुझाउनेछ।
६. “किरात” भन्नाले आदिमकालदेखि नेपालमा र समस्त हिमालय श्रृखंला (कैलाश पर्वतको काखमा) बसोबास गरि आएका जाती, यलम्बर हाङको सन्तान, हाल हङकङमा आई अस्थाई वा स्थाई रुपमा बसोबास गरिरहेका, “किरात धर्म” लाई निरन्तर रुपमा पालन गरि आएका आदिवासी भूमीपुत्रहरुलाई बुझाउनेछ।
७. “किरात धर्म” भन्नाले किरातहरुले अनादिकालदेखी मुन्धुम अनुसार परम्परागत रुपमा मान्दै आएका मौलिक किरात धर्मलाई बुझाउनेछ।

धारा ३, लोगो:

समितिको लोगो अनुसुची २ मा उल्लेख भए बमोजिम लोगो अंकित भएको हुनेछ।

परिच्छेद २

धारा १, उदेश्य:

१. हङकङका चार किरात जातीहरुबीच एकता, भाईचारा, आपसी सहयोग र सद्भाव कायम गर्ने कार्यक्रमहरु गर्नु/गराउनु।
२. हङकङका चार किरात संस्थाहरुमा आवश्यक विभिन्न बिषयगत छलफल, गोष्टि/सेमिनार, अन्तरक्रिया गर्नु/गराउनु।
३. किरात धर्म तथा यस भित्र पर्ने सबै किरात धार्मीक सम्प्रादयहरुलाई समानता दिदैं, आपसी सहयोग, सद्भाव बढाउदै किरातहरुको पहिचान बढाउनु/बढाउनु लाउनु।
४. किरातहरु बहुभाषिक, बहुसंस्कृतिक, बहुधार्मिक, बहुआस्तिक भएको हुँदा सामुहिक एकताको खोज गरि सामुहिक कार्यक्रमहरु गर्नु/गराउनु।
५. अन्तराष्ट्रिय स्तरमा क्रियाशील रहेका किरातहरुको संघ/संस्थाहरुसंग आवद्ध हुँदै एक आपसमा सहकार्य र सहयोग गर्नु/गराउनु।
६. चार किरातहरुको हक/अधिकार प्राप्तिको लागि क्रियाशील हुँदै उनीहरुको हकहितका लागि आवश्यक पहल गर्नु/गराउनु।
७. मुन्धुममा आधरित मौलिक किरात धर्मको संरक्षण, सम्बर्द्धन गर्नु। जन चेतना बढाउनु/बढाउनु लाउनु।
८. पौराणिक शास्त्रीय विधि, औषधी उपचार, स्वस्थ्य विज्ञान, आर्थिक, सामाजिक, राजनितिक उन्नति, तथा नैतिक आचरणको विकाश गर्नु।
९. परम्परागत संस्कार संस्कृति, चाडपर्व, भेषभुषा, खेलकुद, संगित, साहित्यको खोज अनुसन्धान, कार्यन्वन गर्नु/गराउनु।

धारा २, सदस्यता:

चार किरात जातीय संस्थाका सम्पुर्ण पदाधिकारी तथा यी संस्थाका सम्पुर्ण साधारण सदस्यहरु किरात समन्वय समिति हङकङका साधारण सदस्यहरु स्वत रहने छन।

धारा ३, कार्य समिति:

१. किरात समन्वय समिति हङकङको कार्य समिति चार किरात जातीय संगठन भित्र चक्रिय प्रणालीमा संचालन हुनेछ ।

(क) किरात राई यायोक्खा, हङकङ
(ख) किरात याक्थुङ चुम्लुङ, हङकङ
(ग) सुनुवार सेवा समाज, हङकङ
(घ) किरात याक्खा छुम्मा, हङकङ

२. जुन किरात जातीय संगठनको किरात समन्मय समितिमा बस्ने पालो आएको छ, सोही संगठनको कार्य समिति किरात समन्वय समितिको कार्य समिति हुनेछ।
३. अन्य तिन किरात संगठनको सम्पुर्ण पदाधिकारीहरु कार्य समितिमा निर्णायक मताधिकार रहेको पदेन सदस्य रहनेछ। तर गणपुरक संख्यामा गणना गरिने छैन । गणपुरक संख्या परिच्छेद २ धारा ५ अनुसार पुग्नु पर्नेछ।
४. किरात समन्वय समिति हङकङको कार्यकाल हरेक बर्ष बैशाखदेखी देखि सुरु भई चैत्र महिनामा समाप्त हुनेछ।
५. चक्रिय प्रणालीमा जुन जातिय संस्थाको पालो आएकोछ, यदि सो जातिय संस्थाको त्यस साल अधिवेशन रहेको छ भने पालो दिईने छैन। अधिवेशन भई सके पश्चात अर्को सालमा निरन्तर पालो रहनेछ।

धारा ४, सचिवालय:

किरात समन्वय समितिको एक सचिवालय रहनेछ। तत्काल निर्णय गर्नुपर्ने अवस्था आएमा सचिवालयको बैठकले निर्णय गर्न सक्नेछ । तर कार्य समितिको बैठकमा लगि अनुमोदन गराउनु पर्नेछ। सचिवालयमा निम्न सदस्यहरु रहने छन।

१. कार्य समितिका महासचिव – १
२. चार जातिय संस्थाका अध्यक्षहरु – ४ (वा उनिहरुले पठाएका प्रतिनिधिहरु)

धारा ५, गणपुरक संख्या:

कार्य समितिको बैठकमा गणपुरक संख्या पुग्न सचिवालयको १०० प्रतिशत उपस्थितिलाई गणपुरक संख्या पुगेको मानिनेछ। तर गणपुरक संख्या नपुगि दोस्रो पल्ट बोलाएको बैठक हो भने सचिवालयको ५० प्रतिशत उपस्थितिलाई गणपुरक संख्या पुगेको मानिनेछ। तेस्रो पल्ट हो भने जतिसुकै उपस्थितिलाई गणपुरक संख्या पुगेको मानिनेछ।

धारा ६, बैठक/सभा:

१. किरात समन्वय समितिको बैठक बोलाउँदा कम्तिमा एक हप्ताको समय दिई छलफलहुने बिषयको कार्यसुची सहित पत्रचार वा सामाजिक संजालमा सुचना दिनुपर्नेछ।
२. समन्वय समितिको बैठकको अध्यक्षता कार्यसमितिको अध्यक्षले वा निजको अनुपस्थितिमा तोकिएको उपाध्यक्षले गर्नेछ।
३. बैठकमा पदेन सदस्य सहित बहुमतको राय मान्य हुनेछ। मत बराबर भएमा अध्यक्ष गर्ने ब्यक्तिले निर्णायक मत दिनेछ।
४. बैठकको निर्णय आधिकारीक वेभसाईडमा दस्तावेजीकरण गर्नुपर्नेछ।

धारा ७, सामाजिक संजाल:

सामाजिक संजालमा चार जातीय संस्थाले नामावली दिएका सम्पुर्ण पदाधिकारीहरु रहनेछन। पदाधिकारीहरु जातिय संस्थाले अधावधिक गर्नेछ। संजालका एडमिन चार जातिय संस्थाका सचिवहरु रहनेछन।

परिच्छेद ४

धारा १, काम, कर्तब्य र अधिकार:

१. अध्यक्ष:

क) बैठकको अध्यक्ष गर्ने।
ख) कार्य समितिको नियन्त्रण, निरीक्षण र परामर्श दिने।
ग) सदस्यहरुलाई सक्रिय बनाउदै समान उदेश्य प्राप्तिको लागि आवश्यकीय कार्य गर्ने।
घ) बैठकमा पेश गरिने प्रस्तावहरु तयार गर्न महासचिव/सचिवलाई निर्देशन गर्ने।
ङ) विभिन्न सम्झौताहरुमा हस्ताक्षर गर्ने।

२. महासचिव/सचिव:

क) समितिको तर्फबाट पत्र ब्यावहार गर्ने।
ख) बार्षिक कार्यक्रम बनाउने, नीति निर्माण गर्ने, कार्यन्वन गर्ने, गराउने।
ग) समितिको कागजातहरुको जिम्मा लिने, प्रतिवेदन पेश गर्ने, दस्तावेजीकरण गर्ने।
घ) अध्यक्षको निर्देशन अनुसार बैठक बोलाउने।
ङ) अध्यक्षको परामर्श लिई अन्य आवश्यक कार्यहरु गर्ने।

३. कोषाध्यक्ष:

क) समितिको आम्दानी, खर्चको हिसाब राख्ने।
ख) समितिको चल, अचल सम्पत्तिको श्रेष्ता राख्ने, तिनिहरुको जिम्मा लिने।
ग) आर्थिक कोष निर्माण गर्ने, अध्यक्षको निर्देशन अनुसार कार्य गर्ने।
घ) लेखा परिक्षण गराउने, आर्थिक प्रतिवेदन पेश गर्ने।
ङ) अध्यक्षको परामर्श लिई अन्य आवश्यक कार्यहरु गर्ने।

४. सदस्य:

क) कार्य समितिको बैठकमा उपस्थित भई छलफल गर्ने।
ख) जिम्मेवारी दिएको कार्यहरुको कार्य सम्पादन गर्ने।
ग) समितिको उदेश्य प्राप्तिको लागि क्रियाशील भई कार्य गर्ने।

धारा २, पद रिक्तता:

१. जातिय संस्थाबाट पदावधी समाप्त भएमा।
२. जातिय संस्थाबाट राजिनामा दिई स्विकृत भएमा।
३. जातिय संस्थाबाट निलम्वित भएमा।

धारा ३, पद नियुक्ति:

जातिय संस्थाले नियुक्ति गरेमा

परिच्छेद ५

धारा १, कोष तथा लेखा परिक्षण:

१. साधारण कोष:

क) विभिन्न कार्यक्रमहरुबाट प्राप्तकोष
ख) अक्षयकोषबाट प्राप्त ब्याज

२. अक्षय कोष:

जुन जातिय संस्थाका कार्यकाल रहेको छ। उस्को कार्यकालमा खर्च कटाई आम्दानी गरेको सम्पुर्ण मुनाफा कार्यकाल सकेपछि अक्षय कोषमा राखि दिन पर्नेछ। यसबाट आउने ब्याज अर्को कार्य समितिले खर्च गर्नेछ। साँवा चलाउन पाउने छैन।

धारा २, अक्षयकोष संचालन:

१. अक्षयकोष संचालन गर्न चार जातिय संस्थाका बहालवाला अध्यक्षहरुको हस्ताक्षर रहनेछ।
अध्यक्षहरु मध्ये कुनै २ जनाको हस्ताक्षरबाट रकम निस्कासन गर्न सकिनेछ।
२. अक्षयकोष हङकङमा रहेका कुनै विश्वासिलो वित्तिय संस्थामा कार्य समितिको बैठकमा अनुमोदन गराई राख्न सकिनेछ।

धारा ३, लेखा परिक्षण:

१. किरात समन्वय समितिको लेखा कम्प्युटराईज लेखा प्रणालीमा राखिनेछ।
२. लेखाको लेखा परिक्षण स्वतन्त्र लेखा परिक्षकबाट गराईनेछ।
३. स्वतन्त्र लेखा परिक्षकको नियुक्ति कार्य समितिले गर्नेछ।

परिच्छेद ६

धारा १, सपथ:

नया कार्य समितिको पदस्थापन गर्दा निवर्तमान कार्य समितिको अध्यक्षले नव कार्य समितिलाई अनुसुची १ मा रहेको शपथ ग्रहण गराउनेछ।

धारा २, विघटन:

कथंकदाचित समन्वय समिति विघटन भएमा समन्वय समितिमा रहेका चल, अचल सम्पति बराबरी भाग लगाई जातिय संस्थामा जानेछ।

धारा ३, थप कार्यभार

देश भित्र आन्तरिक कलह, विश्व युद्ध, महामारी आदि विशेष परिस्थिति श्रृजना भई कार्यक्रम गर्न नसक्ने अवस्था आएमा कार्य समितिको बैठकले सोही कार्य समितिलाई थप कार्यकाल बढाउन सक्नेछ।

अनुसुची १

१. सपथ:

म सम्पुर्ण उपस्थित महानुभावहरु समक्ष साँछि राख्दै सपथ खान्छुकी म किरात समन्वय समिति हङकङको कार्यसमितिमा पदस्थापन भएकोमा गौरब महसुस गर्दै यो समितिको उदेश्य प्राप्त गर्न सदा सर्वदा लागि पर्नेछु। म यो समितिको नियमावली – २०२३ (संसोधन सहित) लाई आत्मासात गर्दै हङकङ भित्र रहेका किरातहरुको पहिचानको विकास गर्न तथा किरात जातीबिच भाईचारा एवं सुमुधुर सम्बन्ध स्थापित गर्न तथा सह–अस्तित्व, सहकार्य र सहमतिको आधारमा किरातहरुलाई अनन्तकालसम्म एकताको शुत्रमा बाँध्न धृढतापुर्वक लागि पर्नेछु।

जय किरात समन्वय समिति हङकङ

अनुसुची २

२. लोगो: