मानव उत्पत्ति बारेमा

उहिल्यै रुमाहाङले अचानक पृथ्बीको उत्पत्ति गर्यो जुनबेला पृथ्बीमा हावापानी, जीवजन्तु आदि केही थिएन। पृथ्बी उत्पत्ति भएको कैयौं बर्ष पछि रुमाहाङले बादलको रुप लियो। बादलको रुपमा देखा परेको रुमाहाङ बढ्दै गएर पृथ्बी नै ढाक्नेगरी फैलियो र बेजोड हावाका साथ घनघोर बर्षा भएर सारा पृथ्बीमा झर्यो। पृथ्बीको होचो भाग सबै पानीले जलमग्न भएभने अन्य भाग जमिनमा परिणत भए, जमिन भन्दा माथिल्लो भाग हावाले भरिए।

यसरी समय बिद्दै जाँदा समुन्द्रमा भएको पानीलाई हावाको वेगले बगाएर ल्याउँदा पानीको छल्को समुन्द्रको किनारमा फिँजको रुपमा जम्मा हुदै गयो। पछि त्यो फिँजमा एउटा उन्यु उम्रियो, उन्यु बुढो भएपछी पात झर्यो। त्यो पातबाट धमिरा उत्पन्न भयो, धमिराले माटोको ढिस्को बनायो। धमिरा मरेपछि ढिस्कोमा देउलिङ्गे च्याउ पलायो। देउलिङ्गे च्याउलाई एउटा पोथी सेम्निमा कीरा (सक्सलेमा) ले खाई दियो। देउलिङ्गे च्याउ खाए पछि सेम्निमा किरा गर्भवती भईन र समय पुगे पछि मनुष्यरुपी एक छोरी र एक छोराको जन्म भयो। छोरीलाई सन्तमुख/रिभ्यँमा/नायुम्मा/सुम्निमा आदि नामले पुकारिन्छ र छोरालाई वोखोपी/रिकपा/साल्पा/पारुहाङ आदि नामले पुकारिन्छ। पारुहाङ बढ्दै गएपछि हिमाल तिर लागे। सुम्निमा तराई तिरै बसी।

समय विद्दै जाँदा सुम्निमा विछट्ट सुन्दरी बन्दै गईन। उ वृन्दावनमा बस्तथी। आफूलायक कुनै जीवन नभएको प्राय: एकान्त निर्जन स्थानमा सुम्निमा केवल पंछिहरूसँग हिंडडुल गर्दथी, तिनीहरू नै उसका साथीसंगी थिए। उ पंक्षिहरुको भाषा बुझ्दथी, तिनीहरूसँग उ कुराकानी पनि गर्दथी। एकमात्र प्रकृतिको संसर्गमा हुर्केकी सुम्निमा सुस्तरी, सुस्तरी युवती भईन। उ केवल चरा, चुरुङ्गीहरूसँग यो वन, त्यो वन तथा वनको एक छेउदेखि अर्को छेउसम्म घुम्थी। त्यतिखेर स्वभावत: उसका मनमा कुनै एकजना पुरुषको सहज इच्छा जागृत हुन्थ्यो तर त्यहाँ कुनै पुरुष थिएन।

यसै अभावमा भित्रभित्रै पिल्सिरहेकी सुम्निमाका दृष्टिमा एक दिन एकाएक एक जना पुरुष देखापर्‍यो। पुरुष वन, जङ्गलतिर घुमिरहेको थियो। उ निकै ह्यष्टपुष्ट थियो, खुबै आकर्षक, खुबै लायक। उसको शरीरमात्र देख्नासाथ सुम्निमा उप्रति मोहित भई। उ थियो पारुहाङ। उत्पत्तिकालमा चेली माईतीको सम्बन्ध थाहा थिएन। आमा छोरा, बाउ छोरीको सम्बन्ध थाहा थिएन। पारुहाङ सुम्निमाका बिषयमा केही पनि जान्दैनथ्यो। उ आफ्नो बाटो लाग्यो। सुम्निमाले उसँग भेट्‍ने मन गरेकी थिई तर भाग्यले उसको धोको पूरा हुने मौका दिएन । जे होस, पारुहाङको दर्शनको कामना सुम्निमाको मनमा सदा बिझिरहने एक मधुर काँडाकै रूपमा रहिरह्यो। उसले जसरी भएपनि पारुहाङसँग सम्पर्क स्थापित गर्न चाही तर कुन उपायले उसँग भेट हुने हो ? यो सुम्निमाका लागि एउटा समस्यै थियो।

अन्त्यमा उसले आफ्ना साथीहरूसँग सल्लाह माँगी। चराहरूले भने पारुहाङको घर हिमालमा छ। उ कहिले कँही आउँछ र जान्छ। साथीहरूले सुम्निमालाई आशा देखाए तारेचरासँग कुरा गर्न सक्छौ भने उसै मार्फत समाचार पठाँउदा पारुहाङकहाँ पुग्छ। प्राकृतिक पुत्री सुम्निमा पंक्षिहरुसँग कुरा गर्न सक्तथी। साथीहरूले दिएको उपाय सुन्नुमात्र थियो उसले तत्काल अनुरोधपूर्वक तारेचरालाई आफ्नो काममा लगाइहाली। तारेचरा खोला पच्छाउदै हिमाल तिर लागे। तर शिरमा अत्यधिक पानी झरेकोले जान सकेन। उस्ले त्यसपछि गंगटोलाई लिएर गई। गंगटोले पानी तर्काई दिए पछि दुवै जना तुरुन्तै पारुहाङकहाँ गएर उसँग वृन्दावनमा एउटी तरुनी, सुम्निमा उसित विवाह गर्न चाहन्छे भन्ने खबर पुर्‍याइदियो। यो कुरा सुनेर पारुहाङ अत्यन्तै खुशी भयो र आफूलाई एउटी सुन्दरीको वर बनाइन पाइने हर्षमा तारेचरा र गंगटो सँगसँगै वृन्दावनमा आयो। वृन्दावनमा पुग्नासाथ उ सरासर सुम्निमा बसेको ओढारमा गयो। तर अफशोस, काम कुरो मिल्न सकेन। सुम्निमा जति सुन्दर थिई, पारुहाङ सुन्दर थिएन। केवल शरीरको गठन देखेर आकर्षित भएका सुम्निमाकालागि पारुहाङको होचो कद, थ्याप्चो नाक, र ससाना आँखा भएको अनुहार उनलाई मन परेन। पारुहाङलाई देखेर सुम्निमाका हृदयमा प्रेमको बदला भय उत्पन्न भयो। विचरी उसका सामुमा उभिनसम्म पनि सकिन र भागेर गई।

अर्कातिर उस्तै पारुहाङलाई पनि नराम्रो चोट पर्‍यो। विवाहको सुखद लालचमा आएको विचरो फुस्सामा पर्ने देखियो । उसलाई एकातिर घोर लज्जाको अनुभव भयो भने अर्कोतिर उसको पुरुषत्वप्रति यो एक प्रकारको साह्रै ठुलो अपमान सम्झियो। अपमानित पारुहाङले तारेचरालाई भन्यो तिमीले गर्दा सुम्निमासँग विवाह गर्न भनेर म यहाँसम्म आएँ, सुम्निमा भने मेरो अगाडिसम्म पनि पर्दिन! कस्तो सरमलाग्दो कुरो हो! तर म पनि आफूले सकेको नगरी त कहाँ छाड्‍छु र! यति भनेर पारुहाङले गएर सुम्निमा बस्ने जङ्गलको प्राय: जम्मै पानी सुकाइदियो। तरल पदार्थका नाममा केवल एउटा कर्कलाको पातमा विशेष प्रकारले अलिकतिमात्र पानीको शेष राखेर उ गयो। पिउने पानी नपाएपछि जङ्गलका सबै प्राणीहरु तिर्खाले सताइन थाले। सुम्निमा पनि हर्हर भई। उसले यताउतिका सारा खोल्सा, खोल्सीहरूमा गएर आफ्नो प्यास मेट्‍न खोजी तर कतै एक थोपा पनि पानी थिएन।

उसले आफ्ना साथीहरू न्याउली, कुथुक्रे, लाहाँचे, चाँचर, भ्याकुरो, चिबे, जुरेली, ढुक्कुर, हलेसो, च्याखुरा, प्यूरा आदिलाई पानी खोज्न पठाई। लाहाँचेले रूखको टोड्‍कामा अलिकता पानी भेट्टायो तर आफै तिर्खाले हर्हर भैरहेको त्यस विचरोले त्यति पानी आफ्नै तिर्खा मेट्‍न खाइदियो। चिबेले कर्कलाको पातमा अलिकति पानी भेट्टायो। उसले चाहिँ इमानदारी साथ त्यो पानी सुम्निमालाई ल्याइदियो। तिर्खाले साह्रै आतुर भैरहेकी सुम्निमाले पानी भेट्टाउनसाथ आँखा चिम्लेर पिइहाली। सुम्निमा विचरी त्यो पानी पिएको महिना दिनपछि नै थला परी। यस बिमारीले एउटा अनौठो कुरा हुनगयो । सुम्निमा के कारणले बिरामी भैछ भनेर चुइयाँ, बगेरो, लाटोकोसेराहरूले जोखाना हेर्दा कर्कलाको पातको पानी खास पानी नभई पारुहाङले टुना गरी छोडेको एक प्रकारको ओखती पो रहेछ र यसैको प्रभावले गर्दा पो विचरी बिरामी भएकी रहिछ भन्ने पत्ता लाग्यो। अब के गरे सन्चो हुन्छ? भनेर सोच्दा सुम्निमाका साथीहरूले भने स्वयं पारुहाङलाई झिकाएर उसैले औषधि, उपचार गरेमात्र सन्चो हुन सक्तछ। साथीहरूको सल्लाहअनुसार विचरी सुम्निमालाई फेरि एकपल्ट तारेचरालाई बोलाएर पारुहाङलाई झिकाउन करै लाग्यो।

सुम्निमाको सौन्दर्यले आकर्षित तथा उसको व्यवहारले अपमानित पारुहाङ पनि यही दाउ पर्खेर बसेको थियो। तारेचराद्वारा समाचार पाउनासाथ उ पुन आयो। साथै उसले जडी, बुटीको उपचारद्वारा सुम्निमालाई निको पनि पारिदियो। गुन लाएकाले सुम्निमाले पारुहाङलाई आफ्नू पति मानी विवाह गरे। केही समय पछि पारुहाङ अलप भयो। त्यसपछि सुम्निमाले एक मानिसका साथै अन्य जिव जन्तुहरुपनि जन्माएको कथा आउँछ। पछि उही सुम्निमाले जन्माएको मानिसको सन्तानमध्ये हँछा (हेन्कम्बु) भन्नेले नाग जातीका छोरी सिक्रिमा/सिकुरिमासंग विवाह गरि किरातुइवा नाम गरेको सन्तान जन्माए। उही किरातुईवाको सन्तानहरु किरातहरु हुन र किरातका सन्तान मध्ये एक राईहरु हुन भनि मुन्धुममा सुन्न पाईन्छ।

सन्दर्भ सामग्रीहरु :

  • मुन्धुम, पिता पुर्खाहरुबाट मौखिक संकलन

संकलकः
शशि मदन राई (कुलपति–किरात राई प्रज्ञा प्रतिष्ठान, हङकङ)
२६ अप्रिल २०१८–२०२१ ।