बोटबिरूवाहरू

प्रकृति र मानवबीच अभिन्न सम्बन्ध रहेको कुरा किरात राईहरूले आजसम्म प्रयोग गर्दे आइरहेको बोट बिरूवा र फलफूलहरूबाट थाहा लाग्छ । राईहरूको सामाजिक, धार्मिक तथा सांस्कृतिक कार्यहरूमा आजसम्म प्रयोग हुदै आइरहेको बोट बीरूवा फलफूल र घाँसपातहरूको परिचय गराउने अभिप्रायले निम्न बोटबिरूवाहरूका परिचयात्मक विवरणहरू प्रस्तुत गरिएको छ ।

१. अडेली काँडा:

राईहरूको घरमा विषेश गरी चिन्ता गर्दा, ग्रह, दशा सार्न, शेषान्तर खेद्न प्रयोग गरिन्छ । यसको कोईलाबाट बन्दुकको बारूद बनाई विवाह उत्सवमा पड्काउने काम गरिन्छ ।

२. अदुवा:

अदुवाको प्रमुख प्रचलन किरात राईहरूमा नै भएको हो । कुलवेद पितृदेवलाई चढाउनेदेखि लिएर खोकी लागेमा टोक्ने, स्वर बसेमा खोल्नलाई अदुवा पोलेर खाने, मसलाको सट्टा अदुवा पिसेर हाल्ने गरिन्छ । महिला गर्भवती हुँदा अदुवा चोर्नु हुदैन, बच्चाको हात वा खुट्टामा अनावश्यक औंला गाँसीएर वा अदुवाको जस्तै छावा पलाएर जन्मिन्छ भन्ने पनि भनाई रहेको छ । नागीरे धामी (न्वाँगी, साकेला वा भूमिपूजक धामी ) वा सेले धामी (बाहीरको लागुभागु धपाउने ) धामीले यसको प्रयोग गर्दछ । नागीरेले नागु, तिधाम (सुखसान्तिको लागी गरिने घरयासी पितृकर्म ) गर्दा अदुवाको सिंगै बोटलाई करीब दुईबित्ताको फालसामा दुईबिटो बनाई टुप्पाभन्दा अलि तल जोल्ठाई अगेना छेउमा राखिन्छ । पितृकार्य गर्दा पितृदेवका लागी चामल, चिन्डो, कठुवा, बाँसका ढुङ्ग्रो राखिन्छ । धामीले अदुवाको टुक्रा र चिन्डोको जाँड यही अदुवाको बोटको बिचबाट अगेनामा पर्नेगरी मुन्धुम बखान्दै चढाउँछ । यसबाहेक हरेक किरात राईहरूले नयाँ अदुवा चोखो जाँड र नयाँ धान हरेक वर्ष आफ्नो पितृदेव अगेनालाई चढाउने कार्य –न्वागी गर्दा प्रयोग गदर्छन् । यस्तै धामीले फूकफाक गर्दा अदुवानै टोकेर फुक्ने, शिकारीले शिकार मार्दा अदुवा टोकी फुक्ने , बिमारी हुँदा रोग पत्ता लगाउन रोग निदाको लागि उचित धामीको खोजी गर्न र कुन धामीबाट उपचार गर्दा चाँडो निको हुन्छ भन्ने कुरा थाहा पाउन कचुर हान्ने (धामीद्वारा अदुवाको पतलो चोइटा काटेर संभाव्यता पत्ता लगाउने ) काममा पनि अदुवाको प्रयोग गरिन्छ ।

३. ओखर:

ओखरको प्रयोग ग्रह दशा सार्न र किरातदेव बहिहाङको चाड तिहारमा राक्षसको टाउकाको प्रतीक मानी मूल दैलोको साँघारमा राखी सकेपछि चेलीले लोहोरो ढुङ्गाको सहायताले फोरी ढोका थुनेर घरभित्र फूलटिका लगाईने चलन रहेको छ ।

४. उत्तिस:

धामी विद्याअनुसार यदि मानिसको सातो वा अन्तप्र्रण उत्तिस जास्तो कमजोर रूखमा बसेको भए मानिसलाई दुखाई पिराई हुने, ग्रह दशा लाग्ने अनुमान गरिन्छ । त्यसैले धामीले त्यसरी उत्तिसमा बसेको मानिसको अन्तरप्राणलाई अरू नै बलियो मन्त्रद्वारा सार्ने काम गर्दछ्न् ।

६. कचुर:

राईहरूको संस्कारमा कचुरको ठूलो महिमा रहेको छ । खासगरी व्याथा लाग्दा सञ्चो हुन नसके कुन चाहिं धामीले उपचार गर्दा सञ्चो हुन्छ भन्नलाई, कुन देवता वा ननिकोले छोएर सञ्चो हुन नसकेको हो भन्ने कुरा थाहा पाउन र सञ्चै मानिसको पनि अगाडिको अशाग्रह कस्तो छ भनेर पत्तो लगाउन समेत धामीले कचुर काटेर चितपोट, वृतको घेराभित्र कहाँ बसेको छ ? घेरा छोएको छ वा छैन आदिबाट ग्रह दशाको अड्कल गर्ने तथा व्याथा खेट्याउने काम गर्दछ ।

७. कटुस:

कटुसलाई नागिरे धामी, सेले धामी वा अन्य प्रकारको धामी र साकेला भूमि पूजामा नाँच्दा धामीलाई उसको बाटो खेद्न साथ दिने पुरूष र नारी नृत्य समुहहरूले हातमा सेउलीको रूपमा लिई नाच्ने र कटुसलाई सेउलीबनाई केन्द्रमानेर वृत्त बनाई वरिपरि नाच्ने काममा प्रयोग गरिन्छ । यस बाहेक धामीको ढोलढयाङ्ग्रो बनाउँदा काठको प्रयोग समेत गरिएको पाईएकोछ ।

८. काउलो:

नागिरे धामी बाहेक अन्य प्रकारका धामीहरूले चिन्ता या यस्तै झारफुकको कार्यमा सेउलीको रूपमा प्रयोग गर्ने र काउलो पानी एकैठाउँमा मुछेर बटुकामा राखी त्यसलाई बोक्सी डाईनीले दुख नदियोस भनी सांकेतिक घेराव गर्ने, आवश्यक परेमा त्यसलाई हतियारको रूपमा जगाई हानी पठाउने, धामीको बाटोघाटोमा अन्य धामी तथा बोक्सीहरूले दुःख दिएमा त्यसलाई हतियार तथा समाउने लिसो पासोको रूपमा लिई पक्रने वा हटाउने काम गरिन्छ । कुनै धामीले आफ्नो शक्ति देखाउन चिन्डोको जाँड वा चामलको काउलोको पात वा डन्ठीलाई छिन्ने कुनै बेला बेरामीको टाउकामा काउलोको डन्ठी राखेर जाँडले सो डन्ठीलाई छिन्ने काम पनि धामीहरूले काउलो नै प्रयोग गद्छर्न । यस बाहेक नराम्रोबाटो लिई मर्नेलाई चिहानमा काउलो ओछ्याई त्यस माथि सुताई गाडीन्छ । त्यसदिन केटाकेटीहरूलाई समेत सातो नजाओस बिमारी नहोस् भन्नका लागि लुगाफाटा बिषेश दौरा वा चोलीको तुनामा काउलोको पात बाँधी दिने चलन पनि रहेको पाईन्छ ।

९. कागुनी:

भात वा जाँडको रूपमा प्रयोग गर्ने र चिन्ताहरूमा देशान मसान, शेषान्तर खेद्ने काम समेत कागुनीबाट गन्छि ।

१०. कालोदाल /मास:

दालको तिहुन राईहरूको ठूलो सम्मानको तरकारी हो । तसर्थ घरयासी तथा विवाह कार्यमा यसको प्रयोग अधिक रहेको छ । ग्रह, खड्गो काट्दा सार्दा कासलाई सदबीउ – पलबीउको रूपमा प्रयोग गर्ने, पुसको मसान्तामा पकाएर माघे सक्रान्तिको दिन खाएमा गति परिन्छ भन्ने भनाईको कारणले सोही अनुसार पकाई खाने चलन पनि रहेको छ । साकेवा पूजामा गहुँ वा चामलको पिठोको नाग बनाउँदा मासको दनाको आँखा लगाई दिने चलन पनि रहेको छ ।

११. काप्रा:

लहरे काप्रा होस वा रातो काप्रा राईहरूको आफ्नो शिकारी देव को पूजा गर्दा त्यही काप्राको ठूलो–ठूलो रूखको फेद मुनी थानथपना गरी गर्दछन् । किनकी शिकारी काप्राको रूखमा बस्तछ भने उनीहरूमा प्रबल बिश्वास रहेको पाईन्छ । तर अर्कोतिर काप्राको रूखलाई कुकाट मानी घरमा प्रयोग गर्दैनन् । यसलाई जासीकाट (मरौटे काठ ) मानी यसका पातहरू शुभ काममा प्रयोग गरिन्छ । यहाँसम्म भनाई छ की किरातीको सकेला थानमा काप्राको रूख पलाएमा वा रहेमा त्यहाँ भूमी देव बस्दैनन् । केवल भूमेपूजामा भोग खान मात्र आउँछन भन्ने पनि भनाई रहेको छ शिकारीदेवको पूजा भनेको प्रायः किरातीहरूले मात्र गर्दछन । काप्राको घाँसपातदेखि यसको मुना टिपेर अमिलो गुबाको अचार बनाएर स्वादीलो गरी खाने गरिन्छ । यसको पातलाई अन्साई जर्ने काममा प्रयोग गरिन्छ ।

१२. कुकुरदाईनी:

राईहरूले कुकुरदाईनीलाई किरातको जेठो दाज्यू वा नायमको पहिलो सन्तान मान्दछन् । यसको लठ्ठी टेकेर हिडेमा हाँकेको ताकेको पुग्ने , भूत प्रेत, देशान, मसान, बोक्सी, डाईनी पिसाद केही लाग्दैन भन्दछन्। लौरो बनाई मूल दैला र जस्केलीमा राखेमा भुत, पे्रत, बोक्सी, दाईनी आँखा डाही केही लाग्दैन भन्दछन् । साथै धामीले ढोल ढायाङग्रो बजाउने गजोको रूपमा समेत कुकुरदाईनीको प्रयोग हुन्छ । कुकुर दाईनीको मुन्टाको तरकारी खाने चलन पनि रहेको पाईन्छ ।

१३ .कुरीलो:

साउने संक्रान्तिमा राँके धपाउँदा, अर्काको आँखीडाहीले दुःख बिमार भएमा, प्रगती मार्गमा बाधा परेमा त्यसलाई पन्साउन वा हटाउन कुरीलोको बोट उखालेर ल्याई अगेनामा धामीले मुन्धुम वाचन गर्दै रीतिथिकासाथ डढाउने गर्दछ । त्यसैगरी न्वारान गर्दा बच्चालाई कोक्रोमा सुताउन अघि पनि त्यस कुरिलोको बोटलाई आगोमा पोलेर कोक्रोमा झाँक्ने गरिन्छ । यसको अर्थ कोक्रोलाई भूलप्रेतबाट मुक्त गर्नु वा परपर हटाउनु हो ।

१४. कुबिन्डो:

खड्गो काट्दा, ग्रहदशा सार्दा कुबिन्डोको दाना काट्ने, सार्ने वा तयसरी काटिएको, सारिएको अंसलाई पर दोबाटो चौबाटोमा पुर्याई मनसाउने गरिन्छ । यसबाहेक, बिवाह, भोजभतेर, क्रिया कार्जेहरूमा कुबिन्डोको अचार बनाएर खाने पुरानो चलन राईहरूमा रहेको पाईन्छ ।

१५. कुलुछे फूल:

कुलुछे फूल किरात राईहरूको समुदायमा अत्यन्त लोकप्रिय सुगन्धित मुख्य फूलको रूपमा लिएको पाईन्छ । आजकालको अमेरीका, जापानमा निर्मित आधुनिक सेन्टले पनि प्रतिस्पर्धा गर्न नसक्ने लेकाली भूमिमा पाईने करीब दुई बित्ता लामो बोट भएको प्रायः साल्पाको आसपासमा पाईने एक प्रकारको फूल जसको जरा, पात, र डाँठ सबैको सुगन्धै सुगन्ध हुन्छ र यसलाई पुरूष तथा महिलाहरूले दौरा वा चोलाको तुनामा सिउरिने ज्यादै मन पराउँछन । कपडामा सेन्ट राख्ने पहाडी कागजलाई धुलिया लाग्न नदिने, लुतो आँउदा दल्ने काममा पनि यसलाई प्रयोग गरिन्छ । तसर्थ यसलाई अति रूचिका साथ माला समेत बनाएर कोठा, बाकसमा राख्ने वा घाँटीमा गहनाको रूपमा समेत लगाउने चलन छ । यहि महिलाले गर्दा साल्पा जानेहरूले मुख्य कोसेली ल्याई साल्पा नजानेहरूलाई दिने चलन रहेको पाईन्छ ।

१६. केरा:

केरासंग राईहरूको ठूलो धार्मिक सांस्कृतिक सक्बन्ध रहेको छ । विशेषतः एक प्रकारको चरा जो केराको बुङगामा रहेको मुनाको रस खानलाई आँउछ । त्यस चराको मासुलाई देवातालाई चढाइने सिकुटी मासु बनाई प्रयोग गरिन्छ । त्यस्तै पहिले पहिले मानिस मरेर गाडीसकेपछि पुनः बेलुकी चुलामा बस्नको लागि आमन्त्रण गर्ने प्रथामा लगाउँदा केराको बोट काटेर मुर्दा झै लडाएर कपडाले छोप्ने र धामीले बखान गर्दे मृतात्मालाई पितृमा डाक्ने चलन थियो । पितृमा गयो गएन र मृतात्मा कति मात्रामा खुसी वा बेखुसी भयो भनेर जाँच्नको लागि कपडालाई उघारी शरीरमा लागेको घाउ हेरिन्थ्यो र धेरै घाउ देखीएमा त्यसलाई नराम्रो मानिन्थ्यो । तोमा, खोमा र खक्चिलिपुको वृतान्तमा तोमा र खेमाले खक्चिलिपुलाई एक्लै छोडेर हिंड्दा उनको सिरानीमा कर्द र खुट्टाको छेउमा केराको बोट रोपेर हिंडेका थिए । भाई उठ्दा पहिलो पट्क त्यही केराको बाटलाई देखी कर्द ले डर दिदैं केरा पसाउन लगाई त्यही खाएर भोक मेटेको बर्णन पाईन्छ । अहिले केराको बोटलाई धामि चिन्तामा ग्रह दशा सार्दा वा खड्गो काट्दा (केराको बोटलाई रोगको एउटा प्रतिक ठानी त्यसलाई एकै छप्कोमा छिन्ने काम ) प्रयोग गरिन्छ । यसलाई कहिले काँही डल्लै दोबाटोमा लगी मनसाउने काम पनि गरिन्छ । यस्तो खड्गो काट्दा घरको जहान सबै जम्मा भएमा मात्र काट्नु पर्छ नत्र भने प्रायः मनसाउने प्रचलन रहेको पाईन्छ । त्यस्तै केराको पातलाई चिन्ता गर्दा चोखो भूईमाथि दोब्बरपारी ओछ्याई त्यसमाथी चामल राखिन्छ । र त्यसमाथि देवता र चिन्डोहरू राखिन्छ । पितृ पूजा गर्दा पनि केराको पातमाथि भात राख्ने गरिन्छ भने विवाहमा कुखुराको रगत केराकै पातमा खसाई देखाउने चलन रहेको छ । त्यस्तै अन्य पुजाहरूमा पनि केराको पातलाई चोखो ठानी प्रयोगमा ल्याईन्छ ।

१७. कैजमल:

ढोल बनाउन र घरको सागर बनाउनलाई यही काठ उत्तम मानिन्छ । सँगुरलाई पानी, चारो, खाना दिने कठको डुँढको रूपमा पनि प्रयोग गरिन्छ ।

१८. कोइरालो:

कोइरालो जुनसुकै धामीले ढोल र ढयाङग्रो बनाउनको लागी प्रयोग गर्ने एक उन्नत जातको काठको रूपमा प्रयोग हुन्छ । फूलको तरकारी खाने पुरानै प्रचलन हो ।

१९. कोदो:

नागिरे होस् या अन्य, धामी चिन्तामा एक पाथी कोदो (धामीको गुरूको भाग, शिकारी देव वा धामीको शिर उठाउनी) भनी राखिन्छ । त्यसबाहेक नया कोदोको चोखो जाँड बनाएर न्वागी तथा घरयासी पितृदेव गर्दा चढाउने गरिन्छ । कुनै नागिरे धामीले तिधाम गर्ने (सुखशान्तिको लागि गरिने पितृ कर्म ) सालको पातमा कोदोको रोटी पोलेर पितृलाई चढाउने पनि गरिन्छ विवाह कार्यमा कार्यमा कोदोको जाँडको माईत राख्नेदेखि लिएर मर्दा मर्नेलाई मुखमा जाँड नै ख्वाएर संस्कार्न लगिन्छ । लाश लैजाँदा उल्टो ढुंङ्ग्रोमा राखिएको जाँडले बाटो देखाउदै लगिन्छ । मर्दा हरेक घरको जाँडको छोक्रा बटुल्नपर्छ र त्यही जाँड मर्नेलाई ल्वाउनपुर्छ । यसै गरी खड्गो सार्दा वा काट्दा सतबीउ पलबीउको रूपमा प्रयोगमा ल्याईन्छ ।

२०. खर:

धामीले चिन्ताको समयमा खडेगो काट्दा सांकेतिक रूपमा बलमघर (मृतव्यक्तिहरू बस्ने घर )बनाई त्यसलाई खरले छाउने र पुनः धामीको विधिअनुसार त्यसलाई जलाएर भत्काई मृतआत्मालाई बाटो छेक्ने वा मृतआत्माकावे घर जलाएको भन्ने अर्थमा खरको प्रयोग हुन्छ ।

२१. गुराँस:

बरन्डीमा फुलको गुच्छा बनाई राख्ने, ढोल ढयांग्रोको काठ बनाउने, बन्दुक, खुकुरी, कर्द, कचिया, हँसिया आदिको बिड बनाई लगाउने काम गरिन्छ

२२. चन्दन:

रातो होस वा सेतो चन्दन देवी देवताहरूको पूजामा चन्दनको काठ घोटेर लेदो निकाली देवता र हातहतियार लाई लगाउने र बिशेष तिहारमा चेलीहरूले माइती पूज्दा पनि चन्दनको प्रयोग कसै कसैले गर्दछन् । ‘माईतीलाई पूजौंला भन्थें हे राजै सिन्दुरै तिका जुठो भो, चन्दन् घोटी लाउ’ भन्ने मारूनीकोगीत पनि रहेको पाईन्छ ।

२३. चाप:

 चापको सुगन्ध र सौन्दर्य भएको चाप राईहरूको घर काठ लगाउन पाए चाँप फूलेजस्तै घर फूलिरन्थ्यो भनी जिब्रो च्च ’ पार्छन्। चापको फेदमुनि थानी वा अन्य जंङगली देवीदेवताहरूको थान थपना गरी पूजाआजा गर्ने लामो प्रचलन राईहरूमा रहेको पाईन्छ ।

२४. चिउरी:

चिउरीसंग राईहरूको सामाजिक, धार्मिक तथा साँस्कृतिक सक्बन्ध रहेको पाईन्छ । व्यक्तिको जम्मदेखि मूत्यूसम्म गरिने हरेक कर्महरूमा चिउरीको पात र पातबाट निर्मित टपरा दुनाको प्रयोग हुन्छ । जन्मदा क्रमशः न्वारान, पास्नी, गुन्युचोलो/छेवर गर्दा छोरा भए केश काट्दा चोलीले टपरामा केश थाप्नुपर्छ । दुनो टपरामा पितृदेव चुल्लाको पूजा सामाग्रीहरू (चामल, अदुवा, मासु, मोधाम) पितृदेवको लागि भनी राखिन्छ । घर बाहिर गरिने जङलंगी देवहरूको पूजामा यही टपराको प्रयोग हुन्छ । विवाहमा जनतीलाई खाना ख्वाउने टपरादेखि बेहुला बेहुलाई बरन्डी, लोकण्टा, लोकण्टीलाई सानो बरन्डी समेतको व्यवस्था चिउरीकै हरियो पातको गाँसिन्छ । त्यतै क्रियाकाज, दशाग्रह, खड्गो सार्दा वा काट्दा टपरानै प्रयोग हुन्छ । भने क्षेत्री बाहुनको प्रभाबमा परी रूद्री बालन, सप्ताह लगाउने राईहरूको टपराको साहारा लिनु पर्दछ ।

२५. चिन्डो:

चिन्डोको सम्बन्ध सम्पूर्ण किरात राईहरूसंग लामो सम्बन्ध रहेको पाईन्छ । पारूहाङ र सुम्निमाले आदिकालमा पानि जमाउने भाँडोको रूपमा सर्वप्रथम चिन्डोकै प्रयोग गेरेका थिए । हिजो आज किरात राईहरू जम्मदेखी मृत्यसम्मको संस्कारमा चिन्डोको प्रयोग गर्दै आएका छन् । चिन्डो धामीको प्रमुख हतियार हो । पितृदेव गर्दा, साकेला पूजा गर्दा चिन्डो चाहिन्छ । चिन्डोमा चोखो रक्सी वा जाँड लगाएर ठाँउ ठाँउमा बाटो थुन्ने, खोल्ने बाधा बनधनहरू लगाउने, काट्ने, शक्ति प्रदशर्न गर्ने वा बिमारीको उपचार गर्दा बाँस, मालिङगो, निगालो काउलोको डण्ठी छिन्ने काम पनि चिन्डोको जाँडद्वारा नै गद्छन् ।

२६. छेबेम्:

मकैको दाना भन्दा थोरै सानो र डल्लो आकारको गेडा हुने, हेर्दा जुनेलोको आकारको बोट हुने, फल दिने एक जातको खाद्य बोट हो छेबेम् । किरातीहरूको पहिलो खाद्यान्न नै त्यही थियो भन्ने भनाइ छ। अहिले यसको गेडा कुखुरा, सँगुर वा बाख्रा भेडाहरूलाई ख्वाउने प्रयोग गरिन्छ ।

२७. जोगी फूलः

प्रयः कात्तिक र मंसिरमा फेरी लगाउन आउने फेरीवाल जोगीलाई दान दिंदा दिइने फूल जसको रंग र आकार सयपत्रिभन्दा भिन्न सानो हुन्छ ।

२८. ढुङग्रे बाँस:

पानीखाने घयाम्पो ग्राग्रोको विकल्प नहुदासम्म बाँसमा पानी भरेर जमाउने, पिउने गरेका थिए । अहिले पनि कतै कतै यस्तै प्रचलन रहेको पाईन्छ । गोठको ढुङ्ग्रोदेखि नुवाङ्गी, तिधाम छमदम (नाम राख्न गरिने कर्म ) गर्दा पितृदेवको पुजा गर्दा, विवाह, भूमेपुजा, नरनातालाई सत्कार गर्ने कर्ममा पनि बाँसको ढुङ्ग्रो प्रयोग गरिन्छ । भने मर्दा चुलोमा मृतकलाई डाक्ता समेत ढुङ्ग्रोको प्रयोग गरिन्छ । यी सबै समाग्रीहरू ढुङ्ग्रेबासको सप्लेटो पाटालाई राखेर बनाईन्छ । यसको प्रचलन प्राचिन थियो भन्ने आधार अहिले पनि राईहरूको नागिरे वा तायामी (जान्ने सुन्ने ) बुढाहरूले “ हादबुक, धिरीतुङो, मूतितेल्ङो, सम्निमा बाखैमा सुिम्नमा बाखैमा ” भनेर रिसिय वा मुन्धुम (देव भजन ) गाउँदछन् । यसको भावार्थ धरतीको माटोमा गर्भ रहेर जन्मेको मूर्ति जस्तो तेलीय पदार्थहरूबाट बनेको जीब, ढुङ्ग्रोमा पानी खाएर हुर्केको, सुम्निमा माता भनिएको हो । माटो ताँबा वा पित्तलको गाग्रीको प्रयोग नआईसकेको अवस्थामा यस्तै ढुङ्ग्रोको प्रयोग गरिन्थ्यो । यसबाहेक यसको तामाको तरकारी, बयम, अचार बनाई स्वद गरी खाने चलन पनि पाईन्छ ।

२९. तामार्के:

तामार्के कालो र सेतो दुई थरीको हुन्छ । यो दुबै थरीको तामार्के राईहरूको संस्कारमा अत्यन्त प्रयोग हुन्छ । विषेशः यो धामी चिन्तामा ठूला– ठूला ग्रह काट्न खड्गो काटन् प्रयोग हुन्छ । मानिस कुखुराको पेटमा जुका पर्दा जुका मार्न यसको रस खान दिईन्छ । कतै कतै राईहरूको घरको आगनमा तामार्केको गानो रोपी त्यसलाई ड्ड बनाएर पानी जम्मा गर्ने र कुखुरालाई पिलाउने गरेको देखिन्छ ।

३०. तीते पाती:

पारू नायमको सबभन्दा पहिलो घर यहि तितेपातीको डन्ठीलाई टुप्पमा बाँधेर मुनिबाट बस्ने गरिएको थियो भन्ने भनाई छ । तर्सथ पारू नायमको कालको यो वृक्ष अहिले पनि घर चोख्याउदाँ, माइती पुज्दा, मलामी जाँदा चोखिने कार्यमा दुबो सहित चोखो पानिले छर्किने, सातो बोलाउँदा गडुवाको मुखमा दुबो पातिको मुठा राख्ने, बिरामी पर्दा सिंया लाग्दा सुँघने, सिंया, वायू, नानिको लाग्ला कि भनेर सुँघ्ने वा टाउका गोजी, तुनामा सिउरी राख्ने, सुत्केरी चोख्याउँदा, बालककागे कोक्रो भए त्यसमा पनि सिउरिने, मासी परेमा चपाएर रस खाने, धामीले फूकफाक गर्दा प्रयोग गर्ने, पातीले नुहाई चोखिने,बाख्रालाई घाँसपातदेखि बाख्राको मासु खाँदा चोखिने उपाय गर्ने, देव पूजामा प्रयोग गर्ने, छेत्रीबाहुनहरूले सँगुरको मासु खाँदा यही तितेपातीले चोखिएर घरभित्र पस्ने गरेको पाईन्छ । मल खाद बनाउने काममा पनि प्रयोग हुन्छ ।

३१. दार:

किरात राईहरूको वैवाहिक परम्परामा ठेका, कठुवामा रक्सी राखी केटी माग्न जाने, राम्रो कठुवामा सगुन गर्ने, दुनेरी ठेकी हर्पे, (मन्दनी काठ ) दारकै बनाईन्छ । रोटीको पिठोमा दारको बोक्रा हाल्दा रोटी फन्कीन सजिलो हुन्छ । दार जन्मेदेिख मृत्यु हुँदासम्मको लोक व्यावहारमा प्रचलित हुने रूख हो । यसको कठुवा भएसम्म अन्य चलाईदैन । रीतभाँत कोसेली सवैमा यसको प्रयोग हुन्छ ।

३२. दुबो:

अर्कालाई सराप्नु प¥यो भने तेरो घरमा दुबो उम्रियोस् भन्ने गरिएको दुबोको महिमा राईहरूमा यत्रतत्र छन् । दशैमा या विवाह कार्यमा आशिक दिंदा दुबो झै फैलिरहनू भन्ने दिईन्छ । हरिताल (रोगलाग्ने अखाद्य वस्तु ) पर्दा बिरामीको टाउकोमा राखिएको पनि र तेल हालेको बटुकोमा दुबो र पातीको सानो मुठा पारी घुमाई घुमाई मन्त्र बाचन गर्दै हरिताल झिकिन्छ । चोर पक्त लगाउन धामी ज्योतिष आदि कुन चाहिंबाट फलिफप हुन्छ भनी पत्ता लगाजउन पानि जोखाना हान्दा चोखो दुबोको प्रयोग हुन्छ ।

३३. धान:

जन्मदेखि मृत्युसम्म प्रयोग हुने खाद्य वस्तु धानको बालालाई अलि तलै काटेर लामो बिटाबाट राम्रो पुतली बुनी मुठी सार्ने, बउीलाई सुकाएर त्यसलाई रंगिन धागोले बाँधेर विभिन्न आकारको फूल बनाउने र बाबु माईतीलाई सम्मान स्वरूप छोरीचेलीले चढाउने पुरानो चलन रहेको छ । यसबाहेक बालबच्चाहरूको न्वारान, पास्नी, गुन्युचोलो,छे वर र विवाह गर्दा सगुनको रूपमा आफूलाई मानेको दमाईलाई नाङ्लोमा पाथी धान त्यमाथि दियो बालेर रक्सी र रीतअनुसारको दस्तुर भेटी राखी दिईन्छ । त्यसबेला दमाईले सहनाई बजाई रीतअनुसार नै सम्बन्धित पक्षलाई आशिष दिने गर्दछ ।

३४. घैयाः

घैया धान किरात राईहरूको उहिलेदेखि नै प्रयोग गर्दै आएको कुराहरू पुर्खाहरूले गर्दै आएको पाईन्छ । वास्तावमा अन्य धानको प्रचलन, पछि मात्र शुरू भएको हो र त्सभन्दा पहिले चाहि घैया धान नै प्रयोग गरेको प्रमाण किरात आदिम पूर्खा खक्चिलिपुले ढुक्कुरको गाँडबाट बीउ झिकी कागुनी, घैया धान, कोदो, छेवेम आदि लगाएको कहानी गरेको पाईन्छ ।

३६ निगालो:

धामीले हातमा खेलाउने दुईटा फुर्के, चिन्ताकै लागि चाहिने तीनतले फूर्के, भूत प्रेतलाई छेक्ने बङखेर (झकारो ) बनाउने शक्ति प्रदर्शन गर्नलाई निगालोको बोटलाई धामीहरूले चिन्डोको जाँड्ले एकैचोटमा छिन्ने काममा प्रयोग गर्दछ । त्यतै घरको डालो, नाङलो, छाजन, डोको, घुम मोहला, डोरी, भार, छेम (अदुवा र यस्तै पितृत्व सामाग्री राख्न बनाईने सानो भार) डेली, भूने (धामीको सामाग्रीहरू राख्ने डेलीको सानो रूप) आदी यसै निगालोबाट बुनिन्छ ।

– शशि मदन राई