शशि मदन राई
किराया अध्यक्ष,
(सन २०१२–१६)
लौ है दाजुभाई, नरनाता हो।
लौ है पिता पुर्खाहरु हो।
ऋतु परिवर्तन भएछ । उधौली शुरु भयो। चिसो हावा चल्न शुरु भयो। हिमाल, पहाड, तराई ठण्डी हुन थाल्यो। पशुपंक्षी, माछाहरू उधो झर्न थाल्यो। गाईबस्तुको गोठहरु उधो झर्न थाल्यो।
उधौली शुरू भएछ। किरातीहरुको खुशियाली शुरू भएछ। धानका बालाहरू झुल्न थालेछ, झुलेको बाला बज्न थालेछ । पशु पंक्षीहरू नाच्दै, गाउँदै, रमाउदै, खान थालेछ। दाज्युभाई, नरनाता, छोरिचेली, कुलकुटुम्बहरूसंग भेटघाट गर्ने बेला भएछ।
घरको मुल चुल्होमा आगो बालेका छौं। पुर्खाहरूसंग आर्शिवाद लिन बसेका छौं। रैछाकुले, तयमा, खियमा पुर्खाहरुलाई सम्झेका छौं। जीवन निरन्तरताको निम्ति पित्री र प्रकृतीलाई पुकारा गरेकाछौं।
पाकेको अन्नबाली खेर नजावस। सडेर, गलेर, कुहेर नजावस। मानव, पशु पंक्षी, जनवार, माछा, बोट बिरूवाहरू मासिएर नजावस। रोग ब्याथा नलागोस। कष्टकर जीवन कसैले भोग्न नपरोस। अन्नबालीले खान पुगोस। आवश्याकता परेकाहरूलाई दिन पुगोस।
हाम्रो शाखा सन्तानहरूलाई सुब्बे फाब्बे होस। अन्नको धनी, पैसाको धनी होस। अन्नको सह सदा बनी रहोस। शाखा सन्तान फैलिएर जावोस। मान सम्मान बढेर जावोस। आयु बढेर जावस। शिर सदा उच्च रहोस।
जय सुम्निमा पारुहाङ।
१. पितृपुजा (न्वगी) बारेमा:
किरात राईहरुले बर्षमा जाडो मौसम (उधौली) लाग्ने बेला, धान, कोदो, घैया पाक्ने वेला, सयपत्री फुल फुल्ने बेला, नया अदुवा फुल्ने बेला पितृकक्ष सफा गरि नया चामलको भात (सुवाँचा), बिभिन्न मासुहरुको मिसावट (छँरिसा), नया अदुवा र नया कोदोको जाँड बनाई पितृहरुलाई दिने चलन छ। यसलाई पितृपुजा (न्वगी) भनिन्छ। यसलाई सुवाँ हान्नु पनि भन्दछ। पितृपुजा भदौ/असोज महिनाको प्रतिपदाको दिनमा गरिन्छ। प्रतिपदाको सुरु दिन देखि प्रतिपदाको अन्तिम दिन (१६ दिन) भित्र कुनै दिन गरिन्छ। यतिबेला घरका मुख्य बुढापाखाहरुले पितृपुजा नगरिन्जेल नया अन्न खानु हुदैन भन्ने मान्यता राख्दछन। पितृपुजा गर्नु भनेको नया अन्नबाली चलाउनु हो र यसलाई न्वगी गर्नु पनि भन्दछ। किरात राईहरु विविध भाषी तथा विविध ठाउ अनुसार पितृपुजालाई बिभिन्न नामले पुकार्ने तथा बिभिन्न तरिकाले गर्ने चलन रहेको छ।
२. सामूहिक पितृपुजाको अवधारणा :
हङकङमा धेरै किरात राईहरु अपार्टमेन्टमा बसेका छन। अपार्टमेन्टमा चुला राख्न सकिन्दैन। चुला किरात राईहरुको देवस्थलहो जहाँ किरात राईहरुको वंशज (पितापुर्खाहरु) रहेको हुन्छ। किरात राईहरुले पितापुर्खाहरु र प्रकृतिको पुजा गर्दछन। चुलामा पुजा पार्थना गर्दछन। चुला पुज्न छाडियो भने किरात राईहरुको धर्म, संस्कार, संस्कृती मरेर जानेछ। किरात राईहरुको अर्को पुस्ताले किरात राईहरुको संस्कार भुलेर जानेछन। संस्कार संस्कृती मरेर गयो भने पहिचान मरेर जानेछ। यसको विकल्प किरात राईहरुले शहरिकरण भएको ठाँउमा जहाँ आफ्नो घरमा चुला छैन त्यस ठाँउमा समुह मिलेर सामूहिक चुलाको स्थापना गरेर किरात राईहरुको धर्म, संस्कार, संस्कृतिको जर्गेना गर्न र किरात राईहरुको पहिचानलाई पुस्ता हस्तान्तरण गर्दै लान आवश्यक्ता भएकोले सामुहिक पितृपुजाको अवधारणा ल्याईएको हो।
३. हङकङमा सामूहिक पितृपूजा (न्वगी) को थालनी:
किरात साम्पाङ राई जुम्लेखा हङकङले सन २०१६ देखि सामूहिक चूलामा भाषिगत पितृपूजा (न्वगी) को थालनी गरेको थियो। यस दिन साम्पाङहरुले भाषिगत पितृहरुलाई मात्र न्वगी चढाउँथे ।सन १४ अक्टुबर २०१८ का दिन किराया हङकङ र भाषिक संस्थाहरुको सामूहिक बैठक बसी यसलाई सम्पुर्ण राईहरुको सामूहिक पितृपूजा मनाउने मान्यता प्रदान गरे। अब उप्रान्त किरात राई यायोक्खा हङकङले सामूहिक पितृपूजाको क्यालेण्डर निकाल्ने र सोही दिन सबै राईहरुले सामुहिक पितृपुजा (न्वगी) मनाउने र यसको निरन्तर आयोजना गर्ने जिम्मा किरात साम्पाङ राई जुम्लेखा हङकङलाई प्रदान गरेको थियो।
तत्पश्चात किरात साम्पाङ राई जुम्लेखा हङकङले सामुहिक पितृपुजालाई निरन्तर आयोजना गर्दै आईरहेको छ। यस दिन किराया हङकङका कुबिमिहरुले सर्वप्रथम भाषिक पितृहरुलाई न्वगी प्रदान गर्दछ। तत्पश्चात सामूहिक पितृहरुलाई न्वगी प्रदान गर्दछ। अन्तमा ब्यक्तिगत पितृहरुलाई न्वगी प्रदान गर्दछ। त्यसै दिन देखि हङकङका किरात राईहरुले नया अन्नबाली चलाउने छ। यस दिन जोकोही किरातीहरु सुप्तुलुङखिममा आई आफ्नो पितृहरुलाई नया अन्नबाली (न्वगी) चढाउने वा ग्रहण गर्ने गर्दछ।
४. पितृकक्ष (सुँवाछेम):
किरात राईहरुको घरमा चुला राखेको हुन्छ । चुलाको ठिक माथि भार हुन्छ। भार भन्दा माथि भित्तापट्टि पितृकक्ष राखेको हुन्छ। पितृकक्षलाई कसैले सुँवाछेम, कसैले मछेम, कसैले मछामा भन्दछ । भाषिक राई अनुसार फरक नामले पुकारिन्छ। पितृकक्षमा एक धनुकाँड, केराको पात, सेउली, सयपत्री फुल, चामल, अदुवा, पैसा र कूबीमी बस्ने एउटा पिर्का राखेको हुन्छ। सूवाँछ्यामलाई बर्षको एकदिन पितृपुजाको दिन सफा गरि सूवाँ हान्ने (पितृपुजा) गर्ने कार्य गरिन्छ। सूवाँछ्याममा स्वभाविक मृत्यु भएर गएका पिता पुर्खाहरुको आत्मा रहेकोहुन्छ भनि बिश्वास गरिन्छ।
५. सामूहिक पितृकक्षको अवधारणा:
पितृपुजक किरात राईहरुको मुन्धुम अनुसार एउटा पितृकक्षमा एक वंशको मात्र पितृहरु राखिन्छ। सामूहिक चूला स्थापना गरेपछि सामूहिक पितृहरु राख्नुपर्ने भएकोले सामुहिक पितृकक्षको अवधारणा ल्याईएको छ। सामूहिक पितृकक्ष निर्माण गर्दा छुट्टा छुट्टै सामूहिक पितृकक्ष, भाषिगत पितृकक्ष र दुईवटा प्रतिस्थापन पितृकक्ष निर्माण गरिएकोछ।
क. सामुहिक पितृकक्ष:
पितृकक्षको बिच भागमा सामूहिक पितृकक्ष निर्माण गरिएको छ। जस्मा भाषा छुट्टिनु भन्दा अगाडीका सामूहिक पितृहरु राखिएका छन। सामूहिक पितृहरुको नाम विभिन्न मिथक तथा मुन्धुमहरुबाट यस प्रकार निकालि राखिएका छन।
१) सुम्निमा/पारुहाङ, २) हँछा, ३) किरातुईवा,) साल्पा, ४) हर्कबुङ, ५) राई, ६) पतिसुङ, ७) लारिहा, ८) लारिहाप्पा, ९) नागेलुङमे, १०) नारिता, ११) यारिता, १२) नागरिता, १३) पातेसुङ–दिलिदुङ, १४) खक्चीलुप्पा, तयमा खियमा।
ख. भाषिगत पितृकक्ष
सामूहिक पितृकक्षको माथि सबै भाषि राईहरुको छुट्टाछुट्टै भाषिगत पितृकक्ष निर्माण गरिएको छ। भाषिगत पितृहरुको नामावली प्राचीन किरात बंशावलीको आधारमा निम्न २८ भाषिगत पितृहरु राखिएका छन।
१) चाम्लिङ राई २) दुमी राई ३) साम्पाङ राई ४) बान्तावा राई ५) पुमा राई ६) थुलुङ राई ७) कोयी/कोयु राई ८) बायुङ/बाहिङ राई ९) बाम्बुले राई १०) तिलुङ राई ११) नाछिरिङ राई १२) खालिङ राई १३) कुलुङ राई १४) लोहरुङ राई १५) बुङलावा राई १६) जेरुङ राई १७) छिन्ताङ राई १८) छिलिङ राई १९) फाङदुवाली राई २०) नेवाहाङ/मेवाहाङ राई २१) पोहिङ राई २२) बेलहारे राई २३) याम्फु राई २४) मुगाली राई २५) आठपहरिया राई २६) दुङमाली राई २७) सोताङ राई २८) लिङखिम राई।
ग. साम्पाङगत पितृकक्षः
साम्पाङगत पितृकक्षमा साम्पाङहरुको सामूहिक पितृहरुलाई राखिएकोछ। जस्मा साम्पाङहरुको वंशावली अनुसार निम्न साम्पाङगत पितृहरु राखिएका छन।
१) सेती साम्पाङ, २) खिलुङमी साम्पाङ, ३) स्नाननाम्दे साम्पाङ, ४) लाम्खोका साम्पाङ, ५) रेप्सुना साम्पाङ, ६) नाम्नु हाङ साम्पाङ, ७) नाम्चि हाङ साम्पाङ, ८) खिक्चा साम्पाङ, ९) खोरेली साम्पाङ, १०) थुम्विमी साम्पाङ, ११) नाम्वुशा साम्पाङ, १२) खाप्तुयु साम्पाङ, १३) नयछा साम्पाङ, १४) चुबुम साम्पाङ, १५) हल्कुमा साम्पाङ, १६) चेडा साम्पाङ, १७) चेतयामा साम्पाङ, १८) छेतापी साम्पाङ, १९) मलुछा साम्पाङ, २०) नामफमा साम्पाङ, २१) थरेपा साम्पाङ, २२) जसहाङ साम्पाङ, २३) बखानेम साम्पाङ ।
घ. प्रतिस्थापन पितृकक्षः
सामूहिक पितृकक्षको दाँया र बाँया पट्टि एकएक वटा प्रतिस्थापन पितृकक्ष निर्माण गरिएको छ। सामूहिक चुलामा कुनै एक वंशावलीको पितृपूजा गर्ने भए कुबिमिहरुले मुन्धुम बाचन गरि प्रतिस्थापन पितृकक्षलाई क्षणिक समयको लागि वंशगत पितृकक्षमा परिवर्तन गरिदिने छ। तत्पश्चात जस्को वंशगत पितृ पुज्न पर्ने हो उस्को पितृहरुको नामावली प्रतिस्थापन गरि पुजा गरिनेछ। जस्तैः साम्पाङ भित्रको तोरिहँ वंशावलीको पितृपूजा गर्नु पर्ने भए प्रतिस्थापन पितृकक्ष लाई प्रयोग गरिनेछ । श्रोतः तोरिहँ वंशावली।
१) तोरीहाङ राई (राई पगरी लिएको), २) छिलुङमी तोरीहाङ राई, ३) सुभाङगी तोरीहाङ राई, ४) तिमचामी तोरीहाङ राई, ५) जसपा तोरीहाङ राई, ६) दुछरिम तोरीहाङ राई, ७) अनेकहाङ तोरीहाङ राई, ८) चतुरघना तोरीहाङ राई, ९) भुगदल तोरीहाङ राई (१० वटा श्रीमती), ११) हस्तमान तोरीहाङ राई, १२) तुलाधन तोरीहाङ राई, १३) रबिध्वोज तोरीहाङ राई (पगरी छाडेको), १४) कमल बहादुर तोरीहाङ राई, जसमाया राई।
अनुसुचि २
१. सामूहिक पितृ पुज्ने विधी :
पितृपुजा गर्ने दिन बुढापाका ब्यक्ति वा कुबिमिले पितृकक्ष सफा गरि नया केराको पात, सेउली, अदुवा र सयपत्री फुल चढाईदिनु पर्दछ । पितृपुजा गरेको दिन खन्ने, जोत्ने कामहरु केहिपनि गरिदैन।
- सवैभन्दा पहिले कुबीको घरमा कुबिमिले आफ्नो पितृपुजा गर्नु पर्दछ।
- सामूहिक पितृ पुज्दा कुबिमिले सबै भन्दा पहिले सामूहिक पितृहरुलाई पुकार्नेछ ।
- तत्पश्चात सबै भाषिक पितृहरुलाई पुकार्ने छ ।
- तत्पश्चात भाषिक अध्यक्षहरुले आफ्नो सामूहिक भाषिगत पितृहरुको नामावली ल्याएमा उनिहरुलाई पुकार्नेछन।
- अन्तमा ककस्ले वंशगत पितृहरुलाई सुँवाचा प्रदान गर्ने हो उनिहरुको पितृहरुलाई प्रतिस्थापन पितृकक्षमा राख्दै सुँवाचा प्रदान गर्दछ।
- वंशगत पितृहरुलाई खानपान गराउँदा पहिला घरभित्रको चुलामा गएको कुलपितृहरुलाई, त्यसपछि पाछाभित्रको दाजुभाईको चुलामा गएको कुलपितृहरुलाई, अन्तिममा चुलामा आउन नसक्ने कुलपितृहरुलाई दिनु पर्दछ।
- चुलामा आउन नसक्ने कुलपितृहरुलाई खानपान दिदा सवै जनालाई एउटै थालमा राखि ढोका बाहिर बगैंचामा राखि दिन पर्दछ।
- अन्त्यमा जुन खोलानालाका कुबिमिले पितृ पुज्दैछन सोही खोलानालाका मृत्यु भएका कुबिमिहरुलाई समेत सुवाँचा दिने चलन छ।
२. कुबिमिहरुलाई सुवाँचाः
पितृहरुलाई सुवाँचा प्रदान गर्दा जुन खोलानालाका कुबिमिले पितृ पुज्दैछन सोही खोलानालाका मृत्यु भएका कुबिमिहरुलाई समेत सुवाँचा दिने चलन छ। जस्तैः साम्पाङ खोलानालाका कुबिमिहरु (१) राजकुमार तोमिहँ (२) धानबिरे तोरिहँ (३) मेखमणि तोरिहँ (४) हर्कगंज तोरिहँ (५) नहकुल तोरिहँ (६) धनप्रसाद तोरिहँ (७) जसबहादुर तोरिहँ (८) रहरमनी तोरिहँ (९) हजारमान तोमिहँ (१०) पुर्णे तोमिहँ (११) मन्जना सामरुङ्जे (१२) भिमलसिं दामरेवा (१३) लिलाबहादुर दामरेवा (१४) पंचबहादुर दामरेवा (१५) रामकृष्ण दामरेवा (१६) हस्तामान छभाया (१७) चन्द्रमान छभाया (१८) खरुधोज रदुखु (१९) पदमबहादुर रदुखु (२०) रत्नधन तोरिहँ आदि। (श्रोत : किरात साम्पाङ राई मुन्धुम)
३. आवश्यक सामाग्रीहरु :
पितृ पुज्दा थान थपनाको लागि निम्न सामाग्रीहरु तयार पार्नु पर्दछ।
- सेउली, केराको पात, बोट सहितको नया अदुवा, दुवो, सयपत्रि फुल, दुना, टपरा, ।
- धनुकाँड, भाला, खुकुरी, हसियाँ, खुर्पा आदि।
- थुम्से, डालो, नाङलो, माना, पाथि, ढुङग्रो।
- कासको थाल, धुप, दियो बत्ति, कलश।
- नया अन्नहरु धान, मकै, कोदो, घैया, कागुनी।
- नया कोदोको जाँड (नया कोदो र मर्चाको मिसावट)।
- चिण्डो, पावा कठुवा
- नया चामलको भात (सूवाँचा)
- बिभिन्न मासुहरुको मिसावट (छँरिसा)
- जिउदो भाले र पोथी
४. मासुको मिसावट (छँरिसा) :
पहिला पितापुर्खाहरुले खाँदै ल्याएका बिभिन्न मासुहरुको मिसावट उसिनेर पकाउनु पर्दछ। सबै मासुहरुको मिसावट ल्याउन नसकेपनि जति सकिन्छ तेति ल्याई मिसाई पकाउनु पर्दछ।
१) कुखुराको मासु, २) कालीजको मासु, ३) फिस्टाको मासु, ४) डाफेको मासु, ५) मुनालको मासु, ६) बदेलको मासु, ७) चौंरीको मासु, ८) अरनाको मासु, ९) गाईको मासु, १०) गोरुको मासु, ११) मृगको मासु, १२) घोरलको मासु, १३) थारको मासु, १४) पाहाको मासु, १५) सर्पको मासु, १६) माछाको मासु, १७) बच्छिउको मासु, १८) अरिङगलको मासु
५. थान सजाउने तरिका :
- अलिकति नया चामलको भात पकाउने।
- सवै खाले मासुको मिसावटहरु उसिनेर पकाउने।
- पित्रीकक्षको तल हात हतियार ठड्याएर राख्ने।
- बोट सहितको अदुवा पनि ठड्याएर राख्ने
- एउटा नाङलोमा केराको पात ओछ्याएर चामल र नया अदुवा राख्ने।
- दाया बाया टपरामा नया चामलको भात र मासुको मिसावट राख्ने।
- अगेना खन्याउन एक कठुवामा जाँड र एकपावा कठुवामा रक्सि राख्ने।
६. सुङरिमि साप्सामी :
सबैलाई सुवाँचा दिई सके पश्चात त्याहाँ राखिएको चामल, भात र छँरिसाहरु उठाएर सुङरिमि साप्सामी पुर्काने कार्य गर्दछ।
- घरको घरमुली र घरमुलीनीले भाले र पोथि पक्रि कुबिमिको दाँया र बाँया तिर बस्नुपर्ने छ । घर मुली तथा घर मुलीनी नभए कसै बुढापाका ब्यक्तिले समाए हुन्छ।
- त्यसपछि कुबिमिले भाले पोथीकोको शिरमा अक्षता र अदुवा चढाई रक्सिले खन्याएर पर्छाउन लाउनु पर्दछ।
- भाले र पोथीले १ चोटि पर्छेपछि भाले र पोथी बोक्नेले साटासाट गर्नु पर्दछ र पुन पर्छाउनु लाउनु पर्दछ।
- भाले र पोथीले ३ चोटि पर्छिए पछि चुलामा चढाउनु पर्दछ । चुलामा चढाउदा सुवाँतिर फर्केर मरेमा राम्रो हुने मानिन्छ।
- तेस पछि कुखुराको मासु पोली मन्साउनु पर्दछ।
अनुसुचि ३
१. खानपान मेनु :
न्वगीको लागि निम्न खानपान तयार गर्ने।
स्टार्टर :
- सलाद
- कुखुरा/सुङगुरको भुटुवा
- चना/आलुदम भुटेको (भेज)
ड्रिङ्क्स :
- नया कोदोको जाँड
- बियर/ह्विस्की/वाईनहरु
- सफ्ट ड्रिङ्क्सहरु
मेन कोर्ष :
- कुखुराको/सुङगुरको तरकारी
- नया चामलको भात/नया कोदोको ढिँडो
- दाल/सब्जिको तरकारी
- अचारहरु
डिर्जट :
- फलफुलहरु
- चक्लेटहरु
Accessiries:
- Plate
- Cup
- Fork
- Spoon
- Tissue
- Net
- Tongue
- Glove
- Charcole
- Starter
- Garbage Bag
- Ice cube
२. हार्दिक आमंत्रण :
सदा बर्षझैं यस बर्ष पनि निम्न मिति समय र स्थानमा पितृपुजा आयोजना गर्न लागि रहेको जानकारी गराउदै कार्यक्रममा आई नया अन्नबाली (न्वगी) ग्रहण गरि दिनहुन हार्दिक अनुरोध गर्दछौं । यदि हजुरले पनि आफ्नो पितृहरुलाई सुवाँचा दिने ईच्छा भए पितृहरुको नामावली (वंशावली) सहित आई दिनहुन हार्दिक अनुरोध गर्दछौं।
३. भेटीः
वंशावली सहित पितृ पुज्न आउनेहरुलाई हङकङ डलर २०० भेटी उठाउने।
४. RSVP:
खानपान तर्जुमाको लागि उपस्थित भैदिन हुने वा नहुने जानकारी 9207 8399 वाटस्एप वा भाईबरमा खबर गरिदिनहुन हार्दिक अनुरोध गर्दछौं।
अनुसुचि ४
१. कार्यक्रम मिति, समय र स्थान :
मिति : . . . . . . . . . . . . . . .
समय : दिउँसो १ बजेबाट
स्थान : सुप्तुलुङ खिम
यातायात : सशुल्क बस ब्यावस्था
बस स्थान : बगैंचा अगाडि (१२ बजे)
बस सम्पर्क : ९२५४०६७९, ६१५९८६६७
२. आयोजकः
किरात साम्पाङ राई जुम्लेखा हङकङ ।
सम्पर्कः
९३६३४७५० (अध्यक्ष)
९२०७८३९९ (सचिव)
९१७७२३८३ (कोषाध्यक्ष)
३. कार्यक्रम तालिका :
१२:०० बजे – भेला (बगैंचा अगाडी)
१:०० बजे – चुला तथा पितृकक्ष सरसफाई
२:०० बजे – औपचारिक कार्यक्रम
३:०० बजे – पितृपूजा
६:०० बजे – पुजा समापन/सरसफाई
७:०० बजे –फिर्ता
४. औपचारिक कार्यक्रम :
- आशन ग्रहण – अध्यक्ष
- पितृपुजाबारे जानकारी –
- कुबिमिहरुलाई फेटा गुथाउने
- मन्तब्य र भनाईहरु
- औपचारिक कार्यक्रम समापन
- पितृपुजा कार्यक्रम
अनुसुचि ५
कार्य बाँडफाँड :
- कार्यक्रम समन्वय : (अध्यक्ष)
- थानथपना, सुवाँचा, छँरिसा, नया जाँड तयार गर्ने : (कुबिमि, नारायण साम्पाङ /कुबिमि, मैत्र बान्तावा /संस्कार संयोजक, नन्द साम्पाङ)
- पोस्टर, ब्यानर, प्रचार प्रसार : (सल्लाहकार, शशि मदन साम्पाङ)
- निमन्त्रणा, पत्रचार, जनसम्पर्क : (सचिव, मनि राज साम्पाङ)
- आर्थिक ब्यावस्थापन : (कोषाध्यक्ष, चन्द्र कुमार साम्पाङ)
- खानपान तयार : (सल्लाहकार धिराज साम्पाङ / कोषाध्यक्ष, चन्द्र कुमार साम्पाङ)
- खानपान बितरण : (भुपु उपाध्यक्ष, रमेश साम्पाङ सदस्य, कर्ण बिर साम्पाङ तथा महिला विभाग)
- अतिथि हेरबिचार : (भुपु अध्यक्ष, हरिचन्द्र साम्पाङ /सदस्य, श्याम साम्पाङ)
- लाईट, साउण्ड, कलाकार ब्यावस्थापन : (सहकोषाध्यक्ष, रबिचन्द्र साम्पाङ /केशव साम्पाङ)
- सरसफाई, ढुवानी ब्यावस्थापन : (सहसचिव, दिपक साम्पाङ /देउकुमार साम्पाङ)
- यातायात ब्यावस्थापन : (उपाध्यक्ष, गंगाराम साम्पाङ)
- फोटो ग्राफर : मनिचन्द्र साम्पाङ
शिर उठाउनी
कार्यक्रमको अन्तमा कूबीमी र कजेरीहरुको शिर उठाउनी गर्नु पर्दछ ।
(समाप्त)