तयमा खियमा दिवस

 – शशि मदन राई
२१ अगष्ट २०१६

Tayama2

रैछाकुलेको कथा :

उहिलेनै किरातहरुको पुर्वज पातेसुङका २ श्रीमती थिए। जेठी दिलिदुम र कान्छी डाकीहमा थिए। जेठी दिलिदुमबाट २ वटा छोरी (जेठी तयमा र कान्छी खियमा) र १ वटा छोरा रैछाकुले जन्मेका थिए। कान्छी श्रीमती चाँहि निसन्तान भई। रैछाकुले चाम्लिङ भाषामा भनिएको हो। साम्पाङ भाषामा खोक्चिलिप्पा भन्दछ भने बान्तावा भाषामा हेत्छाकुप्पा भन्दछ। तेस्तै अन्य किरात राई भाषाहरुमा खोक्चिलिप, खक्चुलुक्पा, खक्चिलिप्पा, खक्चिलुपा, काक्चिरिक्पा, खाक्चिलिपा, हेछाकुप्पा, हेत्छाकुवा, कक्तिसाला आदि नामले चिनिन्छ।

बाबा आमाको मृत्युः

पातेसुङ र दिलिदुम (बाबा आमा) को तयमा, खियमा र रैछाकुले सानो उमेर हुदै निधन हुन पुग्दछ। कान्छी आमाले पनि छाडेर जाँदछ। यस्तो अवस्थामा तयमा खियमाले भाई रैछाकुलेलाई धेरै गाह्रो गरि हुर्काउदछन। जङ्गलबाट बनतरुल र गिठ्ठा भ्याकुर ल्याएर खुवाँउदछन। ऐसेलुको रस ल्याएर खुवाँउदछन। जङ्गलबाट बनकेराहरु ल्याएर खुवाँउदछन। भाईलाई पालन पोषण गरि रहेको हुन्छ।

एक दिन तयमा खियमाले जंगलबाट धेरै दुखले खोजि गरि ल्याएको खाना पकाई रहेको हुन्छ। भाई रैछाकुले पनि हर्षित भै चुलाको वरिपरि घुमीरहेको हुन्छ। अचानक घुम्ने क्रममा बलिरहेको दाउरा टेकि खाना घोप्टीन पुग्दछ। बल्ल तल्ल दुखले खोजि गरिल्याएको खाना घोप्टियो भनि तयमा खियमा दुख मान्दछ। तयमा खियमाले भाईलाई पनि गालि गर्दछ । भाई रुँदै भोकै सुत्दछ।

भाईको मृत्युः

भोलिपल्ट तयमा खियमाले भाईलाई बोलाउदा, भाई बोल्दैन। भोकले गर्दा भाई अचेत अवस्थामा निदाएको हुन्छ । तर दिदि बहिनीले भने भाई त मरेछ भनि रुँदै भाईलाई खाल्डा खनि बनमाराको झारले छोपी गाढि दिन्छन। त्यहाँ एउटा कर्द र एक कोसा बनकेरा पनि राखि दिन्छन। अब भाई त मरिहाल्यो हामी यहाँ किन बस्ने भनि दिदि बहिनि पनि अन्त्यै जाने निर्णय गर्दछ।

दिदि बहिनि छुट्टिएकोः

उनिहरु नेवालाककला डाँडा पुग्दछन (हाल तायाचुम जयाजुममा पर्दछ) र कता जाने भनि सल्लाह गर्दछन। दिदिले लेक तिर जाने, बहिनीले औल तिर जाने कुरा गर्दछ। दुईजनाको कुरा नमिले पछि बेग्ला बेग्लै जाने बिचार गर्दछन। तर उनिहरुले पछि एक अर्काको सम्झना आएमा, दुख बिमार परेको थाहा पाउन दिदिले एउटा लिम्चिबुङको बिरुवा रोप्ने र बहिनीले एउटा गोआबुङको बिरुवा रोपी यो बिरुवा ओइलाएको भेटिएमा हामी बिसन्चो भएको सम्झिनुपर्ने भनि छुट्टिन्छन। दिदि लेक तिर निक्लन्छ भने बहिनी औल तिर झर्दछ।

Limchinbung

(लिमचिमबुङ बिरुवाको पत्ता यसको फुल हुँदैन । यसलाई किरात राईहरुले फुलको रुपमा गोजिमा सिउराउँदछ)

भाई ब्युझिएकोः

यता भाई भने मरेको हुँदैन। भरै बिउझी निस्कदा दिदिहरुलाई पाँउदैन। दिदिहरु नपाए पछि रुदै बस्दछ। दिदिहरुले त्याँहा छाडि राखेको एक कोसा बनकेरा कर्दले काटि खान्छ र तेस्को गेडा भने त्यँहि फ्याँकि दिन्छ। उसलाई बेजोडले भोक लाग्दछ र बाध्य भएर आफै खाना खोजि खान थाल्दछ। खाना खोज्ने क्रममा त्याँहा दिदिहरुले छाडि राखेको कर्दले काठको तीरहरु बनाई शिकर खेल्न थाल्दछ। उस्ले चराचुरुङगीहरु मार्दछ र घरमा ल्याई आगोमा पोलेर खाँदछ । चराचुरुङगीहरुको गाँड भने बारीमा फ्याँकि दिन्छ।

चाक्लुङधिमाको अन्त्य

एकदिन रैछाकुले केराको बोटमा बसि केरा खाई रहेको हुन्छ त्यातिवेला त्याहाँ चाक्लुधिमा नाम गरेको राक्षसनी आँउछ। उस्ले भन्छ, “ए रैछाकुले, मलाई पनि केरा देऊ न।” उसले केरा टिपेर चाक्लुङधिमालाइ दिन्छ। यही मौका पारेर चाक्लुङधिमाले रैछाकुलेलाई हात समाती तानी झार्छ र थुन्सेमा राखेर घरतिर लान्छ। बाटोमा थुन्से बिसाएर चाक्लुङधिमा दिशा गर्न जान्छ। यही मौकामा रैछाकुले थुन्सेमा ढुङ्गा राखि भाग्छ। घर पुगेर थुन्से हेर्दा ढुङ्गा मात्र देखेर चाक्लुङधिमा फेरि केराको बोट भएको ठाउँमा आँउछ। त्यहाँ रैछाकुले खुट्टा हल्लाई केरा खाइरहेको हुन्छ।

राक्षसनीले फेरि भन्छ, “ए बाबु मलाई पनि केरा देऊ न ।” चाक्लुङधिमाको कुरा सुनेपछि हेछाकुप्पाले भन्छ “तँ राक्षसनीलाई दिन्नँ।” “त्यसो नभन न । म भोकले मर्न आँटे।” चाक्लुङधिमाले आँसु खसाउँछ। केटाकेटीको मन न हो, पग्ल्यो होला र एक कोसा केरा भुँइमा फ्याकि दिन्छ। चाक्लुङधिमाले भुँइमा झरेको केरा खान मान्दैन। उस्ले भन्छ “हेर बाबु, भुँइमा झरेको खाने कुरा म कहिल्यै खान्नँ । हातैले देऊ न।” रैछाकुले भन्छ, “निकै बाठी हुन खोज्छेस् । फेरि समातेर लैजाउला भन्दी होस् ।” रैछाकुलेको कुरा सुनेपछि चाकलुङधिमाले भन्छ—“तिमीलाई त्यस्तो लाग्छ भने खुट्टाले नै देऊ न।” रैछाकुलेले खुट्टामा केरा राखेर दिदा चाकलुङधिमाले समातेर फेरि उसलाई घर पुराँउछ। घरमा छोरीलाई बोलाएर भन्छ “ए श्रीथुङमा, मीठो शिकार ल्याएको छु । पकुवा बनाउनु। म तेरा मामाहरूलाई बोलाएर ल्याउछु।” भन्दै चाकलुङधिमा माइतीघरतिर लाग्छ।

श्रीथुङमाले खडकुलोमा पानी उमाल्न थाल्छ। खुकुरी ल्याएर रैछाकुलेलाई थुन्सेबाट निकाली मार्न लाग्दा रैछाकुलेको घुङरिएको केश देखेर सोद्छ “ए केटा, कसरी तेरो यति राम्रो केश भयो हँ ।” रैछाकुले आफु उम्कने यही मौका हो भन्ने सोचेर भन्छ“ उम्लिएको तेल टाउकोमा खन्याउनु पर्छ। यस्तो भइहाल्छ नि।” त्यसपछि दुवैले मिलेर तेल उमाल्न थाल्छ। श्रीथुङमा पिरामा बस्छ। भकभक उम्लिएको तेल रैछाकुले श्रीथुङमाको तालुमा खनाइ दिन्छ। श्रीथुङमा तत्कालै मर्छ।

रैछाकुलेले श्रीथुङमाको कपडा ओड्छ। श्रीथुङमाको लाश टुक्रा टुक्रा पारेर मासु पकाउँछ। चाकलुङधिमा पनि माइतीहरूलाई लिएर आईपुग्छ। उसले श्रीथुङमालाई बोलाउँछ। तलामाथिबाट रैछाकुलेले श्रीथुङमाकोजस्तो स्वर बनाएर बोल्छ। चाकलुङधिमा ढोकाछेउको डुँडको रगत पिएर मात्छ। माइतीहरूलाई पनि मासु खान दिन्छ। माइतीहरूपनि मासुले मात्न थाल्छ। केही बेरपछि माइतीहरू आफ्ना घर जान्छन। चाकलुङधिमा भने मातेर सुत्छ। यही मौकामा बदला लिन पर्यो भन्ने सोचेर रैछाकुले केश कोर्ने थाँक्रो, कोदोको पिठो र अण्डा गोजीमा राखेर चाकलुङधिमाको आँखामा खोटो लगाई घरको धुरीमा चढ्छ र कराईकराई भन्न थाल्छ “छोरीको मासु खाने, छोरीको मासु खाने” यो सुनेर चाकलुङधिमालाई छोरीको मासु खाएको शङ्का लाग्छ र आँखा खोल्न खोज्छ। आँखा खोलिन्दैन। उसले छुरीले आँखा तात्छ, आँखा खोलिन्छ तर दुवै आँखाबाट रगत बग्न थाल्छ। चाकलुङधिमालाई रिस उठ्छ र रैछाकुलेलाई खान धुरी चड्छ। रैछाकुले उसलाई जिस्काउदै हाम फाल्छ र भाग्छ ।

चाकलुङधिमाले लखेट्न थाल्छ। रैछाकुलेलाई चाकलुङधिमाले भेट्न भेट्न आटेको बेला केश कोर्ने थाँक्रो उसले फ्याकि दिन्छ । थाँक्रोमा अड्केर लड्छ। यही मौकामा रैछाकुले धेरै पर पुग्छ।रैछाकुले भागेको भागै गर्न थाल्छ। चाकलुङधिमा खेदेको खेदै गर्न थाल्छ। धेरै दिनपछि फेरि चाकलुङधिमाले भेट्न भेट्न आँटछ। रैछाकुलेले कोदोको पीठो फ्याकि दिन्छ। कोदोको पीठो आँखामा परेर हेर्नै नहुने हुन्छ। रैछाकुले भागेर टाढा पुग्छ। फेरि चाकलुङधिमा रैछाकुले भए ठाउँमा आई पुन आँट्छ। रैछाकुले भाग्न थाल्छ। रैछाकुले भागेको भागै गर्न थाल्छ। चाकलुङधिमा खेदेको खेदै गर्न थाल्छ। फेरि पनि भेट्न भेट्न आँट्छ । यही समयमा हेछाकुप्पाले अण्डा गोजीबाट निकालेर चाकलुङधिमापट्टि फर्काएर फ्याँकि दिन्छ। अण्डामा चिप्लिएर रिसको झोकमा चाकलुङधिमाले ग्वाम्ल्याङ्ग सुनकोशीमा खस्न पुग्छ। सुनकोशीले उसलाई बगाएर लान्छ र त्यहि मर्छ। रैछाकुलेले बल्ल सन्चोको स्वास फेर्छ। चाकलुङधिमा मरेपछि रैछाकुले बाटो खोज्दै खोज्दै आफ्नो घर आउछ।

कृषी युगको बिस्तार :

घरमा कोहिपनि हुदैन। यसरी घरमा एक्लै बस्दै जाँदा एक बर्ष पछि पहिला उस्ले खाएर फ्याँकेका बनकेराको गेडाबाट बिरुवा पलाई पुन केरा फल्न शुरु गर्दछ। त्यस्तै उस्ले चराचुरुङगीहरु खाई फालेको गाँडबाट पनि विरुवाहरु पलाई फल्न थाल्दछ। यसरी फल फल्न थालेपछि रैछाकुलेले सोच्दछ कि मैले केरा खाएर यस्को गेडा फ्याँकेको थिए यहाँबाट पुन केरा फल्यो। मैले चराचुरुङगीहरु खाएर तेस्को गाँड फ्याँकेको थिए, त्याहाँबाट पनि बिरुवा पलाई फल फल्न थाल्यो। मैले खाएको फलको गेडाबाट पलाएको फल मैले खाँदा केहि हुन्न। त्यस्तै मैले खाएको चराचुरुङगीहरु र चराचुरुङगीहरुले खाएको फलबाट पलाएको बिरुवाहरुको फलहरु पनि मैले खाँदा केहि हुन्न भनि बिचार गरि खान थाल्दछ। यसरि खाएका फलहरुबाट उ अझ हस्टपुष्ट भई आँउदछ। यो कुरा थाहा पाएपछि उस्ले खेतिपाति शूरु गर्न थाल्दछ। उनै रैछाकुलेले कृषी युगको बिस्तार गरेको किम्वदन्तीहरुमा पाईन्छ।

पशुपालनको विस्तार:

अलि ठुलो भएपछि पशुजनवारहरुको शिकार गर्न धनुबाणको अविष्कार गरे। धनुबाण बनाई पशुजनवारहरुको शिकार खेल्न थाले। जिउँदै पक्रेका पशुजनवारहरुलाई घरमा पाल्न थाले। त्यसबाट जन्मेका पशुजनवारहरुलाई घरको काममा लगाउने, खेतिपातीको काममा सहयोग गर्न लगाउने, मासुको आवश्यक परेमा काटि खाने आदि गर्न थाले। ठुलो भएपछि खोलामा गई माछा मार्न थाले। माछा मार्न सजिलोको लागि माछा मार्ने जालको अविष्कार गरे। पशुपालनको शुरुवात यहिबाट भएको भनिन्छ।

कपडाको बिस्तार:

यता धेरै बर्षपछि तयमालाई बहिनी खियमा र भाई रैछाकुलेको सम्झना आँउदछ। भाई त मरिहाल्यो बहिनी के गर्दै होला भनि सोच्दछ। बहिनी दुख बिमार मा छ कि संचै होला भनि सोच्दछ। उ बिरुवा रोपि छुट्टिएको सम्झना गर्दछ। उस्लाई त्यो बिरुवा हेर्न जान मन पर्दछ। उ नेवालाककला डाँडामा आउछन्। नभन्दै बहिनीले रोपेका गोआबुङ बिरुवा ओइलाएर सुक्दै गरेको पाउदछ। यसपछि बाहिनी बिमारी भएछ भनि बहिनी खोज्दै औलतिर झर्दछ। खोज्दै जाँदा औलको एउटा घरमा बहिनीलाई भेट्दछ। बहिनी चर्को बिरामीले थला परेको हुन्छ। दिदिले बहिनीलाई नेवालाककला डाँडामा ल्याउँछिन। दिदिले बहिनिलाई स्याहार सुसार गर्दै संचो पार्छिन। त्यसपछि दिदि बहिनी धेरै कुराकानी गर्छन। दिदि बहिनीले विगतलाई सम्झेर धेरै धेरै रुन्छन। भाईलाई सम्झेर रुन्छन। भनिन्छ, भदौ/असोज महिनातिर दिदि बहिनि भेटेको बेलामा झरी परि रावाखोला र ताप खोलामा अझै पनि अन्तिम भेल बग्दछ।

त्यस पछि उनिहरु त्यहि नेवालाककला डाँडामा कपासको खेती गर्दै तान बुनि कपडा बनाई जिविकोपार्जन गर्दै बस्छिन ।  उही तयमा खियमाले कपडाको बिस्तार गरेको मिथकमा सुन्न पाईन्छ।

नागेलुङ र रैछाकुलेको प्रेम

यता रैछाकुले पनि ठुलो हुन्छ । एक दिन माछा मार्ने क्रममा जाल हान्दै जाँदा अचानक आफ्नो जालमा एउटा ढुङगा पर्दछ। त्यो ढुङगालाई त्याँहि पानीमा फ्याँकि दिन्छ। फेरि जाल हान्छ, फेरि त्यहि ढुँङगा पर्दछ। फेरि फ्याँक्छ फेरि पर्छ। अन्तिममा दिक्क भएर यो ढुँङगा त घरमा अचार पिस्नु काम लाग्छ भनि घर ल्याएर आँउछ। खासमा त्यो ढुँङगा एक नागराजको सुन्दर छोरि नागेलुङको जिउ धुने ढुङगा हुन्छ। नागेलुङ त्याँहा नुहाउदै गरेको बेला रैछाकुले माछा मार्दै आएको देखेर पर ढुङगाको पछाडी लुकेर बसेको हुन्छ। आफ्नो जिउधुने ढुङगा लग्यो भनेर नागेलुङले पनि रैछाकुलेलाई पछाडिबाट लुक्दै पच्छाउदै जान्छ र रैछाकुलेको घर पुग्छ। रैछाकुलेले त्यो ढुङगा चुलामाथिको सरङ (भार) मा राखि खानपिन गरि सुत्दछ। नागेलुङले झ्यालबाट लुकेर चियाई रहेको हुन्छ। सुतेपछि लान्छु भनि सम्झिन्छ तर भित्रबाट चुकुल लगाएको हुनाले लान सक्तिन। भोलि बाहिर गएको बेला लान्छु भनि उ पनि घर फर्कन्छ।

सुत्ने बेलामा नागेलुङले रैछाकुलेलाई सम्झिन्छ। रैछाकुलेको आकर्षक शरिर, हस्टपुस्ट जिउडाल, आकर्षक अनुहार सम्झेर मोहित हुन्छे। भित्रभित्रै मन पराउन थाल्छे। भोलि पल्ट रैछाकुलेको घरमा जान्छ तर रैछाकुले घरमै बसि रहेको हुन्छ। उस्ले फेरि लुकेर हेर्छ। भरै साँझ साँझ पर्ने बेलामा रैछाकुले घरबाट जाल बोकि निस्कन्छ। त्यहि मौका पारेर नागेलुङ घरभित्र पस्दछ र आफ्नो ढुङगा खोज्न थाल्दछ। ढुङगा सरङमा राखेको पाउदछ र लानको लागि निकाल्दछ। फेरि एक मनले सोच्दछ, उस्ले मनपराएर ल्याएको ढुङगा किन लानु। ढुङगा त अरु पाईहाल्छुनी बरु एक्लई रहेछ खानापो पकाईवरि जानु पर्यो भनि खाना पकाई दिन्छ र घर जान्छ। वास्तवमा नागेलुङले रैछाकुलेलाई अत्यन्तै मन पराई सकेको हुन्छ। भरै रैछाकुले घर आउँदा खाना पाकि रहेको हुन्छ। उ छक्क पर्छ कस्ले पकायो भनेर। भोक लागि रहेको बेलामा खाना पस्केर खान्छ। खाना साह्रै मिठो हुन्छ। अचम्म मान्दै सुत्दछ।

भोलि पल्ट पनि अचम्म सोच्दै फेरि साँझ पख तिर माछा मार्न जान्छ। यस बेला पनि नागेलुङ घरभित्र छिरि खाना पकाईवरि जान्छ। भरै रैछाकुले घर आँउदा फेरि मिठो खाना पाकिरहेको हुन्छ। अचम्म मान्दै फेरि खाएर सुत्छ। यो क्रम दिनदिनै हुन थाल्दछ र रैछाकुले अचम्म मान्दै कस्ले खाना पकाउद रहेछ लुकेर बसेर पत्ता लाउनु पर्यो भनि बिचार गर्छ। र एक दिन सदाझैं माछा मार्न गएको जस्तै गरेर लुकेर बस्तछ। अचानक उस्ले देख्छ एक सुन्दर कन्या उस्को घरभित्र छिरि खाना पकाएर गएको देख्छ। भोलि पल्टचैं खाना पकाई रहेको अवस्थामा पक्डिन पर्यो भनि बिचार गरि बस्छ। भोलि पल्ट सदाझैं माछा मार्न गएको झैं गरि लुकेर बसि नागेलुङले खाना पकाउदै गर्दा अचानक भित्र पसि नागेलुङलाई समात्छ। नागेलुङ अतिनै डराउछ तर रैछाकुले कोहो? कहाँ बस्ने हो? कस्को छोरी हो? सविस्तार कुराहरु सोद्दछ। नागेलुङले सबै कुराहरु बताउदछ। अन्त्यमा रैछाकुले र नागेलुङको प्रेम बस्दछ र उनिहरुले विवाह गर्ने प्रस्ताव गर्दछन।

मगनी विवाह

विवाह गर्दा मलाई बाबाआमाकोमा माग्न एकदिन आउनु पर्दछ भनि कुरा मिलाएर उनिहरु छुट्टिन्छन। सोही अनुसार एक दिन रैछाकुले नागेलुङको घर गई उस्को बाबुआमालाई नागेलुङ माग्न आएको बताउदछ। तर नागेलुङको बाबु नागराजले मेरो छोरी लानेले मेरो छोरीलाई सुनको गहना दिनु पर्दछ अनि मात्र लान पाईन्छ भन्ने शर्त राख्दछ। रैछाकुलेसंग सुनको गहना हुँदैन अब के गर्ने भन्दै बिचार गर्दा नागेलुङले नै बिचार पुराई आफ्नै गहना लुकाई रैछाकुलेलाई दिई यो गहना दिनु भनि भन्दछ। रैछाकुले पनि त्यसै गर्दछ र बाबु नागराज खुशि भई अझै सुनचाँदि, धन, सम्पत्तिहरु दिई विवाह गरि घर पठाँउदछ।

टिका, टालो, अर्शिबाद, ढोगभेट

यता रैछाकुले पट्टि विवाह गर्दा नरनाताहरु चाहिन्छ भनेर रैछाकुलेले दिदिहरु खोज्न पठाउँछ।खोज्नेहरुले दिदिबहिनीलाई त भेट्दछन तर दिदिबहिनीलाई भाई जिउँदै छन भन्दा पहिलात पत्याउदैनन् । पछि वृतान्त कुरा सुनेपछि उनिहरुले पत्ताई भाईलाई लत्ताकपडा लिई भेट्न जाँदछन। भाई बुहारी देखि उनिहरु खुसि हुन्छन । टिका टालो गरि आर्शिबाद दिन्छन। ढोग भेट गर्छन। भाईले पनि दिदिहरुलाई उपहार, सकुन दिन्छन। बिबाह सकेर दिदिबहिनिहरु आफ्ने ठाँउ तिर फर्कन्छन । यता रैछाकुले र नागेलुङले दुईभाई जम्लयाहा छोरा जन्माउछन। उनिहरुलेकै सन्तानहरु हौं भनि हामि भन्दछौं। – जय रैछाकुले।

परिकल्पना :

यही हाम्रो पुर्वजको मिथकलाई भावी पुस्तामा सुनाउन, पुर्खाहरुले अविस्कार गरेका बस्तुहरुबारेमा सुनाउन, बिबाह गर्दा छोरीचेलीहरुसंग भेट गर्नुपर्ने संस्कार आदिलाई भावी पुस्तामा जानकारी गराउन तयमा खियमा दिवस मनाउन उपयुक्त देखिएकोले, यो दिवसको परिकल्पना गरिएको छ । यो दिवस उधौली लागे पछि भाद्र महिनाको हरितालिका तिजको दिन वा अघि वा पछि कुनै एक दिन मनाईने छ ।

१४ अक्टुबर २०१८ का दिन किराया हङकङ र भाषिक संस्थाहरुसंगको सामूहिक बैठकमा शशि मदन राईले तयमा खियमा दिवस, यसको परिकल्पना तथा उदेश्य बारे प्रकाश पार्नु भएको थियो। र अब देखि उप्रान्त किरात राई चाम्लिङ खाम्बातिम लाई आयोजक बनाउदै संयुक्त रुपमा मनाउने प्रस्ताव राख्नु भएको थियो।

यसलाई किराया हङकङ लगायत सबै भाषिक संस्थाहरुले अनुमोदन गरि अब उप्रान्त निरन्तर चाम्लिम खाम्बातिमको आयोजनामा संयुक्तरुपमा मनाउदै जाने निर्णय गरेको थियो।

उदेश्य :

  1. किरात राई दिदिबहिनी र दाजुभाईहरु भेटघाट हुन ।
  2. किरात बालबालिकाहरुलाई किरात संस्कृती, भेषभुषा तर्फ आकर्शन गराउन ।
  3. पुर्खाहरुको बिरगाथाहरु नव सन्ततीहरुलाई सुनाउदै जान ।

दिवस मनाउने तरिका

  1. सवै दिदिबहिनी, दाजुभाईहरु किरात भेषभुषामा भेटहुने ।
  2. तयमा खियमा र रैछाकुलेको प्राथना गर्ने ।
  3. आफ्नो दाजुभाईहरुको शुखसमृद्धीको प्राथना गर्ने ।
  4. दिदिबहिनीले एकअर्कामा शुभकामना आदान प्रदान गर्ने ।
  5. अन्तरभाषिक भेषभुषा प्रतियोगित गर्ने ।
  6. खानपान तथा किरातजन्य गित संगित प्रस्तुत गरि रमाईलो गर्ने ।

(समाप्त)