सत्यहाङमा सम्प्रादय

शशि मदन राई (कुलपति–किरात राई प्रज्ञा प्रतिष्ठान, हङकङ)
२६ अप्रिल २०१८–२०२१ ।

लिम्बुवानमा जोसमनी सम्प्रादयको थालनी १८३० को दसकमा भएको हो। तर यसको प्रभाव न्युनमात्र रह्यो । यहा फल्गुनन्दको उदय पछिमात्र यसको ब्यापक प्रचार भयो। फलामसिंह लिम्बु गोर्खा फौजमा हुँदा बर्मामा रहेको बेला जोसमनी साधु ज्ञानदिल दासका चेला मधुनन्दसँग सतसँग गरि जोसमनी मतमा दिक्षित भएर गुरुपन्जा पाइ फलामसिङ्हबाट साधु फाल्गुनन्द भएर बि स १९७५ मा नेपाल फर्की आए।  उनले किरात युमासाम धर्मको परम्परागत रितिथिती सङ्स्कारलाई रुढीबादी  र कुलतको सङ्ग्या दिएर यस्तो सङ्स्कारलाई छोडेर नयाँ थिती बसाउनुपर्छ भन्दै गाऊ गाऊ थुम थुम घुमेर जोसमनी परम्पराको जोडतोडका साथ प्रचार गरे। तर उनले भनेको कुराले परम्परागत चलन थितिरिती तोडिने भएकोले समाजले यसलाई स्विकार गरेन। याक्थुङ भाषामा प्रचार गरेकाले मात्री भाषीहरुमा यसको केही प्रभाव अवस्य पर्‍यो।

२. सत्यधर्म मुचुल्का

मौखिक प्रचारले मात्र समाजमा जोसमनि परम्पराको प्रभाव राम्ररी पर्न सकेन। त्यसकारण फाल्गुनन्दले बि स १९८८ सालमा पान्थरको सिलौटी डाडाको लोब्रे कुटिमा दश याक्थुङ्बा सत्र थुमका शुभा अमालि मझियाहरुलाई बोलाएर धर्म कचहरी बसाए। यस धर्म कचहरीमा प्रस्ताव गरि पारित गराएका उनका उपदेशका दशवटा बुदाहरुलाई सत्यधर्म मुचुल्का भनि निकाले।

३. सत्यधर्म मुचुल्काको मूख्य धारणाहरु

  1. पाठशाला र माङ्हिम बनाएर गुरुबाट शिक्षा लिने, गुरुलाई चन्दा उठाएर तलब दिने चलन गर्ने,
  2. उठाएको रकमलाई चुम्लुङ बसेर सबैको सल्लाह बमोजिम मात्र राम्रो कामको लागि खर्च गर्ने,
  3. पूजाआजा, बिवाह र शुद्दाइ कार्जेमा जिवात नमार्ने, नैवेद धुप फूलपातीले मात्र गर्ने,
  4. छोरी चेली कुटुम्बलाई दिदा सोतरित नखाने, बागदत्त बोलेर जुठो सारी दिने,
  5. मृत्यु सुतक पर्दा दशौ दिनमा शुद्दाइ कार्जे गर्ने,
  6. जन्म सुतक पर्दा दश दिन बार्ने, सुत्केरीलाई चाँही बाइस दिन बार्ने,
  7. जुठो बार्दा कृयापुत्रीले पित्रीलाई पिण्ड दिदा मासु नचलाउने, बर्खी गर्दा जिवात मारेर मासु नखुवाउने,
  8. लिम्बु जातिले सुगुर र कुखुराको मासु आज उप्रान्त नखाने,
  9. याक्थुङ्बा जातिले मद नखाने मदको सट्टामा गोरस खाने,
  10. बिवाह कर्ममा लगन गर्दा पुरोहित द्वारा गायत्री मन्त्र पढाएर गर्ने,

४. सत्यहाङमा सम्प्रादयको नाम

यो धर्म मुचुल्कामा भनिएका कुराहरु उहिलेदेखी चलीआएको परम्परा भन्दा धेरै फरक भएकोले याक्थुङहरुले यसलाई ग्रहण गर्न सकेनन। मुचुल्कामा सहि गरेपनि अमालीहरुले थुमथुममा यो नयाँ थिती लागु गरेनन गराएनन। पुरानै थितीको चलन भइ नै रह्यो, आज पर्यन्त चलन मै रहेकोछ। बरु पुरानो थिती मान्नेहरुले यो मुचुल्का अनुसारको नयाँ रितिथिती मान्ने फाल्गुनन्दका अनुयायीहरुलाई यहि मुचुल्का कै नाम सत्यधर्म अनुसार सत्यहाङमा भनि नयाँ सम्प्रदायको नाम लाइदिए।

५. सत्यहाङमा किरात धर्म हो कि? सम्प्रादय हो ?

सत्यहाङमा सम्प्रदायको पद्दतिको मूख्य नितिगत मान्यताहरु जोसमनी सन्त परम्पराबाटनै आएका हुन। जसले गर्दा यो सम्प्रादय हुन आउँछ। २००५ सालमा फाल्गुनन्दको मृत्‍यु पछि उनका चेलाहरुले यस पन्थलाई जिवीत राखेका थिए। त्यस पछि यस परम्परामा आत्मानन्द लिङदेनको उदय भयो। २०३६ सालमा उनका अनुयायीहरुले किरात धर्म तथा साहित्य उत्थान सङ्घ नामको सङ्स्था निर्माण गरे। यो संस्थाले अवलम्बन गरेको सत्यधर्म मुचुल्कालाई नै किरात धर्म नामाकरण गरे। यस कुरामा चार जाति सबै किरातहरुको सहमत देखिएको छैन।

६. सत्यहाङमा/आत्मा लिङदेनको परम्पराहरु

  1. शिवलाई आराध्य देव मान्ने शिव मार्गि, शिवको प्रतिक त्रिशूल चलाउने,
  2. यग्य कुण्डमा होम नगरी पवित्र होइदैन भन्नेमा बिश्वास, चरु पोल्ने, शङ्ख फुक्ने,
  3. मूर्ती पूजा नगर्ने निर्गुणोपासक,
  4. अचुक्त चुला : खानपिनमा जातपात र कुलको भेद नराख्ने,
  5. कर्म सङ्स्कार को नियम नगर्ने,
  6. छोरीचेली कुटुम्बलाई दिदा रित नलिकन बागदत्त बोलेर गोडा धोएर जुठो सारिदिने,
  7. मङ्स मदिरा वर्जित हुनुपर्ने, 
  8. अनन्त शाखा : सान्सारिक कर्म गर्न छेक थुन नभएको, 
  9. पूजा गर्दा जिवको बध वली नगर्ने, जिवको हिङ्सा नगर्ने,
  10. ब्यापार नगर्ने खेती किसानी नगर्ने,
  11. सैज्य मुक्ति : हठयोगको साधना नगरिकन साधारण योग कर्म गरेपनी सिद्दी प्राप्त हुन सक्छ भन्ने धारणा,
  12. स्वर्ग नर्क र मर्त्यमा बिश्वास नभएको,
  13. परमात्मा निराकार छन भन्नेमा बिश्वास,
  14. नाम को अन्त्यमा “नन्द” जोड्ने चलन,
  15. माङ लाङ वा जग्गेमा घुम्दा घडीको सुइ जस्तै देब्रेबाट दाहिने तिर घुम्ने चलन्,
  16. मृत्यु सङ्सकारमा केश काट्न नपर्ने र एक मूठी माटो मात्र दिए पुग्ने, दशौ दिनमा शुद्दाइ  कार्जे गर्ने, केवल भण्डारा मात्र दिए हुने, 
  17. घरमा एउटा सेतो झण्डा फहराउने प्रथा । यो सेतो झण्डा जङ्गबहादुर राणाले नेपालमा जोसमनी मतको खुलारुपमा प्रचार गर्नकोलागि जोसमनी साधुहरुलाई दिएको लाइसेन्स हो । तर हिज आज कट्टर (सत्यहाङ वा फाल्गुनन्द) गुटले एउटा झण्डा र नयाँ (सत्यहाङ वा आत्मानन्द) गुटले तिनवटा झण्डा फहराउने प्रथा रहेको,
  18. शब्दी मन्त्रबचन लिएर यस मतको समाजमा प्रबेश गर्नु पर्ने नियम, गुरु पन्जा र गुरु मुखीको पनि नियम भएको,
  19. सेतो बस्त्र पहिरिने, घाटिमा खागको माला र निधारमा खरानी रङ्ग लाउने,

७. सत्यहाङमाको मुन्धुम :

परम्परागत मुन्धुममा भएको कुनै पनि धरणाहरु यस सत्यहाङमाको शास्त्रमा पाइदैन । मुख्य गायत्री मन्त्र हिन्दू शास्त्रबाट लिएको जस्तै – ॐ , ओत, फत फत, सो:हुँम, हुँम हुँम, ॐ स्वाहा: आदि। मुन्धुममा शक्तिको श्रोत थाकथाकुम लिङ्देनहाङ भनि पुकार्ने गरेको पाईन्छ।

८. धर्म गुरु आत्मानन्द लिङदेन

सन्त परम्परा भनेको गुरुबाट ज्ञान सिकेर मात्र ज्ञान पाउन सकिन्छ भन्ने गुरुकुल परम्परा हो। यस अनुसार नेपालमा जोसमनी सन्तहरुको परम्परामा शशिधरको चेला पूर्वतिर लिम्बुवानका पछिल्ला सन्तहरुको क्रममा प्रेमदिल हुन, उनका चेला श्यामदिल हुन, उनका पनि चेला ज्ञानदिलदास हुन, उनका चेला गोबिन्ददास हुन, उनका चेला दयानन्द हुन, उनका चेला मधुनन्द हुन, उनका चेला फाल्गुनन्द हुन, त्यस पछिको धर्म गुरुको ठाउमा आत्मानन्द लिङ्देनको नाम आउछ। तर आत्मानन्द कोसँग कहीले दिक्षित भएका हुन अथवा उनका गुरु को थिए भन्ने थाहा हुन सकेको छैन।

९. उपसङ्हार

सत्यहाङमालाई किरात धर्म मात्र नभनि यसलाई सत्यहाङमा किरात धर्म भनि लाँदा उपयुक्त हुनेछ। हामीले मानेको धर्म चाही मूल किरात धर्म हो अरु चाँही होईन भन्नु हुदैन। यदि सत्यहाङमाले हामी चैं किरात धर्म हो भन्यो भने ए तेसो भए अब म किरात हुँदिन भन्नु पनि भएन। किरातीहरुले मान्ने सबै धार्मिक पन्थ तथा सम्प्रादयहरुलाई शाखा बनाई लाँदा समस्या हुदैन। युमा पुजक किरात धर्म, पितृ पुजक किरात धर्म, सत्यहाङमा किरात धर्म, प्रपन्नचार्य पन्थि किरात धर्म, आदि भनि लाँदा समाजमा तनाव हुदैन। फरक बिश्वासहरु सबैलाई स्वतन्त्र मतका रुपमा शाखाहरुको रुपमा मान्यता दिदा नै धार्मिक सहिष्णुताका साथै फरक अस्तित्वको सम्मान हुनेछ। किरात अनेकतामा एकता आजको आवश्यक्ता।

किरात भित्रका धार्मीक सम्प्रादयहरु:

  1. युमा पुजक किरात धर्म
  2. पितृ पुजक किरात धर्म
  3. जोसमनि सम्प्रादय
  4. सत्यहाङमा सम्प्रादय
  5. अन्य सम्प्रादयहरु

सन्दर्भ सामग्रीहरु :

  1. इमानसिङ् चेम्जोङ, किरात ईतिहास  १९४८(२००५),  किरातको बेद  १९६१(२०१८),  किरात जनको ईतिहास र सङ्स्क्रिती  १९६७(२०२४)
  2. महाजन बि.डि., Ancient India  1981.
  3. जनकलाल शर्मा, जोसमनी सन्त परम्परा र साहित्य  १९६३(२०२०)
  4. चैतन्य सुब्बा, The Culture and Religion of Limbus  1995.
  5. टंक बहादुर सुब्बा, Politics of Culture  1995.
  6. राष्ट्रिय जनगणना, Nepal BS 2058.
  7. साम्पाङ मुन्धुम, मुन्धुम होसुङ, मुक्दुमको सेरोफेरो, थुलुङ मुन्दुम
  8. Wikipedia, Encyclopedia.