येलेदोङ
भन्छन्, इतिहास जित्नेहरूको लेखिन्छ । हार्नेहरूको मेटाइन्छ। सायद त्यस्तै इतिहासमा हराएको एउटा संवत हो- येले संवत। जसलाई किरात जातिले ‘किरात संवत’ भन्दछन। माघ १ गते येले संवतको नवबर्ष सुरु हुन्छ। येले सम्वतलाई किरात राई जातिले ‘येले दोङ’, लिम्बू जातिले ‘येले तङ्बे’, सुनुवारले ‘येले थोचे’ याक्खाले ‘यलुङ संवत’ भन्दछन। किरातकाललाई वर्तमान नेपालको आधुनिक सभ्यताको विकास भएको उल्लेख गरेका पाईन्छ। कालान्तरमा किरात जाति जातिका रूपमा विकास भए पनि हाल आएर किरात जाति जातिमात्र नभएर एउटा सिंगो सभ्यता हो भनेका छन। किरातहरुको प्रथम राजा यलम्बरको नाममा येले संवत सुरु गरिएको किरातहरुको ठम्याई छ।
१. कलिगत येले संवत
कोलेनेल कर्कपेटि्रकका अनुसार किराँती राजाहरू २७ पुस्ता रहेको र शासन अवधि १६३० वर्षसम्म रहेको लेखेको छ । भाषावंशावलीका अनुसार किराँतका २८ पुस्ता राजाहरू रहेका र शासन अवधि १७४० वर्ष तीन महिना देखाएको छ । स्वामी प्रपन्नाचार्यका अनुसार किराँतका २७ पुस्ताका राजाहरूले १७३६ वर्ष शासन गरेको मानेको पाइन्छ । के.पी. जयसवालले किराँतका ३१ पुस्ताका राजाहरूले ७१० वर्ष शासन गरेको उल्लेख छ ।
दुर्गाहाङ याखाराईद्वारा लिखित पुस्तकमा यलम्बरहाङ महाभारत युद्धको समाप्तिपछि काठमाडौं उपत्यकामा आएर कलिगत ४० (ई.पू. ३०६१) मा भुवनसिंह लाई आक्रमण गरी किराँत युगको प्रारम्भ गरेका थिए” भन्ने उल्लेख गरेको छ ।
कलिगत येले संवतको गनणा
उपरोक्त लिखतको आधारमा ईस्वि सम्बत २००७ डिसम्बर ११ तारिख तदनुसार बिक्रम संबत २०६४ मंसिर २५ गते को गोरखापत्रको ‘नयाँ नेपाल’ लेखिएको पृष्ठमा यले सम्वत ५०६७ भनि पहिलो पटक प्रकाशित भएको थियो । (ई.सं.२००७+लगभग ३०६० बर्ष = येले संवत ५०६७)
तत्पश्चात ईस्वि सम्बत २००८ जनवरी १५ तारिख तदनुसार बिक्रम संबत २०६४ माघ १ गतेलाई येले सम्बत ५०६८ को पहिलो दिन मानि चार किरातहरुले कलिगत येले सम्बतलाई औपचारिक रुपमा मनाउदै आईरहेका छन ।
२. तथ्यगत येले सम्बत
तत्कालिन सभामुख सुबास चन्द्र नेम्वाङज्युले नेपाल सरकारमा येले सम्बतको पहिचान हुनु पर्दछ भनि आवाज उठाए पछि नेपाल सरकारले यसलाई किरात संबत भनि सुचिकृत गरि दियो । तत्पश्चात यलम्बर फाउण्डेशन (Kiratology Research Center), काठमाण्डौले येले सम्बत सम्बन्धि अध्यन शुरु गरयो । अध्यन गर्ने क्रममा गोपाल बंशावलीमा किरातहरुले ३२ पुस्ता सम्म काठमाण्डौंमा राज्य गरेको र उनिहरुको कार्यकाल निम्न तरिकाले उल्लेख भएको प्रमाण पाईयो ।
(1) राजा यलम, 90 बर्ष, (2) राजा पेलाम, 81 बर्ष, (3) राजा मेलम, 89 बर्ष, (4) राजा चाङमिङ, 42 बर्ष, (5) राजा धस्कङ, 37 बर्ष, (6) राजा वलुङचा, 31 बर्ष, 6 महिना, (7) राजा हुतिङ, 40 बर्ष, 8 महिना, (8) राजा हुर्मा, 50 बर्ष, (9) राजा टुस्के, 41 बर्ष, 8 महिना, (10) राजा प्रशफुङ, 38 बर्ष, 6 महिना, (11) राजा पावा, 46 बर्ष, (12) राजा दास्ति, 40 बर्ष, (13) राजा चम्बा, 71 बर्ष, (14) राजा कङकङ, 54 बर्ष, (15) राजा स्वनन्द, 40 बर्ष, 6 महिना, (16) राजा फुकोङ, 58 बर्ष, (17) राजा सिङघु, 49 बर्ष, 6 महिना, (18) राजा जुलम, 73 बर्ष, 3 महिना, (19) राजा लुकङ, 40 बर्ष, (20) राजा थोरम, 71 बर्ष, (21) राजा थुको, 83 बर्ष, (22) राजा वर्मन, 73 बर्ष , 6 महिना, (23) राजा गुङजुङ, 72 बर्ष, 7 महिना, (24) राजा पुस्क, 81 बर्ष, (25) राजा त्यपमी, 54 बर्ष, (26) राजा मुङमुम, 58 बर्ष, (27) राजा शसरु, 63 बर्ष, (28) राजा गुनाम, 74 बर्ष, (29) राजा खिम्बु, 76 बर्ष, (30) राजा गिरिजङ, 81 बर्ष, (31) राजा खुरङजा, 78 बर्ष, (32) राजा खिगु, 85 बर्ष
तथ्यगत येले सम्बतको गनणा
- उपरोक्त गोपाल वंशालीमा ३२ पुस्ता किरातहरुले जम्मा १९६३ साल ८ महिना (लगभग १९६४) बर्ष सम्म काठमाण्डौंमा राज्य गरेको देखिन्छ ।
- शाक सम्बत १०७ मा लिच्छबीहरुले किरातहरुलाई हराई जय बर्माले शासन गरेको इतिहासमा उल्लेख भएको छ ।
- शाक सम्बतमा १३४ बर्ष जोडदा बिक्रम सम्बत आउदछ । १०७ +१३४=२४१ बिक्रम सम्बत हुन आउदछ ।
- किरातहरुले राज्य गरेको जम्मा १९६४ बर्षलाई बिक्रम सम्बत २४१ बाट घटाउदा २४१-१९६४=१७२३ बर्ष बिक्रम सम्बत भन्दा पहिले किरातहरुले राज्य गरेको देखिन्छ ।
- अहिलेको बिक्रम सम्बत २०६९ मा १७२३ बर्ष थप्ने हो भने (२०६९+१७२३) =३७९२ येले सम्बत हुन आउदछ ।
उपरोक्त प्रमाणको आधारमा सिद्धान्तसारिणी नेपालपञ्चाङ्ग-पत्रमा, बिक्रमसंबत २०६९, ईस्विसन २०१३, येलेसंवत ३७९२, कलिगत ५०७३ भनि प्रकाशन गऱ्यो।
Mahina | BS | Month | AD | YL | KY |
1 Magh | 2069 | 15 Jan | 2013 | 3792 | 5073 |
1 Magh | 2070 | 15 Jan | 2014 | 3793 | 5074 |
– | – | – | – | – | – |
1 Magh | 2077 | 15 Jan | 2021 | 3800 | 5081 |
1 Magh | 2078 | 15 Jan | 2022 | 3801 | 5082 |
३. निचोड
चार किरातहरुले नया अध्यनले देखाएको तथ्यगत येले सम्बतलाई मान्न तयार भएको छैनन। यसलाई मान्यता दिन ४ किरातहरुको समन्वय समितिले पहल गर्नुपर्ने देखिएको छ। ‘जसो भए पनि लिच्छविहरूबाट परास्त नभएसम्म लामो अवधिसम्म नेपाल खाल्डोमा किरातहरूको शासन थियो भन्ने प्रस्ट छ।’