Constitution

विधान – १९९८

१०औं अधिवेशन २५ मार्च २०१८ मा (संसोधन)

परिच्छेद (१)

१. प्रस्तावना:

हङकङमा स्थाई वा अस्थाई रुपमा बसोबास गरिरहेका किरात राईहरुलाई एकै सूत्रमा गोलबन्द गर्दै किरात राईहरुको इतिहास, भाषा, लिपि, कला, साहित्य, धर्म, संस्कार र संस्कृतिको खोज, आन्वेषण, संरक्षण र संवद्र्धन गर्न,  यी जातिलाई सामाजिक सरोकारका विविध क्षेत्रहरुमा अघि बढ्नको निम्ति उत्प्रेरित एवं मार्ग निर्देश गर्न, हङकङमा रहेका विभिन्न जात, जातीय समूह, सामाजिक संघसंस्था तथा अन्य निकायहरुसंग सम्पर्क र सम्बन्ध बढाउदै उनीहरुबीचमा किरात राईहरुको पहिचानलाई सजीव बनाई राख्न, हङकङमा रहेका किरात राईहरुको पहलमा किरात राई यायोक्खा हङकङ लिमिटेड नामक संस्थाको स्थापना गरी यो विधान जारी गरिएको छ। किरात राई यायोक्खा नेपाल केन्द्रिय समितिको उदेश्य काम, कार्वाहीलाई मार्गदर्शनको रुपमा लिईनेछ।

२. संक्षिप्त नाम र प्रारम्भ:

  1. यो संस्थाको नाम ‘किरात राई यायोक्खा हङकङ लिमिटेड’ र संक्षिप्तमा ‘किराया हङकङ’ तथा अंग्रेजीमा ‘Kirat Rai  Association Hong Kong Limited’ छोटकरीमा ‘KRAHK’ रहने छ।
  2. यस विधानलाई किरात राई यायोक्खाको विधान १९९८ (संशोधन सहित) भनिनेछ।
  3. यो विधान अधिवेशनले पारित गरेपछि पूर्ण रुपमा लागू हुने छ।

३. परिभाषा :

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा

  1. ‘यायोक्खा’ भन्नाले किरात भाषामा संस्था भन्ने बुझाउने छ र ‘संस्था’ भन्नाले किरात राई यायोक्खालाई बुझाउने छ।
  2. ‘विधान’ भन्नाले किरात राई यायोक्खा हङकङको विधानलाई बुझाउने छ।
  3. ‘सदस्य’ भन्नाले विधानको धारा परिच्छेद (२) धारा १ अनुसारको सदस्यता प्राप्त व्यक्तिलाई बुझाउने छ।
  4. ‘कार्यसमिति’ भन्नाले किरात राई यायोक्खा हङकङको संचालक समितिलाई बुझाउने छ।
  5. ‘नियम’ भन्नाले किरात राई यायोक्खा हङकङको विधान अनुरुप गठन हुने कार्यसमितिले बनाउने नियमलाई बुझाउने छ।
  6. ‘अधिवेशन’ भन्नाले किरात राई यायोक्खा हङकङको विधानमा व्यवस्था भए अनुसारको प्रतिनिधि पर्यवेक्षकहरुको भेलालाई बुझाउने छ।
  7. ‘पदाधिकारी’ भन्नाले किरात राई यायोक्खाको कार्यसमिति मा बहाल रहेका पदाधिकारीहरुलाई बुझाउने छ।
  8. ‘किरात धर्म’ भन्नाले किरात राई जातिबीच समानता र आस्थाको प्रतीकको रुपमा आदिम कालदेखी चलिआएको किरात धर्म–संस्कार (चुला–पित्री पुजा, जन्मदेखि मृत्युपर्यन्तको कार्यविधि, थुथुरी ग्रन्थ, र मुद्दुम) मा आस्था राख्नुलाई जनाउने छ।
  9. ‘सामुहिक चुलाघर’ भन्नाले किरात धर्ममा आस्था राख्ने जोकोहीलाई जन्मदेखी मृत्यु पर्यन्त सम्मको कर्मकाण्ड गर्न प्रयोग गर्न दिईने स्थललाई जनाउने छ।
  10. ‘सामुहिक कूबीमी’ भन्नाले किराया हङकङले सामुहिक चुला पुज्न तथा राईहरुको किरात धर्म अनुसार जन्म देखी मृत्यु पर्यन्त सम्मको कर्मकाण्ड गरिदिन पारिश्रामिक तोकी वा नतोकि नियुक्त गरेको धामीलाई जनाउनेछ।
  11. ‘सुप्तुलुङ खिम’ भन्नाले किरात राई यायोक्खा हङकङको कार्यलय भवनलाई जनाउने छ।

४. कार्यालय:

यस संस्थाको कार्यालय हङकङमा रहने छ।

५. प्रतीक चिन्ह, छाप, झण्डा:

यस संस्थाको लोगो, छाप र झण्डा अनुसूची १ उल्लेख भए बमोजिम रहने छ।

६. उद्देश्यहरु:

  1. हङकङमा रहेका सम्पूर्ण किरात राईहरुबीच एक–आपसमा एकता कायम गर्ने।
  2. किरात राईहरुबीच आपतविपत आइपरेमा आवश्यक सहयोग आदान–प्रदान गर्ने।
  3. किरात राईहरुको भाषा, लिपि, किरात धर्म, कला, इतिहास, संस्कार र संस्कृतिको खोज, आन्वेषण, संरक्षण तथा सम्वर्द्वन गर्ने कार्यमा लागि पर्ने।
  4. हङकङमा रहेका विभिन्न जात–जाति, धर्म र सम्प्रदायका मानिससंग सम्बन्ध कायम गर्दै उनीहरुबीच किरात राईको पहिचानलाई जीवन्त बनाउदै सामाजिक एकता एवं ऐक्यवद्धताको निम्ति पहल गर्ने।
  5. हङकङमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाबीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने।
  6. किरात राईहरुलाई शैक्षिक योग्यता विकास गर्न, सामाजिक सेवामा संलग्न हुन, व्यावसायिक दक्षता हासिल गर्न उत्प्रेरित एवं मार्गनिर्देशन गर्दै अझ सभ्य एवं सुसंस्कृत बनाउन पहल गर्ने।
परिच्छेद (२)

१. सदस्यता :

यस संस्थामा निम्न प्रकारका सदस्यहरु रहनेछन्।

क. साधारण सदस्य

अठार वर्ष उमेर पुगेका हङकङ आई.डि वाहक कुनैपनि किरात राई तोकिएको शुल्क तिरी यस संस्थाको साधरण सदस्य बन्न सक्ने छ । अन्य जातिसंग विवाह भएका किरात राई महिला तथा किरात राई पुरुषसंग विवाह गरेका अन्य जातिका महिला पनि यस संस्थाको सदस्य बन्न सक्ने छन्। सदस्यता निरन्तरताको लागि तोकिएको समयावधिभित्र सदस्यता नविकरण गर्नु पर्ने छ। 

ख. आजीवन सदस्य

  1. साधारण सदस्यताको लागि आवश्यकीय मापदण्ड पूरा गरेका जोकोहीले एकमुष्ठ हङकङ डलर २००० (दुई हजार) वा सो भन्दा माथि प्रदान गरि आवेदन गरेमा कार्यसमिति ले आजीवन सदस्यता प्रदान गर्न सक्नेछ।
  2. विधानको परिच्छेद (२) को धारा ४ अनुसारको अवस्था रहेको ठहराई कार्यसमिति को बहुमतको निर्णयले आजीवन सदस्यता खारेज गर्न सक्नेछ।
  3. आजीवन सदस्यहरुलाई साधारण सदस्यमा निहित सबै अधिकारहरु प्राप्त हुनेछ।
  4. आजीवन सदस्यहरुलाई नविकरण सदस्यता शुल्क लाग्ने छैन । खारेज नभएसम्म यो सदस्यता कायम रहनेछ।

ग. मानार्थ सदस्य

  1. निम्न व्यक्तिहरुलाई कार्यसमिति को बहुमतको निर्णयबाट यस संस्थाको मानार्थ  सदस्यता प्रदान गर्न सकिनेछ।
    1. यस संस्थालाई कुनै पनि किसिमले योगदान पुरयाएका संस्थाका पुराना कार्यकर्ताहरु।
    2. यस संस्थालाई कुनै पनि किसिमले योगदान पुरयाएका ख्याति प्राप्त कुनै पनि मुलुकका नागरिक।
  2. मानार्थ  सदस्यहरुलाई अधिवेशनमा उम्मेद्वार हुने र मत दिने अधिकार रहने छैन। तर साधारण सदस्यताको लागि आवश्यकीय मापदण्ड पूरा गरेका जोकोहीले उम्मेद्वार हुने र मत दिने अधिकार रहने छ।
  3. विधानको परिच्छेद (२) को धारा ४ अनुसारको अवस्था रहेको ठहराई कार्यसमिति को बहुमतको निर्णयले मानार्थ सदस्यता खारेज गर्न सकिनेछ।
  4. मानार्थ सदस्यहरुलाई कुनै पनि कार्यक्रममा उपस्थित भएको रहेछ भने आशन ग्रहण गराईने छ। खारेज नभएसम्म यो सदस्यता कायम रहनेछ।

२. सदस्यता प्रदान विधि :

सदस्यता लिन चाहने व्यक्तिले विधिवत रुपमा यस विधानको अनुसूचि २ अनुसारको सदस्यता आवेदन फारम भरी कार्यसमिति मा बुझाउनु पर्नेछ। आवश्यक छानबिन पश्चात कार्यसमितिले सदस्यता प्रदान गर्न सक्नेछ। अधिवेशनको समयमा सदस्यता वितरणको लागि कार्यसमिति ले तोकेबमोजिमको समयावधि निर्धारण गरिने छ। कार्यसमिति विघटित अवस्थामा सदस्यता वितरणका लागि आजीवन सदस्यहरुमध्येबाट बढीमा ५ जनाको समिति निर्माण गरिने छ। नया कार्यसमिति गठनसंगै उक्त समिति स्वत: विघटन हुने छ।

३. सदस्यता शुल्क :

अर्को ब्यावस्था नभईन्जेल सम्म बर्षको लागि हङकङ डलर ३०० (तिनसय) सदस्यता शुल्क लाग्ने छ।

४. सदस्यता समाप्ति :

  1. संस्थाको विधान उल्लंघन गरेमा।
  2. संस्थाको हित र प्रतिष्ठामा आँच आउने कार्य गरेमा।
  3. कसैले नैतिक पतन हुने गरी वा फौजदारी अभियोग लागी दोषी प्रमाणित भएमा । तर, यस अनुसार सदस्यता खारेज भएको व्यक्तिले मुक्त भइसकेपछि भने आफ्नो आचरण सुधार गरेको भनी सदस्यताको लागि पुन: अनुरोध गरेमा सो उपर कार्यसमिति ले छानविन गरी उचित ठहरयाएमा पुन: सदस्यता प्रदान गर्न सक्नेछ।
  4. मानसिक संतुलन ठीक नरहेको प्रमाणित भएमा।
  5. मृत्यु भएमा।
  6. विधानको परिच्छेद (२) धारा ४ उपधारा २ र ३ अनुसारको अवस्था परी सदस्यता खारेज गर्नु परेमा कार्यसमिति ले सोको निर्णय गर्नेछ। तर सो गर्दा सुनवाईको अधिकारबाट भने निजलाई बञ्चित गरिने छैन।
परिच्छेद (३)

१. कार्यसमिति :

यस संस्थाको दैनिक कामकार्वाही सञ्चालन तथा सम्पन्न गर्न एक कार्यसमितिको गठन गरिने छ।

२. कार्यसमिति गठन :

अधिवेशनबाट १५ जना पदाधिकारीहरु निर्वाचित हुनेछन् जसको पदावधि तिन वर्षको हुनेछ। कार्यसमितिमा कम्तिमा २० प्रतिशत महिला अनिवार्य रहनु पर्नेछ । यो कार्यसमिति हङकङको सामाजिक कानुन अन्तर्गत दर्ता भएका किरात राई यायोक्खा हङकङको समेत कार्यसमिति रहनेछ।

३. पदाधिकारीहरु :

कार्य समितिमा निम्न १५ जना पदाधिकारीहरु रहनेछन ।

  1. अध्यक्ष –
  2. प्रमुखउपाध्यक्ष –
  3. महासचिव –
  4. सचिव –
  5. कोषाध्यक्ष –
  6. सहसचिव –
  7. सहकोषाध्यक्ष –
  8. सदस्यहरु (८ जना) –

४. पदेन पदाधिकारीहरु :

किरात राई यायोक्खा हङकङ अन्तर्गतका बिभिन्न संघसंस्थाहरुलाई सम्मान तथा सम्बोधन गर्न पदेन पदाधिकारी प्रदान गरिनेछ। पदेन पदाधिकारीहरुमा, भाषिक संस्थाको बहालवाला अध्यक्षहरु, पदेन उपाध्यक्ष, भ्रातृ संस्थाको प्रतिनिधिहरु पदेन सदस्य र निवर्तमान अध्यक्ष प्रमुख सल्लाहकार पदमा रहनेछ। पदेन पदाधिकारीहरुलाई बैठकमा प्रस्ताव तथा मताधिकार राख्न दिईने छ तर  गणपुरक संख्यामा गणना गरिने छैन।

पदेन पदाधिकारीहरुलाई पहिलो बैठक बस्न अगावै पत्रमार्फत पदेन पद प्रदान गरेको तथा काम, कर्तब्य र अधिकार जानकारी गराईने छ। पदेन पदाधिकारीहरुलाई उम्मेद्वार शुल्क लाग्ने छैन।

५. कार्यसमितिको काम, कर्तव्य र अधिकारक्षेत्र :

  1. दैनिक प्रशासकीय कार्य संचालन गर्ने।
  2. नियमित बैठक बसी यस संस्थाको उद्देश्य अनुसार र अधिवेशनले निर्देशित गरे मुताविक नीति निर्माण गर्ने वार्षीक कार्ययोजना तर्जुमा गर्ने र वार्षीक वजेट कार्यन्वयन गर्ने।
  3. संस्थाका प्रत्येक सरोकारका विषयहरुमा छलफल गर्दै विधान वमोजिम निर्णयहरु गरी कार्यान्वयन गर्ने।
  4. कार्यन्वयन भएका कामहरुको अनुगमन गर्ने।
  5. अधिवेशनको आयोजना गर्ने, संशोधनका लागि प्रस्तावित विधान तयार गर्ने, आर्थिक तथा सांगठनिक प्रतिवेदन तयार गर्ने लगायतका सम्पूर्ण तयारीहरु गरी अधिवेशन सम्पन्न गर्ने।
  6. यस संस्थाको कामलाई प्रभावकारी वनाउन आफ्नो मातहतमा रहने गरी विभिन्न विभाग तथा क्षेत्रीय समितिहरु गठन वा अनावश्यक ठानेमा विघटन गर्ने।
  7. गठन गरिएका विभिन्न विभाग तथा क्षेत्रीय समितिहरुको काम कर्तव्य, अधिकार र पदावधि तोक्ने।
  8. कार्यसमितिका पदाधिकारी, विभिन्न विभाग, क्षेत्रीय समितिका पदाधिकारी वा सल्लाहकार वा सदस्य उपर उजुरी परेको खण्डमा सो उपर छलफल गरी अन्तिम निर्णय दिने।

६. पदाधिकारी हुन चाहिने योग्यता :

  1. यस विधानले परिभाषित गरेको किरात धर्ममा आस्था राख्ने, बहालवाला साधारण, आजीवन सदस्य।
  2. यस विधानले कुनै किसिमले रोक नलगाएको सदस्य।

७. अध्यक्ष हुन चाहिने योग्यता

  1. किराया हङकङको कार्यसमितिमा १कार्यकाल पुरा गरेको ब्यक्ति तथा,
  2. किराया हङकङमा अनुबन्धित भएका भाषिक संस्थाको सदस्यभई आफ्नो संस्थाबाट अध्यक्षकोलागि प्रस्ताव आएको ब्यक्ति वा किराया हङकङमा अनुबन्धित भएका भाषिक संस्थाहरुको ५१ प्रतिशत सर्मथन प्राप्त ब्याक्ति।
  3. आर्थिक तथा फौजदारी _______अभियोग नलागेको ब्यक्ति।

८. कार्यसमितिको विघटन

देहायको स्थितिमा कार्यसमिति विघटन हुने छ।

  1. कार्यसमितिका मध्येबाट कम्तिमा ३० प्रतिशत पदाधिकारीहरुले कार्यसमिति समक्ष लिखित रुपमा कार्यसमितिको विघटन गर्ने मागसहितको आवेदन दिएमा सो उपर कार्यसमितिको नियमित बैठकमा छलफल गर्न पर्नेछ। यसरी छलफल हुँदा कार्यसमितिको कुल संख्याको २/३ बहुमतले कार्यसमिति विघटन गर्ने राय दिएमा कार्यसमिति स्वत: विघटन हुनेछ।
  2. विधानको परिच्छेद (५) धारा १ (ग) अनुसार पाँचौं पटकसम्म पनि बैठकको गणपूरक संख्या नपुगेमा कार्य समिति विघटन हुनेछ। यसरी कार्यसमिति विघटन भएमा विघटन हुने निर्णय भएको मितिले ४५ दिनभित्र अर्को अधिवेशन आयोजना गरी नयाँ  कार्यसमिति गठन गरिसक्नु पर्नेछ। साथै, अधिवेशन हुने अवधिसम्मको लागि सोही कार्यसमितिले नै नियमित कार्यहरु गर्नेछ। तर, दीर्घकालिन रुपमा संस्थालाई असर पुरयाउने खालका कार्य र निर्णयहरु भने गर्न पाउने छैन।
  3. कार्यसमिति विघटन भएको खण्डमा सो मातहतका सबै विभाग तथा क्षेत्रीय समितिहरु समेत स्वत: विघटन भएको मानिने छ।

९. पद रिक्तता

क. खारेजी

  1. पूर्व सूचना वा उचित कारण बिना कार्यसमितिको बैठकमा लगातार तीन पटकसम्म अनुपस्थित भएमा।
  2. आर्थिक अनियमितता, नैतिक पतन वा संस्थाको हित विपरित कुनैपनि गतिविधिहरु गरेको भनी प्रमाणित हुन आएमा।
  3. कार्यसमितिले तोके बमोजिमको नियमित मासिक शुल्क लगातार छ महिनासम्म नबुझाएमा।
    तर यसरी खारेज गर्दा सम्बन्धित व्यक्तिलाई सुनवाइको मौकाबाट बञ्चित भने गरिने छैन।

ख. राजिनामा

  1. कार्यसमितिको कुनै पनि पदाधिकारीले अध्यक्ष समक्ष र अध्यक्षले कार्यसमिति समक्ष आफ्नो पदबाट राजिनामा पेश गर्न सक्ने छ।
  2. राजिनामा पत्रमाथि छलफल एवं जाँचबुझ गरी स्वीकृत गर्ने वा नगर्ने भन्ने कुराको अन्तिम फैसला कार्यसमितिको बैठकले गर्नेछ। कूल पदाधिकारीको दुई तिहाई बहुमतले राजिनामा स्वीकृत गर्ने निर्णय गरेमा सो लागू हुनेछ।
  3. राजिनामा पेश भएको मितिले दुई महिनाभित्र स्वीकृत भए वा नभएको कुराको जानकारी समितिले सम्बन्धित पदाधिकारीलाई गराउनु पर्नेछ।

ग. हङकङ छोडेमा

कुनै पदाधिकारीले स्थाई रुपले हङकङ छोडेमा।

घ. संस्थाको सदस्य नरहेमा

कुनै पदाधिकारी यस विधान अनुसार सदस्य नरहने अवस्था सृजना भएमा।

१०. पदपूर्ति :

  1. कार्यसमितिको कुनैपनि पदाधिकारीको पद रिक्त हुन आएमा समितिको बहुमत निर्णयले पदपूर्ति गर्न सक्नेछ।
  2. सदस्य बाहेकका अन्य पदहरु रिक्त हुन आइ सो पदपूर्ति गर्ने क्रममा समितिको अर्को पद रिक्त हुन आएमा माथि (क) को विधि अनुसारै हुनेछ।
  3. रिक्त स्थानमा पदपूर्ति गरिएको पदाधिकारीको पदावधि समितिको बाँकी अवधिसम्म कायम रहनेछ।

११. निमावली बनाउने

यस संस्थाको विधानसंग नवाझिने गरी कार्यसमितिले आवश्यकता अनुसार विभिन्न निमावलीहरु बनाई लागू गर्न सक्नेछ। कार्य समितिले अनुमोदन गरेका नियमावलीहरु साधारण सभा वा अधिवेशनमा अनुमोदन गर्नुपर्नेछ। किराया हङकङमा निम्न नियमावली रहेकोछ।

  1. बैठक नियमावली (१)
  2. कोष नियमावली (२)
  3. कार्यक्रम नियमावली (३)
  4. विविध नियमावली (४)
  5. विभाग नियमावली (५)
  6. भाषीक/भात्री नियमावली (६)
  7. प्रतिष्ठान नियमावली (७)
  8. सामुहिक चुला नियमावली (८)
परिच्छेद (४)

१. अध्यक्षको काम, कर्तव्य र अधिकार :

  1. कार्य समितिको बैठकको अध्यक्षता गर्ने।
  2. बैठकमा कुनै विषय उपर मत विभाजन भएमा निर्णायक मत दिने।
  3. संस्थाको उद्देश्य प्रतिकुल नहुने गरी विभिन्न सन्धि, सम्झौता आदिमा हस्ताक्षर गर्ने।|
  4. आवश्यकता अनुसार तोक आदेश आदि जारी गर्ने।
  5. आकस्मिक बैठक बोलाउनु पर्ने भएमा महा सचिवलाई निर्देशन दिने।
  6. संस्थाको प्रमुखको हैसियतमा अन्य भूमिका निभाउने।
  7. किरात राई अन्तराष्ट्रिय समन्वय समितिसंग समन्वय गर्ने।
  8. संस्थाको बिभागिय जिम्मेवारीहरु पुरा गर्ने।

२. प्रमुख उपाध्यक्षको काम, कर्तव्य र अधिकार :

  1. अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने।
  2. अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्नपर्ने सम्पूर्ण काम गर्ने।
  3. कार्यसमितिले दिएको अन्य बिभागिय जिम्मेवारीहरु पुरा गर्ने।

३. पदेन उपाध्यक्षको काम, कर्तव्य र अधिकार :

  1. भाषिक वा भात्री संस्थाको प्रतिनिधि गर्ने।
  2. भाषिक वा भात्री संस्थाको तर्फबाट प्रस्ताव तथा सुझाव प्रदान गर्ने।
  3. अध्यक्षले पठाएको बिभिन्न संस्थामा प्रतिनिधि गर्ने।
  4. कार्यसमितिले दिएको अन्य बिभागिय जिम्मेवारी पुरा गर्ने।

४. महासचिवको काम, कर्तव्य र अधिकार :

  1. संस्थाको महत्वपूर्णकागजातहरुको सुरक्षा गर्ने।
  2. अध्यक्षको स्विकृती लिई संस्थाको महत्वपुर्ण कागजातमा सहीछाप गर्ने।
  3. किराया हङकङको आवश्यक पर्ने प्रेश ब्यक्तब्य आदि निकाल्ने, सम्प्रेशन गर्ने।
  4. कार्यसमितिले दिएको अन्य बिभागिय जिम्मेवारी पुरा गर्ने।
  5. संस्थाको प्रवक्ताको रुपमा कार्य गर्ने।

५. सचिव को काम र अधिकार:

  1. कार्यसमितिको बैठक बोलाउने।
  2. बैठक सञ्चालन गर्ने।
  3. छलफल गर्नपर्ने विषयहरु बैठकमा प्रस्तुत गर्ने।
  4. निर्णयहरुको अभिलेख राख्ने।
  5. कार्यसमितिले दिएको अन्य बिभागिय जिम्मेवारी पुरा गर्ने।

५. सहसचिवको काम, कर्तव्य र अधिकार :

  1. सचिवको अनुपस्थितिमा बैठक संचालन गर्ने।
  2. सचिवको अनुपस्थितिमा सचिवले गर्नुपर्ने सम्पूर्ण काम गर्ने।
  3. कार्यसमितिले दिएको अन्य बिभागिय जिम्मेवारी पुरा गर्ने।

७. कोषाध्यक्षको काम, कर्तव्य र अधिकार :

  1. चल, अचल, नगद जिन्सि सम्पूर्ण हरहिसाब राख्ने।
  2. समितिको आय व्यय विवरण बैठकमा प्रस्तुत गर्ने।
  3. कार्यसमितिले चाहेको बेला आयव्याय विवरण प्रस्तुत गर्ने।
  4. कार्यक्रमको अनुमानित बजेट तयार गरि बैठकमा पेश गर्ने।
  5. कार्यसमितिले दिएको अन्य बिभागिय जिम्मेवारी पुरा गर्ने।

८. सह–कोषाध्यक्षको काम, कर्तव्य र अधिकार :

  1. कोषाध्यक्षको कार्यमा सहयोग पुऱ्याउने।
  2. कोषाध्यक्ष अनुपस्थितिमा कोषाध्यक्षले गर्नुपर्ने सम्पूर्ण काम गर्ने।
  3. कार्यसमितिले दिएको अन्य बिभागिय जिम्मेवारी पुरा गर्ने।

९. सदस्यहरुको काम, कर्तव्य र अधिकार :

  1. बैठकमा भाग लिने।
  2. सहमतिमा निर्णय गर्ने।
  3. कार्यसमितिले दिएको अन्य बिभागिय जिम्मेवारी पुरा गर्ने।
परिच्छेद (५)

१. बैठक:

  1. कार्यसमितिको बैठक कम्तिमा दुई महिनाको एक पटक बस्नेछ। विशेष परिस्थिति सृजना भएमा अध्यक्ष र सचिवको सल्लाह अनुसार जुनसुकै बेला पनि बैठक बस्न सक्नेछ।
  2. कूल पदाधिकारीहरुको ५१ प्रतिशत भन्दा माथिको उपस्थितिलाई बैठकको गणपूरक संख्या मानिनेछ।
  3. गणपूरक संख्या नपुगी तीन पटकसम्म लगातार बैठक स्थगित भएमा चौथो पटक जतिजना पदाधिकारीहरु उपस्थित भए पनि त्यसैलाई गणपूरक संख्या मानी बैठक संचालन गरी नियमित बैठक सोसरह निर्णयहरु गर्न सक्नेछ । त्यसपछि पाँचौ पटक पनि लगातार गणपूरक संख्या नपुगेमा विधानको परिच्छेद (३) धारा ९ (ख) को स्थिति सिर्जना भएको मानिने छ।
  4. बैठक, बैठक नियमावली (१) अनुसार संचालन हुनेछ।

२. साधारण सभा

कार्य समितिले आम सदस्यहरुलाई कम्तिमा १ महिना अगावै सूचित गरी हरेक बर्षको मार्च महिनामा साधारण सभा गर्नेछ। यसरी आयोजना गरिएको भेलामा समितिले गरेको कामहरुको लेखाजोखा गर्ने तथा कार्य समितिको कामलाई प्रभावकारी बनाउन बार्षीक कार्ययोजना प्रस्तुत गरिने छ।

३. अधिवेशन :

अधिवेशन यस संस्थाको सर्वोच्च निकाय रहने छ।

  1. अधिवेशन प्रत्येक तिन वर्षमा एक पटक सम्पन्न हुनेछ।
  2. यस संस्थाका साधारण, आजीवन र संरक्षक सदस्यहरुमात्र अधिवेशनको प्रतिनिधि हुनेछन्।
  3. अधिवेशन हुने समय मिति र स्थान कार्यसमिति ले कम्तिमा १ महिना अगावै सार्वजनिक सूचना प्रकाशित गरी सुसूचित गराउनु पर्नेछ।
  4. अधिवेशनले संस्थाको उद्देश्य अनुरुप विभिन्न नीति एवं कार्यक्रमहरु तर्जुमा गर्नाको साथै विधान संशोधन गर्न सक्नेछ।
  5. अधिवेशनले पुरानो कार्यसमिति ले गरेको कामहरुको समीक्षात्मक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गर्नेछ।
  6. अधिवेशनले नया कार्यसमिति चयन गर्नेछ।

४. विशेष अधिवेशन :

निम्न परिस्थिति उत्पन्न भएमा विशेष अधिवेशन हुनेछ। विशेष अधिवेशन सम्पन्न हुने प्रकृया पनि नियमित अधिवेशनको जस्तै हुनेछ।

  1. नियमित अधिवेशनमा मुख्य पदसहित ५१ प्रतिशत पदाधिकारी चयन हुन नसकेमा। यस स्थितिमा प्रतिनिधिहरुमध्येबाट कम्तिमा ५ सदस्यीय विशेष अधिवेशन तयारी समिति गठन गरिने छ। उक्त समितिले ढिलोमा एक महिनाभित्र विशेष अधिवेशन गर्ने छ। नियमित अधिवेशनबाट अध्यक्ष र सचिवसहित कम्तिमा ५१ प्रतिशत पदाधिकारी अनिवार्य चयन हुनुपर्ने छ। बाँकी पदाधिकारी कार्यसमितिले चयन गर्ने छ।
  2. संस्थाको कार्यसमिति को बैठकमा लगातार पााचौ पटकसम्म पनि गणपूरक संख्या नपुगेमा। यस स्थितिमा सल्लाहकार समितिसहित बैठक आह्वान गरी विशेष अधिवेशन आयोजक समिति गठन गरिने छ। उक्त समितिले गठन भएको तीन महिनाभित्र विशेष अधिवेशन बोलाउने छ।
  3. कार्यसमिति वा पदाधिकारी विरुद्ध महाअभियोग दर्ता भएमा। महाअभियोग दर्ता भएपछि सो प्राप्त भएको मितिले तीन महिनाभित्र कार्यसमितिले विशेष अधिवेशनको आयोजना गर्नु पर्नेछ।

५. अधिवेशन हुन नसकेमा :

  1. विशेष कारणवश कार्यसमिति ले यस विधानमा तोकेको अवधिभित्र अधिवेशन सम्पन्न गर्न नसकेमा अधिवेशन सम्पन्न गर्नपर्ने दिनदेखि तीन महिना नबढाई अधिवेशनको मिति तोकी सो अनुसार अधिवेशनको प्रकृया अघि बढाई अधिवेशन सम्पन्न गर्न पर्नेछ।
  2. विधानको परिच्छेद (५) धारा ३ (ग) अनुसार मिति नतोके अथवा मिति तोकेर पनि तोकिएको मितिभित्र अधिवेशन सम्पन्न गर्न नसके तत्कालिन कार्यसमिति स्वत विघटन भएको मानिने छ।
  3. विधानको परिच्छेद (५) धारा ५ (ख) को परिस्थिति सृजना भएमा संरक्षक परिषदले अधिवेशन सम्पन्न गर्नका निमित्त पहल गर्ने छ । अधिवेशनको लागि संरक्षक परिषदले कम्तिमा ५ सदस्यीय अधिवेशन आयोजक समिति गठन गर्ने छ। उक्त समितिले ढिलोमा एक महिनाभित्र अधिवेशन गर्ने छ।
  4. यसरी नया कार्यसमिति निर्वाचित भइ सकेपछि भने अघिल्लो कार्यसमितिका पदाधिकारीहरुको साथमा रहेको यस संस्थाका चल–अचल सम्पत्तिहरु व्यक्तिगत ऋण सरह अशुल उपर गरेर लिनु पर्नेछ । अन्य प्रचलित कानुन अनुसार हुने कुराहरुको हकमा भने सोही अनुसार हुनेछ।
  5. देश भित्र आन्तरिक कलह, विश्व युद्ध, महामारी आदि विशेष परिस्थिति श्रृजना भई अधिवेशन गर्न नसक्ने अवस्था आएमा संरक्षक परिषदको बहुमतले सोही कार्य समितिलाई १ बर्षको थप कार्यकाल बढाई दिन सक्नेछ।
परिच्छेद (६)

१. आर्थिक श्रोत तथा कोषको व्यवस्था

यस संस्थाको देहायबमोजिमको कोष रहनेछ। 

क. साधारण कोष

देहायबमोजिम श्रोतहरुबाट प्राप्त हुने नगद वा जिन्सी यस संस्थाको साधारण कोष मानिनेछ। जुन दैनिक कार्य सचालनका निमित्त कार्यसमितिले खर्च गर्न सक्नेछ। तर बर्तमान कार्य–समितिले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दा, नि–बर्तमान कार्य–समितिले अघिल्ला अधिवेशनमा पेश गरी सकेको साधरण कोष भन्दा कम कोष, विशेष परिस्थिती वाहेक, प्रस्तुत गर्न पाइनेछैन।

  1. साधारण सदस्यता वितरणबाट प्राप्त हुने शुल्क।
  2. साधारण सदस्य नवीकरणबाट प्राप्त हुने शुल्क।
  3. पदाधिकारीहरुबाट संकलन हुने मासिक शुल्क।
  4. विविध कार्यक्रमहरुबाट संकलन भएको रकम।
  5. विभिन्न सामाग्रीहरुको बिक्री बितरणबाट प्राप्त हुने रकम।
  6. यस संस्थालाई विविध किसिमले प्राप्त भएको रकम।
  7. अक्षयकोषबाट प्राप्त ब्याज

ख. विशेषकोष

विशेष प्रयोजन वा कार्यको लागि भनेर संकलन गरेको चन्दा, पुरस्कार तथा सहयोग रकम यस संस्थाको विशेषकोष मानिनेछ। जुन दैनिक कार्य सचालनका निमित्त प्रयोग नगरि जे का लागि संकलन गरेको हो सोही प्रयोजन वा कार्यको लागि मात्र संचालक समितिले खर्च गर्न सक्नेछ। बिशेषकोष नियमावली बनाई बिभन्नि बिशेषकोषहरु निर्माण गर्न सक्नेछ।

ग. किराया अक्षयकोष

किराया अक्षयकोष भनि निर्माण गरिएको कोष यस संस्थाको अक्षयकोष मानिनेछ। एक कार्यकाल सकिएपछि सो कार्यकाल भित्र गरेको आम्दानीमा खर्च कटाई बाँकी रहेको मुनाफा किराया अक्षयकोषमा जम्मा गरिदिन पर्दछ। यो कोषको मुलधन खर्च गर्न पाइने छैन । यसबाट प्राप्त ब्याज मात्र नया कार्यसमितिले खर्च गर्न सक्नेछ।

थप कोषहरु कोष नियमावली (२) अनुसार हुनेछ।

२. अक्षयकोष निछेप

अक्षयकोष निश्चित समय अवधीको लागी समितिको कार्यकाल नसकुन्जेल सम्म कुनै पनि विश्वासीलो वित्तिय संस्थामा समितिको बहुमतको निर्णयले निछेप राख्न सकिनेछ।

३. बैंकखाता संचालन:

  1. यस संस्थाको नाममा छुट्टै बैंक खाता संचालन गरिनेछ।
  2. कार्यसमितिको अध्यक्ष, सचिव र कोषाध्यक्षको मध्ये कुनै दुई व्यक्तिहरुको हस्ताक्षरबाट रकम निकासा गर्न सकिने छ।
  3. विशेष परिस्थिति सृजना भएको खण्डमा कार्यसमितिको बैठकको निर्णयद्वारा अन्य पदाधिकारीहरुको नामबाट समेत बैंक खाता संचालन गर्न सकिने छ।

४. लेखा प्रणाली तथा लेखा परीक्षण

किरात राई यायोक्खा च्यारिटेबल संस्था रहेकोले हरहिसाबलाई पारदर्शी बनाउन कागजी लेखा प्रणालीको प्रयोग नगरि कम्प्युटर लेखा प्रणालीको प्रयोग गरिने छ । संस्थाको आय–व्ययलाई पारदर्शी एवं व्यवस्थित ढंगले परिचालन गर्नका लागि हरेक वर्ष मान्यता प्राप्त निकायबाट लेखा परीक्षण गरिने छ।

परिच्छेद (७)

१. सचिवालय

संस्थाको आकस्मिक कार्य संचालन गर्नको लागि ७ सदसिय सदस्य रहेको एक सचिवालय गठन गरिने छ । आकस्मिक बैठक बस्न परेमा सचिवालय बैठक बसि निणर्य गर्न सक्ने छ। तर सचिवालयले निर्णय गरेका प्रस्तावहरु कार्यसमितिको बैठकमा अनुमोदन गराउनु पर्ने छ।सचिवालयमा निम्न सदस्य रहनेछ।

  1. अध्यक्ष
  2. सहउपाध्यक्ष
  3. महासचिव
  4. सचिव
  5. कोषाध्यक्ष
  6. सहसचिव
  7. सहकोषाध्यक्ष

२. Official Directors

किरात राई यायोक्खा हङकङका अध्यक्ष, महासचिव र कोषाध्यक्ष Kirat Rai Association Hong Kong Limited को Official Directors रहने छ। Official Directors को काम, कर्तब्य र अधिकार निम्न रहनेछ।

  1. अधिवेशन भए पश्चात २१ दिन भित्र कम्पनी रजिष्टारमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष (New Board of Directors) भनि दर्ता गर्नु पर्दछ। ढिला भएमा कारण खुलाई स्टेटमेन्ट लेख्न पर्दछ।
  2. New Board of Directors दर्ता गराएपछि Bank मा New Signatories परिवर्तन गर्नु पर्दछ। New Signatories मा अध्यक्ष, महासचिव र कोषाध्यक्ष मध्ये कुनै २ जनाको हस्ताक्षरले बैङक खाता संचालन हुने बनाउनु पर्दछ।
  3. संस्थाको Audit Report र Annual Return प्रत्येक बर्षको 9 August मा तयार गरि 42 दिन भित्र कम्पनी रजिष्टारमा हङकङ डलर १०५ सहित बुझाउनु पर्दछ। तोकिएको समयमा बुझाईएन भने प्रत्येक तिन महिनाको ८७० को दरले जरिवाना तिर्न पर्दछ। १ बर्ष नाघेमा कम्पनी प्रावधानको पालना गर्न नसकेको अभियोग लगाई मुद्दा दायर हुनेछ। र बढिमा ५०,००० सम्म जरिवाना र जारी अपराधको लागि दैनिक १००० को दरले जरिवाना तिर्न पर्नेछ। यसका जिम्मेवारी सबै Directors हरु हुनेछन।
  4. हङकङ सरकारको बिभिन्न नियम कानुन सम्बन्धि उत्तरदायी र जवाफदेही हुनु पर्दछ।

३. बार्षिक कार्यक्रम :

बार्षिक कार्यक्रम, कार्यक्रम नियमावली () अनुसार हुनेछ।

४. विभाग गठन :

किराया हङकङको १५ वटा विभाग रहने छ।

विभाग गठन तथा संचालन विभाग नियमावली (५) अनुसार हुनेछ। 

५. भाषीक/भ्रातृ संस्था :

हङकङमा दर्ता भएका एकै उदेश्य भएका विभिन्न भाषिक तथा अन्य संघसंस्थाहरुलाई भाषिक वा भ्रातृ संस्थाको अनुबन्धन/ सम्बन्धन प्रदान गर्न सकिने छ। 

अनुबन्धन/सम्बन्धन दिँदा भाषीक/भ्रातृ संस्था नियमावली (६) अनुसार प्रदान गरिनेछ।

६. सामुहिक चुला

सामुहिक चुला, सामुहिक चुला नियमावली (८) अनुसार सञ्चालन गरिनेछ।

परिच्छेद (८)

१. संरक्षक परिषद

यस संस्थाका भुतपुर्व अध्यक्षहरु संरक्षक परिषदमा रहनेछ। किराया हङकङको पछिल्लो भु.पु.अध्यक्ष (निवर्तमान भन्दा अगाडिको) प्रमुख संरक्षक रहनेछ । परिषदको काम, कर्तब्य र अधिकार निम्न रहेकोछ।

  1. किरात राई यायोक्खा हङकङको संरक्षण गर्नु।
  2. किराया हङकङको साधारण सभा/ अधिवेशन/ निर्वाचन विधान अनुसार गर्न लाउनु।
  3. किराया हङकङको विधानको गर्न लाउनु।
  4. किराया कार्यसमितिले विधान सम्मत कार्य गरे वा नगरेका हेर्नु।
  5. विधान संसोधन गर्न परे आवश्यक सुझाव सल्लाह प्रदान गर्नु।
  6. अधिवेशनमा निर्वाचन नहोस भनि उम्मेद्वारहरुमा समन्वय गर्नु।

२. सल्लाहकार परिषद 

कार्यसमितिलाई आवश्यकीय सुझाव र सल्लाह दिनको लागि निवर्तमान अध्यक्ष प्रमुख सल्लाहकार रहने गरि भुतपुर्व पदाधिकरीहरु तथा आजिवन सदस्यहरुमध्येबाट आवश्यक्ता अनुसार वढीमा ५ सदसिय सल्लाहकार परिषदको गठन गरिने छ। परिषदको काम, कर्तब्य र अधिकार निम्न रहेकोछ।

  1. कार्यसमितिको बैठकमा उपस्थित हुनु।
  2. बैठकलाई आवश्यक सल्लाह र सुझावहरु दिनु।
  3. बैठकलाई परिणाममूलक बनाउन सहयोग गर्नु।
  4. विभागहरुलाई सहयोग गर्नु।
  5. संस्थाको बृहत्तर हितका निम्ति  कार्य गर्नु।

३. किरात राई प्रज्ञा प्रतिष्ठान

यस संस्थाले प्रदान गरेका प्राज्ञ/प्राज्ञिक सदस्यहरु किरात राई प्रज्ञा प्रतिष्ठानमा रहने छन। 

किरात राई प्रज्ञा प्रतिष्ठान, प्रतिष्ठान नियमावली (७) अनुसार गठन हुनेछ। 

४. भाषिक परिषद

यस संस्थाबाट अनुबन्धन प्राप्त भाषिक संस्थाका बहालवाला अध्यक्षहरु भाषिक परिषदमा रहने छन।

५. संयोजक परिषद

बिबिध क्षेत्रमा बिशिष्ठता हाँसिल गरेका किरात राईहरुलाई किरात राई यायोक्खा हङकङको विभागहरुमा समेटि ब्यावस्थित तथा सक्षम रुपमा संचालन गर्न यो परिषद गठन हुनेछ।

६. भुपु पदाधिकारीलय 

यस संस्थाका भुपु पदाधिकारीहरु, भुपु संयोजकहरु, भुपु सल्लाहकारहरु जुनसुकै क्षेत्रमा रहि आफ्नो कार्यकाल पुरा गरेका किरात राईहरु भुपु पदाधिकारीलयमा रहनेछ। भुपु पदाधिकारीहरुलाई संबोधन गर्न यो परिषदलय निर्माण गरिनेछ।

७. आजिवन सदस्यलय

यस संस्थाका आजिवन सदस्यहरु यस परिषदमा रहनेछ। आजिवन सदस्यहरुलाईलाई संबोधन गर्न यो परिषदलय निर्माण गरिनेछ।

परिच्छेद (९)

१. सधारणसभा/ अधिवेशन/ निर्वाचन समिति

संरक्षक परिषदका कम्तिमा ३ सदस्य भएका सधारणसभा/ अधिवेशन/ निर्वाचन समिति रहनेछ।समितिले निम्न कार्यहरु गर्नेछन।

  1. समितिले सधारणसभा/ अधिवेशन/ निर्वाचन सञ्चालन गर्ने छ।
  2. नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराउने  छ।

५. विधान संशोधन

विधान संशोधन गर्नु परेमा किरात राई यायोक्खा हङकङको अध्यक्षतामा किराया सचिवालय, संरक्षक परिषद, सल्लाहकार परिषद र भाषिक परिषदको कुनै एक पदाधिकारीको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरिने छ। समितिले तयार पारेको विधान मस्यौदा बैठकमा छलफल गरी आवश्यकीय हेरफेर गरी संशोधनको लागि अधिवेशनमा प्रस्तुत गर्नु पर्नेछ। अधिवेशनको बहुमतले पारित गरेपछि विधान संशोधन भई तुरुन्त लागू हुनेछ।

६. यायोक्खा हङकङको विघटन

यो संस्था विधान बमोजिम कार्य संचालन गर्न नसकी वा अन्य कुनै कारणले विघटन गर्नुपर्ने अवस्था आइपरेमा सम्पूर्ण चल–अचल सम्पत्तिको लागि बहालवाला सदस्यहरुको भेलाले किरात राई यायोक्खा हङकङ दर्ता भएको ऐनकानुन बमोजिमको प्रक्रिया अघि बढाउने छ।

७. निस्क्रियता

यस विधानमा उल्लेखित कुनै पनि विषय प्रचलित हङकङको सामाजिक ऐनसंग बाझिएमा बाझिएको हदसम्म स्वत: निस्क्रिय हुनेछ।

८. व्याख्या

यस विधानमा उल्लेखित कुनै शव्द वा वाक्य अस्पष्ट भएमा सो कुराको व्याख्या गर्ने अधिकार कार्यसमिति वा कार्यसमितिले तोकेको व्यक्तिमा रहने छ।

९. महाअभियोग

कूल साधारण, आजीवन र संरक्षक सदस्य संख्याको २५ प्रतिशतले कार्यसमितिका पदाधिकारी वा सिङ्गो कार्यसमितिलाई महाअभियोग लगाउन सक्ने छ। यस अवस्थामा विशेष अधिवेशन बोलाइने छ।

१०. सपथ ग्रहण

किरात राई यायोक्खाको कार्यसमिति वा अधिवेशन आयोजक समिति वा क्षेत्रीय समितिहरु लगायत कुनै पनि विभागहरुमा चयन भएका पदाधिकारीहरुले यस विधानको अनुसूचि ३ अनुसारको सपथ ग्रहण गर्नु पर्नेछ। यसरी सपथ ग्रहण गर्दा अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले अधिवेशन हल समक्ष सपथ ग्रहण गर्नपर्ने हन्छ र पछि मनोनित तथा आयोजक समितिमा चयन भएको नयाँ  पदाधिकारीले भने समितिको बैठक समक्ष सपथ ग्रहण गर्नु पर्नेछ। कुनै पनि विभाग वा क्षेत्रीय समितिमा चयन भएका पदाधिकारीहरुले भने सो समारोहमा उपस्थित कार्यसमितिको पदाधिकारीसमक्ष सपथ लिनु पर्नेछ।


अनुसूची १. प्रतीक चिन्ह तथा छाप


Logo Yayokkha Ltd

आठवटा वृत्ताकार पृष्ठभूमिमा आकाश ताकिएको धनुष–काँड, बीचमा ढोल, दायाँतिर झ्याम्टा र बायाँतिर चिण्डो अंकित हुने छ। चित्रको तल्लो भागमा रोमन लिपिमा अर्धवृताकारमा माथिल्लो लहरमा Kirat Rai Association र दोश्रो लहरमा Hong Kong Limited लेखिएको, किरात राई यायोक्खा हङकङको प्रतीक चिन्ह तथा छाप हुनेछ।

अनुसूचि २. झण्डा

Jhanda
नेपालको झण्डा आकारको, सुनौलो रंगको पृष्ठभूमिमा रातो किनारा भएको बीचमा सेतो बृत्तभित्र आकाश ताकिएको धनुष–काँड रहेको झण्डा हुनेछ।

अनुसूचि ३. सपथ ग्रहणको नमुना

म ……………………………….. (आफ्नो नाम) ………………………………… सुम्निमा र पारुहाङ लाई साक्षी राखी तथा तिन चुला भाकी सपथ लिन्छु कि किरात राई यायोक्खा हङकङको ………. (निर्वाचित भएको पद) ………….. पदमा चयन भएकोमा गौरव महशुस गर्दै यो संस्थाले सुम्पिएको पदीय जिम्मेवारीलाई निस्वार्थ र इमानदारिताका साथ पूरा गर्नेछु । म यो संस्थाको विधान, अनुशासन र असल परम्परालाई आत्मसात गर्दै यसको उद्देश्य प्राप्तिका लागि दृढतापूर्वक लागि पर्नेछु। म यो संस्थाप्रति सदा बफादार रहदै समग्र किरात राई जातिको गरिमा र स्वभिमानलाई उचा राख्न सधै तत्पर रहने छु।

जय किरात राई यायोक्खा ।

(समाप्त)