Category Archives: साम्पाङ जुम्लेखा

सुप्तुलुङखीममा विवाह सम्पन्न

१६ जून, हङकङ ।

कि लुङ चुनस्थित किरात राईहरुको सुप्तुलुङखीम (चुलाघर)मा किरात राई यायोख्खाका सहायक कुविमी श्रीमान नारायण प्रसाद राई र श्रीमती शिव कुमारी राईको जेठी छोरी रेणुका राईको विवाह श्रीमान सकल बहादुर राई र श्रीमती मन कुमारी राईको कान्छा छोरा मणीचन्द्र राईसँग सम्पन्न भयो ।

किरात राई सम्पाङ जुम्लेखाको समायोजनमा भएको सो विवाह किरात राई मुन्दुमी संस्कार अनुसार गरिएको थियो । किरात राईहरुको मौलिक संस्कार-संस्कृतिलाई जीवन्त राखी पुस्तान्तरण गर्दै जाने उद्धेश्य लिएर गरिएको उक्त विवाहमा गाउँघरको मौलिक भोजभतेर तयार गरी दुना, टपरा, कठुआ आदिमा राखी जन्ती, नरनाता तथा इष्टमित्रहरुलाई दिइएको थियो ।

मुन्दुमी रीतिथीति अनुसार सुप्तुलुङखीममा विवाह सम्पन्न भए पनि दोस्रो दिन इण्डिया क्लवमा आमन्त्रित सबैकालागि विशाल प्रीतिभोजको आयोजना गरिएको थियो । आमन्त्रित सबैले यसै स्थानमा उपस्थित भई बेहुला-बेहुलीलाई टिका लगाई दिएर आशिर्वाद दिदैं बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

-बज्र कुमार राई

मबिन राईज्यू चुला दर्शन

१८ फरवरी २०१८ आईतवार संयोगले हंगकंगेली किरात राईहरूको पबित्र चुला दर्शन गर्न किलुंग चुंग स्थित चुलाघर पुगिएको थियो । नेपालबाट हंगकंग भ्रमणमा आउनु भएका किरात राई यायोक्खा धरान उप महानरपालिकाका सचिब श्री मबिन राईज्यूलाई हंगकंगको चुलाघर दर्शन गराउने क्रममा उक्त अवसर जुरेको हो । सो अवसरमा चुलाभित्रै छोटो औपचारिक कार्यक्रम गरिएको थियो । मूल संस्थाका अध्यक्ष रजिन राईको सभापतित्व र मबिन राईको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा भाषिक संस्थाका अध्यक्ष तेज कुमार साम्पांग, संस्थाका उपाध्यक्ष हरिचन्द्र राई, खेलकुद प्रमुख गंगाराम राई, प्रमुख सल्लाहकार शशिमदन राई र सुनुवार समाज हंगकंगको प्रमुख सल्लाहकार नरेश सुनुवारलाई अतिथि आशन गराईको थियो । किरात संस्कार र बिधि अनुसार प्रमुख अतिथिलाई भेटी चढाएर चुला दर्शन गराए पछि फेटा गुथाएर सम्मान गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथिलाई स्वागत तथा शुभकामना दिने क्रम रहेको थियो । उक्त क्रममा चुलाघरको परियोजना र योजना सम्पन्न बारे योजनाकार शशिमदन राई, अध्यक्ष रजिन राई, भाषिक अध्यक्ष तेज कुमार साम्पांगलगायतले समग्ररूपमा प्रमुख अतिथिलाई जानकारी गराउनु भएको थियो । प्रमुख अतिथि राईले बिदेश भूमिमा रहेर पनि किरात राई जातिको अस्तित्वलाई बचाउन स्वदेशमा हुन नसकेको उदाहरणीय र महत्वपूर्ण कार्य गरेको भन्दै किराया हंगकंगलाई खुलेर प्रशंशा गर्नुको साथै यस क्षेत्रमा थप येगदान दिन आफूलाई उर्जा र उत्साह मिलेको बताउनु भयो ।


किरात राई सम्पांग जुम्लेखाका सचिव मनी कुमार सम्पांगद्वारा सन्चालन तथा किराया हंगकंगका उपाध्यक्ष हरिचन्द्र राईको स्वागत मन्तब्य रहेको औपचारिक कार्यक्रमको समापन पछि जलपान सहित अन्तक्रिया मन्चन गरिएको थियो ।
स्मरण रहोस नेपाल तथा अन्य देशबाट हंगकंग भ्रमणमा आउने ईच्छुक राईहरूलाई चुला दर्शनमा लाने प्रचलन रहि आएको छ ।

नवरामद्वारा चुला दर्शन

१७ अक्टोबर २०१७, हङकङ।
नेपालका एक अग्रज संगीतकर्मी नवराम राईले यहाँस्थित आफ्नो जातीय मौलिक धर्म,संस्कार-संस्कृति मान्ने किरात राईहरुको सुप्तुलुङ(चुला) दर्शन गरे। कि लुङ चुन, शान्तिनमा रहेको सो सुप्तुलुङ दर्शनको व्यवस्था किरात राई यायोक्खाका एक भाषिक संस्था साम्पाङ जुम्लेखाले मिलाएको थियो। छोटो औपचारिक कार्यक्रमसँगै सम्पन्न सुप्तुलुङ दर्शनको अध्यक्षता संस्था(किराया)का प्रथम उपाध्यक्ष हरिचन्द्र राईले गरेका थिए।उक्त कार्यक्रममा संस्था(किराया)का प्रमुख सल्लाहकारसाथै किरात राई प्रज्ञा प्रतिष्ठानका कूलपति शशीमदन राई,सुप्तुलुङखीम(चुलाघर) खरिद तथा व्यवस्थापन विभाग(जो सुप्तुलुङ खरिद पश्चात भंग गरिएको थियो) का उपसंयोजक धिराज कुमार राई,पूर्व पदाधिकारी प्रेमरोज साम्पा राई र सचिव बज्रकुमार राईको समुपस्थिति रहेको थियो।

nawaram
श्री राईले सुप्तुलुङ(चुला)दर्शन गरे पश्चात सभाध्यक्ष हरिचन्द्र राईले उनको शीरमा फेटा गुथाई दिएर सम्मान व्यक्त गरेका थिए।यसैक्रममा प्रमुख सल्लाहकार तथा कूलपति शशीमदन राईले उपहारस्वरूप किरायाको बार्षिक मुखपत्र(यलम्बर) र  साकेला शीली भाग-२ प्रदान गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव बज्रकुमार राईले गरेका थिए।

nawaram1

सुँवा रिमाक

suwa2

१७ सेप्टेम्बर २०१७ आईतबार, किरात साम्पाङ राई जुम्लेखा हङकङले किरात राईहरुको सामुहिक चुलाघर (सुप्तुलुङखिम) मा पित्रीपुजा (सुँवारिमाक) गऱ्यो । किरातीहरुले नया अन्नबाली पाकी सके पश्चात पुर्खाहरुलाई चढाएर मात्र खाने चलन छ । अब हङकङमा बसोबास गर्ने किरात साम्पाङ राईहरुले नया अन्नबाली खान सक्नेछ । किरात साम्पाङ राई जुम्लेखा हङकङको अध्यक्ष श्री तेज कुमार साम्पाङको अध्यतामा सम्पन्न सो पित्रीपुजामा किराया हङकङ सामुहिक कूबीमी श्री श्रेष्ठ बहादुर राई र श्री नारायण प्रसाद राईज्युले सामूहिक पित्रीपुजा गरेका थिए । कार्यक्रममा किराया अध्यक्ष श्री रजिन राईज्युको प्रमुख आतिथ्य थियो भने भाषिक संस्थाका अध्यक्षहरु अतिथि रहेका थिए । सो कार्यक्रममा साम्पाङ खेलाडिहरुलाई खेलमा लगाउने भेष्ट समेत बितरण गरेका थिए । कार्यक्रम पश्चात छनुवा जाँड, लोकल कुखुराका तिते सुप सहित ढिडो भोजन गराएका थिए ।

स्व. मनकुमार राईको श्रद्धान्जली ।

Mankumar

२३ जुलाई २०१७ हङकङ, जन्म २०२३ पौष १०, खोटाङ जिल्ला, खार्ताम्छा–२ पुख्र्यौली घर भई, धरान १७ बसोबास गर्दै हाल काठमाण्डौ घर भएका हङकङ निवासी श्री मन कुमार (ईन्द्रजित) राई ब्लडप्रेशरले अचानक बिमार भई क्वीन एजिजावेथ हस्पिटलमा उपचार गर्ने क्रममा २०७४ अषाढ २२ का दिन निधन भयो । वहाँको पार्थिव शरिरलाई मौलिक किरात धर्म अनुसार हुङहाममा श्रद्धान्जली प्रदान गरि चाईवानमा अन्तिम बिदाई गरिएको थियो । तत्पश्चात सामुहिक चुलाघरमा किरायाका कूबीमीद्वय श्री श्रेष्ठ बहादुर राई र श्री नारायण प्रसाद राईज्युले अन्तिम संस्कार गरि मृतकको आत्मालाई बाटो लगाएका थिए । कार्यक्रमको आयोजना किरात साम्पाङ राई जुम्लेखा हङकङले गरेका थिए । स्वंयसेवकको भुमिका धरान १७ समाजले गरेका थिए । यस दुखद घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपुर्ण श्रद्वान्जली अर्पण गर्दछौं ।

किरात साम्पाङ राई जुम्लेखा ।
धरान १७ समाज हङकङ ।
किरात राई यायोक्खा हङकङ ।

“साम्पाङ ब्याडमिन्टन प्रतियोगिता २०१७” सम्पन्न

Badminton Photo Juniour

१ जुलाई २०१७ शनिबार, किरात साम्पाङ राई जुम्लेखा हङकङले “साम्पाङ ब्याडमिन्टन प्रतियोगिता २०१७” हङकङ स्थित कुन्चुङ चुङ स्पोर्ट सेन्टरमा आयोजना गरेको छ । ग्रुप ए बाट १६ जना खेलाडी र ग्रुप बि बाट १६ जना खेलाडी गरि जम्मा ३२ जना साम्पाङ खेलाडीहरुले भाग लिएका थिए । साम्पाङ परिवार भित्रमात्र खेल सिमित गरिएकोले अन्य खेलाडीहरुको सहभागी थिएन । खेलमा बिशेष गरि नया पुस्ताका साम्पाङहरुले सहभागि लिएका थिए ।

Badminton Photo Juniour Dinerखेल समाप्ती पश्चात बगैंचा रेष्टुरेन्ट एण्ड पार्टि प्यालेशमा रात्रि भोजको आयोजना गरेको थियो । खेलकुद क्षेत्रबाट हङकङमा बसोबास गर्ने साम्पाङ राईहरुलाई एकिकृत गर्ने उदेश्य अनुसार यो कार्यक्रम गरिएको हो । बिशेष गरि नया पुस्ताका साम्पाङ राईहरुको सहभागिताले आयोजकहरु आशातित भएको थियो ।

Badminton Photo Seniourकिरात साम्पाङ राई जुम्लेखा हङकङमा सन २००९ सालमा सोसियल अर्डिनेन्स अन्तर्गत दर्ता भएको संस्था हो । किरात साम्पाङ राईहरुको भाषा, धर्म, संस्कार र संस्कृती जर्गेनाको लागि यस संस्थाले कार्य गर्दै आईरहेको छ । बिशेषरुपमा यस संस्थाले बार्षिक भेटघाट, हाईकिङ, खेलकुद आदि कार्यक्रम गराउदै साम्पाङहरुलाई एकिकृत गर्ने कार्य गर्दै आई रहेको छ ।

Badminton Photo Seniour Dinerसाम्पाङ राई जुम्लेखा हङकङले आयोजना गरेको यस खेलकुद कार्यक्रमको औपचारिक कार्यक्रममा किरात राई यायोक्खा हङकङको अध्यक्ष रजिन राईको प्रमुख अतिथि र साम्पाङ जुम्लेखाको अध्यक्ष तेज कुमार राई, खेलकुद संयोजक गंगाराम राई, लोखराज राई, ईमान सेर राई, दिल केशर राई, रबिचन्द्र राई, सल्लाहकार धिराज कुमार साम्पाङ, हरिचन्द्र साम्पाङ र अन्य भाषिक संस्था अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नारायण प्रसाद राईले संचालन गर्नु भएको थियो ।

– शशि मदन राई